site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
ट्राफिक व्यवस्थापन कौशल र सुझबुझको अभावमा भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई सरकारले बढी नै विवादमा पार्‍यो । यसो त गत वर्षको नाकाबन्दीको घाउ चहर्‍याइरहेकै थियो । त्यसमाथि प्रधानमन्त्री पुष्पकमल दाहालप्रतिको आक्रोशसमेत मिसियो । अतिथिको अपमान नगर्ने नेपाली संस्कारसमेत बिर्सेर कटु टिप्पणी सामाजिक सञ्जालमा भए । सरकारले यस्ता टिप्पणीका भरमा निर्णय गरेर साध्य लाग्दैन तर सामाजिक सञ्जाल एक हदसम्म समाजको ऐना हो भन्ने चाहिँ स्वीकार गर्नै पर्छ । राष्ट्रपति मुखर्जीको स्वागतमा सरकारका तर्फबाट जति तामझाम गरिए पनि कम्तीमा काठमाडौंका जनतामा उल्लास उत्पन्न हुन सकेन । यो दुवै देशका जनताका लागि पनि खुसीको विषय पक्कै होइन । सरकारहरूले त समयको पदचाप सुन्ने हो भने गम्भीररूपमा यसको समीक्षा गर्नुपर्छ ।
 
नाकाबन्दीबाट आक्रोशित नेपाली जनमानसलाई नेपाल र भारत सरकार कतैबाट पनि त्यस्तो अवस्था नदोहोरिने विश्वास दिलाउने प्रयास भएको छैन । 'दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्यो' भन्नेजस्ता अमूर्त भावनात्मक अभिव्यक्तिबाट एक्काइसौं शताब्दीका सचेत नागरिक आश्वस्त हुनसक्तैनन् । तर, अठारौं शताब्दीको मानसिकता बोकेर सरकारमा बसेकाहरूले यो यथार्थ बुझ्ने सकेनन् । राष्ट्रपति मुखर्जीको भ्रमणको तयारी गर्दा जनमानसमा सद्भाव उब्जाउने कुनै प्रयत्न गरिएन । यसले नेपालको मात्र हैन भारतीय कूटनीतिको पनि खोक्रोपन उदांगो भएको छ । भारतीय दूतावासमात्रैले पनि बढप्पन देखाउन गरे जति प्रयास विश्वास र समझदारी बढाउन गरेको भए सम्भवतः नेपालीहरू यति अप्रियरूपमा सामाजिक सञ्जालमा प्रस्तुत हुनेथिएनन् । सामान्यतः नेपालीहरू सद्भावका सानातिना संकेतबाट पनि खुसी हुने र रिझिने गर्छन् । 
 
राष्ट्रपति मुखर्जीको भ्रमणलाई नेपाली जनमानसमा सद्भाव र विश्वास जगाउने अवसर बनाउन सकिन्थ्यो । सुरुदेखि नै सरकारी पक्षले ठालुपन देखायो । भारतका राष्ट्रपतिको सुरक्षामा पक्कै पनि कुनै सम्झौता गर्नु हुँदैनथियो । नेपाली जनतालाई यो कुरा बुझाउन खोजिएको भएमात्रै पनि यति चर्को विरोध हुने थिएन । तर, सुरक्षा व्यवस्थापन जनतालाई सास्ती दिएरमात्र हुन्छ भन्ने अठारौं शताब्दीको सोचले गर्दा कसैले पनि जनतालाई थाहा दिनुपर्छ भन्ने ठानेन । उल्टै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति आउने दिन दिइएको बिदा सामाजिक सञ्जालमा विरोध हुँदैमा फिर्ता हुँदैन भने होच्याउने काम गरे । नेपाल भारतसम्बन्ध सडकमा छलफल गर्ने विषय हैन भन्दै जनस्तरमा भएको विमर्शलाई होच्याउने त्यस्तै मूर्खतापूर्ण टिप्पणी केही दिन पहिले परराष्ट्र मन्त्री प्रकाशशरण महतले गरेका थिए । शासकहरूको यस्तै ढंगमरू प्रवृत्ति तथा सुरक्षा निकायको आधुनिक व्यवस्थापनका कौशल, प्रविधि, विधि अपनाउनुभन्दा सामन्ती संस्कार र प्रवृत्तिलाई निरन्तरता दिन रुचाउने सुरक्षा निकायका अधिकारीहरूको मानसिकताका कारण राष्ट्रपति मुखर्जीको भ्रमण जनस्तरमा कटुतापूर्व अनुभवको कारक बन्न पुग्यो ।
भ्रमणको विरोध गर्नेहरू पनि बढी नै आवेशमा देखिए । सडकमा कर्फ्यु लगाएजस्तै निर्जन भुत्याहा सहरजस्तो देखिने गरी ट्राफिक व्यवस्थापन गर्न भारत वा राष्ट्रपति मुखर्जीले लगाएका पक्कै हैनन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । कुनै पनि अतिथि आतिथेय मुलुकका जनतामा नराम्रो छाप पार्न चाहँदैन । त्यसमाथि राष्ट्रपति प्रणव मुखर्जीजस्ता खारिएका राजनीतिज्ञले त्यस्तो पक्कै चाहेनन् । जनस्तरबाट यति कटु प्रतिक्रिया व्यक्त होस् भन्ने चाहना त नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरूको पनि थिएन होला तर तिनको सोचाइमा रहेको खोटले यस्तो मूर्खता गरे । नेपाली जनताले भूकम्पलगत्तै अघोषित भारतीय नाकाबन्दीबाटहन्डर भोग्ने पुस्ता बाँचुन्जेल सायद बिर्सनेछैनन् तर त्यसका लागि भारत सरकार र नेपालकै मधेसी नेताहरू दोषी छन् । भारत सरकारसँगको रिसले नेपालमा अतिथिका रूपमा आएका राष्ट्रपति मुखर्जीको अपमान गर्नु नेपाली संस्कारलाई सुहाउँदैन । यो सबै अव्यवस्था र सास्ती नेपाली शासकको 'बाँदर भक्ति' र 'ढंगमरू' प्रवृत्तिको उपज हुनाले विरोधको तारो सरकारलाई नै बनाउनु न्यायोचित हुन्छ । सरकार र सुरक्षा निकायका अधिकारीहरूमा अलिकति पनि बुद्धि भए यस विफलताबाट पाठ सिक्नेगरी गम्भीर समीक्षा गरून् । 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC