नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) दोस्रो कार्यकाल (३१ मे १९९९ देखि २२ मार्च २००० अर्थात् २०५६ जेठ १३ देखि सोही वर्षको चैत ९ गतेसम्म) प्रधानमन्त्री भएको बेलाको कुनै दिन बिहान केही अधिकारकर्मी र प्रधानमन्त्रीबीच माओवादी द्वन्द्वका घटनालाई लिएर छलफल भएको कुरा जानकारी आयो ।
त्यसपछि मैले पद्मरत्न तुलाधरलाई फोन गरेँ । उनीसहित कीर्तिनिधि बिष्ट, ऋषिकेश शाह र कृष्णप्रसाद भण्डारी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका रहेछन् । मैले सोधें– के कुरा भयो ? तपाईंहरुले के कुरा उठाउनुभयो, प्रधानमन्त्रीले के भन्नुभयो ?
उनले जवाफ दिए,– “हामीले बेपत्ता भएका मान्छेको बारेमा कुरा उठायौं । उहाँले गम्भीर कुरा गर्नुभयो ।”
कस्तो गम्भीर, के भन्नुभयो ? फेरि प्रश्न गरेँ । उनी खुले, “हामी अधिकारकर्मीले भेटेको बेलामा एउटा कुरा अंग्रेजीमा भन्नुभयो–‘दे आर अलरेडी किल्ड’ भन्ने । उहाँबाट साह्रै चिन्ताजनक कुरा आयो । उहाँको यो भनाइले तनाव सिर्जना गर्न सक्छ ।”
उनको कुरा भेटघाटमा सहभागी पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टसँग पनि मैले भेरिफाइ गरें । उनले पनि त्यो कुराको पुष्टि गरे । त्यसपछि समाचार बनाइयो । त्यो समाचार सार्वजनिक भएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा त्यसबारेमा चासो बढ्यो । सरकारलाई पनि दबाब पर्यो सायद । प्रधानमन्त्रीले पनि आफूले कुरा गरेको त्यो कुरा मिडियासँग नभनेको भए हुन्थ्यो भनेर तुलाधरहरुसँगै पनि पछि कुरा गरेको पंतिकारले सुनेको थियो ।
तुलाधारले त्यसदिन भनेका थिए,“हामीले माओवादी ‘जनयुद्ध’ का क्रममा बेपत्ता भएका मानिसहरुको अवस्था चाँडो सार्वजनिक गर्नुपर्यो प्रधानमन्त्रीज्यू भन्यौँ । उहाँले अंग्रेजीमा दे आर अलरेडी किल्ड (उनीहरु पहिले नै मारिइसके) भन्दिनु भयो । यो त गम्भीर कुरा भयो प्रधानमन्त्रीज्यू राज्यले किन यस्तो काम गर्यो भनेर हामीले सोध्यौं । प्रधानमन्त्रीले जवाफ दिनुभयो–मैले सुरक्षा निकायसँग बुझेको । उनीहरु मारिइसकेको जवाफ पाएँ । अब मैले के गर्न सक्छु र ?”
