site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यसरी गाइन् शान्तिश्रीले ‘बोल माया...’
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


“एउटा गीत छ मसँग, तपाईंले गाउनुपर्छ है” प्रकाश सपुतले भने । 

जवाफमा शान्तिश्रीले भनिन्, “भैहाल्छ नि ! त्यस्तो अवसर मैले पाउँछु र ?

Prabhu Bank
Agni Group
NIC Asia

चितवनको एक स्टेज कार्यक्रममा प्रकाशले शान्तिश्रीलाई गीतका लागि त अफर गरे, तर गीतको थिम भनेनन् । शान्तिश्रीले पनि कस्तो गीत भनेर सोधिनन् । 

स्टेज कार्यक्रममा हिँड्ने कलाकारहरुको प्रायः भेट भैरहन्छ । डेढ हप्ता बित्न नपाउँदै लमजुङमा फेरि भेट भयो प्रकाश र शान्तिश्रीको । होटल एउटै थियो । साँझ खाना खाइसकेपछि प्रकाशले गीतको थिम सुनाए । केटा विवाह गरेको ५–६ महिनामा परदेश गएको छ । श्रीमतीको कोख भरिएको हुन्छ । तर परदेश गएको ६–७ महिनामै श्रीमानको मृत्यु हुन्छ र उसको शव घर ल्याइन्छ ।

Global Ime bank

कस्तो होला त ? शान्तिश्रीलाई कौतूहल जाग्यो । 

“काठमाडौं फर्किएपछि मेरो अफिसमा आउनुस् । म भाकासहित म्युजिकमा सुनाउँछु,” प्रकाशले भने । 

प्रकाश काठमाडौं भएका बेला शान्तिश्री काठमाडौं बाहिर, शान्तिश्री काठमाडौं भएका बेला प्रकाश काठमाडौं बाहिर लुकामारी चलिरह्यो । 

प्रकाशले डमी फाइनल गरे । 

पोखराबाट काठमाडौं फर्किंदै थिइन्, शान्तिश्रीको मोबाइलमा ह्वाट्सअपमा नोटिफिकेशन अयो । प्रकाशले गीतको डमी पठाएका रहेछन् । शान्तिश्रीले सुन्न खोजिन् । गाडीको भिडभाडमा राम्रोसँग सुनिएन । 

उनले घरमा आएर सुनिन् । दुईपटक तीनपटक दोहोर्याएर, तेहेर्याएर सुनिन् । गीत मनपर्यो । सुनेर भावुक हुन्थिन् । गाउँदा गाउँदा गाउँदै स्वर गाँठो पर्न खोज्थ्यो । 

प्रकाशले शान्तिसँग मेलोडी नमर्नेगरी डमी पठाउन भने । शान्तिश्रीले गाएर पठाइन् । प्रकाशले हुन्छ होला, एकपटक अफिसमा आउनुस् भने ।

मेलोडी मन छुने । कहाँनेर अड्किएर र कहाँनेर भक्कानिएर गाउनुपर्ने प्रकाशले आधा घण्टाजति लगाएर सिकाए । अपोजिट स्वरका लागि नारायण रायमाझीलाई आग्रह गरेको प्रकाशले शान्तिश्रीलाई सुनाएका थिए तर उनले गाउने नगाउने निश्चित भैसकेको थिएन ।  

 स्टुडियो मार्मिकमा छिरिन् शान्तिश्री र गाइन् । लेडिज भोकल तयार भयो । पुरुष भोकल बाँकी थियो । प्रकाशको गीत हेरिसकेपछि नारायणले पनि नाईं भन्न सकेनन् । गीत तयार भयो ।
फागुनको अन्तिमतिर तयार भएको गीतको भिडियोका लागि केही समय लगाए प्रकाशले । 

० ० ०

गीतको शब्द राम्रो थियो । बोल माया... बोल थियो । समयसापेक्ष शब्दले सबैको मन छुन्छ भन्नेमा शान्तिश्री ढुक्क थिइन् । भाका टिपिकल थियो । गीतले उठान गरेको शब्द गरिबीको रेखामुनी रहेका नेपालीको घरघरको थियो । त्यसैले सांगीतिक क्षेत्रमा गीतले फरकखाले प्रतिक्रिया पाउँछ भन्नेमा शान्तिश्री ढुक्क थिइन् । “अग्रज श्रष्टाहरुले वाह ! भन्ने खालको गीत बन्छ भन्नेमा ढुक्क थिएँ, तर यसरी संसारभर रहेका नेपालीको मनममा गढ्छ भन्ने चाहिँ सोचेकी थिइन,” गीत रेकर्ड गर्दाको अनुभव साट्छिन् शान्तिश्री । 
मे १७ को राति १२ बजे प्रकाशले ‘बोल माया...’ आफ्नै युट्युब च्यानलमा अपलोड गरे । 

