site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बहस खोज्दै \'१२ दुर्वासा’

नाटक हेरेर फर्किएको धेरै दिनसम्म पनि केही लेख्न सकिनँ ।

बाटोमा हिँड्दा सुनिने कुराकानीलाई अझै नजिकबाट सुनेँ । आफैले तथा साथीभाइले गरेका निर्णयहरु सम्झिएँ । चर्चित मानिसहरुका जीवनीमा उल्लेख भएका प्रसंग¸ दैनिक पत्रिकामा छापिएका लेख र केही कविका कवितासम्म पनि पुगें ।

सबैभन्दा बढी कुनै विषयमा ट्विटरमा गरिएका तर्क र बहस पछ्याएँ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सधैंजस्तै देशमा धेरै कुराहरु भइरहेकै थिए । पछिल्लो समय तराईमा सीके राउतको गिरफ्तारी, माईतीघरको नेपाली झन्डा, यमबुद्धको मृत्यु¸ स्ववियू र स्थानीय चुनावको रन्को¸ न्यायाधीश पुन:नियुक्ति प्रसंगहरु र अन्य यस्तै–यस्तै ताजा विषयहरु पत्रिकामा सबैभन्दा धेरै छापिइरहेका । यी सबै विषयमा एउटै कुरा साझा थियो, ‘विवाद’ ।

त्यही कुरा कसैलाई राम्रो त कसैलाई नराम्रो लागिरहेको । कसैले स्वागत र कसैले आपत्ति जनाइरहेको । मानवीय स्वभाव हो¸ सुन्नासाथ कुनै एउटा पक्षमा दिमाग लागिसक्छ । पहिला खासै ख्याल नगरेर हुन सक्छ– ती विवादहरुको वैचारिक आधार र तर्क अति कमजोर भएको महसुस भयो ।

मण्डला थिएटरमा नाटक '१२ दुर्वासा’ हेरेर फर्किएपछि तिनै कुराहरुलाई पुन: सोचेँ । याद नगरेको मात्र रहेछ¸ धेरै अगाडिदेखि हाम्रो समाजमा व्याप्त रहेछन् विवाद । कमी रहेछ त केवल स्वच्छ छलफल र बहसको ।

विषय विवादित हुनु नौलो कुरा होइन तर त्यो विवाद कुन तहमा विवादित भएको छ भन्ने कुराले महत्व राख्छ । विवाद हुनुको कारण थाहा भयो कि भएन¸ थाहा भए कसरी भयो¸ थाहा नभए कसरी भएन ? यस्ता प्रश्नहरु जरुरी भएर पनि खासै सोचिँदैन । मानिसहरु साँच्चै तर्कको पछि लागिरहेका छन् कि केवल कसैले भनेको कुरा पछ्याइरहेका छन् ? थाहा भएर कसैलाई गाली गरिरहेका छन् कि थाहै नपाई ? यिनै प्रश्नहरुको वरपर रुमल्लिइरहेँ ।

यस्तै अलमलका बीच हिजो एकजना साथीले गरेको ट्विटले मलाई बाटो भनिदियो । त्यही बाटोमा हिँड्दै केही लेख्न तम्सिएको हुँ । 'मिस्टर बाघ' नामको ह्यान्डलबाट ती साथीले लेखेको ट्विट यस्तो थियो–

"ड्राइभरले घ्याच्चै गाडीमा ब्रेक हाने, भित्रका यात्रु सप्पै ठोक्किए, ड्राइभरलाई सरापे । तर¸ बाटो काट्दै गरेकी बूढीआमैलाई जोगाएको कसैले देखेन ।"

माथिका सबै समस्याहरु त पूरै सन्दर्भ नबुझी आफ्नो अनुकूलता हेरेर निर्णय गर्ने र प्रतिकृया जनाइहाल्ने हाम्रो प्रवृत्तिकै उपज रहेछन् ।