केही पछि उनले कांग्रेसका नेता रामचन्द्र पौडेलसँगपनि यो बारेमा कुरा गरेको बताउँथे । पौडेलले भने आफू गृहमन्त्री भइसकेपछि त्यसरी प्रहरीलाई जथाभावी मान्छे मार्न नदिएको बताएको पनि तुलाधरले पंक्तिकारलाई सुनाएका थिए ।
नेपालमा विगतको माओवादी युद्धका क्रममा करिब १ हजार ३ सय मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय रेडक्रस( आइसीआरसी) को प्रतिवेदनमा पाइन्छ । बेपत्ताको प्रसंगमा एकखालको खुलासा किशुनजीले उबेलै गरेका थिए । तर, कहाँ, कसरी, कहिले र कोको भन्ने सहितको प्रसंग भने अझै सार्वजनिक गरिएको छैन । मृत्यु भएको भन्ने राज्यले औपचारिक रुपमा नभनेकाले परिवारका सदस्यले अहिलेसम्म उनीहरुको काजकिरिया समेत गर्न पाएका छैनन् ।
पछि शान्ति सम्झौताको मर्मलाई सम्बोधन गर्न बेपत्ता आयोग बन्यो । जसले अहिले पनि काम गर्दैछ । खेलोफड्को कता पुग्यो त्यो आयोगलाई नै थाहा होला । पीडितका परिवारहरु भने बेपत्ताको विषय हेर्नुपर्ने आयोग आफैं कता हरायो हरायो ‘बेपत्ता’ भयो भन्दैछन् । आयोगका पदाधिकारी कानुन पाइएन, कर्मचारी पाइएन भन्दै गनगन गर्दै हिंडेको देख्न, सुन्न पाइन्छ ।
सरकारले पनि त्यसको सुनुवाई चाँडो गर्न नचाहेको जस्तो देखिएको छ । किनकि, अहिले उसैपनि अन्तर्राष्ट्रिय जगतलाई ‘काम भइरहेको छ है’ भनेर अल्मल्याउन पाइएको छ । केहीले जागिर खान पाएका छन् । पीडितका पीडा भने जहाँको तहीँ छन् । उनीहरुले पनि गरिखानुपर्यो, परिवारको भरणपोषण गर्नुपर्यो । एउटै कुरा लिएर कहाँ मात्रै हिंड्नु, कति मात्रै हिंड्नु ?
अघिको कुरामा जोडिऔं । कुरा हुँदै थियो–दे आर अलरेडी किल्डको । त्यो कुरा सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि निकै चासो दिइयो । तर, सरकारले भने औपचारिक रुपमा त्यसबारेमा केही पनि बोलेन । त्यसै सामसुम भयो । त्यसलाई सामसुम पार्नकै लागि पछि आयोग बनाइयो । कुनैपनि विषयमा आयोग बनाइयो भने नेपालमा बुझे हुने भएको छ, अब केही काम नहुने भो । तत्कालको आक्रोश साम्य पार्नका लागि आयोग बनाइन्छ । आयोगको प्रतिवेदन आउने बेलासम्ममा माहौल अर्कै भइसकेको हुन्छ । त्यसपछि आयोगको पछाडि अर्को ‘यो’ पनि थपिन्छः आयो–गयो । नेपालमा मल्लीक आयोगको प्रतिवेदन, रायमाझी आयोगको प्रतिवेदन, अनि त्यसपछि बनेका थरीथरी आयोगका प्रतिवेदन के भइरहेका छन् ? सायद कुनै सरकारी निकायका दराजमा थन्किएका छन् । कतिलाई त धमिराले भोजन गरिसकेको हुनुपर्छ । हो, बेपत्ता आयोगको विषय पनि यो भन्दा फरक हुने अवस्था देखिएको छैन ।
‘दे आर अलरेडि किल्ड’ का स्रोत व्यक्ति तुलाधारको गत आइतबार राजधानीको नर्भिक अस्पतालमा ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भयो । उनको सोमबार अन्त्येष्टि पनि भएको छ ।
