site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिकित्सक आन्दोलनको औचित्य
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जिम्मेवार चिकित्सकको रूपले हालको चिकित्सक आन्दोलनका बारेमा आफ्नो केही धारणा राख्ने जमर्को गर्दै छु  । सरकारले गत भदौ २ गते उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेपछि चिकित्सक जगत्मा हलचल पैदा भएको छ ।  यसैको विरोधस्वरूप नेपाल चिकित्सक संघको आह्वानअनुसार गत असोज ६ गते शुक्रबारदेखि देशभरका सम्पूर्ण चिकित्सकले बहिरङ्ग सेवा बन्द गरेर बिरामी जाँचेनन् र दशैं बिदामा पनि बहिरङ्ग सेवा बन्द हुने जानकारी भएको छ । वास्तवमा विरोधको यो स्वरूप ठीक होइन र यस्तो हुनु पनि हुँदैन । तर, विज्ञहरूको रायविना सरकारले गरेको यो निर्णयले वर्तमान परिस्थिति निम्त्याएको हो । 
केही वर्ष पहिलेसम्म हाम्रो समाजले चिकित्सा पेसालाई निकै सम्मानित रूपमा हेर्थ्यो र चिकित्सकलाई पनि देवतासरह व्यवहार गर्थ्यो । चिकित्सक राम्रो मान्छे हो र उसले सधैँ बिरामीको भलो गर्छ भन्ने छाप थियो । तर, समाजमा अब त्यो छवि रहेन । देशभित्र र बाहिर खुलेका  बग्रेल्ती निजी मेडिकल कलेजबाट उत्पादित चिकित्सकहरूको समान दक्षता र क्षमता नहुँदा दक्ष चिकित्सकको छविसमेत धुमिल भएको छ । यही कारणले सरकारले क्षतिपूर्तिको कानुन ल्याउन लागेको होला । तर. यसले दक्ष र क्षमतावान् चिकित्सकलाई समेत कहिलेकाहीँ परिबन्दमा फसाउन सक्छ । इमानदारीसाथ आफ्नो पेसागत कार्य गर्दा कुनै अरू नै कारणले बिरामीको मृत्यु भए पनि दोष चिकित्सकमाथि नै आउने हुन्छ र उसले क्षतिपूर्ति तिर्नुपर्ने बाध्यता पर्न जान्छ ।
अस्पताल आउने सबै बिरामी निको नै हुन्छन् वा बाँचेरै फर्कन्छ्न् भन्ने छैन । यो त बिरामीको रोगको प्रकृतिमा भरपर्ने विषय हो । उपचारका क्रममा चिकित्सकले आफ्नोतर्फबाट जानेसम्म सबै ज्ञान, दक्षता र सीप प्रयोग गरेर बिरामी बचाउने प्रयास गर्नुपर्छ । सबै चिकित्सकले यही मान्यताले नै काम गरेका हुन्छन् । तर, समाजले यो पनि बुझ्नु जरूरी छ कि ज्ञान र सीप चिकित्सकपिच्छे फरक पर्न सक्छ । यद्यपि, सबै चिकित्सक आफूले गरेको उपचारमा पूर्ण सफलता चाहन्छन् । तर, सधैं सफलता मिल्छ भन्ने पनि हुँदैन । बिरामीको अवस्थाअनुसार कहिलेकाहीँ, कुनै परिस्थितिमा असफलता पनि हात लाग्न सक्छ । त्यस बेलामा चिकित्सक आफैँलाई पीडा तथा हीनताबोध हुन्छ आफ्नो बिरामी बचाउन नसकेकोमा ।
मानिसहरू बेलुका ओछ्यानमा गएपछि अर्को बिहान त्यहीँ देहत्याग गरेका कतिपय घटनाहरू हामीले समाजभित्र सुन्ने गरेका छौँ । अचानक हुने ‘हार्ट एटेक’ अथवा ‘हाइ ब्लड प्रेसर’ कहिलेकाहीँ सरकारी अथवा निजी अस्पतालका बेड अथवा ‘अपरेसन थिएटर’भित्र पनि बिरामीलाई हुन सक्छ । यस अवस्थामा दोषको भारी चिकित्सकले बोक्नुपर्छ । किनभने, कसको कमजोरीले बिरामीको मृत्यु भएको हो भन्ने छुट्याउन सक्ने मजबुत संयन्त्र नै हामीसँग छैन । तसर्थ, क्षतिपूर्तिको कानुन ल्याउनुभन्दा पहिले यस्ता संयन्त्रमा सुधारको आवश्यकता छ । चिकित्सा विज्ञानका प्रयोगशाला र ‘पोस्टमार्टम’ गर्ने प्रयोगशालामा सुधारको आवश्यकता छ ।
कुनै बिरामीको शल्यक्रिया गरिसकेपछि केही औजारभित्र छुटेमा वा एउटा शल्यक्रिया गर्नुपर्नेमा अर्कै शल्यक्रिया हुन गएमा भने त्यसको जिम्मेवारी उक्त शल्यक्रिया गर्ने नेतृत्व र उसको टोलीले लिनुपर्छ । यस्तो अवस्थामा कानुनअनुसार त्यो टिमले क्षतिपूर्ति पनि बुझाउनै पर्ने हुन्छ । तर, बिरामीको सफल शल्यक्रियापछि संक्रमणले उसको मृत्यु भएमा चिकित्सकलाई नै दोषी ठहर्‍याउने चलनको पनि अन्त्य हुनु आवश्यक छ । यसमा अस्पताल व्यवस्थापनको सरसफाइ गर्ने जनशक्ति र ‘पोस्ट अपरेटिभ वार्ड’ को अवस्थाले पनि संक्रमण हुनसक्ने परिस्थिति सिर्जना भएको हुन सक्छ । त्यस्ता विषयमा सही र पारदशी छानबिन गर्ने संयन्त्रको व्यवस्था नभएसम्म क्षतिपूर्तिको कानुन विवादास्पद बन्न जान्छ ।
अचेल जनसमुदाय सडकमा कुनै दुर्घटना भएर कोही मरणाशन्न अवस्थामा भए पनि उसलाई अस्पताल पुर्‍याउन जान आनाकानी गर्ने प्रवृत्ति बढिरहेको छ । किनभने उसलाई त्यो घाइतेको माया लागे पनि ‘पुलिस केस’ मा लामो बयान दिनुपर्ला भन्ने त्रास हुन्छ । त्यस्तो जोखिम उठाउन धेरैजना तयार हुँदैनन् । तर, चिकित्सा क्षेत्रमा बेलाबेलामा चिकित्सकहरूले आफ्नो आचारसंहिता बाहिर गएर पनि जोखिम उठाउनुपर्ने हुन्छ । खासगरी दुर्गम जिल्लामा काम गर्ने चिकित्सकहरू कहिलेकाहीँ बिरामीको आकस्मिक अवस्थालाई ध्यानमा राखी विनारगत पनि शल्यक्रिया गर्न तयार हुन्छन् । किनभने, बिरामीलाई कतै सुगम अस्पतालमा रेफर गर्दा बाटैमा उसको मृत्यु हुनसक्छ भन्ने चिकित्सकले बुझेको हुन्छ । त्यसैले, केही जोखिम उठाएर पनि शल्यक्रिया गर्न चिकित्सक तयार हुन्छ । कतिपय अवस्थामा यस्तो निर्णय गर्दा बिरामी बाँचेका अनुभव पनि चिकित्सकसँग हुन्छ । तर, कदाचित बिरामीको मृत्यु भएमा दोष त्यही चिकित्सकलाई जान्छ । बिरामीका आफन्तले चिकित्सकको मानवता बुझ्दैनन्, हातपात ढुंगामुढा गर्न थाल्छन् र क्षतिपूर्ति माग गर्न थाल्छन् । यस्तो परिस्थितिमा चिकित्सकको मर्का बुझिदिने संयन्त्र नभई क्षतिपूर्तिको मात्र कानुन ल्याउँदा समस्या अझ बल्झने हुन्छ ।
तसर्थ क्षतिपूर्तिको  कानुन ल्याउनुभन्दा पहिले सरकारले त्यसका लागि गर्नुपर्ने प्रारंभिक कार्यहरूको जग बलियो बनाउँदै ल्याउनुपर्ने हुन्छ । उदाहरणका लागि मेडिकल शिक्षामा गुणस्तरीय सुधार, लाइसेन्स  परीक्षामा कडाइ, क्षमता मापनसहितको लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान र शल्यचिकित्सकको कार्यक्षमताको मापदण्ड आदि सबै स्पष्ट हुनु आवश्यक हुन्छ । त्यस्तै चिकित्सा विज्ञान प्रयोगशालाको गुणस्तरमा सुधार, आधुनिक पोस्टमार्टम प्रविधि आदि सबैमा सुधार नभई क्षतिपूर्तिको कानुनमात्र लाद्न खोज्दा यसले निश्चय नै विवाद निम्त्याउँछ । स्मरण रहोस्, चिकित्सा क्षेत्रका अन्य पक्षलाई सुधार नगरी चिकित्सकलाई हतोत्साही बनाउने कानुन आएमा चिकित्सकहरूले डर र त्रासमा काम गर्ने वातावरण उत्पन्न हुन्छ । त्यसो भयो भने बिरामी र समाजको पनि भलो हुदैन ।

प्राध्यापक
नेपाल मेडिकल कलेज, जोरपाटी


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १२, २०७४  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC