बाह्रखरी डट कमको अफिस सञ्चालनमा आएसँगै उसको र मेरो परिचय भएको हो । उसले मलाई कुन रुपमा हेथ्र्यो मैले कहिल्यै मतलब गरिनँ, तर मेरो लागि उ एउटा मनोरञ्जन भनुँ वा मन बहलाउने खुराक बनेको थियो । उसलाई सायद मतलब थिएन मैले उसमा एउटा मित्रता वा आत्मियताको बिउ रोप्न चाहेको छु भन्ने कुरा । कहिलेकाहींको उसको नजरले भने नयाँ मान्छे भएर त्यसै चिनेजस्तो गरेर किन हेर्छ भन्ने भाव देखिन्थ्यो । कहिले उसलाई म सँग केही मतलब हुन्नथ्यो, आफ्नै धुनमा मग्न भएको देख्थें ।
बीचमा केही दिन म उसलाई छाडेर विदेश गएको थिएँ । फर्केर आउँदा एक दुई दिन मलाई उस्को याद पनि आएन । तर एकदिन बाह्रखरीको कौसीमा घाम ताप्दैगर्दा मेरा सहकर्मी बलराम पाण्डेले भने, ‘दाई नहुँदा अस्ति एउटा नराम्रो घटना भयो नि ।’ उसले घटनाको बेलिविस्तार लगायो । म स्तब्ध भएँ ।
मैले सोचेको थिईन त्यो मेरो मौन मित्र मलाई अचानक छाडेर यसरी परलोकमा जान्छ भन्ने कुरा । तर मैले उसको सम्झनामा दुई थोपा आँसु चुहाउन सकिनँ । यो मान्छेको मन भन्ने कुरा पनि अचम्मकै हुँदो रहेछ । त्यस्तो एक प्रकारको आत्मियता भएको मित्र भन्ने अनि उसको मृत्युमा एक थोपा आँसु पनि नखस्ने ?
म बस्ने कोठाको झ्यालबाट अहिले पनि मेरा मित्रको सम्झना गराउने एक मुठ्ठी कैलो भुत्ला देखिन्छ । त्यो भुत्लाले मानौ मलाई भनिरहेको छ, तैले यति धेरै मान्छेको मृत्युपछि तिनको सम्झना र समवेदना लेखिस् मेरो किन लेख्दैनस् ? के एक मानिसले एउटा बाँदरको विषयमा केही लेख्नुहुँदैन ? त्यत्रो घमण्ड मानिसको जुनी लिएकोमा ?
त्यस्तो केही होइन । मैले उसलाई एक छिमेकी, एक मित्रको रुपमा हेरेको थिएँ । उसको मृत्युमा मलाई दुःख लागेको थियो । त्यसैले उसको सम्झनामा मैले केही शब्द समवेदना लेख्नै पर्दछ ।
गजबको थियो उसको हिंडाईं । घरको छतमा, पर्खालमा वा कतै पनि होस् उ सहजै चढ्थ्यो । जो सुकैले जे सुकै गरुन्, जतिसुकै चिच्याउन, उसलाई भोकलागेपछि कसै गरेपनि उसको आक्रमणबाट केरा, सुन्तला, स्याउ, पाउरोटी, सेल वा पोलेको मकै केही बच्दैन थियो । उ हुत्तेर गएपछि केही न केही बोकेरै ल्याउँथ्यो र मेरो झ्याल बाहिरको कौसीमा बसेर चिथोर चाथर पारेर खान्थ्यो ।
उसलाई हेरेर मैले एउटा धारणा बनाएको थिएँ, मान्छे भन्दा त बाँदर धेरै कम फटाहा हुँदोरहेछ । उसले आफूलाई भोक लागेको बेला एक छाक चोर्थ्यो, कहिल्यै धेरै चोरेर लुकाउँदैनथ्यो । हाम्रा भ्रष्ट नेता र कर्मचारीलाई जस्तो उसको भोक अनन्त थिएन, उसलाई छोरा नाती र पनातीसम्मका लागि साँच्नु थिएन ।
तर पनि बाटोमा मकै पोल्नेको मकै खोसेर ल्याउँदा भने एकपल्ट गएर लौरै लौरोेले कुटुँ जस्तो लाग्थ्यो । तर, म बाट सो कुरा सम्भव थिएन । उसमा धेरै आत्मविश्वास थियो । म बाट उ सजिलै भाग्न अनि उस्तै परे मेरो अनुहार चिथोर्न सक्दथ्यो । थापाथलीको कुनामा मकै पोल्ने दुई महिलाको घाटा हेरेर म चुपचाप बस्दथें । केही गर्न नसकेको ग्लानी हुन थाल्दा फोन समाएर केही गर्थें वा कोही सँग गफ गर्न पुग्दथें ।
मैले उसलाई चिनेको पनि त्यही मेरो अफिस बाहिरको तारको पोलमा हो । ३२०० भोल्टको करेन्ट बहेको तार अडिएको त्यो खम्बालाई उ यस्तरी हल्लाउँथ्यो मानौं त्यो एउटा बाँसको खम्बा हो ।
त्यो तारमा करेन्ट बहन्छ भन्ने उसलाई थाहा थियो । त्यो हाई भोल्टेज तार उ कहिल्यै छुँदैनथ्यो । तर मलाई डर थियो, कुनैदिन यसलाई करेन्ट लाग्छ भनेर । उसलाई भने बाल थिएन भोलि के होला भनेर । भोलिका लागि कम्प्युटरमा झुण्डिरेहेको मलाई कहिले काहीं हेर्दथ्यो, सायद उदेक मान्दो हो मैले कपडा, जुत्ता लगाएकोमा ।
मान्छे सोच्दा हुन्, सबै बाँदर उस्तै हुन्छन् कहाँ चिनिन्छ । थापाथलीमा सयौं बाँदर हुँदा हुन्, कुनै एक बाँदर चिन्न कसरी सकिन्छ । मलाई पनि शुरुमा कत्तिका बाँदर आउँदा रहेछन् मेरो अफिसको बरण्डामा भन्ने लाग्दथ्यो ।
पछि विस्तारै थाहा भयो, त्यहाँ त केवल त्यो ढाडे बाँदर बाहेक थोरै उसका पछुवा मात्र आउँदा रहेछन् । सिंह महलको उत्तरी कुनो त्यो बाँदरको अखडा रहेछ । सधैं कौसीमा आउने र परबाट कोही आयो कि आएन भनेर हेर्ने उसको शैली अचम्मको थियो ।
आँखा तानी तानी हेथ्र्यो, अनि त्यो बिजुलीको पोलमा चढेर त्यहाबाट उ आफ्नो खानेकुराको बन्दोबस्त गर्ने विचार गर्दथ्यो । उसको ठूलो शरीर अनि शरिरसँग समकोण बनाएर सिधा माथि उठेको पुच्छर र माथि पुगेर गल्फको स्टिक जस्तो अलिकति घुमेको विशेष आकारले गर्दा म उसलाई सहजै चिन्थे । मलाई लाग्छ उसले पनि मलाई चिन्न थालेको थियो ।
मलाई कता कता लागि रहेको छ, म अफिसमा नहुँदा उसले सायद मलाई खोज्यो, कतै कुनाबाट उस्को फोटो खिचिरहेको छ कि भनेर झ्यालको कुना कुनासम्म हेर्न खोज्यो होला । विगतमा पनि मैले उसको फोटो खिचेको उसले समातेको छ । म अफिसबाहिर हुँदा पनि सायद फोटो खिचाउने मनसुवाले उ बिजुलीको पोलबाट मेरो कोठामा चिहाउँदै थियो होला ।
अनि उसले थाहै नपाई उसको गल्फ स्टिक जस्तो पुच्छर त्यो हाईटेन्सन तारमा छुन पुग्यो होला । कस्तो भयो होला विचरालाई । करेन्ट लागेर दुई तला तल सडकमा बज्रदाँ । सम्झँदा पनि गाह्रो हुन्छ । जिउ नै सिरिङ्ग हुन्छ ।
तर मेरो मित्रको मृत्युले मेरो काममा वा अन्य जीवन शैलीमा कुनै असर परेको छैन । उ आजको लागि बाच्थ्यो, म भोलिका लागि काम गर्दैछु । तर बेला बेलामा बिजुलीको त्यो खम्बामा अड्किएको उसको रौं हेर्छु र भविष्यका लागि कम्प्युटरको की बोर्डमा चलिरहेका मेरा औला अनायासै रोकिन्छन् ।