घ्याच्च ब्रेक लाग्नुका कारण अनेक हुन सक्छन् । कतिपय समयमा ड्राइभरको लापरबाहीपूर्ण कुदाइले पनि त्यस्तो हुन्छ । एकपटक भोगेको यात्रुलाई सोही घटना दोहोरिँदा त्यो खाले प्रतिकृया स्वाभाविक हो तर त्यसलाई उक्त गाडीको यात्रु मात्र भएर हेरियो भने सत्यको नजिक पुगिँदैन । हुन सक्छ ड्राइभरले पहिलोपटक त्यसरी ब्रेक लगाएका हुन् । हुन सक्छ त्यस्तो हुँदा ड्राइभरको मात्र गल्ती हुन्छ भन्ने सामान्यीकृत बुझाइले यात्रुहरुलाई ‘हिप्नोटाइज’ गरेको हो ।

नाटकमा पनि त्यस्तै हुन्छ । आफ्नो बुवाको हत्या आरोप लागेको एक युवकलाई दोषी प्रमाणित गर्न अदालतले नसकेपछि १२ स्वतन्त्र व्यक्तिहरुको समूहलाई त्यस घटनाको सत्य खोज्ने अधिकार दिइन्छ । फरक-फरक पृष्ठभूमि र कानुनी प्रकृयाको ज्ञान नभएका उनीहरुलाई मानवीय तर्कको हिसाबमा रहेर सत्यको खोजी गर्न भनिन्छ । तिनै व्यक्तिहरुले उक्त घटनालाई भिन्न दृष्टिकोणले हेर्दा आउने विभिन्न समस्या र तर्कहरुको वरपर घुमेको छ नाटक ।

ती सदस्यहरुलाई माथिको उदाहरणमा प्यासेन्जर भनिदिए हुन्छ । उनीहरुलाई समयको ड्राइभरले एक घटनाको सत्य खोज्न लैजाँदैछ । विविध कारणले बाटोमा पटक-पटक ब्रेक लाग्छ । त्यही ब्रेकको प्रतिक्रिया नै नाटक हो ।

नाटकले भन्न खोजेको के भने कुनै एक व्याक्तिले गरेको कामको प्रतिकृया त्यस बेलाको अवस्था नबुझी र पहिला के भयो भन्ने आधारमा गर्नु हुँदैन । सत्य बुझ्न विषयको धेरै नजिक जानुपर्छ, धेरै कोणबाट बहस गर्दै केलाउनुपर्छ ।

कुराहरु नभनेसम्म थाहा हुँदैनन् । भन्नलाई बहस गर्नुपर्छ । लोकतन्त्रमा स्वच्छ बहसको जहिल्यै महत्व हुन्छ तर हामी त्यसलाई स्वागत गर्दैनौं । अलग-अलग प्रतिकृया आइरहेका हुन्छन् तर तिनलाई एकै ठाँउमा राखेर जोख्दैनौं । नेताहरु प्रमाणबिना नै प्रतिकृया दिने, जनता प्रमाण र कुनै शंका नगरी जस्ताको तस्तै पत्याउने । नाटकमा केटोलाई निर्दोष भनेर सबैभन्दा पहिला भोट गर्ने पात्र भन्छे, "ऊ दोषी हो कि हैन भनेर मलाई निश्चित थाहा छैन तर म उसलाई दोषी भनिनुको कारणहरुबारे थप सुन्न चाहन्छु ।"

थप सुन्न चाहानु र कारणहरुमा शंका गर्नु नकारात्मक होइन¸ यसले विषयलाई तार्किक निष्कर्षमा सजिलो गरी पुर्‍याउँछ भन्ने जोड नाटकको छ ।

हामी बहसको संस्कारमा छैनौं । कसैको पक्षमा बहस गर्नु भनेको विरोधी हुनु हो भन्छौं । चुनावका बेला दलहरुका घोषणापत्रमा सामान्य वादविवाद हुँदा लामो समय बोलचालै बन्द हुने गरेका छन् । कोहीकोही आफ्नो तर्कले जितुन्जेल शान्त र हार्न थालेपछि रिसाहा भइहाल्ने खाले हुन्छन् । ती सबैखाले घटना र पात्र नाटकमा पनि छन् । यसर्थ यो नाटकलाई हाम्रो समाजको टाइम र मुडको विम्ब भन्न सकिन्छ ।