शान्तिश्रीले विहान ७ बजे उठेर भ्युज हेरिन् । जम्मा ५ हजार । ‘त्यत्त्रो अपेक्षा गरेको, तहल्का पिट्छ भनेको गीतको भ्युज जम्मा ५ हजार !’ मनै खिन्न भयो उनको । 

आफैले आफैलाई सम्झाउने कोसिस गरिन्, ‘हुन त राति १२ बजे त राखेको हो ।’ मनलाई ढाडस दिनुको विकल्प पनि त थिएन उनीसँग । 

उनले एकै छिनमा म्यासेन्जर अन गरिन् । त्यहाँ थरीथरीका म्यासेज आउन थालिसकेका थिए । 

कसैले, “हामी परदेशीका लागि कति मिठो गीत गाइदिनुभयो । थ्याङक्यु’ भने । कुनै म्यासेजमा “दिल छुने गीत गाउनुभएछ साह्रै मनपर्यो ।” 

शान्तिसँग क्लोज हुनेहरुले लेखेका थिए, “ओहो कस्तो गीत गाएको हामीलाई मार्ने हो ?” जिस्किएर म्यासेज पठाएका थिए । 

कतिले रोएको कमेन्ट गरेका थिए । कतिले गीत सुनेर रोएको सेल्फी खिचेर म्यासेज गरेका थिए । 

थरीथरीका कमेन्ट देखेपछि भने उनको मनले शान्ति पायो । “ओहो ! सबैले राम्रो भन्नुभएको छ । राम्रै पो होला जस्तो छ ।” 

दिउसो १२ बज्दासम्म गीतको भ्युजले गति लिइसकेको थियो । देशविदेशबाट फोनका घण्टी बज्न थालिसकेका थिए । रोल्पाको आफ्नै गाउँदेखि धन कमाउन परदेशिएर खाडी पुगेकासम्मले कल गरे । 

लोकदोहोरी श्रष्टादेखि आधुनिक अग्रज गायक गायिकासम्मले फोन गरे । “बहिनी तिमीले निकै राम्रो गीत गाएछौ, बधाई छ । यस्तो गीत जोकसैले गाउन सक्तैन । तिमीले कसरी गायौ ? जे होस् बधाइ छ । तिमी अरुभन्दा एक्स्ट्रा भएर निस्किनुपर्छ,” फोन गरेरै गायक हेमन्त शर्माले शान्तिश्रीको कोकिल कलाको मुक्त कण्ठले प्रशंसा गरे । 

० ० ०

अक्सर सपनाहरु समयसँगै फेरिँदै जान्छन् । साथीसंगति र अग्रजहरुको सपनाहरु आफ्ना पनि सपना बन्दै जान्छन् । पानीको आकार झैं सपनाहरु पनि कहिले के कहिले के फेरिँदै जान्छन् । तर, शान्तिश्रीको चट्टानी अडान कहिल्यै फेरिएन । कक्षा दुईमा पढ्दा बालदिवसमा पहिलो पटक स्टेजमा गाउँदा देखि आजसम्म उनको सपना पानीजस्तो ढलपलिएको छैन । पहिलो प्रतियोगीता नै बाजी मारिन् । सबै नतमस्तक भए उनको स्वर सुनेर । काठमाडौंमा राधिका हमालको चर्चा शिखरमा थियो । “यसले त राधिका हमालको ठाउँ लिन्छे कि क्या हो” भने स्कुलमा । 

बाल मन हौसियो । लाग्यो– गाउन सक्ने रहेँछु । मनमनै संकल्प गरिन्, ‘म पनि भोलिपर्सी गीत नै गाउँछु, राधिका हमालजस्तै गीत नै गाउँछु ।’

उनी गीति एल्बमको क्यासेटमा रहेको गायिकाको तस्बिर हेर्थिन् । आफ्नो पनि एक दिन यसैगरी तस्बिर छाप्छु भन्ने अठोट गर्दै क्यासेटको खोल सिरानी मुनी राखेर सुत्थिन् । 

स्वरले साथ दिइरहेको थियो । १३ वर्षको उमेरमा भएको क्षेत्रीय दोहोरी गीत प्रतियोगितामा उनी दोस्रो भइन् । 

उमेरसँगै आकांक्षा पनि हुर्किँदै गैरहेका थिए । रोल्पामा बसेर गायिका भइँदैनथियो । शान्तिश्रीलाई गायिका नै बन्नु थियो । बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङले जस्तै गीत गाउनु थियो । रेडियोमा उनका गीत घन्किनु पर्ने थियो । रोधी र चौतारीमा उनको तारिफ हुनु थियो । 

०६४ मा गायिका बन्ने रङ्गीन सपनाको छड्के झोला बोकेर शान्तिश्री सपनाको सहर काठमाडौंका लागि नाइट बस चढिन् । काठमाडौंका लागि शान्तिश्री पराई थिइन् । शान्तिश्रीका लागि काठमाडौं पराई थियो । तर पनि सपनालाई ओइलाउन दिनु थिएन । उनी गायिका गीता खड्कासँग रुम सेयर गरेर बस्न थालिन् । 

काठमाडौंमा जीविका चलाउनु थियो । काठमाडौं आएको तेस्रो दिन उनी त्रिवेणी त्रिशूली दोहोरी साँझ पुगिन् । खासै व्यापार हुँदैन थियो । साथीहरु गीत गाउने र फर्किने मात्रै हुन्थ्यो ।  

१६ दिनपछि उनी बागबजारस्थित रमाइलो चौतारी दोहोरी साँझमा दोहोरी गायिका बिरामी भएकाले एक दिनका लागि दोहोरी गाइदिन गइन् । रमाइलो चौतारी दोहोरी साँझले उनको स्वर मन परायो । त्यही दिनदेखि उनी त्यहीँ गाउन थालिन् । तलब ४ हजार थियो । 

अनिता खड्काले आफ्नै गीत गाउनुपर्छ । बजारमा नाम हुन्छ । राम्रो भए पैसा पनि हुन्छ भनिन् । दुई जना भएर गीत किने । शान्तिश्रीले घरबाट १५ हजार मगाइन् । बाँकी सबै खर्च अनिताले बेहोरिन् । कम्पनीले नयाँले मात्रै गाएर हुँदैन । ए साइडमा बिष्णु माझी राख्ने, बि साइडमा देबी घर्तीको स्वर राख्ने भन्यो । विकल्प थिएन । त्यसै गरे उनीहरुले । गीत रेकर्ड गराए । कम्पनीले स्टुडियोलाई पैसा नै दिएनछ । स्टुडियोले गीत नै दिएन । उनीहरुको लगानी नै डुब्यो । गायिका बन्ने सपना नै हुरीसँगै उड्यो । 

० ० ०

०६५ सालमा लगानी डुबेपछि ०६८ सालसम्म योजनाले ठोस आकार ग्रहण गर्न सकेन । ०६८ सम्म भेला गरेको टिप्स र जम्मा भएको तलबले दिवान किनारकै लयमा ‘घर त तीन तले...’ बोलको गीत गाइन् शान्तिश्रीले । कम्पनीले ठग्यो । फेरि फसिन् उनी । उसैगरी गरी डुब्यो एक लाख रुपैयाँ । 

दोहोरी साँझको गायन यथावत् नै थियो । मात्रै दोहोरी साँझहरु परिवर्तन भैरहेका थिए । ०६९ मा उनी गण्डकी दोहोरी साँझ पुगिन् । 

त्यहाँ उनले पृथ्वी थकालीलाई भेटिन् । उनलाई शान्तिश्रीको आवाज मन परेछ । एकदिन उनले लबीमा बोलाएर घर ठेगाना सोधे । एल्बम निकाले ननिकालेको सोधे । उनले आफ्नो कुरा सुनाइन् । थकालीले त्यही गीत स्टेजमा गएर गाउन भने । शान्तिश्रीले गाइन् । थकालीलाई गीत मनपर्यो । 

उनले भने, “तिमी गीतका लागि तयारी गर म लगानी गर्दिन्छु ।”

शान्तिश्रीलाई डर लाग्यो । काठमाडौंमा यत्तिकै भरोसा दिने मान्छे हुन्छ र ? भन्ने लाग्यो । नियत खराब पनि त हुनसक्छ । कति आँखैले देखिरहेकी थिइन् । कति सुनेकी थिइन् । विश्वास लागेन । थकालीलाई देख्दा पनि उनी लुक्थिन् । 

थकालीको पृष्ठभूमि बुझ्न थालिन् । संगीतप्रेमी थकालीको प्रतिभावान व्यक्तिलाई सहयोग गर्ने बानी रहेछ । शान्तिश्रीले  “सहयोग गर्छु भन्नुहुन्थ्यो, तयारी गरौं भनिन् ।” 
उनले हुन्छ भने । 

