भारत-चीन सीमा विवाद : अमेरिकाले भन्यो- चीनसँग वार्ता गर्नुको कुनै फाइदा छैन

भारत-चीन सीमा विवाद : अमेरिकाले भन्यो- चीनसँग वार्ता गर्नुको कुनै फाइदा छैन

नयाँदिल्ली । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले वार्ताका माध्यमबाट चिनियाँ कम्युनिस्ट सरकारले अंगीकार गरेको बाटो परिवर्तनका लागि मनाउन र बाध्य पार्न नसकिने समय आइसकेको बताएका छन् ।

भारत-चीन सीमा विवादबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रायनले वार्ता वा आपसी सहमतिका माध्यमबाट चीनले अंगीकार गरेको बाटो परिवर्तनका लागि मनाउन र बाध्य पार्न नसकिने समय आइसकेको बताएका हुन् ।

टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा प्रकाशित समाचारअनुसार ओब्रायनले चीनको आक्रामक कदमको जवाफ दिनका लागि उसको सामना गर्न आवश्यक रहेकोतर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् । आफ्नो प्रभुत्व बढाउने चीनको प्रयासतर्फ संकेत गर्दै उनले भनेका छन्, “पिपुल्स रिपब्लिक अफ चाइनालाई वार्ता र सहमतिका माध्यमबाट न सहमत गराउन सकिन्छ र न बाध्य गर्न सकिन्छ भन्‍ने बेला आइसकेको हामीले स्वीकार गर्नुपर्छ । यसरी चुप लागेर बस्‍दा केही हासिल हुन्‍नँ । लामो समयदेखि हामी यही गर्दै आएका छौं ।”

ओब्रायनले भारत-चीन सीमामा चीनले शक्ति प्रयोग गरेर लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा कब्जा गर्नका लागि गरिरहेको प्रयासबाट उसको आक्रामकता स्पष्ट देखिएको पनि बताए । आइतबार लद्दाखमा भारत र चिनियाँ कमान्डरहरुका बीचमा वार्ता हुन गइरहेका बेला अमेरिकाको यस्तो धारणा आएको हो । अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्रीहरु र रक्षा मन्त्रीहरुको ‘टू प्लस टू’ बैठक हुन गइरहेको छ ।

यसलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रायनको बयानलाई अत्यन्तै महत्त्वपूर्ण मानिएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतको उत्तरी सीमामा चीनले  ६० हजार सैनिक तैनाथ गरेको बताएका थिए । -बीबीसी

प्रतिकृया दिनुहोस
ad