भूकम्प पीडितले विपत्को सामना गर्दै त्रिपालकै सहारामा गुुजारा चलाए । झरीसँगै जुध्दै जसोतसो २ बर्खा कटाए । तुषारो र शीतसँग मितेरी लगाउँदै जीवन भुलाए । छाप्रामै पहेँला जमरा उमारे, रातो टीका लगाए, सयपत्री, मखमली फुलाए ।
त्यही छाप्रोमा विरहका गाथा गाँउदै आफन्तलाई विलौना सुनाए । यसरी नै ती भूकम्प पीडितको अर्को वर्ष पनि बित्ला तर सरकारको नजर जाने लक्षण छैन । विसं २०७२ साल माघ २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमतीस्थित मन्दिर शिलान्यास गर्दै राष्ट्रिय पुनः निर्माण अभियानको थालनी गरेका थिए ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिनबाट प्रारम्भ भएको राष्ट्रिय पुनः निर्माण अभियानले १ वर्ष पार गर्दासमेत ग्रामीण भेगका मात्र हैन सहरकै भूकम्प पीडितले पनिे अझै अस्थायी झाप्रामै जीवन गुजारी रहेका छन् ।
पुनर्निर्माणको आशामा सरकारको भरमा परेका धेरै भूकम्प पीडित गरिबीसँगै संघर्षरत जीवन बिताइरहेका छन् ।
भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण ऐन, नियम, कार्यविधि, मापदण्ड के के हो बनाइयो । पुनर्निर्माण तथा पुनःस्थापना नीति बन्यो । अनुदान वितरण सम्बन्धी कार्यविधि बन्यो । लाभग्राही छनोट कार्यविधि बन्यो ।
केन्द्रीय तथ्याङ्क विभागले भूकम्पबाट क्षतिग्रस्त घरहरूको सर्वेक्षण तथा विवरण संकलनका लागि प्राविधिक टोली गाँउगाँउ खटायो । काठमाडाैं उपत्यका बाहेकका भूकम्पबाट अति प्रभावित ११ जिल्लाको ७ लाख १७ हजार १८ घरधुरी सर्वेक्षणले ५ लाख ३३ हजार ४ सय ५४ घरधुरी पूर्णरूपमा क्षति भएको सरकारले तथ्याङ्क निकाल्यो ।
यसमा कति वास्तविक भूकम्प पीडितको नाम छुट्यो ।
तैपनि लगत संकलन गरी अनुदान सम्झौता भयो । पहिलो किस्ता स्वरूप पचास हजार वितरण गरियो । हेर्दा र भन्दा धेरै काम भए तर जनताको घर बनेन ।
केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले भूकम्प प्रभावित केही गाउँमा आवास निर्माण गरिदिए । कलाकार धुर्मुस सुन्तलीको जोडीले एकीकृत बस्ती बसाले ।
सरकारले लामो समय लगाएर आवास पुनर्निर्माणका लागि पचास हजार वितरण ग¥यो । त्यही रकम पनि कतिले पाए कतिले अझै पाएका छैनन् । दोस्रो किस्ता भुक्तानीको कुनै लक्षण नै देखिँदैन ।
सत्तारुढ दल र प्रतिपक्ष अझै पनि भूकम्प पीडितकै नारा लगाएर सत्ताको राजनीति गरिरहेका छन् । जनताको घरदैलोमा पुगेर पिडामा मलम लगाउने काम भने कसैले पनि गर्न सकेका छैनन् । जनता शीतसँग प्रित लगाएर रात बिताउन बाध्य छन् ।
जस्तापाताको अस्थायी टहरा, ससाना लालाबाला, नाक सुक्कसुकाउँदै थर्थर काम्नु उनीहरूको नियति नै भएको छ ।
एउटा सानो घर बनाएर निर्धक्कले बस्ने उनीहरूको चाहना सपनाजस्तै भएको छ । तर, सरकारले तिनको पीडा बुझ्न सकिरहेको छैन ।
यस वर्ष पहाडी जिल्लामा आएको मौसमी परिवर्तनसँगै भूकम्प पीडित थप प्रभावित भएका छन् । कतै असिना पानी त कतै हिउँपात समेत भएपछि पहाडी जिल्लाको जनजीवन प्रभावित भयो ।
जाडोकै कारण भूकम्पमा बाँचेका कतिपय बृद्धबृद्धा निमोनियाको सिकार भएर मृत्युसँग संघर्ष गरिरहेका छन् । शिशिर ऋतुको कठ्यांरिदो जाडोमा झन् चिसो थपिन पुग्यो ।
सिरक डस्नाको न्यानोले छाप्रोमा बस्नेको आङ तात्न सकेन । सुत्केरी, बालबालिका र बृद्धबृद्धाले आगो तापेरै सास धानेका छन् । हिउँदे जाडोमा लुगलुग काम्दै अधिकांश ग्रामीण भेगका भूकम्प पीडित यति बेला एउटै आवाजमा सोधिरहेका छन् — सरकार हाम्रो घर कहिले बन्छ ?