जावलाखेल..., लगनखेल... जावलाखेल..., लगनखेल... । यता खाली गाडी..., खाली गाडी... ।
आउनुस्, हिँडिहाल्यो..., हिँडिहाल्यो.... । जावलाखेल..., लगनखेल... जावलाखेल..., लगनखेल...
झुस्स दारी पालेको सानो–सानो चेहडाको माइक्रो बस सहचालकले बिहीबार भृकुटीमण्डपमा रहेका प्यासेन्जरलाई डाकिरहेको थियो ।
छिनभरमै माइक्रो भरियो । प्यासेन्जरको खाँदाखाँद भयो । माइक्रोका प्यासेन्जर हेर्दा लाग्थ्यो, त्यो माइक्रोबस होइन ‘माइक्रो उठ’ हो ।
ढक..., ढक...,ढक... जाऊँ जाऊँ गुरुजी जाऊँ । सहचालक फेरि कराए ।
‘ढोका लगा, तेरो मामा छ अगाडि’, चालक स्टेरिङ घुमाउँदै कराए ।
सहचालकले घ्वार्रर्रर्र... ढोका ताने झ्यालाट आधा जिउ बाहिर निकालेर उभिए ।
० ० ०
भद्रकाली टर्निङमा पुगेपछि ट्राफिक जाम भयो । सहचालक आधा बाहिर निस्किएको शरीर झ्यालबाट भित्र छिराउँदै भन्दै थिए, “माइतीघर, थापाथली झर्ने कोही छ ? छ भने भाडा मिलाउनुस् है ।”
जाम लामै भयो । सिंहदरबार नपुग्दै चार जनाले भाडा निकालेर दिए । मैले पनि विद्यार्थी परिचयपत्रसहित १० रुपैयाँ निकालेर दिएँ ।
महिला सिटमा बसेकी गोरो वर्णकी अन्दाजी ३५ वर्षकी महिलाले भनिन्, “भाइ, मलाई सर्वोच्च अगाडि रोकिदिनुस् ल ?”
सर्ट–पाइन्टमाथि निलो कपडाको ज्याकेट लगाएकी उनी हेर्दा पढेलेखेकी जस्तै लाग्थिन् । सहचालकले ‘अहिले कडा छ, मिल्दैन दिदी । ट्राफिकले भेट्यो भने हजार रुपैयाँको चिट काटिदिन्छ’ भनेर रुखो स्वरमा जवाफ फर्काए ।
माइक्रोमा कक्रक्क परेर उभिएका तिलचामले केश भएका एक व्यक्तिले भने, ‘१५ प्रतिशत कमिसन आउने भएपछि ट्राफिकको खेतीपाती नै यही भएको छ ।’ पाखुरामा ट्याटु हानेका उनीसँगै उभिएका एक युवाले फरक मत राखे, ‘नियम मिच्नेलाई कारबाही गर्नु राम्रै हो नि । सरकारलाई ‘ट्याक्स’ पनि त हुन्छ ।’
“हैन, अति नै गर्छन्,” अधवैंशे ती पुरुषले गल्ने छाँट देखाएनन्, युवा चुप लागे ।
पालो आयो सहचालकको । प्वाक्क बोलिहाले, “कुरा त बुझ्नुपर्यो नि पुलिसले पनि । दसैंपछिको कुरो हो । बसपार्क छेउमा एक जना दिदीले हात दिइन्, हातमा दुई गहु्रँगा झोला थिए । साँझ परिसकेको थियो । म आफैंले ओर्लिएर एउटा झोला गाडीमा हाल्दिएर चढाएँ । पुलिसले हेरिरहेको थियो, हजार रुपैयाँको चिट काटिहाल्यो । दिदी विद्यार्थी रहिछन्, १० रुपैयाँ दिइन् । हामीलाई ९९० रुपैयाँ घाटा भयो । पुलिसले बुझ्नु पर्दैन कस्तो बेला कहाँ रोकेको भनेर ?”
अधवैंशे ती पुरुषलाई घत परेछ, भनिहाले, “हो त ।”
पछाडि सानो स्वरमा दुई जना गनथन गरेको स्पष्टै सुनियो, “खलासी पनि कमको हुन्छ ? मान्छे ओराल्नुपर्यो भने नियमको कुरा गर्छन्, चढाउनुपर्यो भने चोकमात्रै हैन, जेब्रा क्रसिङमै रोक्छन् ।” ‘हो त नि’ भन्दै छेउकै अर्को महिला स्वरले सही थाप्यो ।
० ० ०
सिंहदरबारको जाम खुलेपछि माइक्रो माइतीघरतर्फ अगाडि बढ्यो ।
ती अघिकी महिलाले भनिन्, ‘भाइ, सर्वोच्च अगाडि रोकिदेऊ है ।’
सहचालकले हुँदै पुलुक्क ती महिलालाई हेरे । “म स्टाफ हुँ,” महिलाको स्वर अभिमानी लाग्यो । छेउछाउकाले उनलाई पुलुक्क हेरे ।
तर,
उनले अप्ठ्यारो महसुस गरिनन् ।
सहचालकको गलेको स्वर सुनियो, “जाम भयो भने झर्नुहोला ।”
अचानक ती महिलाले भनिन्, “ठिकै छ जाम भएन भने तिम्रो स्टेसन कहाँ हो, त्यहीँ रोक, मेरो कारणले तिमीलाई ९८५ रुपैयाँ किन घाटा लगाउनु ।” उनले अगाडि भनिन्, “म नयाँ–नयाँ छु, यिनीहरूलाई मेरो परिचय दिन कार्ड नै देखाउनुपर्छ ।” उनको कुरा सुन्दा लाग्यो, अर्को कुनै ठाउँबाट भर्खरै सरुवा भएर आएकी रहिछन् ।
माइक्रो सर्वोच्च अगाडि आइपुग्यो । जाम भएन । ती महिलाले भर्खरै भनेको भनाइमा ३६० डिग्रीको एंगल परिवर्तन गर्दै भनिन्, “भाइ, यसो स्लो गर्देऊ त, म ओर्लिहाल्छु ।”
सबै संवाद सुनिरहेका चालकले सहचालकले नभनी गाडी रोकिदिए । ‘स्टाफ’ अर्थात् महिला प्रहरी ओर्लिन् र फटाफट आफ्नो बाटो लागिन् ।
सहचालक आक्रोशित हुँदै कराइहाले, “देख्नुभो यिनीहरुको मनोमानी ? उनीहरुका लागिचाहिँ जहाँ पनि रोकिदिनुपर्ने, अरुबेला भने हजार हजार रुपैयाँको चिट काटिदिने ।”
सहचालकको कुरा सुनेर अघि ट्राफिकको विरोधमा बोल्ने अधबैंशे पुरुषले भने, “थाहा पाउनुभो कतिसम्म गर्छन् यिनीहरु ? के कुरा गर्नु यिनीहरूको !”
सहचालक विद्वान् पल्टिहाले, “स्टाफ भनेपछि झन् लेक्चर दिएको त, केको टेर्नु झन् पो गाडी रोक्न लगाइराखेकी । देख्नुभो ट्राफिकको ताल ?”