शिव हमाललाई सहयोग गरिदिन आग्रह गरे । कुलेन्द्र विकलाई गाइदिन भने । 

गीत तयार भयो,– एकतर्फी माया...। 

गीत निकै राम्रो भयो । आफ्नो संघर्षको पहिलो चरण सम्झँदै उनी भन्छिन्, “त्यो गीत सोचेभन्दा पनि राम्रो भयो । को हो यो शान्तिश्री परियार भनेको ? यसअघि उसले गाएका गीत कुनकुन हुन् भनेर सोधे । यही गीतबाट मलाई धेरैले नोटिस गरे । फलानो गीतको गायिका भनेपछि धेरैले चिन्थे ।”   

मिलन लामाले पनि उनलाई निकै सहयोग गरे ।

जापानमा दोहोरी साँझ खुल्यो । उनले त्यहाँ जाने अवसर पाइन् । तीन महिनापछि फर्किन् उनी । जापानबाट फर्किंदासम्म उनको माग बढिसकेको थियो । बाटो फराकिलो भैसकेको थियो । अरुका एल्बममा गीत गाउन थालिन् । स्टेज कार्यक्रममा जान थालिन् । 

० ० ०

३ सय गीत गाइसकेकी शान्तिश्री अहिले महिनामा १२ देखि २० वटासम्म गीत गाउँछिन् । विगतलाई फर्किएर हेर्दा उनले सोझो बाटो हिँड्न पाइनन् । क्षितिज चुम्न नागबेली बाटो हिँडेकी उनलाई दोहोरी साँझले जिउन, टेक्न र टिक्न सिकायो । तर दोहोरी साँझ उनका लागि जति सुखद रह्यो त्यति नै कष्टकर पनि । बिरामी हुँदा होस् या स्वर बसेर गाउन नसक्दा होस्, दोहोरी साँझमा दैनिक जानुपर्थ्यो । 

स्वर बस्दा अक्टोप्याड मात्रै बजाउन भए पनि आउ भनेर बोलाउने सञ्चालकहरु आएपछि स्टेजबाट उनकै नाम बोलाउँथे । उनी बाध्य भएर गाउँथिन् । साँझ ७ बजेदेखि राति १२ बजेसम्म एकोहोरो गीत गाइरहनुपर्थ्यो । 

उनी राति १२ बजेसम्म गीत गाएर घर गएर अबेर राति सुत्थिन् । बिहान सबेरै उठेर भोकल क्लास लिन गन्धर्व कलाकेन्द्र जान्थिन् । चन्दन श्रेष्ठसँग उनले तीन वर्ष भोकलको कक्षा लिइन् । दोहोरी गाउनेहरुले भोकलको कक्षा लिनु पर्दैन भन्ने समय रहेका बेला उनी श्रेष्ठसँग सिकिरहेकी थिइन् । श्रेष्ठले सुरुसुरुमा लोकगीत गाउनेलाई सिकाउँदैन थिए । उनले आफ्नो समस्या स्पष्ट राखिन् । शान्तिश्रीलाई भने सिकाउन तयार भए श्रेष्ठ । सिक्न थालेको तीन वर्ष भएपछि उनी स्टेज कार्यक्रम गर्न थालिन् । शान्तिश्री गन्धर्व कलाकेन्द्र जान छोडिन् । 
“हिजो मात्रै मलाई चन्दन गुरुले शान्ति मेरो शिष्य हो, मैले सिकाएको उसलाई भोकल । उसले आज यति राम्रो गीत गाइन् । मलाई खुसी लागेको छ भनेर भन्नुभयो रे,” शान्तिश्रीले भनिन्, “मलाई आज आत्मग्लानी भैरहेको छ । मैले त्यहाँबाट छोड्छु पनि नभनी छोडेँ । म उहाँलाई भेटेर चाहेर पनि जान नसकेको कुरा भन्छु ।” 

दोहोरी साँझमा लामो समयदेखि गाइरहेकी थिइन् । अचानक उनको स्वरमा समस्या आयो । गाउन अफ्ट्यारो हुने, रियाज गर्नसमेत गाह्रो हुन थाल्यो । गाएरै जिविका धान्ने उनलाई डाक्टरले बोल्नु पनि हुँदैन भनेको थियो । 
सान्तीश्री स्वर बचाउन टिचिङ पुगिन्, निको भएन । ब्लुक्रस हस्पिटल गइन्, २० को १९ भएन । मोडल हस्पिटल गइन् र पनि पार लागेन । अन्तिममा उनी राकेश श्रीवास्तवको क्लिनिकमा पुगिन् । त्यहाँ पुगेपछि उनको स्वर फर्कियो । ७ महिनापछि उनी उसैगरी गाउन थालिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement