site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई असहयोग गरेको भन्दै पुनःनिर्माण प्राधिकरण सिइओ छिट्टै फेर्ने सरकारको तयारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । सरकारले पुनःनिर्माण प्राधिकरणको सिइओ छिट्टै फेर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र पुनःनिर्माण प्राधिकरणले गर्नुपर्ने काम नगरेको भन्दै प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई हटाएर अर्कोलाई राख्ने तयारी गरेका छन् ।
४५ दिनभित्र सरकारको स्पिरिटअनुसार भूकम्पपीडितले पहिलो किस्ता पाउन नसकेको भन्दै प्रधानमन्त्री दाहालले कामु मूख्य सचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर असन्तुष्टि व्यक्त गरेका थिए ।
“सरकारले भनेअनुसार ४५ दिनभित्र भूकम्पपीडितले पहिलो किस्ताबापत पाउने भनेको रकम किन पाएनन् ?”, प्रधानमन्त्रीको भनाई उधृत गर्दै स्रोतले भन्यो,“काम गर्न नसक्ने हो भने पदमा बसिरहनुको औचित्य छैन । सरकारको स्पिरिट अनुसार काम गर्ने कि बाहिरिने भन्ने उहाँले सोँच्ने बेला भइसकेको छ ।”
सरकारले घोषणा गरेको थप एक लाख राहत रकम कार्यान्वयनका विषयमा ज्ञवाली गम्भीर नभएको प्रधानमन्त्रीको भनाई थियो ।  तर प्रधानमन्त्री दाहालले ज्ञवालीलाई भेट नगरी कामु मुख्यसचिवलाई भेट गरेर यस्तो जानकारी गराएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कर्मचारीले आफ्नो स्पिरिटअनुसार काम नगरेको भन्दै दुखेसो पोखेका थिए ।  “केपी ओलीको नौ महिने कार्यकालमा जम्मा ३२ हजार पीडितले पहिलो किस्ता पाएका थिए,”बालुवाटार स्रोतले भन्यो,“अहिले ४ लाख ५० हजार पीडितले पहिलो किस्ता पाइसकेका छन् । तर पनि प्रधानमन्त्रीले संसद्मै उभिएर ४५ दिनभित्र सबै पीडितले पहिलो किस्ता पाउने बताउनुभएको थियो । सोही अनुसार सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्ययोजना पनि मागिएको हो । तर भनेअनुसार काम हुन सकेन ।”  कामु मुख्यसचिव शर्मालाई प्रधानमन्त्रीले आइतबार बिहान १० बजे पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन निर्देशन समेत दिएका छन् ।
“भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ, यसले मलाई निकै गम्भीर बनाएको छ,” प्रधानमन्त्री सचिवालयले प्रधानमन्त्रीको भनाई उधृत गर्दै भनेको छ ।  आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भएपनि राहत र पूनर्निर्माणको कामलाई प्रभावकारी बनाउनु सरकारको कर्तव्य भएको प्रधानमन्त्रीको भनाई थियो ।
तस्बिर : बीबीसी डट कम 
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७३  ०८:११
प्रतिक्रिया दिनुहोस्