बाह्रखरी
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार थारुः तन्त्रमन्त्र र राजनीति ! लक्की चौधरी
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, चैत ११, २०७४
Laxmi Bank
Laxmi Bank

थारु समुदायको उत्पत्ति, थारु शब्दावली र उदगमस्थलबारेमा इतिहासकारबीच मतैक्य छैन । ‘था’ मा ‘रु’ प्रत्यय लगाउँदा ‘थारु’ बन्छ । त्यसको अर्थ ‘रुक्नेवाला’ हुन्छ । आदिमकालमा सबै मानिस घुमन्ते युगमा थिए । यताउता घुमेर, फिरेर खाना बटुल्थे । अहिलेको जस्तो खेतीपाती थिएन । थारुहरु नेपालमै रहेको लाखौं वर्षको इतिहास छ । अर्थात्, थारुहरु आदिमकालदेखि नेपालको तराई भूभागमा जंगल फाँडेर बसे । उत्तरको पहाड उक्लेनन् । दक्षिणको भारतीय भूमिलाई पनि स्थायी बसोबास बनाएनन् । यद्यपि, भारतको राजस्थानदेखि पूर्व गंगाको मैदानसम्मको भूभागमा थारु समुदायले बसोवास गरेको इतिहास भेटिन्छ । अझै पनि भारतका केही स्थानमा थारुको बसोबास छ । प्राचीन समयमा थारु समुदायको आफ्नै जातीय स्वायत्त शासन थियो । गणतन्त्रात्मक अभ्यास गरेका थिए  जसलाई थारुले ‘जनपद’ भन्थे । विसं २०६५ जेठ १५ को संविधान सभाको पहिलो बैठकले निर्णय गरेपछि नेपालमा गणतन्त्रात्मक अभ्यासको सुरुआत भयो । प्राचीनकालमा पूर्वीक्षेत्रमा मोरङको कदमाहा, सप्तरीको बरमझिया, रौतहट, बुटवल, दाङजस्ता ठाउँमा गणतन्त्रात्मक शासन प्रणालीको थारुले अभ्यास गरेको मानिन्छ । अहिले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्मको समथर तराईमा थारुको बसोबास छ । विसं २०६८ को जनगणनाअनुसार थारु समुदायको जनसंख्या १७ लाख ३७ हजार ४७० छ । 

तन्त्रमन्त्रः

थारु समुदायमा तन्त्रमन्त्रको विश्वास अझै पनि छ । त्यसको प्रयोगलाई झारफुक, गुन, गुरैपाटी भन्ने गरिन्छ । मानव इतिहासको आरम्भताका औषधि, उपचार, अस्पताल, चिकित्सक केही थिएनन् । गाउँकै वैद्य, गुरुवाहरु तन्त्रमन्त्रको सहायताले गाउँलेलाई आइपर्ने आकिस्मक समस्याको समाधान गर्थे । अर्को शब्दमा तन्त्रकै माध्यमबाट बिरामीको उपचार गरिन्थ्यो । थारु समाजमा बोक्सी, गुरुवा, टुनामुना, वनदेवी मसान, भूतप्रेत आदिको डर सधैँ रहनेगर्छ । त्यो डरलाई गुरुवा (तन्त्रजान्ने मान्छे) ले मात्र भगाउने आँट गर्छ । अर्थात्, गाउँलेलाई आइपर्ने यस्ता खतराको रक्षक गुरुवामात्र हुन्छ । त्यसरी गाउँघरमा गुरुवाको भरपर्ने वातावरण बन्दैआएको हो । धानमा रोग लागे गुरुवालाई देखाउने, मान्छेलाई सर्प विच्छीले टोकेमा गुरुवा वैद्यकै सहारा लिने, गाउँमा महामारी चलेमा गुरुवाकै सहारा, मान्छे बिरामी हुँदा गुरुवाकै भर । घाउ खटिरादेखि, हड्डी भाँचेमा, आगोले पोल्दा सबै उपचार गुरुवाकै झारफुक र वैद्यको जडिबुटीको औषधिले निको पार्ने गाउँघरको प्रचलन उहिल्यैदेखिको हो । कोही झारफुकबाट निको हुन्थे, कोही अकालमा ज्यान गुमाउँथे । 

Duber nepal

Agani Group

उहिले अस्पताल, चिकित्सक, औषधि केही नहुँदा गुरुवाको सहारा लिनु बाध्यात्मक अवस्था थियो तर अहिले यी सबै व्यवस्था भइसक्दासमेत गुरुवाप्रति समाजमा मानिसको विश्वास कायमै रहनु समाज अझै रुढीग्रस्त अवस्थामा जकडिएको हो कि जस्तो लाग्छ । तुलनात्मकरुपमा चेतनास्तर बढेको होला तर घोडाघोडी नगरपालिका — ५, देवकलियामा राधा चौधरीलाई बोक्सीको आरोपमा स्थानीय गुरुवा रामबहादुर चौधरीले फागुन २४ मा गरेको दुव्र्यवहार र कुटपिटले समाजको चित्र उजागर गरिदिएको छ । सबैलाई घोत्लिन बाध्य बनाइदिएको छ । 

कुनै चिज या वस्तुमा थाहै नभए पनि अधिक विश्वास गर्नु ’अन्धविश्वास’ हो । अर्थात्, आदिमकालदेखि पुस्तान्तरण हुँदैआएको एउटा विश्वास नै हो अन्धविश्वास । त्यसको बारेमा मान्छेलाई ज्ञान नहुँदा नहुँदै मान्न बाध्य छ । थारुगाउँमा एउटा बलियो विश्वास छ, मान्छे मरेपछि बाहिर जलाउँदा या जमिनमा गाड्दा पनि उसको आत्मा प्रेतकोरुपमा फर्केर आउँछ ।

त्यसले अनावश्यक कष्ट दिन्छ । त्यसलाई रोक्न र खुसीपार्न गुरुवाकै पूजापाठ, तन्त्रमन्त्र चाहिन्छ । घरका सदस्यलाई दुःख दिनबाट बचाउन गुरुवालेमात्र सक्छ । अर्थात् गुरुवासँग त्यो दिव्यज्ञान छ जसले प्रेतात्मालाई खुसी बनाएर घरका सदस्यलाई सुरक्षित राख्न सक्छ । उसो त थारु समाजमा मात्र होइन गुरुवा, झारफुँक, धामी झाँक्रीप्रतिको अन्धविश्वास नेपाली समाजमा जताततै छ । बिरालोले बाटो काट्दा डराउनु, काग कराउँदा, स्याल या कुकुर रुँदा अशुभ हुन्छ भन्ने मान्नु, पुरुषको बायाँ र महिलाको दायाँ शरीरको कुनै अङ्ग फरफराउँदा अशुभ हुन्छ भन्नु । यी अन्धविश्वास पढालिखा शिक्षित समाजमा पनि पाइन्छ । 

यात्रा गर्नेक्रममा कसैले हाँछ्यु गर्दा, तेलीको दर्शन पाउँदा, रित्तो गाग्रो देख्दा पनि अशुभ मान्ने प्रचलन छ । यात्रामा हिँड्दा सगुनकोरुपमा दही खानु, माछा हेरेर यात्रा थाल्नु, भरिएको कलश हेर्नु, बाहिर हिँड्न वा किनमेलमा निस्कदा बच्चाको अनुहारमा कालो टीका लगाएर निस्कनु आदि अन्धविश्वासले समाजमा घर जमाएर बसेका छन् । 

राजनीतिः

नेपालको राजनीतिमा थारु समुदायको प्रतिनिधित्व ओरालोतिर छ । यसअघि २०६४ सालको संविधान सभा निर्वाचनमा ४२ जना थारु सांसद थिए भने २०७० को दोस्रो संविधान सभामा ३७ जनामा झरे । अझ २०७४ को निर्वाचनबाट प्रतिनिधि सभामा १० जना प्रत्यक्ष, समानुपातिकमा ७ जना निर्वाचित भए । प्रदेश सभामा १७ जना थारु सांसदमा निर्वाचित भए जसमा १३ जना समानुपातिकबाट आए । राष्ट्रिय सभा सदस्यमा कैलालीका हरिराम चौधरीमात्र १ जना सदस्य गरी कुल ३८ जना थारु सांसद अहिले छन् । तर गुणात्मक संख्या निकै न्यून छ । 

त्यस्तै, केन्द्रीय सरकारमा माओवादी केन्द्रकी रामकुमारी चौधरी कृषि राज्यमन्त्रीबाहेक अन्य कुनै थारुको मन्त्रिपरिषदमा प्रतिनिधित्व छैन भने प्रदेश सरकारतर्फ दुईजना थारुमन्त्री छन् । त्यस्तै, एकजना प्रदेश सभाको उपसभामुख छन् । प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रीमा एमालेका वैजनाथ चौधरी, प्रदेश ७ तर्फ भूमि व्यवस्था र कृषिमन्त्रीमा माओवादी केन्द्रकी विनिता चौधरी मन्त्री छन् । त्यस्तै, प्रदेश ५ को प्रदेश उपसभामुखमा एमालेकी कृष्णी थारु (बर्दिया) छिन् ।

थारु राजनीतिको उद्गमस्थल कैलालीलाई मानिन्छ जहाँबाट थारु हक अधिकारको आवाज उठ्ने गर्छ । कैलाली थारु समुदायको सबैभन्दा वढी जनसंख्या भएको जिल्ला पनि हो । त्यहाँ थारुको जनसंख्या ३ लाख २२ हजार १२० छ । कैलालीको कुल जनसंख्या ७ लाख ७५ हजार ७०९ छ । त्यस्तै, अन्धविश्वासमा सबैभन्दा बढी रुमलिएको जिल्ला कैलाली नै हो । जहाँ राधा चौधरीजस्ता चेलीहरु बोक्सीको आरोपमा निर्घात कुटिन्छन् । 

विसं २०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा भयानक घटना यो । सातजना सुरक्षाकर्मी र एकजना नाबालकको ज्यान गयो । सोही घटना हो — थारुप्रति गैरथारुको विश्वासलाई ह्वात्तै घटाइदियो । सोअघि थारुप्रति गैरथारुको सद्भाव र विश्वास कायम थियो । सो घटनापछि अहिले थारुहरु अरुको नजरमा एक कदम घटुवामा परेका छन् । अहिले पनि सो घटनामा संलग्न भएको आरोपमा २५ जनाले बन्दी जीवन बिताइरहेका छन् भने ५० जनाभन्दा बढीलाई स्थानीय प्रशासनले ज्यान मुद्दा लगाई पक्राउपूर्जी काटेको छ । 

पछिल्लो निर्वाचनमा कुनै थारु दलले राष्ट्रिय र क्षेत्रीय दलको मान्यता पाएन । रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) एक्लै निर्वाचनमा होमियो ।

भानुराम थारु नेतृत्वको समूहले विजयकुमार गच्छदारले छाडेको फोरम लोकतान्त्रिकलाई ब्युँताउनेगरी निर्वाचनमा होमियो तर जनताले विश्वास गरेनन् । गच्छदारले असोज ३० गते आफ्नो दल कांग्रेसमा विलिन गराए । गच्छदारको दल र भनुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच २०७४ वैशाख ७ गते एकीकरण भएको थियो तर गच्छदार कांग्रेसमा विलिन भएपछि भानुरामको समूह असन्तुष्ट भयो । तिनको समूह कांग्रेसमा नगएर पुरानै दल ब्युँताउने कसरतमा लाग्यो ।  

बन्दीको अनशन
 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७४ जेठ ४ गते टीकापुर घटना र मधेस आन्दोलनका क्रममा लगाइएको झुटामुद्दा फिर्तालिने निर्णय गरेको थियो । तर,  कार्यान्वयनमा आएन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि मुद्दा फिर्ता लिने आश्वासन दिएको थियो । कार्यान्वयन गरेन । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सोही आश्वासन दिइरहेको छ तर त्यसको चौतर्फी विरोध देखिएको छ ।

मिडियाबाटै सबैभन्दा वढी विरोध छ । मिडियाको दबाब हेर्दा ओली सरकारले सो काम गर्ला भन्ने विश्वास लाग्दैन । टीकापुर घटनापछि सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । सो आयोगले प्रतिवेदन बुझायो तर सार्वजनिक भएन । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीलाल शर्माको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो । सो समितिले पनि प्रतिवेदन सरकारलाई बुझायो तर सार्वजनिक भएन । 

टीकापुर घटनामा आरोपित २५ जना थारु कैलाली कारागारमा पूर्पक्षका लागि थुनामा छन् तर दोषी भए नभएको प्रमाणित छैन । आशंकामै पूर्पक्षकालागि थुनामा राखिएका छन् । घटनापछि फरार टीकापुरका रेशम चौधरीले दुई वर्षसम्म निर्वासित जीवन बिताए । उनले फागुन १४ मा कैलाली अदालतसामु आत्मसमर्पण गरे । निर्वासित अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचनमा भारी मतका साथ निर्वाचित भए । तर, निर्वाचन आयोगले अहिलेसम्म उनलाई निर्वाचित प्रमाणपत्र दिएको छैन । सोही प्रमाणपत्र, झुटामुद्दा खारेजी र पद तथा गोपनीयताको शपथको माग गर्दै कैलाली कारागारका केही बन्दीले फागुन २० गतेदेखि २८ गतेसम्म अनशन गरे भने माग पूरा गराउने आश्वासन दिएपछि अनशन तोडे । अनशनकैक्रममा रेशम चौधरीको स्वास्थ्यअवस्था बिग्रेपछि उनलाई थप उपचारकालागि फागुन २६ गते वीर अस्पतालमा भर्ना गरिएको थियो । अति सघनकक्षमा उपचाररत रहेकैबेला उनी चैत २ गतेसम्म अनशनमा बसे । गृहमन्त्री रामबहादुर थापाले माग पूरा गराउने भन्दै रेशमलाई जुस खुवाएर अनशन तोडाएका थिए । 

मेयरमाथि आक्रमणः
 

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर (प्रमुख) ममताप्रसाद चौधरीमाथि फागुन २८ गते गोली र खुकुरी प्रहार भयो । सुख्खडबजारस्थित घरमै घुसेर उनीमाथि अज्ञातसमूहले आक्रमण गरेको थियो । उनी घाइते भए । उनको उपचार शिक्षण अस्पताल काठमाडौंमा जारी छ । कैलालीकै राधा चौधरीलाई  बोक्सीको आरोपमा कुटपिट गर्नेलाई मेयर चौधरीले जोगाउन खोजेको आरोपमा उनीमाथि आक्रमण भएको आशंका गरिएको थियो । तर, पछि प्रहरीको अनुसन्धानबाट चन्दा नदिएपछि आक्रमण गरेको कुरा बाहिर आयो । आक्रमणको आरोपमा विप्लब माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुमाथि प्रहरीले छानबिन गरिरहेको छ । तर, मेयर चौधरीले आफूमाथि अज्ञात समूहले आक्रमण गरेको र आफूले कसैलाई नचिनेको दावी मिडियामार्फत गर्दैआएका छन् । आफूले कसैको नाममा किटानी जाहेरीसमेत नदिएको उनको जिकिर छ । उनको सो भनाइले प्रहरीको व्यवहारमै प्रश्नचिन्ह खडा गरिदिएको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, चैत ११, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्