उनी बिरामी भएर अस्पताल भर्ना भएको सुनेर अवस्था बुझ्न मैले उनका ज्वाई अधिकारकर्मी गौरी प्रधानलाई केही दिन अघि सामाजिक सञ्जालमा फोन नम्बर मागेको थिएँ । उनले केही दिन सामाजिक सञ्जाल नै खोलेनन् सायद, मैले जवाफ पाइँन । दुई दिनपछि उनले नम्बर पठाए । त्यतिबेला पंक्तिकार स्वयं ज्वरो आएर थलिएको अवस्था थियो । त्यसैले फोन गरेर बुझ्न पनि पाइएन । आइतबार मृत्यु नै भएको खबर पाउँदा दुःख लाग्यो ।
मृत्युको खबरपछि उनले २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावका क्रममा हनुमानढोका क्षेत्रमा दिएको चर्चित भाषणको रेकर्ड पनि सुनेँ । पञ्चायतकालकै समयमा पनि उनले कडा भाषण दिन सक्दा रहेछन् सर्वसाधारणलाई जुरुक्क पार्ने खालको । उनले त्यहाँ केही यस्ता कुरा भनेका रहेछन्–मुलुकमा ५ प्रतिशतले अहिले देशमा शोषण गरिरहेका छन् । हामी बाँकी ९५ प्रतिशत किन चुप लागेर बस्ने ? उनीहरुले भ्रष्टाचार गरेका छन्, तस्करी गरेका छन्, मूर्ति चोरेका छन् । हामी राजनीतिमा आएनौ भने त फेरि उनीहरुले नै चुनाव जित्छन् । उनीहरुले फेरि त्यही काम दोहोर्याउँछन् र देश अनि जनताले सधैं दुःख पाउने अवस्था रहन्छ । हामीले त्यसो गर्न कहिले सम्म दिने ? त्यसैले जनता जाग्नुपर्यो । जनता जागेपछि फटाहाहरुले फटाईं गर्न सक्नेछैनन् । नाम पञ्चायती व्यवस्था भनिएको छ । तर, जहाँ जाँदा पनि अव्यवस्था छ । यो कसरी व्यवस्था भयो ?
उनको लामो भाषणको लगभग मजबुन यही रहेछ । तर, दुःखको कुरा उनले भने झैं फेरि पनि उही ५ प्रतिशतले बाँकीलाई पिरोल्ने काम गरिरहेको त छैन भन्ने प्रश्न भने अझै जीवित नै छ ।
उनलाई एकताका माओवादी युद्ध गर्ने प्रचण्ड भनेको यही हो भन्ने आरोप पनि लगाइने गरेको थियो । उनी हाँस्दै कहिलेकाँही उ बेलामा नै ती कुरा पनि गर्थे । तर, प्रचण्ड को रहेछन् अब चिन्न बाँकी रहेनन् । पछि पनि सूर्यचिन्ह लिएर स्वतन्त्र कसरी ? भन्ने प्रश्न राखेर गरिएको तुलाधर सम्बन्धी एउटा छलफलमा पनि सहभागी हुने मौका मिलेको थियो । उनको अभिव्यक्ति र तर्क शैली रमाइलो लाग्थ्यो ।
उनी बढी नै भावुक छन्, अनि रोइहाल्छन भन्ने पनि सुनिएको थियो । पछिल्लो समयमा उनी विभिन्न जातजातीलाई सशक्त बनाउनुपर्छ भन्ने अभियानमा पनि लागेका थिए । त्यो अभियान आफैंमा गलत नभएपनि कतिपयलाई चाहिं चित्त बुझेको थिएन । अनावश्यक उचाल्ने काम भयो भन्ने पनि थिए । त्यस्तै गाईको मासु खान पाउनुपर्छ भन्ने उनको धारणा मानवअधिकारको कोणबाट आएको भएपनि बङ्गयाइयो भन्ने उनको तर्क सुनिएको थियो ।
एउटा मान्छेमा सबै कुरा सकारात्मक मात्रै खोजेर पनि हुँदैन, जीवन सकारात्मक र नकारात्मक पाटोको मिश्रण पनि हो । मात्रा के को बढी भन्ने प्रश्न मात्रै अहम् हो । जे भएपनि उनी एक समयका चर्चित पात्र थिए । जो जनअधिकारका लागि केही न केही गरिरहन चाहन्थे । एउटा विवादास्पद भनाइ ‘दे आर अलरेडी किल्ड’ का प्रिय समाचार स्रोतलाई अलबिदा ।