काठमाडौं । रामेछाप डुकु घर भई काठमाडौंको मनोहरामा बस्दै आएका २१ वर्षीय नीरज अधिकारी लागूऔषध कारोबार गरेको अभियागमा दुई वर्ष जेल सजाय भोगेर गत असोजमा छुटेका थिए । उनी गत शुक्रबार काठमाडौंको कोटेश्वरबाट फेरि पक्राउ परे ।
२४६ सेट लागूऔषध डाइजेपाम, फेनारगन र वुर्नफिनसहित पक्राउ परेका अधिकारी यही कारोबार गरेकै कारण दुई वर्ष जेल सजाय भुक्तान गरी निस्केको २ महिना नबित्दै पुनः पक्राउ परेका हुन् ।
अधिकारी मात्र हैन, यसअघि उनका दिदी र दाजुले पनि लागूऔषध कारोबार गरेको अभियोगमा जेल सजाय भुक्तान गरिसकेका छन् ।
परिवारमा तीन जनालाई प्रहरीले लागूऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरेपछि उनका बाबुआमाले कोटेश्वरमा रातको समयमा ठेलामा चिया बेन्ने काम गर्ने गरेको प्रहरीको भनाइ छ ।
२ वर्ष जेल सजाय पाएर पनि अधिकारी पुनः किन त्यही पेशामा लागे त ? लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी अपिल बोहोरा भन्छन्, “उनी धेरै पढेलेखेका पनि छैनन् । तर पनि उसलाई हेर्दा धेरै पढेलेखेको र राम्रो काम गर्नेरहेछन् भन्ने लाग्छ । लागूऔषधका होलसेलर व्यापारी नै रहेछन् । त्यसैले पनि सुध्रिन सकेनन् ।”
लागूऔषधको कारोबार गर्ने कैयौं जेल बसेर छुटेपछि अधिकारी जस्तै पुनः उही कारोबारमा फर्किन्छन् । २ वर्ष जेल सजाय भुक्तान गरी पुनः पक्राउ परेका अधिकारीले कम लगानीमा धेरै मुनाफा हुने भएका कारण लागूऔषध बेच्ने गरेको बयान दिएका छन् ।
“५ सयमा किनेर १२ सयमा बेच्न सकिन्छ,” अधिकारीले दिएको बयान उद्धृत गर्दै प्रहरीले भन्यो, “ कहिलेकाहीँ १५ सयमा पनि बिक्री गर्न सकिन्छ, मलाई यो व्यापार फाप्यो, त्यसैले छाड्न सकिनँ । तर फसेँ ।”
अधिकारीले ४–५ वर्षदेखि लागूऔषध बिक्री-वितरण गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई ब्युरोले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ ।