site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सार्वजनिक यातायातको दुरवस्था
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपालमा नयाँ आर्थिक वर्ष चाडपर्व सँगसँगै सुरु हुन्छन् । चाडबाडको मुखैमा तीस जनाभन्दा धेरैको ज्यान जाने र पचासौं जना गम्भीर घाइते हुने गरी काभ्रे र बैतडीमा भएको बस दुर्घटनाले मृतक र घाइतेका परिवारमात्र हैन देशवासी सबैलाई स्तब्ध र शोकाकुल बनाएको छ । हुनत, दुर्घटना आकस्मिक अर्थात् भवितव्य हुनुपर्ने हो तर नेपालमा प्रायः भइरहने सडकमा गुड्ने सार्वजनिक सवारी साधनको दुर्घटना भने भवितव्यमात्रै मान्न सकिने देखिँदैन । नेपालमा अधिकांश सडक दुर्घटना सरकार, यातायात व्यवसायी र यात्रुकै पनि लापरबाहीबाट हुनेगरेका छन् भन्नु अन्यथा हुँदैन । यात्रुको लापरबाही भनेर बिनासिट,  छतमा बसेर पनि यात्रा गर्न तयार हुनुलाई बताउन खोजिएको हो । यसो हुनुमा सम्बन्धित रुटमा थोरै मात्र सवारी साधन चल्नु र अर्को सवारी साधनको विकल्प नहुनु पनी मुख्य कारण हो । मानवीय स्वभाव नै हो बाटोमा सवारी गुडेपछि जसरी पनि त्यसैमा यात्रा गर्न खोज्ने ।
भाडामा चल्ने लामो वा छोटो दूरीका सवारी साधनलाई सार्वजनिक यातायात भन्ने चलन छ । सहरभित्र र छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधन तथा त्यसमा यात्रा गर्दा यात्रुले पाउने सास्ती एवं हवाई यातायात र तिनको दुर्घटनाको आआफ्नै रामकहानी छ । यहाँ चर्चा गर्न खोजिएको चाहिँ लामो दूरीमा चल्ने सार्वजनिक सडक यातायातको दुरवस्था र यात्रुले भोग्नु परेको सास्तीको हो  । सार्वजनिक यातायातलाई सुरक्षित एवं सुविधायुक्त बनाउने दायित्व सरकार र सम्बन्धित व्यवसायीको हो । तर हाम्रो सार्वजनिक यातायात सुरक्षित र सुविधायुक्त बनाउने जिम्मेबारीबाट सरकार, ब्यवसायी तथा केही हदसम्म यात्रुसमेत चुकेका छन्  । 
सार्वजनिक यातायात क्षेत्रमा चरम विकृति छ  । केही अपवाद छाडेर न बाटो राम्रो छ, न सवारी साधन गतिला छन्, न त व्यवसायी, चालक, सह-चालक अनि यात्रुको व्यवहार नै उपयुक्त छ । सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित गर्ने कानुन त छ तर त्यसको पालना जरुरी र जिम्मेवारी कसैले महसुस गर्दैनन् । दुर्घटनापश्चात त्यसको कारणको छानबिन गरी दोषीलाई कारबाही गर्ने परिपाटी बलियो भएको भए सबै पक्ष जिम्मेवार हुने थिए । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ र सार्वजनिक सडक ऐन,२०३१ लाई मात्रै पनि प्रभावकारीरूपमा लागु गर्दिने हो भने  जनसाधारणले सवारी दुर्घटनामा परेर यसरी व्यर्थमा ज्यान गुमाउन पर्ने थिएन । कम्तीमा पनि कमी त पक्कै हुनेथियो  । दुर्भाग्य, सवारी दुर्घटनाका दोषीलाई मात्र होइन अन्य जघन्य अपराधका दोषीलाई समेत कारबाही नहुने संस्कृति देशमा दिन प्रतिदिन बलियो हुँदै छ  । यस्ता सबै विकृतिको मार त अन्तत: जनसाधारणले नै सहनु पर्ने हुन्छ । सडक, सवारी साधनको अवस्था नराम्रो त छँदै छ सँगै चालक, सहचालक र यात्रुको लापरबाहीले उनीहरू आफैँसमेत मारमा पर्दैआएका छन्  । अपवादबाहेक सार्वजनिक सवारी साधन दुर्घटना हुदा मर्ने को हुन्छन् र ? तिनै चालक, सहचालक र यात्रु  न हुन् । मालिक र निजी सवारी साधन प्रयोग गर्ने त सुरक्षितै हुन्छन् । उनीहरू सार्वजनिक यातायात कमै प्रयोग गर्छन्  । 
नेपालमा हुने सडक दुर्घटना अकाल मृत्युको प्रमुख कारणमध्ये रहेको छ । ट्राफिक प्रहरीको गत तीन वर्षको सवारी दुर्घटना र त्यसमा भएको मानवीय क्षतिको विवरण हेर्दा देशभर विभिन्न सवारी दुर्घटनामा परेर बर्सेनि औसतमा १हजार ९ सय ३३ जनाको मृत्यु भएको देखिन्छ । यस संख्याले दैनिक औसत ६ जना सडक दुर्घटनामा मर्ने गरेका देखिन्छ । यस तथ्यांकमा निजी सवारी साधनमा परेर कति र सार्वजनिक साधनमा परेर कतिको मृत्यु भएको भन्ने नखुले पनि अधिकांश मृत्यु सार्वजनिक सवारी साधनमै भएको अनुमान गर्न कठिन हुँदैन । करिब तीन करोड जनसंख्या भएको देशमा बर्सेनि औसतमा झन्डै दुई हजार र दैनिक ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउनु पक्कै सामान्य अवस्था होइन । अकालमा मृत्यु त एक जनाको पनि सह्य र स्वीकार्य हुनुहुँदैन ।   
विषेशगरी ठूला सवारी साधनको दुर्घटनाको मुख्य कारण बाटोको गुणस्तर र  संचालकको गैरजिम्मेवारी नै हो । नेपालमा हुने अधिकांश ठूला दुर्घटना यात्रुवाहक गाडी सडकबाट खसेर नै हुन्छ । इन्जिनमा आगो लागेर वा करेन्ट लागेर हुने होइन । सवारी साधन बाटोबाट खस्नुको मुख्य कारण बाटोको वा सवारी साधनको कमजोर गुणस्तर र चालकको लापरबाही नै हो  । यसै पनि देशको भूगोल अफ्टेरो छ, त्यसमाथि घेरैपक्ष बाटो लैजानुपर्ने भोटको राजनीति र बाटो निर्माणमा हुने भ्रष्टाचार अनि बस व्यवसायीको दादागिरी र चालक अनि यात्रुको लापरबाही । अनि दुर्घटना नभएर के हुने ? 
बाटोको गुणस्तरमा सुधार ल्याउन समय समयमा मर्मत गर्ने, बसको क्षमताअनुसार मात्र यात्रु चढाउने, सम्बन्धित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने, चालक छनोट गर्दा शारीरिक र मानसिकरूपमा तन्दुरुस्त अनि अलि पाको उमेर र अनुभवीलाई छान्ने हो भने मात्रै पनि दुर्घटनामा उल्लेख्य कमी आउँछ । सिन्डिकेट लादेर समितिले चलाएका भन्दा पर्यटकको लागि ट्राभल एजेन्सीले चलाएका सवारी साधन कम दुर्घटनामा परेको देखिनुले पनी यो कुराको पुष्टि गर्छ ।   
'आफ्नो गाउँ आफैँ बनाऊँ' कार्यक्रमले सिंहदरबारको स्रोत गाउँगाउँमा त गयो तर त्यसको समुचित र प्रभावकारी उपयोग हुन सकेन । सुरु दिनमा त त्यो रकम गाउँमा डोजर लगाएर बाटोको ट्रयाक खोल्ने काममा मात्र प्रयोग भयो । ट्रयाक त खोलियो तर उत्साहका बेला बाटो निर्माणको इन्जिनीयरिंगको बारेमा ध्यान नै दिईएन  । हचुवाका भरमा डोजर चालकको इन्जिनीयरिंगले ट्रयाक खोलियो अनि सुरु भयो त्यही ट्रयाकमा बिना रुट परमिट गाडी गुडाउने धन्दा । सरकारले निश्चित मापदण्ड तोकेर ट्रयाक खोल्ने अनुमति दिने र त्यसको जाँचपछि मापदण्ड पुगेमा मात्र रुट अनुमति दिने परिपाटी बसालेको भए जथाभावि जमिन भत्काउने कार्य हुने नै थिएन । डोजर मालिकले यो वर्ष भुक्तानी नपाए अर्को वर्ष भुक्तानी दिने गरेर उधारोमा पनि बाटो भत्काई दिए  । उनीहरुलाई नाफा जो कमाउनु थियो । त्यसरी बिनामेसै जमिन भत्काउदा बाटो खराब भएर गाडीमात्र पल्टेनन, ठूलो भूक्षय भएर वतावरण मै ठूलो असर पर्न गयो । त्यसतर्फ सरकारले ध्यान दिएन वा दिन चाहेन । सबै सदरमुकाममा सरकारले कालोपत्रे बाटो पुराउने उद्देश्यका साथ बाटो त बनायो तर त्यसको गुणस्तरमा ध्यान नदिदा वा सम्झौता गर्दा बाटो नबन्दै भत्किन सुरु हुन थाल्यो र यात्रा जोखिमपूर्ण बन्दै गयो ।
जनताले तिरेको करबाट सरकारले बाटो बनाउने तर समितिका नाममा सिन्डिकेट चलाएर व्यवसायीले सार्वजनिक यातायातमा प्रतिस्पर्धा हुनै दिएनन् । खाए खा नखाए घीचको शैलीमा यात्रुलाई अत्यन्त तल्लो स्तरको सेवामा यात्रा गर्न बाध्य पारियो । आफ्नो करको रकमले बनेको बाटोमा जनताले आफ्नो निजी सवारी साधन चलाउन नपाउनेसम्मको दादागिरी चल्यो बाटोमा । मुख्य सचिवको प्रत्यक्ष हस्तक्षेपले समेत समाधान गर्न नसकेको यो बिषयको जरा कहाँ कहाँ सम्म पुगेको थियो भन्ने कुराको अनुमानमात्र गर्न सकिन्छ । 
यी त भए बाटो, सवनरी साधनक गुणस्तरका मामिला । यात्रासुरू गर्दा र यात्राको क्रममा हुने सास्तीको फेहरिस्त झनै लामो र कहाली लाग्दो छ । यात्रा गर्न भनेर बस पार्कमा गयो, बसका दलाललाई यात्रु होइन विक्रीको वस्तु आएजस्तो हुन्छ । यात्रुलाईलाई देख्नेबित्तिकै ज्याकेट एकातिर, झोला एकातिर, कमिज एकातिर हुने गरि तान्छन  ।लाजमर्दो अवस्था देखिन्छ बसपार्कमा  । जनावरको बरु महत्व होला मान्छेको महत्व हुन्न त्यहाँ  । टिकट काटुन्जेलसम्म अघिपछि लाग्छन, टिकट लिइसकेसी अब उनीहरुको जिम्मेबारी सकियो । गन्तव्यमा समयमा पुराउने कुनै जिम्मेवारी हुन्न उनीहरुको । बाटोको कारणले यात्रा लम्बिने त छदै छ तर यात्रु कम भएकै कारण त्यही रुटमा नियमितरूपमा गाडीले पनि यात्रुले गाडी नभरिन्जेल चलाउदैनन् । बाटोका होटेल र तिनले दिने सेवाको त झन् अर्कै कहानी छ  । सरकार ले चाहे के गर्न सक्दैन ? तर बसको सिन्डिकेट हटाएर सार्वजनिक यातायात सेवालाई प्रतिप्रस्पर्धात्मक बनाउन सरकारले सकेन  । नसकेको हो कि नचाहेको हो ? नेपालमा सरासर बसपार्कमा गएर टिकट काटेर ढुक्क हुदै सुरक्षित यात्रा गर्दै समयमा गन्तव्यमा पुग्ने कुनै दिन आउला ? 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC