site stats
बाह्रखरी :: Baahrakhari
विशेष

घटना नं. १
मिति २०७३ मंसिर ७ गते

ललितपुर जावलाखेलमा कलेजबाट भर्खर आइपुगेकी युवती अभिभावकलाई केक किन्न जान्छु भन्दै घर बाहिर निस्कन्छिन् । 

र, बेपत्ता हुन्छिन् । 

मध्याह्न ११ बजे घरबाट निस्किएकी युवती अबेर दिउँसोसम्म घर नफर्किएपछि अभिभावक फोन गर्न थाल्छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कैयौँपटक कोसिस गर्दा पनि छोरीको फोन ‘अफ छ’ भनेपछि परिवारले युवतीको खोजी कार्य सुरु गर्छन् ।

केक किन्न जान्छु भन्दै घरबाहिर निस्किएकाले परिवार सुरुमा बेकरी सप पुग्छ र छोरीले केक किने/नकिनेकोबारे सोधपुछ गर्छ । केक किनेकोसम्म पत्ता लाग्छ ।

त्यसपछि परिवार थप संकटमा पर्छ– कहाँ गई त हुर्किएकी छोरी, कतै अपहरणमा त परिन !

परिवारले सुइँको पाएका थिए– छोरीको एक युवकसँग प्रेम सम्बन्ध छ । बेलाबखत छोरी तिनै युवकको सम्पर्कमा पुग्छिन् ।

नम्बर पत्ता लगाएर परिवारले प्रेम सम्बन्ध रहेको युवकलाई सम्पर्क गर्छन् । परिवारले सोच्छ– छोरीलाई तिनै युवकले भगाएको हुन सक्छ या त्यहीसँग कतै गएकी हुन सक्छे ।

तर, त्यसको ठीक विपरीत युवकले जवाफ दिन्छ– तपाईंहरुकी छोरी यहाँ आएकी छैन, दुई दिनदेखि उनलाई मैले भेटेको पनि छैन ।

त्यसबीचमा उनीहरूले चिन्नेजान्ने, आफन्त, साथीभाइ सबैलाई फोन गर्छन् । कसैले पनि यहाँ आएकी छे भन्दैनन् । 

परिवार थप तनाबमा पर्छ र निष्कर्ष निकाल्छ– छोरी पक्कै पनि अपहरणमै  परी । 

र, उनीहरूले साँझ पाँच बजे मंगलबजार प्रहरीमा रिपोर्ट गर्छन्– ललितपुर बस्ने वर्ष यतिकी, यस्तो हुलिया भएकी युवती घरबाट बेपत्ता भई, खोजी गरीपाउँ ।

उजुरी दर्तापछि प्रहरीले खोजी कार्य तीव्र पार्‍यो । अनुसन्धान गर्दै जाँदा ती युवतीलाई एउटा युवकसँग कोठामा बसिरहेको फेला  पार्‍यो । 

यता आफ्नी प्रेमिका बेपत्ता भएको खबर पाएपछि उनको प्रेमी भनिएका युवा पनि निकै तनावमा परेछन् र फोन गर्न थालेछन् । मोबाइल दिनभरि अफ भएकाले सम्पर्क हुन सकेन ।

राति १२ बजे फोन लाग्यो तर केटाले पो फोन उठाउँछ र जवाफ दिन्छ– म उसको ब्वाइफ्रेन्ड बोलेको !
आफ्नी प्रेमिका अर्को प्रेमीसँग रहेको थाहा पाउनासाथ सुरुमा उनी छाँगाबाट खसेजस्तै हुन्छन् र जवाफ दिन्छन्– तँ उसको ब्वाइफ्रेन्ड भए मचाहिँ को त ?
 
घटना नं. २
केही समयअघि ललितपुरको एकान्तकुनामा बस्दै आएकी एक महिला हराएको भन्दै प्रहरीमा सूचना आयो । घरमा बच्चा भएको श्रीमती घर नफर्केपछि अताल्लिएका पतिले प्रहरीलाई हारगुहार गरे । प्रहरीले ललितपुरको विभिन्न स्थानमा खोजी तीव्र पार्‍यो । दुई दिनपछि ती महिला अर्कैसँग भागेको कुरा पत्ता लाग्यो । दुई दिनसम्म प्रहरीले निकै हैरानी बेहोर्‍यो । 

अघिल्लो महिना प्रहरीमा युवती हराएको खबर आयो । पछिल्लो समय अपहरणका घटना नघटेकाले प्रहरी संवेदनशील हुनु स्वभाविकै थियो र उक्त घटनालाई पनि प्रहरीले निकै गम्भीरतापूर्वक लियो । 
तर, युवती अर्कै केटासँग कोठामा बसेको पत्ता लाग्यो । 

प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी इश्वर कार्की भन्छन्, “यस्ता हल्लाले प्रहरीलाई हैरान पारेको छ ।

युवती अपरहण परिन् भन्दै आफन्तले खबर गरे, प्रहरी परिचालन गरियो । बिहानैदेखि एसएसपीको कमान्डमा युवती खोज्न थालियो । अनुसन्धान गर्दै जाँदा युवती ब्वाइफ्रेन्डसँग बसेको पो भेटियो ।”

डीएसपी कार्कीले अगाडि भने, “यस्ता घटनाले प्रहरीलाई हैरानी तुल्याएको छ । अपहरणमा परेको भन्दै उजुरी दर्ता हुन्छ, प्रहरी सिरियस हुनैपर्यो, प्रहरी परिचान गर्नैपर्यो । अनुसन्धान गर्दै जाँदा कुरा अर्कै हुन्छ । यस्तो गर्दा भोलि साँच्चिकै घटना भयो भने अवस्था जटिल हुन्छ, यसतर्फ हामी संवेदनशील हुनैपर्छ ।”

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३  १५:२३
प्रतिक्रिया दिनुहोस्