देश बिस्तारै संविधान कार्यान्वयन हुँदै संघीयतातर्फ जाँदैछ । अझै हामीले धेरै विवादास्पद मुद्दाहरुमा काम गर्नुपर्ने छ । प्रदेशको सीमांकन¸ संरचना¸ नामाकरण¸ साधनको वितरण जस्ता कुराहरुमा स्वच्छ बहस गर्नु जरुरी छ । नाटकको एक पात्र भन्छ¸ "तर्क जे जस्तो भए पनि बोल्ने तरिका राम्रो हुनुपर्छ । कसैलाई होच्याएर वा उसको समुदायको नाम लिएर अवशब्द बोल्न पाइँदैन ।"

ठूला दलका नेताहरुले बेलाबेला दिने अभिव्यक्तिहरुप्रति सूक्ष्म व्यंग्य गरेको छ उक्त संवादले । संवेदनशील समयमा शब्द तौलिएर बोल्नुको महत्व पनि दर्शाएको छ ।

निर्णय शब्ल आफैंमा गह्रौं शब्द हो । यसले कुनै विषयलाई टुंग्याउँछ । छलफलको बाटो बन्द गर्छ । यदि निर्णय गर्नुभन्दा पहिला सोचिएन र विचार गरिएन भने त्यसको नतिजा कुरूप हुन सक्छ ।

यो नाटकको कथामा भएको छोरा पात्र र तत्कालीन परिस्थितिमा यो देश उस्तै लाग्छ । ऊ बाँच्ने वा नबाँच्ने भन्ने कुरा पनि नाटकले नै जवाफ दिन्छ । यदि त्यहाँको एक पात्रले जस्तै पूर्वाग्रह र अनुमान र बदलाको भावमा कसैलाई सीधै दोषी देख्ने प्रवृत्ति बढ्यो भने देश पनि बाँच्दैन । त्यो त्यागियो भने बाँच्छ । नाटकका निर्देशक राजन खतिवडा भन्छन्, "तपाईंहरु पनि स्वतन्त्र भएर कुनै आग्रह पूर्वाग्रहबिना नाटक हेरिदिनुस् ।"

उनले भनेको पूर्वाग्रह शब्द बहस गर्दा सबैभन्दा पछाडि छोडिनुपर्छ भन्ने सन्देश नाटकको छ । उनी भन्न चाहन्छन्- पूर्वाग्रहले मान्छेको दृष्टि छोपिदिन्छ । दृष्टि छोपिएपछि बाटो सकिन्छ ।

१९५० को दशकको अमेरिकामा आधारित भएर लेखिएको भए पनि नाटकको सान्दर्भिकता अहिलेको सन्दर्भमा केलाएर राखिएको शीर्षक हाम्रो प्रवृत्तिलाई गरिएको तीखो व्यंग्य हो । आफूभित्रको दुर्वासालाई छोडेर बहस र छलफल गर्नुपर्ने यसको आशयलाई नेपाली मनोविज्ञानले भरिएका पात्रहरुले जीवन्त बनाएका छन् ।

एक पात्र एक सुकुम्बासी बस्तीमा हुर्किएको हुन्छ । ऊ त्यो समयलाई घृणा गर्छ, जुन उसले बस्तीमा बितायो । त्यही बस्तीमा बस्ने केटालाई लागेको आरोपमा बारम्बार अरुले ‘बस्तीका केटा अपराधी हुन्छन्’ भन्दा उसले विरोध जनाउँछ । उसको प्रश्न छ- जुन विगत उसले भुलिसकेको छ, त्यही त्यसलाई नै किन पूर्वाग्रहको साधन बनाइएको ?

प्रमाणको बारेमा छलफल गर्दा चक्कु छुनुपरेपछि उसले मिच्दै हात धोएको दृश्य शक्तिशाली छ । ऊ अरुको दिमागबाट पूर्वाग्रहको दाग त्यसरी नै धोइयोस् भन्ने चाहन्छ । पूर्वाग्रहकै विरुद्धमा नाटककी एक पात्र भन्छिन्, "बस्तीमा बसेको केटाको बयान विश्वास गर्नु हुन्न तर त्यही बस्तीमा बस्ने एक महिलाको विश्वास गर्नुहुन्छ । किन ?"

उनले भन्न चाहेको कुरा हो, गलत जो पनि हुन सक्छ । पत्याउनुभन्दा पहिला एकपटक आफैंलाई किन नसोध्ने ? कसैको विगत हेरेर उसको वर्तमानलाई मूल्यांकन गर्ने परिपाटीबाट आफैं किन माथि नउठ्ने ?

खासमा हामीलाई खतरा आफ्नै साँघुरो सोचबाट छ । आफ्नो सोचसँग आफैं बहस गरिएन भने साँघुरिन्छ । हामी कुनै निर्णय लिनुभन्दा पहिला त्यसको बारेमा सोच्दैनौं । नाटकको आग्रह यति छ कि चाहे जहाँसम्म पुगियोस्, तर्कमा हारियोस् वा जितियोस्- तर बहस हुनु जरुरी छ । यसर्थ यो नाटकले आफ्नो पूर्वाग्रहमा चेतनाशून्य भएका दुई पात्रहरुको अहम् विलय भएको देखाएको छ ।

नाटकमा १२ पात्र भए पनि मुख्यत: तीनखाले पात्रहरु स्थापित छन्:

पहिलो- पूर्वाग्रहले भरिएको छ । ऊ कसैलाई दोषी मात्र देख्छ तर बहसको केन्द्रमा आइपुग्नै सक्दैन । उसलाई आफ्नो कुरा मात्र सही लाग्छ ।

दोस्रो- जो हरेक कुरामा तर्कसहित प्रश्न उठाउँछ । उसलाई कसैप्रति पूर्वाग्रह छैन । ऊ केवल निर्णय हुनुभन्दा पहिला आफ्ना शंकाहरू सकिऊन् भन्ने चाहन्छ । उसलाई तर्कमा जित्न पनि आँउछ र हार्न पनि । बहस हुँदा कुनै पनि कुरा व्याक्तिगत होइन, तार्किक हुनुपर्छ र यदि कसैले तर्कले सम्झाउँछ भने हार स्वीकार्न सक्नुपर्छ भन्ने कुरामा ऊ विश्वास गर्छ ।

तेस्रो- जसलाई तर्क र बहसहरूमा कुनै मतलब छैन तर ऊ पनि निर्णय तहमा संलग्न छ । भएको निर्णयमा उसको पनि हिस्सा लाग्छ ।

यी तीनैखाले पात्रहरु हाम्रो समाजमा यत्रतत्र छन् । त्यसैलाई देखाउन नाटकमा दर्शकलाई दुईतिर राखिएको छ । तीनवटै पक्ष एकैठाँउमा भेट हुने ठाउँ भनेको बहस नै हो । नाटकमा बहस हुन्छ र पात्रहरुसँगै दर्शक पनि मनमनै बहस गर्छन् । प्रस्तुत गरिएका पात्रहरुमा आफूलाई खोज्दै नाटकका घटनासँग मिल्ने हाम्रो समाजका घटना सम्झिन्छन् र तुलना गर्छन् । यो नाटकको सफलता हो ।

न्याय सबैभन्दा नजिकबाट जनतालाई प्रत्यक्ष असर पार्ने क्षेत्र हो । एक न्यायाधीश¸ वकिल वा साक्षीको सानो गल्तीले कसैको जीवन बर्बाद हुन सक्छ । नाटकले कानुनी क्षेत्रलाई मानवीय आँखाबाट हेर्न खोज्दै भनेको छ- केही बोल्नुभन्दा पहिला बहस आफैंसँग पनि गर्नुपर्छ । आफ्नो विगतको सोचाइ र अहिलेको सोचाइको बीचमा तुलना गरिराख्नुपर्छ ।

इटालीका प्रसिद्ध चित्रकार तथा कवी माइकल एन्जेलो भन्छन्, "स-साना चिजहरुले कुनै वस्तुलाई पूर्ण बनाएका हुन्छन्, त्यसैले तिनलाई साना चिजहरु हुन् भनेर वेवास्ता गर्नु हुँदैन ।"

यो नाटकमा पनि चस्माको सानो डोबले एक साक्षीको बयानमा गम्भीर शंका गर्ने ठाउँ दिएको छ । यदि त्यो डोब कसैले याद नगरेको भए त्यसले एउटा मान्छेलाई जेलसम्म पुर्‍याउने थियो । सामाजिक न्यायमा पनि चस्माको डोब जस्तै एउटा सानो समुदाय छुट्यो भने त्यसले समग्र न्यायलाई नै कमजोर बनाउँछ ।

यसर्थ नाटक भन्छ- सबै पक्ष बोलाएर एकपटक बहस गर । थोरै समय बढी लाग्ला तर त्यसले भोलिको दृश्यलाई सुन्दर बनाउनेछ ।

बहसको आवश्यकतालाई देखाउने सफलता पाए पनि नाटक केही स्थानमा कमजोर छ ।

विषयको गहनतासँग तुलना गर्दा नाटकमा अलिक धेरै हाँस्य दृश्यहरु छन् । यो नाटक संवादमा आधारित भएकाले तथा कथा पूर्णत: तिनै संवादहरुले टुक्राटुक्रामा खोल्ने भएकाले अन्य नाटकको तुलनामा यो नाटकमा अलिक बढी स्थिरता चाहिन्थ्यो । तर, अवस्थाले हँसाउने हिसाबमा ठिकै भए पनि धेरै ठाँउमा साह्रै सस्ता शब्दहरुको भरमा पनि हँसाउन खोजिएको छ । कुनै-कुनै बेला आफ्नै हाँसोले हरेक तर्कसँग साक्षात्कार गर्दै बहसको सार्थकता भेट्टाउने आफैंलाई 'डिस्टर्ब' गर्छ ।

कलाकारको प्रस्तुति र कलात्मकताको तुलनामा अनुवाद पनि कमजोर छ । केही संवादहरू धेरै बनावटी सुनिन्छन् । हुन त अनुवाद आफैंमा सजिलो काम होइन तर त्यही कथामा हाँस्य रस छिराउने मेहनतको सट्टा संवादलाई कलात्मक बनाउने प्रयास गरिएको भए सुन्दर हुन्थ्यो । नाटकको अन्त्यमा मुख्य रोल खोल्ने चस्माको डोबको बारेमा कुरा उठ्दा महिला पात्रले प्रश्न सोध्ने तरिकाले दर्शकलाई नै अल्मल्याउँछ । कतिपय दर्शकले त्यही प्रसंग नबुझेको भनेर प्रतिकृया दिएको पनि पाइयो ।

र, चाहेर वा नचाहेर नाटक सरोज खनालको स्टारडममा हराएको छ । उनले असाध्यै राम्रो काम गरेका छन्, त्यसमा संका छैन तर यो नाटक उनको कमब्याकभन्दा पनि उनले खेलेको पात्रका लागि महत्वपूर्ण थियो । मण्डला र मिडियाकर्मीहरु सबैले कलाको सामाजिक महत्वमा आफैं बहस गर्न अगाडि सर्नुपर्ने देखिएको छ ।

र, यो नाटक सकिएपछि पनि नाटकले देखाएको विषयमा बहस् होस् ।

अस्तु ।

ट्विटरमा: @skyasesh

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७३  ११:५२
प्रतिक्रिया दिनुहोस्