.jpeg)
काठमाडौं । साविक बागमती अञ्चलको मोटरसाइकल दर्ता प्रक्रिया प्रदेशअनुसार सुरु भएको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअनुसार दर्ताको बाटो खुलाएपछि मोटरसाइकल दर्ता प्रक्रिया सुरु भएको हो ।
संविधानबाट हटिसकेको अञ्चल गाडीको नम्बरप्लेटमा यथावत रहँदै आएकोमा साविक बागमती अञ्चलमा मोटरसाइकलको लट ९९ सम्म पुगेपछि असोज १६ गतेदेखि यातायात व्यवस्था विभागले मोटरसाइकल दर्ता प्रक्रिया रोकेको थियो । साविक बागमती अञ्चलमा ९९ लट पुगेको मोटरसाइकल दर्तालाई १ सय लटबाट क्रमशः १ सय १ बनाउँदै दर्ता प्रक्रियालाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जोड रहेको थियो ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकृत गरेपछि प्रदेश नम्बरअनुसार नै मोटरसाइकल दर्ता गर्ने निर्णय गरेको हो । यातायात तथा सवारी व्यवस्था नियमावली २०५४ मा दुई अङ्क अर्थात ९९ लटसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो । उक्त नियमावलीअनुसार ९९ लट पूरा भएपछि विभागले साविक बागमतीमा मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको थियो ।
मोटरसाइकल नम्बरप्लेटमा अब पहिला अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ । राजपत्रमा प्रकाशित भएपछि अब दर्ता सुरु गरिने विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल दर्ता शाखा सतुङ्गलका प्रमुख गणेश अर्यालका अनुसार अब प्रदेशअनुसार मोटरसाइकल दर्ता प्रक्रिया सुरु गरिनेछ ।
“प्रदेशअनुसार मोटरसाइकल दर्ता गर्ने सुचना राजपत्रमा प्रकाशित भएपछि दर्ता रोकिएका मोटरसाइकलको दर्ता सुरु भइसकेको छ,” अर्यालले बाह्रखरीसँग भने ।
यसरी लेखिनेछ अङ्क, अक्षर
हालसम्म सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको नामाकरण भए पनि प्रदेश ३ को नामाकरण नभएसम्म मोटरसाइकलको नम्बरप्लेटमा प्रदेश नम्बर नै लेखिने र प्रदेशको नामाकरण भएपछि प्रदेशको नाम लेखिने प्रमुख अर्यालले बताए ।
तर प्रदेश नम्बर ३ को नामाकरण भएपछि फेरि नामअनुसार परिवर्तन गर्नुपर्नेछ ।
साविकअनुसार नै नम्बर भएका मोटरसाइकलका हकमा भने सरकारको अर्को निर्णय नआएसम्म उक्त नम्बर प्लेटका मोटरसाइकल यथावत सञ्चालन रहनेछन् । मोटरसाइकलको अगाडि र पछाडिको प्लेटमा बेग्ला–बेग्लै प्रकारले नम्बर लेखिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
जसमा अगाडिको नम्बरप्लेटमा दुई तह र पछाडिको नम्बरप्लेटमा तीन तहमा नम्बर लेखिनेछ । माथिल्लो लहरमा पहिला प्रदेश नम्बर र मोटरसाइकल दर्ता गर्ने कार्यालयको कोड त्यसैगरी तल्लो लहरमा मोटरसाइकलको लट त्यसपछि निजी मोटरसाइकलको सङ्केत ‘प’ र मोटरसाइकल नम्बर लेखिने छ ।
यसैगरी मोटरसाइकलको पछाडिको नम्बरप्लेटमा प्रदेश नम्बर र मोटरसाइकल दर्ता गर्ने कार्यालयको कोड त्यसको तल्लो लहरमा मोटरसाइकलको लट निजी मोटरसाइकलको सङ्केत ‘प’ त्यसको तल्लो लहरमा मोटरसाइकलको नम्बर लेखिने छ । असोज १६ बाट मोटरसाइकल दर्ता रोकिँदा उक्त कार्यालयले सङ्कलन गर्ने दैनिक करिब ६० लाख राजश्व रोकिँदै आएको थियो ।
इम्बोस्ड नम्बरप्लेट रोकिएको रोकियै
सरकारले गतवर्ष जारी गरेकोे इम्बोस्ड नम्बरप्लेटमा पनि अञ्चल नै उल्लेख थियो । प्रतिसवारी २ वटा नम्बर प्लेटको दरले ५० लाखवटा प्लेट र अन्य पूर्वाधार तथा उपकरणका लागि डेकाटो एन्ड टाइगर आइटी जेभीले ४ करोड ३७ लाख ८५ हजार अमेरिकी डलरमा सरकारले उक्त कम्पनीलाई ठेक्का लगाएको थियो ।
नेपाली अङ्क, अक्षर नभएको, संविधानमै नभएको अञ्चल उल्लेख भएको र अत्याधिक महङ्गो शुल्कअनुसार सुरक्षा सुविधा नपाएपछि सर्वसाधारणबाट इम्बोस्ड नम्बर जडान गर्न असन्तुष्टि जनाउँदै आएका थिए । जसमा गत वर्ष फागुनमा सर्वोच्च अदालतले जडान बन्द गर्न फैसला गरेपछि इम्बोस्ड नम्बरप्लेट जडान सुचारु हुन सकेको छैन ।