भोजपुर जिल्लाको उकाली, ओराली, भन्ज्याङ, चौतारी, खोलाकान्लामा दौडेर आफ्नो बाल्यकाल बिताएकी मीरा राई आज देशकै गौरव बनेकी छिन् । देशलाई पहिचान गराउने नेपाली चेलीको भिर पहाडको दौडको निरन्तर प्रयासको प्रतिफल हो यो ।
भर्खरैमात्र नेशनल जियोग्राफिकले प्रदान गर्ने ‘एडभेन्चर्स अफ दी इयर २०१७’ जितेकी छिन् । विभिन्न विधामा विशेष पहिचानसहितको साहसका लागि हुने सर्वोत्कृष्ट व्यक्तिको चयनमा मीरा शिखरमा उभिएकी छिन् । उनले मनोनयनमा परेका विभिन्न मुलुकका उत्कृष्ट १० व्यक्तिको सूचीमा रहेका अन्य नौ साहसी व्यक्तिलाई ‘अनलाइन भोटिङ’मा पछाडि छाडिदिइन् । उनी नेपाली चेली भएकी नाताले नेपालको गौरवलाई नै उच्च बनाएकी छिन् ।
बाल्यकाल निकै कष्टसाथ बिताएकी र दैनिक गुजाराकै लागि पनि हतारहतार दौडेर काम गर्नुपर्ने भएकोले मीराले भिर पहाडको दौडलाई आत्मसात् गरिन् । उनलाई उतिबेला थाहै थिएन, दुःख–पीडाको सहारा, भिर पहाड दौडने अभ्यास उनका लागि विश्वमा देशकै पहिचान गराउने आधार बन्ला भन्ने । तर, उनलाई भाग्यले साथ दियो, अवसर पनि पाइन् र सफलता हासिल गर्दैै गइन् ।
आज त्यही भिरपहाडको लामो दौडको आडमा उनी विश्व प्रख्यात बन्नपुगेकी छिन् । भिरपहाडमा दौडने मीरा राई अल्ट्रा म्याराथन धाविका भएर नेपाललाई विश्वभर चिनाउँदै छिन् । हुनत उनकै समकक्षी साथीहरू अहिले पनि तिनै भिरपाखामा डोका बोकेर उकालीओराली गरिरहेका छन् । तर, तिनको भाग्य मीरा राईको जस्तो उज्वल हुन सकेन, डोकोनाम्लोमै सीमित हुन पुगेको छ ।
धाविका मीरा राई अहिले पनि ती साथीलाई झलझली सम्झिन्छिन्, तिनका पीडालाई आत्मसात गर्छिन् र भन्छिन्– अवसर पाएमा ती सबै साथी मजस्तै बन्न सक्छन् । उनीसँग दमकमा भएको मेरो छोटो भेटमा उनले यस्तो भावना पोखेकी थिइन् ।
कक्षा ६ मा अध्ययनरत रहँदा नै तत्कालीन माओवादी सशस्त्र विद्रोहमा होमिएकी मीरा राई १४ वर्षको उमेरमा माओवादी लडाकु भएकी थिइन् । तर, उमेरका कारण सिन्धुलीस्थित लडाकु प्रमाणीकरण शिविरबाट अयोग्य लडाकुका रूपमा केही रकम लिएर शिविरबाट बाहिरिइन् ।
अयोग्य लडाकु हुनुको पीडाले सताइएकी मीरा हतास थिइन् तर उनी मार्सल आर्टसमा अब्बल भएकाले ध्रुवविक्रम मल्लको सहारा पाइन् । वैदेशिक रोजगारीका लागि विदेसिन लागेकी उनी तिनै कराते प्रशिक्षक मल्लको सहयोगमा कराते प्रशिक्षणमा लागिन् । तर, उनी दौडिन सिपालु भएकीले मल्लले उनलाई यतैतिर होमिन सल्लाह दिए र उनी सोहीबमोजिम पहाडी भूभागमा हुने दौडमा सामिल हुन थालिन् । अल्ट्राम्याराथन धाविका मीरा र तिनै प्रशिक्षक मल्ललाई आर्थिक सहयोगका लागि ब्रिटिसस्थित संस्थाहरूको समूहले दमकमा आयोजना गरेको कार्यक्रममा आएका बेला मैले उनको अनुभव सुन्ने मौका पाएको थिएँ । उनको विश्व विजेता बन्ने धोको रहेको स्पष्ट देखिन्थ्यो ।
आधिकारिक रूपमा हिमालयन आउटडोरको ५० किमी रेसबाट सुरु भएको सिलसिलाले क्रमिक रूपमा सफलता चुम्दै गयो । अल्ट्राम्याराथुनका बारेमा परिचित पनि हुँदै गइन् । उनलाई यस प्रकारको साहसिक दौडप्रति रुची पनि बढ्दै गयो र विभिन्न प्रतियोगितामा सहभागी पनि बन्दै गइन् । सफलता पनि हासिल गरिन् । सन् २०१५ मा भएको अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिजमा उनी उपविजेता भइन् । विश्व विजेता बन्ने धोको बोकेर अहिले पनि उनी दौडिने अभ्यास गरिरहेकी छिन् ।
तर, देबे्र खुट्टाको एन्टेरियर क्रुसिएट लिगामेन्टको ४ महिना अगाडिमात्र दूरबिनसहितको आधुनिक प्रविधिमार्फत इटालीमा शल्यक्रिया भएकोले उनले राम्ररी अभ्यास गर्न नपाएको गुनासो दमक आएको बेला गर्दै थिइन् । उनी २०१७ को प्रतियोगिताका लागि तयार हुन चाहन्छिन् । अहिले सामान्य स्ट्रेचिङदेखि योगमा सीमित छ उनको प्रयास । सायद छिटै नै उनले फेरि भिर पाखामा साहसिक दौडको अभ्यास गर्नेछिन् । हामी नेपालीको शिर उच्च बनाउन र देशको प्रतिष्ठा बढाउन उनी झन् दह्रो भएर आउनेछिन् ।
मीरा ! तिमी देशकी इज्जत भएकी छौ । तिमी धेरै महिलाका लागि सशक्तीकरण र साहसकी आधार भएकी छाैं । तिमी पिछडिएकाहरूको सहारा भएकी छौ । दुर्गममा रहेकाका लागि शक्तिको स्रोत भएकी छौ । अनि हामी सबै नेपालीका लागि प्रेरणा भएकी छौ । मीरा ! तिमी सधैैँ भिरपाखामा दौडी राख ! देशका लागि, हाम्रा लागि, अनि तिम्रा समकक्षी साथीका लागि अनि आफ्नो लागि । शुभकामना तिम्रो सफल दौड यात्राका लागि !
(साह दमकस्थित निम्स नेसनल अस्पतालमा कार्यरत छन्)