site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको भूकम्पसम्बन्धी अध्ययन गर्दै जापानी भूगर्भविद्
SkywellSkywell

काठमाडौं । २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाकमा केन्द्रबिन्दु बनाएर आएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण उत्पन्न समस्याबाट अझै पनि हामीले निकास पाइसकेका छैनौं । नेपालीले राम्रोसँग खुट्टा टेक्न नपाउँदै विश्वका प्रतिष्ठित वैज्ञानिक र भूगर्भविद्हरुले सन् २०१५मै एउटा तथ्य सार्वजनिक गरेका थिए, ‘‘नेपालको भूगर्भभित्र रहेको सबै ऊर्जा निष्कासन भइसकेको छैन र त्यो झन् ठूलो भूकम्पको रुपमा बाहिर आउन सक्छ ।’’

त्यतिबेला आएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले त मान्छेको सातो बोलाएको थियो भने त्यो भन्दा ठूलो आयो भने के होला भनेर सबैमा भयको अवस्था सिर्जना भएको थियो र अझै पनि त्यो भय बाँकी नै रहेको छ । 

\"\"आखिर अहिले के भयो त त्यो जमिनभित्रको ऊर्जा ? सरकारी तहबाट यसबारेमा अध्ययन नभए पनि त्रिभुवन विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ टोक्योमा आवध्दता रहेको अर्थक्वेक रिसर्च इन्स्टिच्युट (भूकम्प अनुसन्धान प्रतिष्ठान)को सहकार्यमा एउटा अध्ययन भने भइरहेको छ । सो अध्ययनमा नेपालका तर्फबाट संलग्न नेपाल भौगर्भिक समाजका निवर्तमान अध्यक्ष तथा त्रिचन्द्र क्याम्पसमा अध्यापन गरिरहेका प्राडा दण्डपाणि अधिकारीले बाह्रखरीसँग भने, ‘‘हामीले जमिनभित्रको हलचल पछिल्लो समयमा कस्तो छ भन्ने पत्ता लगाउनका लागि गोरखादेखि दोलखासम्मको जमिनमा ८० स्थानमा सिस्मोमिटर र जिपिएस युनिट नामका उपकरण राखेका थियौं । ३–३ महिनाको दरले राखिएका ती उपकरणको अध्ययन सकिएपछि तथ्य बाहिर आउनेछ ।’’ 

KFC Island Ad
NIC Asia

ती उपकरणमा ब्याट्री ३ महिनामा सकिने भएकाले ब्याट्री फेरेर ६ महिनासम्म जमिनमुनिको तथ्य लिने काम भएको उनले जनाए । तर, प्राप्त तथ्यले के बोल्छ भन्ने कुराका बारेमा अहिले जापानका भूगर्भविद्हरुले अध्ययन गरिरहेका छन् । जिपिएस युनिटले जमिनको भित्रि भागको हलचल दायाँबायाँ वा तलमाथि कता छ भन्ने पत्ता लगाउँछ भने सिस्मोमिटरले जमिनभित्र भइरहेको सानो भन्दा सानो कम्पनको समेत रेकर्ड राख्दछ । 

अध्ययनमा संलग्न जापानको अर्थक्वेक रिसर्च इन्स्टिच्युट सन् १९२५ मा स्थापना भएको भूकम्प र ज्वालामुखी सम्बन्धी अध्ययनमा ख्यातिप्राप्त निकाय मानिन्छ ।

Royal Enfield Island Ad

अधिकारीका अनुसार टोक्यो विश्वविद्यालयमा विगत ८ महिनादेखि त्यहाँका भूभर्गविद् र वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । उनीहरुको अध्ययन आगामी डिसेम्बर महिनासम्ममा पूरा हुन सक्ने अधिकारीले जनाए । ती उपकरणले रेकर्ड गरेका तथ्यहरु पहिला अध्ययन गरिनेछ । त्यसपछि विश्लेषण गरेर भूभर्गविद्हरुले व्याख्या गर्नेछन् । अनि त्यसलाई सार्वजनिक गरिनेछ । भूगर्भविद्हरुका अनुसार यसबीचमा हजारौंको संख्यामा परकम्प पनि गएका छन् । ती परकम्पले जमिनमुनिको ऊजा निष्कासन गरिसकेको पनि हुन सक्छ । यदि त्यो ऊर्जा निष्कासन भइसकेको हो भने तत्काललाई ठूलो भूकम्पको सम्भावना टर्ने भएपनि ऊर्जा बाहिर गइसक्यो कि सकेन भन्ने कुरामा नै अहिले शंका छ । 

ऊर्जा बाँकी नै रहेछ भने त्यो झन् खतरनाक र डरलाग्दो रुपमा आउन सक्ने समेत वैज्ञानिकहरुले बताउँदै आएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरत कोइरालाले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘गोरखा भूकम्पका परकम्पहरुको रेकर्ड हामीले ३६ हजार वटासम्मको गर्‍यौं । त्यसपछि कति गए भन्ने बारेमा हामीले गर्नै छोड्यौं । रेकर्ड गरेर साध्य नै भएन ।’’

के अब परकम्प आउन पूरै रोकिएको हो त ? ‘‘भन्न सकिँदैन । तर, पहिलाको तुलनामा कम भने भएकै हो,’’ उनले भने । 

सधैं भूकम्पको खतरापूर्ण स्थान मानिने इण्डोनेसियामा केही दिनअघि गएको भूकम्पका समाचार हेर्दा वा पढ्दा अहिले पनि नेपालीको मन मस्तिस्क २०७२ सालको नेपालको भूकम्प सम्झेर झसक्क हुने गर्दछ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको सो भूकम्पले ३१ जिल्लालाई तहसनहस पारेको थियो भने समग्रमा देशले नै त्यसको मार अझै खेपिरहनु परेको छ । मानवीय पीडाको त झन् कुनै गणना नै हुन नसक्ने अवस्था रहेको छ । 

भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन (पिडिएनए)का अनुसार ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो र २२ हजार ३ सय घाइते भएका थिए । ४ लाख ९८ हजार ८ सय ५२ निजी घर, २ हजार ६ सय ५६ सरकारी भवन र १९ हजार विद्यालयका कक्षा कोठा पूर्ण रुपमा क्षति भएकोमा अझैपनि धेरै संरचना पुनर्निर्माणकै चरणमा छन् । पुरातात्विक महत्वका थुप्रै सम्पदा ध्वस्त भएका छन् । तिनीहरु मध्ये केहीको निर्माण भएपनि थुप्रै काम अझै पूरा हुन सकेको छैन । 

२०७२ सालको भूकम्पपछि नेपालीसमेतको संलग्नतामा विश्वका थुप्रै ख्यातिप्राप्त भूगर्भविद् र वैज्ञानिकहरुले नेपालको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गरेका थिए । नेपालका भूगर्भविद् प्राडा अधिकारीको समेत संलग्नतामा भएको एक अध्ययनको रिपोर्ट नेचर जियोसाइन्स नामक चर्चित जर्नलमा प्रकाशित समेत भएको थियो । त्यसमा नेपालको जमिनभित्रको सबै ‘पेन्ट—अप सिस्मीक प्रेसर’ रिलिज नभएको जनाइएको थियो । 

डा. अधिकारीकै शब्दमा भन्ने हो भने बारपाक केन्द्र गरी आएको भूकम्पलाई एउटा च्यातिएको कपडासँग तुलना गर्दा त्यहाँबाट जमिनमुनिको ऊर्जा फाट्दै महाभारत शृंखलासम्म पुगेको छ । त्यहाँ पुगेको ऊर्जा बाँकी छ भने अझैपनि ठूलो भूकम्प जान सक्छ । परकम्पका कारण निष्कासन भइसकेको हो भने अहिलेलाई भूकम्प टरेको मान्नुपर्छ । 

\"\"

उनले त्यहाँ जम्मा भएको ऊर्जा बाहिर गइसकेको वा नसकेको भन्ने बारेमा जानकारी पाउनका लागि भने जापानमा भइरहेको अध्ययनको रिपोर्ट आउनुपर्ने बताए । अधिकारीका अनुसार नेपालको भूकम्पको अवस्थाका बारेमा अध्ययनमा कार्यरत एक जना प्राध्यापकले अवकाश पाएकाले पनि रिपोर्ट आउन केही ढीलो भएको हो । तर डिसेम्बरसम्ममा काम सकिने आशा गरिएको उनले बताए । 

जीपीएस अनुगमन र भौगर्भिक अध्ययनका अनुसार ३३ देखि ५० फिट (१० देखि १५ मिटर) क्षेत्रमा रहेको उर्जा रिलिज हुनु जरुरी रहेको छ । भूगर्भविद्हरुका अनुसार भूकम्पका क्रममा नेपालको भूभाग करिब १० फिट अर्थात् ३ मिटर उफ्रेको थियो । यो क्षेत्रमा अझ ठूलो भूकम्प आउन सक्ने वाशिङ्टन विश्वविद्यालयका भूगर्भविद्हरुले समेत सन् २०१५मै बताएका थिए । 

उनीहरुको तर्क के रहँदै आएको छ भने जमिनमुनिको ऊर्जा निष्कासन हुनका लागि पनि ठूलो भूकम्प आउन जरुरी हुन्छ । उनीहरुको संकेत पहिला जम्मा भएको ऊर्जा सबै रिलिज हुनका लागि कम्तिमा ८ म्याग्निच्युड सम्मको भूकम्प आउनुपर्छ भन्ने छ । 

पोखराको पश्चिमतिरको भागमा र भारतको नयाँ दिल्लीबाट उत्तरतर्फको भागमा आगामी दिनमा ठूलो भूकम्प जान सक्ने समेत भूगर्भविद्हरुले बताउँदै आएका हुन् । त्यो क्षेत्रमा सन् १५०५ पछि भूकम्प नगएकोले ऊर्जा संकलन भएको उनीहरुको तर्क छ । सर्वसाधारण आत्तिनुपर्ने अवस्था नभए पनि सचेत हुनुपर्ने डा. अधिकारी बताउँछन् । परकम्पको कारणबाट उर्जा निष्कासन भइसकेको रहेछ भने चिन्ताको विषय नहुने उनको तर्क छ । 

\"\"

नेपालको भूमिभित्रको ऊर्जाको अवस्थाका बारेमा नेपाल सरकारकै तर्फबाट भने अहिले कुनै अध्ययन नभएको प्रमुख सिस्मोलोजिष्ट लोकविजय अधिकारीले बताए । २०७२ सालको भूकम्पपछि झण्डै ६ महिना हरेक दिनजसो मिडियासँगको सम्पर्कमा रहेर काम गरेका अधिकारीले बारपाक भूकम्पकै बारेमा अहिले विद्यावारिधी गर्दैछन् । त्यसै सिलसिलामा मंगलबार साँझ फ्रान्सतर्फ लागेका अधिकारीले बाह्रखरीसँग भने, ‘‘हामीले जमिनको रेकर्ड भने लिइरहेका छौं । त्यसको अध्ययन सामान्य रुपमा भइरहेको छ । त्यसबाहेक यो मामिलामा नेपालको सरकारी स्तरबाट केही पनि भएको छैन ।’’

तस्बिर सौजन्यः प्रा.डा. दण्डपाणि अधिकारी


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro