site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसकारण उनले पदक पाएनन्
Ghorahi CementGhorahi Cement

उनी यस्तै २१–२२ वर्षका थिए । उनको काम पहाड, खोलानाला, हिमालका दृश्यात्मक चित्रहरु बनाएर भेटेसम्म विदेशी पर्यटकहरुलाई बेच्ने थियो । यस्ता चित्रहरु बेचेर उनले आफ्नो घर खर्च धान्दै आएका थिए । यसबाट जति आउँथ्यो, त्यतिले गुजारा गर्थे उनी । कहिलेकाहीँ घरखर्च धान्नै कठिन ।

उनी १३ वर्षको हुँदा उनकी आमाको निधन भयो । त्यसको केही वर्षपछि नै बाले कान्छीआमा भित्र्याए । उनी बासँग छुट्टिए । बेग्लै बस्न थाले । उनको पनि बिहे भइसकेको थियो । उनकी छोरी पनि थिइन् । एक्लै थिएनन् । परिवार थियो उनको । तर कहिलेकाहीँ उनी सात–सात दिन पनि चियाले मात्रै छाक टार्थे । कहिलेकाहीँ छरछिमेकबाट कनिका ल्याएर पनि छोरीका लागि भात पकाउँथिन् उनकी पत्नी । अवस्था दयनीय थियो । 

एक पटक उनले तत्कालिन राजा महेन्द्र, रानी रत्न र त्रिभुवनको ठूलो पोट्रेट तयार पारे । अल्लारे उमेर । राजाको फोटो किनिहाल्छन् नि भनेरै उनी त्यो पोट्रेट बेच्न हिँडे । चित्र लिएर विदेशीहरु बस्ने धेरै ठाउँ चहारे । तर तिनलाई राजा रानीबारे के चासो । उनीहरुले राम्रो भने, प्रशंसा मात्रै गरे, तर किनिदिएनन् । उनी दिक्क मान्दै घरतिर फर्किन थाले । 

Agni Group

वरिष्ठ चित्रकार प्रेममान चित्रकार (७४) महाराजगंजबाट हिँड्दै आइरहेका थिए । उनी नारायणहिटी दरबारको पश्चिम ढोका नजिक पुगे । चित्र बिक्री भए केही पैसा हात लाग्थ्यो । बिक्री नभएपछि दिक्क लाग्नु स्वाभाविक थियो । त्यसैले आफ्नै धुनमा थिए उनी । उनलाई एउटा कागजको पोको हातमा बोकेर झोक्र्याएर हिँडेको देखेर नारायणहिटी दरबार ढोका अगाडिका सुरक्षा गार्डले रोके । ती गार्डले ‘हातमा के हो’ भनेर सोधे । उनले पनि ‘चित्र बनाएर बेच्न हिँडेको अमेरिकनहरुलाई, कसैले किनेनन्’ भने । त्यसपछि दरबारका सुरक्षा गार्डले त्यो पोट्रेट खोलेर हेरे । राजा, रानी र त्रिभुवनको सुन्दर चित्रकला देखेर ती दङ्ग परे । तिनले फोेटो हेरेर सोधे ‘यो त राम्रो छ । तिमीले आफैले कोरेको हो ?’ उनले स्वीकारे । ती सुरक्षा गार्डले ‘भित्र सरकारलाई नजर गराउनु पर्छ, तिमी यहीँ बसिराख’ भन्दै तीनैवटा चित्र बोकेर भित्र गए ।

उनी बाहिरै बसिरहे । बीस–पच्चीस मिनेट बित्दा पनि सुरक्षा गार्ड बाहिर आएनन् । निक्कै समयपछि गार्ड आए र प्रेममानलाई भने, ‘लु  पर्सि आऊ तिमी ।’ उनी  खाली  हात घर फर्किए । खाली हात फर्किनु परेकोमा उनलाई चिन्ता पनि लाग्यो । उनको अवस्थाले उनीमा यो भावना आएको थियो । 

Global Ime bank

तेस्रो दिन उनी दरबारको पश्चिम गेटमा पुगे । न टाउकोमा टोपी न खुट्टामा जुत्ता । पातलो चप्पल लगाएका थिए उनले । ती गार्डले टोपी र जुत्ता छैन ? भनेर सोधे । उनले छैन भने । तिनै गार्डले टाउकामा एउटा टोपी जस्तै कपडा लगाइदिए । र आफ्नै जुत्ता लगाउन दिएर भित्रसम्म पुर्याइदिए । 

उनी भित्र गए । मधुसुदन नाम गरेका दरबारका सचिव थिए । उनले एउटा कोठामा उनलाई बस्न भने । केही बेरपछि कुर्ता सुरुवालमा कालो चस्मा लगाएका एक जना मानिस परको ढोकामा देखापरे । प्रेममानले नमस्कार गरे । तर को हो ठम्याउन सकेनन् उनले । ती मानिस अलिक नजिक आएपछि मात्रै उनले ठम्याए । राजा महेन्द्र रहेछन् । 

प्रेममान चित्रकार त्यो दिनलाई सम्झिँदै थिए यसरी, ‘राजालाई देखेपछि मेरो खुट्टा यस्तरी काम्न थाल्यो, कामेको ज्यान गए रोकिएन । नमस्कारका लागि जोडिएका हात पनि कामी नै रहे । त्यसपछि मधुसुदनले ‘तिमीले बनाएको चित्र सरकारलाई मन पर्यो, कति लिने’ भनेर सोधे । मेरो त वाक्य नै फुटेन । कती भन्ने बोल्नै सकिन । शरीर एकनासले कामी रहेको नै थियो । फेरि सचिवले नै सोधे, ‘तीन–तीन सयमा हुन्छ’ ? मैले केही भन्न सक्ने अवस्था नै थिएन । अनि त महेन्द्र राजाले नै भने, ‘पाँँच पाँच सय देउ’ । केही बेरपछि म पन्ध्र सय रुपैँया लिएर घर फर्किएँ ।’

त्यसपछि उनले पुरानो उधारो तिरे । घर बहाल तिरे । खानेकुरा किनेर ल्याए र दैनिक जीवनलाई अलिक सहज बनाए । 

जीवनका केही स्मरणीय घटनाहरु मध्येको एउटा ठूलो घटना मान्छन् यसलाई चित्रकार प्रेममान ।

०००

विगत केही वर्षदेखि श्वासप्रश्वास रोगका कारण उनले मसिनो काम गर्न छाडेका छन् । नभए एक समय उनले मिहिन काम गर्थे, पौभा चित्रकारितामा । जुन काम उनले विरासतमै पाएका हुन् । बाल्यकालदेखि नै उनले चित्रकलामा हात बसाले । तर उनका पिताजीले कहिल्यै चाहेनन्, छोरो चित्रकार बनोस् । छोरो पढेर हाकिम भए हुन्थ्यो भन्ने पिताजीको चाहना थियो । तर प्रेममानको ध्यान चित्रकलामा बढी रम्थ्यो । 

उनको पुर्खा चित्रकलामै समर्पित परिवार हो । उनका हजुरबुबा, उनका बुबा सबै चित्रकलामै पोख्त थिए । उनका अनुसार चित्रकारलाई पहिलेपहिले पूण्यकार भनिन्थ्यो । किनभने तिनले देवालयहरुमा चित्र कोर्थे । स्तुपाहरुमा चित्र कोर्थे । संस्कृति संरक्षणको जिम्मा एक किसिमले पूण्यकारहरुलाई नै थियो । त्यसैले चित्रकारहरुले कोरेका देवीदेवताका चित्रहरुको प्राण प्रतिष्ठा गर्नुपर्दैन भन्ने मान्यता थियो । नागको पूजामा नागपत्र, लक्ष्मीपूजामा लक्ष्मी पत्र बनाउँदा त्यो आफैमा पूर्ण मानिन्थ्यो । दशैंमा भगवतीको चित्र बनाएपछि त्यसको पूजा हुन्थ्यो । प्राण प्रतिष्ठा वा ‘न्यास’ आवश्यक मानिन्थेन । त्यसैले पनि चित्रकारहरुलाई विश्वकर्माको स्वरुप पनि मानिन्थ्यो । 

यसरी पूण्य कार्य गर्ने मानिस पूण्यकार भए । पछि मानिसको चित्त बुझाउने चित्र बनाएकै कारण तिनलाई चित्रकार पनि भन्न थालियो । 

अहिले कलंकी स्युचाटारमा बस्दै आएका प्रेममान भन्छन्, ‘एक समयमा पूण्यकारहरुलाई ‘पूँचा पूँचा’ भनेर जिस्काउने र उडाउने पनि गर्न थालियो । त्यसैले पनि मेरा पिताजी पृथ्वीमान चित्रकारले मलाई कहिले पनि चित्रकला सिकाउनु भएन । भरसक नसिकोस् भन्ने नै चाहनुभयो । अर्को कुरो, चित्रकारले कमाउन सक्दैनन्, तिनको अवस्था नाजुक हुन्छ भनेरै पनि होला, उहाँले मलाई चित्रकलाको क्षेत्रमा जान रोक्नु भएको । त्यो मलाई पछिमात्रै महसुस भयो ।’ 

सानैदेखि चित्रकलामा रुची राख्ने प्रेममानलाई उनका पिताजीले चित्रकला नसिकाए पनि उनी जेठा बा माणिकमान कहाँ पुग्थे चित्रकला सिक्न । जेठा बाले पनि त्यति नसिकाउने । तर प्रेममान जेठा बाको चाकरीमा खुब लाग्थे । अनि उनका जेठा बाले भन्थे, ‘ल भन के जान्नुपर्यो ?’ 

छोरो पढोस् भनेरै प्रेममानका पिताजीले उनलाई नजिकैको स्कूलमा भर्ना गरिदिए । उनी आदर्श विद्यालयमा भर्ना भए । त्यसपछि शान्तिनिकुञ्ज स्कुल प्याफलमा भर्ना भए । तर उनको मन पढाइमा भन्दा चित्रकलामै बढी रम्थ्यो । त्यसैले उनी आफ्ना बाले नदेख्ने गरी चित्र कोर्दै गए ।

उनले चित्र कोरेको देखेर उनकी आमा दङ्ग पर्थिन् । राम्रो छ, कोर्दै जाऊ भनेर हौसला दिन्थिन् । उनी ९ वर्षका थिए । उनका बा क्यानभासमा काम गर्दै थिए बुद्धको मुर्तिमाथि । त्यसबेला घरमा शौचालयको चलन थिएन । त्यसैले काम गर्दागर्दै उनका बा विष्णुमतितिर लागे । प्रेममान बाले बनाउँदै गरको चित्र अगाडि बसेर बाले बनाएजस्तै चित्र कोर्न थाले, अर्को कागजमा । 

त्यसैबेला उनकी आमा आइन् । छोराको चित्रकलाप्रतिको लगन देखर उनी खुबै खुशी भइन् । उनले खुबै प्रशंशा पनि गरिन् । केही बेरमा उनका बा आए । उनी पछाडिबाट हेरिरहेका रहेछन् । उनले थाहा पाएनन् । बस चित्र बनाउनमा तल्लीन रहे । उनकी आमाले पनि केही बोल्न सकिनन् । त्यतिबेलै उनका बाले उनले कोरेको चित्र च्यातेर धुजाधुजा पारेर हुर्‍याइदिए । 

त्यो बेला प्रेममानलाई उठनुसम्म रिस उठ्यो । तर बासँग रिस उठेर के गर्नु । उनी उठेर हिँडे । 

बाकै कारण उनी जेठा बाकहाँ पुग्थे चित्रकला सिक्न । यसरी पढ्दै र चित्रकला सिक्दै पनि गए । उनी स्कुल जाँदा उनका बाले दुई पैसा दिन्थे । आमाले एक सुका दिन्थिन् । उनी रमाई रमाई स्कुल जान्थे ।

तर एउटा दुखद् घटनाले उनमा स्कूलप्रतिको मोह भङ्ग भयो । उनी सानै कक्षामा थिए । १३ वर्षको उमेर थियो । उनकी आमाको निधन भयो । त्यसपछि उनलाई स्कुल जान मन लागेन । आफूलाई अत्यधिक माया गर्ने आमाको निधनले उनलाई धेरै पीडा दियो । त्यसैले उनले स्कुल जानै छाडे । त्यसपछि उनको काम भनेको चित्रकला गर्ने मात्रै भयो । 

विक्रम् सम्वत् २०२० सालतिर उनले प्रेम विवाह गरे । त्यसबेला उनका साथीहरुले एसएलसी पास गरिसकेका थिए । त्यो देखेपछि उनलाई लाग्यो मैले पनि एसएलसी पास गर्नुपर्छ । त्यसैले उनी दरबार हाइस्कुलमा भर्ना भए । त्यसबेला निरमदन बस्नेत हेडमास्टर थिए । 

०००

दरबार हाईस्कुलमा प्रेममान पढ्न थाले । दरबार स्कूलमै केही विद्यार्थीहरु चित्रकला पनि सिक्दै थिए । दिलबहादुर चित्रकार चित्रकलाका शिक्षक थिए । तर दिलबहादुरको बानी थियो, कहिले स्कूल आउने कहिले नआउने ।  दरबार हाइस्कूलको कक्षा कोठाबाट प्रेममानको पढाइ फेरि सुरु भएको थियो । कहिलेकाही फुर्सदमा उनी कागजमा चित्र बनाउने गर्थे । उनी राम्रै चित्रकार बनिसकेका थिए । 

एकदिन हेडसरले उनलाई चित्र कोरिरहेको देखे । उनले ‘तिमी आर्टिस्ट हौ’ भनेर सोधे । उनले ‘हो’ भने । त्यसपछि हेडसरले प्रेममानलाई दिलबहादुर सर नआएको बेलामा १५–२० जना विद्यार्थीहरुलाई चित्रकला सिकाइदेउ भनेर जिम्मा लगाए । उनी आश्चर्य चकित भए । उनि विद्यार्थी थिए, शिक्षक पनि भए । उनले हुन्छ भने ।

उनले सिकाएको चित्रकलाका विद्यार्थीहरुलाई मन पर्‍यो । उनलाई अझै सिकाइदिन आग्रह गर्न थाले ।  एकदिन उनी कक्षामा चित्रकलाका विद्यार्थीहरुलाई चित्र सिकाउँदै थिए । दिलबहादुरले उनले विद्यार्थीहरुलाई सिकाएको देखे । उनीसँग दिलबहादुर रिसाए । 
दिन बित्दै थियो । एकपटक निरमदन बस्नेतले प्रेममानलाई आफ्नो  पोट्रेट बनाइदिन भने । प्रेममानले खुशीखुशी हेडसरको पोट्रेट बनाए ।  जब पोट्रेट लैजाँदै थिए, दिलबहादुर भेट भए । उनले प्रेममानसित पोट्रेट हेर्न मागे । उनले पनि केही नभनी दिए । दिलबहादुरले म मिलाइदिन्छु भन्दै पोट्रेटमा केरकार गरे । वास्तवमा उनले चित्र मिलाउने निहुँमा प्रेममानसँग बदला लिएका थिए । उनको चित्रकला बिगारी दिए दिलबहादुरले ।  

उनले पनि यथार्थ हेडसरलाई सुनाए । हेडसरले दिलबहादुर बोलाएर उनको झाँको झारे । त्यसपछि दिलबहादुरले कि प्रेममानलाई स्कुलबाट निकाल, हैन भने आफूले राजीनामा दिने कुरो गरे । प्रेममान विलखबन्दमा परे । प्रेममान भन्छन्, ‘पछि मैले आफैले स्कुल छोडेँ । मलाई अप्ठेरो लाग्यो । जबकी चित्रकलाका विद्यार्थीहरु मलाई चाहिरहेका थिए । केही दिनपछि मैले हेडसरको पोट्रेट फेरि बनाएर दिएँ ।’

सत्र–अठार महिना दरबार स्कूलमा पढेपछि उनी बाहिरिएका थिए ।  त्यसपछिको उनको काम चित्रकलालाई निरन्तरता दिने नै थियो । जस्तै दुःख परेपनि उनले चित्रकारिता कर्मलाई त्यागेनन् । जीवनमा यस्ता दुःख आउँछन् भन्ने थाहा हुँदाहुँदै पनि उनी चित्रकलामा सक्रिय रहे ।

०००

उनी सानैदेखि सोच्दथे, बा र जेठा बाले पुरानै किसिमको चित्र किन बनाएको होला ? अलिकति समय अनुसार परिवर्तन गरेपनि त हुन्थ्यो चित्रकलामा । उनले यही कुरा कतिपटक उनका जेठा बालाई पनि भने । जेठा बाले तैँले भनेको ठिक हो पनि भन्थे । तर परम्परागत चित्रकला नै तिनका क्यानभासमा ठडिएका हुन्थे । बाको नजरमा त उनी चित्रकार नै थिएनन् ।

प्रेममान सुनाउँदै थिए, ‘म भने अलिक फरक हुन खोज्दै थिएँ । मलाई देवीदेवताका चित्रलाई अलिक फरक शैली र स्वरुपमा प्रस्तुत गर्न मन लाग्थ्यो । बीसौं शताब्दीमा पनि अठारौं, उन्नाइसौ शताब्दीको शैली काम लाग्दैन भन्दै मैले मेरा चित्रहरुमा थोरबहुत परिवर्तन गर्दै लगेँ ।’ 

यसरी केही नयाँ नगर्ने हो भने आफूलाई चिनाउने, आफूलाई स्थापित गराउन सकिन्न भन्ने उनलाई लागेको थियो । 

समय बित्दै गयो । उनको संगत विभिन्न मानिसहरुसित हुँदै गयो । उनले केही समय भिक्षुहरुसित पनि बिताए । बौद्ध धर्मका विषयमा केही ज्ञान हासिल गरे । यसरी उनले चित्रकलामा नयाँपन दिने प्रयास गर्दै गए ।

चित्रकलालाई आफ्नो जीवनयापनको माध्यम बनाउँदै हिँडेका प्रेममानले बीचमा रेष्टुरेन्ट व्यवसायमा पनि हात हाले । उनले पत्नीका भाइसँग मिलेर झोँछेमा रेष्टुरेन्ट खोले । टुरिष्ट हब थियो झोँछे । रेष्टुरेन्ट खुबै चल्यो । दिनको चालीस रुपैयाँ घर भाँडा तिर्थे । पछि असी रुपैयाँ दिनको भाडा भयो । तर पनि तिर्दै गए । आम्दानी थियो र त तिरेका थिए । तर जब घरबेटीले डाहा गरेर दिनको सय रुपैया भाडा गरे, तिनले रेष्टुरेन्ट घरबेटीलाई नै जिम्मा लगाएर हिँडे ।

पछि प्रेममानले स्वयम्भूमा रेष्टुरेन्ट खोले र चलाउन थाले । केही समय त्यहाँ रेष्टुरेन्ट राम्रो चल्यो । तर रेष्टुरेन्ट चलाए पनि उनले चित्रकला छाडेनन् । झोँछेमा होस् वा स्वयम्भूमा । उनको चित्रकर्म यथावत् थियो ।

पर्यटकहरुको आगमनमा आएको वृद्धिसंँगै उनको चित्रकला पनि फस्टाएको थियो । रेष्टुरेन्ट व्यवसाय पनि फलेफुलेको थियो । त्यसैबेला उनले टोयोटा कार किने १६ हजार रुपैयाँमा । त्यसलाई ट्याक्सीको रुपमा प्रयोग गरे । अर्थात् उनले ट्याक्सी पनि चलाए, २०३० सालदेखि ०३२ सालसम्म ।

त्यसबेला ललितकला संस्था (नाफा) सक्रिय थियो । त्यसले वर्षेनी चित्रकारहरुको चित्र प्रतियोगिता गराएर पुरस्कार पनि दिन्थ्यो । एक पटक उनले आफ्नो चित्रकला पनि प्रतियोगिताका लागि पठाए । त्यतिबेला उनका बाले पनि भाग लिएका थिए । उनले भाग लिएको उनका बालाई थाहा थिएन । 

पुरस्कार वितरण गर्ने दिन उनी बालाई आफ्नै ट्याक्सीमा हालेर ‘नाफा’ पुगे । कार्यक्रम सुरु भयो । उनका बाको नाम उद्घोष गरेर उनलाई पहिलो पुरस्कार लिन बोलाइयो । उनका बाले पहिलो पुरस्कार थापे । 

त्यसपछि उद्घोषकले प्रेममानलाई बोलाए । प्रेममानको चित्रकला दोस्रो भएको थियो प्रतियोगितामा । सँगै बसेका प्रेममानका बा चकित परे ।  प्रेममान चित्रकार नाफाको त्यो बेलाको दृश्य सम्झिँदै हाँसे । भन्न थाले, ‘बाले मलाई अरुले नसुन्ने गरी गाली गर्नुभयो । चित्रकला नगर नगर भन्दा भन्दै पनि गरेरै छाडिस हैन ।’

त्यसपछि उनका बाले उनलाई चित्रकला नगर भनेर कहिल्यै भनेनन् । त्यसपछि उनले केही प्रतियोगिताहरुमा भाग पनि लिए । केही पुरस्कार पनि पाए ।  २०३५ सालमा प्रेममानलाई वीरेन्द्र कला पदक दिने कुरा चलेको थियो । उनले आश पनि गरेका थिए । त्यसैले उनले निर्णायकका रुपमा तोकिएका उनका जेठा बालाई निर्णायक नबस्न अनुरोध पनि गरे । उनका जेठा बा निर्णायक बसेनन् । 


उनी भन्दै थिए, ‘तर मैले वीरेन्द्र कला पदक पाइन । त्यसबेला एकेडेमीमा कुलपति लैनसिंह वाङ्देल थिए । उनले मलाई मन पराउँथेनन् । अलिकति खटपट परेको थियो । कारण उनकी छोरीलाई मैले परम्परागत चित्रकला सिकाई दिनुपर्ने थियो । मैले हुन्छ पनि भनेको थिएँ । तर उनले घरमै गएर सिकाउन भने । जुन मैले मानिन । घरमा त म जान भ्याउँदिन भनेँ । बस यसैकारण उनले मलाई कहिले पनि मनपराएनन् । सायद त्यसैले पनि मैले वीरेन्द्र कला पदक पाउन सकिन ।’

०००

एक समय नेपाल राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिमा पनि रहेका वरिष्ठ चित्रकार प्रेममान चित्रकारको काम अहिले आफूले जानेको कला अरुलाई पनि सिकाउने भएको छ ।  परम्परागत कलामा नयाँ मोड आवश्यक भएकै कारण उनले आफ्नो कलामा समय अनुसार परिवर्तन गर्दै लगेका हुन् । त्यसैले पनि उनले आफ्नै अध्यक्षतामा परम्परागत कलाकार संघको स्थापना गरे । परम्परागत चित्र भए पनि नविन प्रयोग गर्दैगए । 

उनले आकाश योगिनीलाई अलिक पृथक रुपमा प्रस्तुत गरे क्यानभासमा । उनका कतिपय चित्रमा थोरै नग्नताको झल्को मिल्थ्यो । यसैकारण पनि उनको व्यापक आलोचना पनि हुन थाल्यो । तत्कालिन कला समीक्षक तथा साहित्यकार नारायणबहादुर सिंहले प्रेममानले परम्परालाई नाघ्यो समेत भने । तर उनले त्यो आलोचनालाई आफ्नो शक्ति मान्दै गए । त्यही शक्तिले उनलाई चित्रकलामा निरन्तर उकालो उक्लन मद्दत गर्‍यो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC