विचार
डा. शशांक कोइराला नेपालका सबैभन्दा मानिएका राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा हुन् । बीपीका तीन भाइ छोरामा राजावादी लाइन समातेका कारण जेठा प्रकाश कोइरालाको राजनीतिक अधोगति भयो । माइला श्रीहर्षले राजनीतिलाई बेवास्ता गरे । कान्छा शशांक पनि डाक्टरी पेसाबाट राजनीतिमा बढो मुस्किलले छिरेका हुन् । पहिलोपल्ट नवलपरासीबाट संसदीय चुनावमा उठ्ने निर्णय गर्दा करिब १५ दिन उनलाई निकै सकस परेको थियो । तर उनी अन्ततः राजनीतिमा आए र गत फागुनमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट महामन्त्रीसमेत निर्वाचित भए ।
सुशील कोइरालाको अवसानपश्चात अहिले नेपाली कांग्रेसमा कोइराला परिवारको वर्चस्व धान्ने प्रमुख पात्र शशांकनै देखिएका छन् । नेपाली कांग्रेसमा एकजना इमानदार र सबैले पत्याउने नेताका रूपमा जनमानसमा स्थापित हुने संभावना शशांकमा प्रशस्त देखिएको छ । नेपालको राजनीतिमा खाँचो परेकोे दुईवटा धेरै राम्रा गुण छन् शशांकमा तर एउटा ठूलो अवगुण पनि छ र त्यसले उनको राजनीति सिध्याउन सक्छ । अझ जीवनलाई नै पनि जोखिममा पार्न सक्छ ।
पहिले गुणकै चर्चा गरौँ । राजनीतिक परिवारमा हुर्केका कोइरालामा राजनीतिक संस्कार छ भने प्राज्ञिक विद्वता पनि छ । संस्कार र विद्वता त धेरै अरू नेतामा पनि होला तर यिनी अपेक्षाकृत निकै इमानदार छन् । कम्तीमा देश बेचेर व्यक्तिगत सम्पत्ति जोड्ने लोभ यिनमा देखिएको छैन । यद्यपि, राजनीतिमा बलियो हुन पैसा कमाउनुपर्छ भन्ने अरू नेतामा देखिएको विकृत मानसिकताको सरुवा रोगले यिनलाई पनि भेट्दैन भने ढुक्क हुन भने सकिन्न । आशा गरौँ, यिनलाई यस रोगले भेट्नेछैन । किनभने जीवन बिताउन धेरै सम्पत्ति आर्जन गर्नुपर्ने जरुरत छैन । तर, यिनको त्यो एउटा अवगुण भने समाप्त हुनै पर्छ । डा. शशांकले नेपालका लागि केही गर्ने आकांक्षा राखेका छन् भने अब आफ्नो जीवनसम्बन्धी चिन्तन र जीवनशैली परिवर्तन गर्नुको विकल्प छैन ।
त्यो अवगुण केलाउनुभन्दा अघि उनको दोस्रो जिन्दगीको विषयमा चर्चा गरौं । असार २१ गते मंगलवार साँझ साढे आठ बजे ओम अस्पतालमा डां शशांकको प्रवेश हुन्छ । उनलाई त्यहाँ साधारण पेट दुःखेको भनेर ल्याइन्छ र आईसीयु नजिकै एउटा यस्तो कोठामा राखिन्छ जहाँ न त नर्सले रातभर हेर्ने व्यवस्था छ न त मसिनले मनिटरिङ गर्ने । उनी आफ्ना सहायकसहित पिज्जा खाएर राति १ बजे सुत्छन् । बुधबार बिहान साढे पाँच बजे कोइरालाकी पत्नी डा. सुपात्रा कोइराला त्यो केबिनमा नपसेकी भए आज कथा अर्कै हुन्थ्यो ।
डा. सुपात्रा पाँचदश मिनेटमात्रै ढिलो छिरेकी भए पनि शशांक ‘ब्रेन डेड’को अवस्थामा पुगिसकेका हुन्थे । त्यसभन्दा ढिलाइ भएको भए सायद उनको जीवनै समाप्त हुन्थ्यो ।
त्यसरात उनी निदाए तर पेट गडबड भइरह्यो । साधारण बेलामा भएको भए पेट गडबड हुँदा निन्द्रा खुल्थ्यो र बान्ता बाहिर निस्कन्थ्यो । तर उनी साधारण अवस्थामा थिएनन्, उनको शरीर कति धेरै नशामा थिए भने बान्ता हुँदासमेत उठ्न सकेनन्, वा थाहै पाएनन् । उनको बान्ता श्वासनलीबाट फोक्सोमा पुग्यो र उनलाई श्वास फेर्न गाह्रो भयो । डाक्टरी भाषामा यसलाई ‘हाइपोक्सिया’ भनिन्छ । यस्तो अवस्थामा उनको मस्तिष्कमा अक्सिजनको आपूर्ति कम भएर ब्रेन डेड हुनसक्ने अवस्था हुन्थ्यो । यस्तो अवस्था अलिबेर रहेको भए मृत्युसमेत हुनसक्थ्यो ।
यो कसरी भयो ? किन एकजना असाधारण व्यक्ति झन्डै मृत्युको मुखमा पुगे ? यो कुरा जनता समक्ष ल्याउन एउटा अदम्य साहस चाहिन्छ । पत्रकार विजयकुमारले आफ्नो पुस्तक ‘खुसी’मा लेखेका छन्, उनले कसरी रक्सीको कुलतबाट छुटकारा पाए भनेर । रक्सीको कुलतबाट छुटकारा पाउने उपचार गराउन जान उनले आफैँले आफैँलाई म रक्सीको कुलतमा फँसेको हुँ, अर्थात् म रक्स्याहा हुँ भनेर स्वीकार्नु पथ्र्याे । उनलाई त्यो स्वीकार्न धेरै गाह्रो भयो । पहिलोपल्ट त उनी त्यो उपचार केन्द्रबाट त्यसै फर्किए । तर, भोलिपल्ट उनी त्यस केन्द्रमा भर्ना भए । त्यहाँ हरेकपल्ट आफ्नो परिचय दिंदा उनले भन्नै पथ्र्याे, “म विजयकुमार हुँ, म रक्स्याहा हुँ ।” जब उनले सो सत्यलाई स्वीकारे तब उनलाई कुलत छाड्न गाह्रो परेन । उनको महानता त त्यसबेला झन उज्यालियो जब उनले सबै कुलतमा परेकाका लागि सहज होस् भनेर उक्त तथ्य आफ्नो पुस्तकमै खुला गरिदिए । त्यसबेला कुलत उपचार केन्द्रमा भएका केही व्यक्तिका सामु स्वीकार गर्न गाह्रो भएको तथ्य कुलतबाट विजयी भएपश्चात लाखौँं पाठकसमक्ष स्वीकार्न केही गाह्रो भएन ।
सायद, डा. शशांक कोइरालालाई पनि यही अदम्य साहसको खाँचो छ । उनलाई आफूलाई कुलत लागेको स्वीकार्न निकै गाह्रो परिरहेको हुनसक्छ । तर, उनले आफूलाई यस कूलतबाट मुक्त गर्न सत्य स्वीकार गर्नै पर्छ । उनले आपूm कुलतमा फसेको स्वीकार गर्न नसक्तासम्म उनीबाट देश र जनताको लागि केही हुने अपेक्षा गर्नु भ्रममात्र हुनेछ ।
ओम हस्पिटलका कर्मचारीलाई थाहा छ, बेलाबेलामा कोइराला यसरी नै सो अस्पताल जान्छन् । किनभने बिहानैदेखि पिउने कुलतबाट उनी मुक्त हुन सकेका छैनन् । उनलाई पेट नदुखेको भए, वा केही अप्ठेरो नभएको भए अझै कतिदिन टोखाको एकलासमा बनेको उनकोे वासस्थानमा यही खराब बानीसँगै लिएर उनी बसिरहेका हुन्थे । त्यही भएर अस्पतालले रातभर त्यसै राखेको हुनसक्छ ।
वास्तवमा ठूला मान्छेका व्यक्तिगत बानी र नराम्रा व्यवहार साधारणतया जनताबीच आउँदैन । पत्रकारलाई धेरै व्यक्तिको आन्तरिक कमजोरी र नराम्रा व्यवहार थाहा हुन्छ तर त्यस्तो व्यवहारलाई निजी जन्दगी भनेर जन समक्ष ल्याइँ्रदैन । तर, शशांक कोइरालाले अहिले दोस्रो जीवन पाएका छन् । राजनीतिमा प्रवेश गरेर नेपाली कांग्रेसको महामन्त्रीसम्म भएर एउटा तरंग ल्याएका छन् । अहिले उनलाई जनताले नराम्रा पक्ष पनि थाहा पाएका छन् भन्ने जानकारी नदिए आफूलाई परिवर्तन गर्न सायद सत्तैmनन् । बेलायतको लिबरल पार्टीका नेता चाल्र्स केनेडीको जीवन कथा डा. शशांकले मनन गर्नुपर्छ ।
उनको जीवनमा आजभोलिका केही दिन अत्यन्त संवेदनशील समय हुन । अहिले गरेको निर्णयले उनको आयु लम्याउने त छँदैछ तर नेपालले नै एक जना राम्रो राजनेता पाउने सम्भावना पनि त्यत्तिकै प्रबल छ । देशलाई सही नेतृत्व दिनसक्ने राजनीतिक नेतृत्वको खडेरी भएको यस्तो अवस्थामा उनको जीवन जिउने तरिकामा केही परिवर्तन आए राष्ट्रकै भविष्यमा सकारात्मक परिवर्तन आउन सक्छ । हुनत, देशमा धेरै सक्षम, इमानदार र विद्वान् व्यक्ति छन् तर ती सबै बीपी पुत्र हुन होइनन् । ती सबैले जनताको विश्वास जित्न सहज हुँदैन । अरूलाई राजनीतिको सिँढी चढ्न चाहिने परिचय, समय र जनविश्वास शशांक कोइरालालाई बाबुको बिरासतमा स्वतः प्राप्त छ । त्यसैले देशको हितका लागि उनलाई परिवर्तन गर्नु अर्को कसैलाई बनाउनुभन्दा धेरै सहज र छिटो हुनसक्छ ।
समयले मानिसको जीवनमा अचम्मको खेल खेल्छ । उनी राजनीतिमा आउन चाहँदैन थिए तर आए । राजनीतिमा आएपछि उनको पारिवारिक जीवनमा केही समस्या देखिएको यदाकदा सुनिन्थ्यो तर यसपल्टको बिरामीपश्चात सो समस्या पनि उनको जीवनबाट बाहिरिएको छ । उनलाई अन्ततः उनकै पत्नीले जोगाइन् पुराणकी सावित्रीले जस्तै । सुपात्रा बेलैमा नआएकी र आफैँ पनि डाक्टर नभएकी भए सायद शशांक कोइरालाले जीवनदान पाउँदैन थिए ।
अब दोस्रो जीवन देशको लागि इमानदार, देशभक्त र सशक्त नेताका रूपमा बाँच्ने मौका छ । आशा छ, शशांक‘दाले यसको सदुपयोग गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७३ १७:४७
प्रतिक्रिया दिनुहोस्