काठमाडौं । भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ एक ट्रान्सपोर्ट व्यवसायी हुन् ।
पढाईमा अब्बल जोसेफ उच्च परिवारमा हुर्केकी छोरी हुन् । मलेसियामा ट्रान्सपोर्ट व्यापार फस्टाएकै थियो । तर पनि व्यापारबाट उनलाई चित्त बुझेन । ठूलो व्यापार गर्ने सोच बनाइरहेका बेला उनको भारतीय मुलका एकजना व्यापारीसँग भेट भयो ।
त्यो भेटपछि नै जोसेफ लागुऔषध तस्करीको संजालमा सहभागी भएको अनुसन्धानबाट खुलेको छ । उनी नेपाल प्रहरीको फन्दामा परेपछि यो सबै फेहरिस्त खोलेकी हुन् ।
घुमेकै भरमा धेरै पैसा आउने भएपछि जोसेफ पनि राजी भइन् र सिधै मलेसियाबाट ब्राजिलको साउपाउलो पुग्छिन् ।
ब्राजिलको साउपाउलोबाट डेढ किलो कोकिन बोकेर आबुदबी हुँदै १४ गते नेपाल आउनुअघि नै प्रहरीले सुईको पाएको थियो ।
मलेसियाबाट हिँडेकी जोसेफ एकसाता भित्रै नेपाल प्रहरीको फन्दामा परेकी छन् । उनको काम नेपाल आएर डेढ किलो बराबरको झोला भारतीय मुलका मलेसियन नागरिक मागेन हिरनराजनलाई बुझाउने मात्र थियो ।
मागेन हिरनराजन पनि मंसिर १३ नै गते मलेसियाबाट नेपाल आएका थिए । काठमाडौं ठमेलमा एक होटलमा बस्दै आएका मागेन हिरनराजन ब्राजिलबाट आएको कोकिन बोकेर हङकङ जाने योजनामा थिए । कोकिन कुरेर बसेका राजनकहाँ जोसेफ प्रहरीसँगै पुगिन् ।
कोकिन बोकेर नेपाल ओर्लेकी जोसेफलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलमै पक्राउ गरेको थियो । प्रहरीले उनले ल्याएको कोकिन कता लगिन्छ भनेर पनि अनुसन्धान गरेको थियो । प्रहरी फन्दामा परेकी जोसेफलाई प्रहरीले राजन बसेको होटलसम्मै लगेको थियो ।
“बरामद कोकिन अन्तर्राष्ट्रिय गिरोहको हो, पक्राउ परेका व्यक्ति भरिया मात्रै हुन्,” लागुऔषध ब्यूरोका प्रमुख डीआईजी जयबहादुर चन्दले भने, “तस्कर मात्र हैन भरिया पनि खुब होसियार भएर आउने गरेको भेटियो, जोसेफले नेपाल कोकिन ल्याउँदै गरेको कुरा हामीलाई थाहा थियो ।”
मलेसियामा कोकिन गिरोह सक्रिय
जोसेफलाई कोकिन तस्करीको संजालमा अर्की तारा नामकी मलेसियन युवतीले भारतीय मुलका प्रकास राओलाई चिनजान गराएकी थिइन् ।
व्यापार बढाउनका लागी साथी खोजेका बेला प्रकाश राओले जोसेफलाई कोकिन बोक्ने प्रस्ताव गरे । धेरै पटक ताराले प्रकाश र जोसेफबीच ‘मिटिङ’ गराईन् । त्यसपछि मात्रै जोसेफलाई ब्राजिल पठाईन् ।
जोसेफ ब्राजिल १७ नोभेम्बरमा पुगेकी थिइन् । तर उनी पुग्नु अगावै तारा पनि ब्राजिल पुगेकी थिइन् ।
ब्राजिलबाट कोकिन बोकेर नेपालमा बुझाउने र मलेसिया पुगेपछि रकमका बारेमा कुराकानी गर्ने समझदारी बनेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । तस्करले जोसेफलाई ह्वाट्सएपमा फोटो र होटल पुग्ने ठेगाना दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी नेपाल आईपुगेको कोकिन हङकङ लगेर म्याक्स भन्ने व्यक्तिको जिम्मा लगाउने काम भने मागेन हिरनराजनको रहेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
उनले नेपालबाट कोकिन हङकङ पुर्याएवापत ५६ हजार नेपाली रुपैयाँ पाउने समझदारी थियो ।
३ हजारको ब्यागमा तीन करोडको कोकिन
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएको मलेसियन नागरिक अलिस जोसेफले ब्राजिलबाट बोकेर नेपाल ल्याइपुर्याएको झोला तीन हजार रुपैयाँ पर्ने भए पनि झोलाभित्र तीन करोडको कोकिन थियो ।
सरल स्वभावकी देखिने जोसेफ सानो झोला बोकेर नेपाल आएकी थिइन् । उनले आफू डान्स सिकाउने शिक्षीका भएकाले नृत्यको सामान लिन नेपाल आएको पक्राउ लगत्तै प्रहरीलाई बयान दिएकी थिइन् । तर प्रहरीले उनको झोला खोलेर हेर्दा प्लाष्टिकमा कोकिन भेटिएको थियो ।