फेमिनिस्ट को हो ? मलाई कसैले “तँ फेमिनिस्ट” भनेर गाली गर्छन् भने कसैले “तँ फेमिनिस्ट नै होइनस्” भनेर दुत्कार्छन् । न मैले ‘फेमिनिज्म’ पढेको छु, न त मलाई पढ्ने रहरै छ । एकातिर मलाई थाहै नभएको विषयमा फेमिनिस्टको संज्ञा पाएकी छु भने अर्कोतिर त्यही भएन भनेर गाली खाएकी छु । आखिर के हो यो ‘फेमिनिज्म’?
आफ्नो विषय नभएपनि, के रहेछ त ‘फेमिनिज्म’ भन्ने कौतुहल बढेपछि अलिकति अध्ययन गरेँ । मैले बुझेअनुसार ‘फेमिनिज्म’ (नारीवाद) भनेको एउटा मनोसामाजिक क्रान्ति हो र यसको सिद्धान्त महिला र पुरुषलाई समान अधिकार दिनुपर्छ भन्ने हो । ‘फेमिनिज्म’ले पुरुषलाई गाली गर भनेको छैन र पुरुषले गर्ने सबै काम महिलाले गर्नैपर्छ पनि भनेको छैन । तर नेपाली फेमिनिस्टहरूको भने ‘फेमिनिज्म’ को आआफ्नै व्याख्या छ ।
आमालाई दागबत्ती दिएकी एकजना फेमिनिस्टले किताब लेखेर मदन पुरस्कार पनि हात पारेकी थिइन् । उनलाई एकदिन मैले सोधेकी थिएँ – “किन दिनुभयो आमालाई दागबत्ती, छोरी मान्छे भएर? तपाईँका दाजुभाइ हुनुहुन्न?” उनले भनिन्, “मेरो भाइ छ तर मैले दिएँ दागबत्ती । किनभने म यस्तो रुढीवादमा बवश्वास गर्दिन, छोराले दिनु हुन्छ भने छोरीले दिन किन नहुने?”
मैले अर्को प्रश्न गरे, “तपाईँ दागबत्तीमा विश्वास गर्नुहुन्छ ?” “अहँ गर्दिन, मैले मेरी आमा स्वर्ग जाउन् भनेर दागबत्ती दिएकी होइन, म छोरा हुन्थ्येँ भने दागबत्ती नै दिने थिइन । तर म यस पितृसतात्मक समाजले महिलाले गर्न हुन्न भनेका सबै कुरा गरेर देखाउन चाहन्छु”, उनले भनिन् । मैले फेरि भने “तपाईलाई यस्ता कुरा सोध्दा आमाको याद आयो होला हगी, सरी”, उनले भनिन्, “मलाई केही हुन्न, तर म पाँच हजार जनाको अगाडि बोल्नसक्ने मान्छे, आज तपाईसँग कुरा गर्दा आफ्नो बोली खेर गएजस्तो भइरहेछ,”।
हो ‘फेमिनिज्म’? महिलाले गर्न हुन्न भनेर तोकिएका कुरा गर्दै हिड्ने? उनलाई विश्वासै लाग्दैन भने, दागबत्ती नै किन दिनु? सस्तो प्रचारका लागि आमाको लासको पनि उपयोगगर्ने?
केही महिनाअघि फेमिनिस्टहररूको भिडले एउटा कार्यक्रममा आफूलाई ‘उमन राइटर’ भनेर सम्बोधन गरियो भनेर विरोध गर्दै थिए, “के हो उमन राइटर भनेको? राइटरमात्र भने हुन्न?” उनीहरुको तर्क थियो ।
महिलालाई महिला पनि भन्न नहुने ? महिला लेखक किन भनिस् भनेर गाली गर्ने ? के ‘फेमिनिज्म’ भनेको आफ्नो लैंगिक पहिचानलाई घृणा गर्नु हो?
त्यही फेमिनिस्ट भिडले २-३ दिन अगाडि एउटा कार्यक्रममा ‘महिला राइटर’लाई समावेश गरिएन भनेर, आयोजकको विरोध गरेको थिए । अचम्म लाग्यो, महिला लेखक भनियो भनेर केही समय पहिले चर्को विरोध गर्नेहरूले नै आफूलाई महिला लेखकको संज्ञा दिँदै किन समावेश गरिएन भनेर विरोध गरेको देख्दा ! यही हो त ‘फेमिनिज्म’, छेपारोले झैँ रंग बदल्ने? जता पायो त्यतै बोल्ने? जता फाइदा हुन्छ उतै लाग्ने? चर्चामा रहनैका लागि यसो गरे पनि विरोध गर्ने, उसो गरेपनि विरोध गर्ने?
राज्यले महिला र पुरुषलाई भिन्नभिन्न व्यवहार गर्छ भने तब बोल्नु पर्छ तर त्यो कार्यक्रम त एउटा सामान्य संस्थाको आयोजना थियो । म महिला हुँदैमा मलाई सबैले सबै कामकुरामा समावेश गर्नैपर्छ भन्नु कति उचित हो ? साहित्य लेखकको लिङ्ग हेरेर पढिन्छ र? हामीले लेखकलाई पढ्ने हो कि किताब ? लेखकलाई लेखक नै भने हुन्न? महिला र पुरुष बराबर देखे हुन्न? महिला भन्दैमा विशेष ध्यान र भाग किन चाइयो ?
नेपाली महिलामा एक किसिमको लघुताभाष छ, उनीहरूलाई पुरुषले हेपोस् कि नहेपोस् हेपेकै हो भन्ने लाग्छ । त्यस कार्यक्रममा महिला लेखक छुट्नु एक संयोगमात्र पिन हुन सक्छ तर त्यसर्लाई चर्काएर महिलाहरूले हीनताबोध प्रदर्शन गरे ।
यही हो त फेमिनिज्म ?