पुरानो भए पनि घण्टाघरको सुई घुमिरहेकै छ । त्यही सुईसँगै म घुम्न सकेँ कि सकिनँ, थाहा छैन । तर, थोरबहुत घण्टाघरको घडीसँगै हिँड्ने प्रयत्नलाई भने निरन्तरता दिइरहेँ ।
समय परिवर्तनशील छ । समयसँगै चल्नुपर्छ भन्ने पनि थाहा छ । प्रयत्न गरेको पनि हो, गरिरहेकै पनि छु । सफल भइरहेको छु भन्ने पनि लाग्छ । वरिपरि हेर्दा कहिलेकाहीँ आफैंलाई भ्रममा त छैन भन्ने पनि भान हुन्छ ।
जे होस् म भ्रममा छु या छैन, मूल्यांकन गर्ने जिम्मा तपाईंको ।
रामकृष्ण ढकालले स्वरबद्ध गरेको एउटा कालजयी गीत छ, ‘यात्रा रहेछ जिन्दगी...।’ भागदौडपूर्ण यो जिन्दगीलाई सायद यो गीतको स्थायीले न्याय गर्छ पनि होला ।
यात्राका क्रममा मान्छेले फरक फरक अनुभव संगाल्छ । कहीँ कतै आफैं अनुभूत गर्छ त कतै आँखाभरिका दृश्य देख्छ । कति दृश्य आँखामा संगालिरहुँ जस्तो लाग्छ भने कतिचाहिँ बिर्सिउँ बिर्सिउँ जस्ता भद्दा लाग्दा रहेछन् ।
सूचना प्रविधिको विकाससँगै समाज फेरिएको छ । मान्छे फेरिँदै गएका छन् । सोचाइ बदलिँदै गएको छ, सँगै जिउने शैली पनि बदलिएको छ ।
प्रविधि र त्यसको प्रयोगले होला, मान्छे उमेर अगाडि नै परिपक्व हुँदैछ । इन्टरनेटको सहज पहुँचले होला यो सम्भव भएको । यसलाई सलाम गर्नैपर्छ । तर, यसको दुरुपयोग पनि भइरहेको छ । इन्टरनेटका भल्गर दृश्य, भिडियो र अन्य सामग्रीले अहिलेको पुस्तालाई नकारात्मक बाटोमा हिँडाउन थालेको छ ।
शुक्रबार बिहान बाह्रखरी अफिस थापाथलीका लागि भृकुटीमण्डपबाट माइक्रो चढ्दा बिहान साढे ११ बजेको थियो । बा २ ख २५८३ नम्बरको हायस माइक्रो (नम्बर माइक्रोबाट उत्रिएपछि नोट गरेको) को अन्तिम सिटमा तीन जना बसिसकेका थिए । मसहित चार जना । दायाँतर्फ झ्यालको छेउमा युवती थिइन् भने त्यसपछि एक पुरुष । बायाँतर्फ एक जना युवक थिए । उनी घरीघरी फोनमा कुरा गरिरहेका थिए । स्पष्टै बुझिन्थ्यो, उनी कोही युवतीसँग कुरा गर्दैथे ।
सहचालकले भाडा मागे । उनले माइतीघर ओर्लिने भन्दै १० रुपैयाँ दिए । माइतीघर आयो । उनी ओर्लिन खोजे । ढोकासम्म पुगेका के थिए, फेरि फर्किएर आए । तर, उनी एक्लै आएनन् । रातो स्वेटर लगाएकी मंगोलियन फेसकी अन्दाजी २० वर्षकी युवतीको पछि लागेर आए । उनले ती युवतीको हात समाइरहेका थिए । युवतीलाई बसाए र आफू पनि बसे । ५ जनाको सिटमा ६ जना भइयो । ती युवती युवकको काखमा ज्यादा थिइन् सिटको तुलनामा ।
कोटेश्वरबाट आएकी रहिछन् उनी । उनीहरू फिल्म हेर्न हिँडेका रहेछन् । युवकले ई–टिकेट लिएको सुनाउँदै थिए । “तपाईं ढिलो आउनुभयो” उनी आरोप लगाउँदै थिइन् । केही समय कुर्नुपरेछ क्यारे, उनको गुनासो रोकिएन ।
केही समय माइक्रोमा गीत बज्दै थियो शिव परियारको– ‘तिम्रै निम्ती मखमली चोली लिई आउँला, केही वर्ष पर्ख अझै डोली लिई आउँला’ । युवकले सुनाए– भर्खरै गीत बजेको थियो नि !
कुन ? युवतीले सोधिन् ।
‘तिम्रै निम्ती मखमली चोली लिई आउँला, केही वर्ष पर्ख अझै डोली लिई आउँला’ युवकले भने ।
प्रत्युत्तरमा युवतीले छड्के आँखामात्रै तरिन्, बोलिनन् तर हात भने चले ।
मुखभन्दा छिटो तिनको हात चल्दोरहेछ । उनका हात कहाँ कहाँ पुग्थे, भनिसाध्य नै भएन । गोप्य अंगहरूमा समेत उनका हात बढेका थिए । ती दुवै जनाले आफू कहाँ छु भन्ने भुलिरहेका थिए । असभ्यपन देखाउन छाड्दै छाडेनन् ।
युवतीका हातहरू सम्हालिरहेका थिएनन्, झन् झन् छुद्र पो बनिरहेका थिए । सायद ती युवकलाई असहज महसुस भएछ क्यारे, घरीघरी पुलुकपुलुक मलाई हेरेर युवतीका कानमा भन्दै पनि थिए, “लाज लाग्दैन ?”
“केको लाज ?” उनी प्रत्युत्तरमा भन्दैथिइन् ।
न उनीहरूलाई अरुको प्रभाव थियो, न छेउमा अरु बसेको हेक्का । आफ्नै संसार थियो दुई जनाको ।
हामीचाहिँ रमिते, उनीहरूको गतिविधि नजरअन्दाज गरिरहेका ।
सिटमा रहेका सबैले उनीहरूलाई देखिरहेका थिए । अगाडि रहेकाले पनि सुनिरहेका थिए । तर, कोही पनि बोलिरहेका थिएनन् । ‘....भन्दा देख्नेलाई लाज’ को अवस्था सिर्जना भइरहेको थियो । कोही पनि बोलेन । मलाई भने लागिरहेको थियो, ‘यिनीहरूले भुलिरहेका छन् हामी सार्वजनिक सवारी साधनमा यात्रा गरिरहका छौं’ भन्ने ।
मैले ती दुईको क्रियाकलापलाई किन आत्मसात गर्न सकिनँ ? म समयभन्दा पछाडि छु या उनीहरू हाम्रो समाजभन्दा अगाडि ? खुट्याउन सकिनँ । हरेक कुराको समय र स्थान हुन्छ अनि संयमता जरुरी छ भन्ने सोच पाल्ने म गलत हुँ कि सार्वजनिक सवारीमा मजस्तालाई बढी लाग्ने व्यवहार गर्ने यी प्रतिनिधि पात्रहरू खराव हुन् ?