site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुरानो साख फर्काउने लक्ष्यमा संकटा

काठमाडौं । अहिले काठमाडौं ‘सहर’को क्षेत्रफल उपत्यकाको चारै दिशामा रहेका पहाडसम्मै फैलिएको छ । तर, एक समय थियो– वसन्तपुर, असन, न्युरोड, इन्द्रचोक वरिपरिका क्षेत्रलाई मात्र ‘सहर’ भनिथ्यो । त्यस क्षेत्रबाट थोरै बाहिर निस्कनेबित्तिकै ‘गाउँ’ हुन्थ्यो ।

हो, त्यही सहरभित्रको एउटा टोल टेबाहलको क्लब हो, संकटा क्लब । संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुरानो इतिहास बोकेको थोरै क्लबमध्येको एक हो ।

लिगमा सफलताको कथा हेर्ने हो भने संकटा पछाडि पर्ला । तर, परम्परागत इतिहास हेर्ने हो भने संकटा अग्रस्थानमा आउँछ । हुन पनि यस क्लबले नेपाली फुटबल इतिहासमा युग बिताइसकेको छ । झन्डै सात दशकभन्दा लामो इतिहास छ, संकटाको ।

Dabur Nepal

संकटा नेपालमा निरंकुश राणा शासनको अन्त्यसँगै उदाएको क्लब हो । विशेष गरी युवाहरूको ‘इख’ले जन्माएको क्लब हो, संकटा । त्यही टोलमा अर्को एउटा क्लब थियो । जसको नाम हो, न्युरोड टिम (एनआरटी) । एनआरटीबाट नियमित खेल्न नपाएकाहरूले रिसको झोकमा अर्को क्लब दर्ता गरे । त्यही युवाहरूले झोकमा दर्ता गरेको क्लबको विस्तारित रूप हो, संकटा क्लब ।

संकटा क्लबको पाका खेलाडीहरूको स्मरणमा भएअनुसार ००७ सालमा टेबहालका युवाले एनआरटीबाट छुट्टिएर ब्वाइज स्पोर्ट्स क्लब गठन गरे । पछि तत्कालीन टोल संघका सभापति सूर्यनारायण मालीले क्लबलाई समुदायमा लोकप्रिय बनाउन टोलकै संकटा मन्दिरको नाम जोडेर ००८ सालमा ‘संकटा ब्वाइज स्पोर्ट्स क्लब’ नाम राखिदिए ।

लोकप्रिय संकटा मन्दिरको नामसँग जोडिएको संकटा ब्वाइज स्पोर्ट्स क्लब अहिले संकटा क्लबको नामबाट परिचित छ । संकटाले स्थापना भएकै वर्ष बालसखा दल क्षेत्रपाटीले आयोजना गरेको नकआउट प्रतियोगिता खेल्यो । जहाँ ४० देखि ४८ इन्च उचाइ भएका खेलाडीले खेल्ने गर्थे । संकटाले त्यही प्रतियोगिता जित्दै नेपाली फुटबलमा विजयी यात्राको सुरुआत गरेको थियो । एन्फाका अनुसार संकटाले ०१३ सालमा महेन्द्र च्यालेन्ज शिल्डको उपाधि उचाल्यो । त्यसको दुई वर्ष नबित्दै ‘बी’ डिभिजन लिग च्याम्पियन बन्यो ।

०३५ मा त्रिभुवन च्यालेन्ज कपको उपाधि जित्दाको अनुभव सुनाउँदै जीवन शाही भन्छन्, “त्यति बेला फुटबलको माहोल अर्कै थियो । संकटाले दशरथ रंगशालामा खेल्दा टेबाहल टोल मात्र होइन, न्युरोडदेखि असनसम्म खाली हुन्थ्यो । सबै रंगशाला पुगेका हुन्थे । रंगशालाको प्यारापिटदेखि मैदानसम्मै दर्शक भरिभराउ हुन्थ्यो । दर्शकहरू जाँदा र फर्किंदा त्यो बाटो धुलाम्य हुन्थ्यो । त्यो बेला फुटबलमा बेग्लै मज्जा थियो ।”

सेमिफाइनल खेल दुई दिन

यो भयो त्यति बेलाको फुटबल माहोलको कुरा । अझ रोचक प्रसंग त के भने, त्यति बेला संकटाले सेमिफाइनल खेल दुई दिन खेलेको थियो । प्रतिद्वन्द्वी थियो, नेपाल पुलिस क्लब । पहिलो दिन निर्धारित ९० मिनेटको समय बराबरीमा सकियो । थपिएको ३० मिनेट पनि बराबरीमै सकियो । शाहीका अनुसार तत्कालीन एन्फाले पेनाल्टी सुटआउट नगरी भोलिपल्ट पुनः सुरुबाट खेल खेलायो । भोलिपल्ट पनि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समय बराबरीमा सकिएपछि बल्ल पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको थियो । त्यसमा संकटा विजयी भयो र फाइनलमा कोसी–११ लाई हराउँदै उपाधि उचाल्यो ।

०१५ सालमा ‘बी’ डिभिजन लिग च्याम्पियन हुँदै ‘ए’ डिभिजन लिगमा उक्लिएको संकटाले ०३७ सालमा उपाधि नै उचाल्यो । त्यसबीचमा संकटा ०२२ मा ‘बी’ डिभिजन लिगमा झरेको थियो । तर, लगत्तै अर्को वर्ष पुनः ‘ए’ डिभिजन लिगमा उक्लियो । त्यसपछि एक दशकसम्म संकटाले नेपाली फुटबलमा राज गर्‍यो ।

त्यति बेला एनआरटी, रानीपोखरी कर्नर टिम (आरसीटी), महावीर, नरशमशेर–११, डिल्ली बजार–११, ठमेल–११, विद्या व्यायम, देउरालीजस्ता नेपाली फुटबलमा स्थापित क्लब थिए । धेरै क्लबलाई राणा र अरू प्रभावशाली व्यक्तिको साथ थियो । त्यही बेला सामुदायिक क्लब संकटा जबर्जस्त रूपमा उदाएको थियो । युवा खेलाडीको जोस र इखका कारण संकटाले तत्कालीन अवस्थामा एकपछि अर्को सफलता हासिल गर्दै गयो ।

संकटालाई अरू क्लबसँगको नतिजा जे भए पनि खास मतलब थिएन । तर, एनआरटीसँग भने हार्न हुँदैनथ्यो । कारण, एनआरटीमा खेल्न नपाएको झोकमा संकटा क्लब जन्मिएको थियो । 

“अरू टिमसँग जेसुकै होस्, हामीलाई त्यसको मतलब हुँदैनथ्यो । तर, एनआरटीसँगको हार हामीलाई सैह्य हुँदैनथ्यो,” संकटाका पूर्वकप्तान जीवन शाही अतीत सम्झन्छन्, “एनआरटीबाटै छुट्टिएर बनेको क्लब भएर पनि होला, हामी एनआरटीलाई जसरी पनि हराउन चाहन्थ्यौँ । र, हाम्रो पालामा एनआरटीसँग हारेनौँ पनि । तर, अहिले त्यो अवस्था छैन ।”

रमाइलो इतिहास

०३७ मा संकटाको अझै अर्को रमाइलो कहानी छ । संकटाले अर्को टिम बनाएर ‘बी’ डिभिजन लिगको छनोट खेल्यो । उक्त टोली च्याम्पियन बन्यो । ‘ए’ डिभिजन लिगमा संकटाकै दुई टोली बन्यो । रातो र निलो । दुवै टोलीले ‘ए’ डिभिजन खेले । एउटाले ‘ए’ डिभिजन लिगको उपाधि उचाल्यो, अर्को रेलिगेसनमा परेर पुनः ‘बी’ डिभिजनमा झर्‍यो ।

त्यसपछि संकटाले दुई वर्ष लिगको उपाधि जित्न सकेन । ०४० मा फेरि संकटाले लिगको उपाधि उचाल्यो । ०४१ मा आरसीटीले उपाधि जित्यो  । ०४२ मा पुनः संकटा ‘ए’ डिभिजन लिगको च्याम्पियन बन्यो ।

क्लबको इतिहास पल्टाउने हो भने देशलाई धेरै कुशल फुटबलर दिएको जस संकटाको पोल्टामा जान्छ । ०३३ देखि ०४३ सालसम्मको अवधि संकटाको स्वर्णिम समय थियो । सोही समयमा क्लबले देशमा हुने लिग, त्रिभुवन च्यालेन्ज शिल्डलगायत सबैखाले प्रतिष्ठित प्रतियोगिता जितेको थियो ।

एन्फाका पूर्वअध्यक्ष कमल थापा र गणेश थापासहित ईश्वरमान तुलाधर, जीवन शाही, रजतमान तुलाधर, किरण खड्का, प्रकाश नेपाली, सुरेन्द्र सिख्राकार, राजेश तुलाधर, अजर मानन्धर, मनोरञ्जन डंगोल, नरेन्द्रमान सिंह, वीरेन्द्रमान सिंह, सानुराजा शाक्य, राजमान तुलाधर, राजु शाह, कुमार महर्जनजस्ता खेलाडी आफ्नो समयमा संकटा टिमका सदस्य थिए ।

त्यसपछि भने नेपाली फुटबलमा संकटा विस्तारै पछाडि पर्दै गयो । त्यसबीचमा संकटाले थुप्रै आरोह–अवरोह भोग्यो । फुटबल विकासक्रमसँगै खेलभित्रको राजनीतिका धेरै महत्त्वपूर्ण मोडमा पनि संकटा मुख्य यात्री रह्यो । तर, मैदानभित्रको सफलता हासिल गर्न भने संकटा संकटमै रह्यो ।

रामो नतिजाको पर्खाइ

पछिल्लो समय संंकटा आफ्नो त्यही पुरानो साख ब्युँताउने प्रयास गरिरहेको छ । ०७५ मा संकटा लिग उपाधिनजिक थियो । तर, मनाङ–मर्स्याङ्दी क्लब त्यसमा तगारो बन्यो । संकटाले दोस्रो स्थानमै चित्त बुझायो । क्लबले लामो समयपछि दोस्रो स्थान हासिल गर्दा टिमका सदस्य विष्णु गरुङ अहिले क्लबका मुख्य प्रशिक्षक छन् ।

दोस्रोपटक मिति सरेपछि आउँदो मंसिर ३ गतेदेखि सुरु हुने लिगमा विष्णुले संकटाको नेतृत्व गर्नेछन् । टिममा पछिल्लो तीन–चार वर्षदेखि संकटाबाटै खेलेका खेलाडीको वर्चश्व छ । त्यसकारण क्लबले यसपटक राम्रो प्रदर्शन गर्नेमा अध्यक्ष इन्द्रमान तुलाधर विश्वस्त छन् । उनी भन्छन्, “लामो समयदेखि सँगै खेलेका खेलाडीहरू टिममा छन् । लिगदेखि मोफसलका प्रतियोगिताहरूमा उनीहरूले सँगै खेलेका छन् । एकार्कालाई बुझेका छन् । त्यसकारण टिममा राम्रो तालमेल छ । विदेशी खेलाडी पनि राम्रा छन् । प्रशिक्षकलाई आवश्यक पर्‍यो भने हामी थप खेलाडी भित्र्याउन तयार छौँ । त्यसकारण पनि हामी यस सिजन राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौँ ।”

अध्यक्ष तुलाधरजस्तै प्रशिक्षक गुरुङ पनि राम्रो नतिजा ल्याउने आशामा छन् । उनलाई ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका राजकुमार केसी र अजय महर्जनले प्रशिक्षणमा सघाइरहेका छन् । राजेश तुलाधरले टिमको व्यवस्थापन हेरेका छन् ।

“अहिलेसमम हाम्रो तयारी राम्रो छ । टिमको रूपमा काम गरिरहेका छौँ । प्रशिक्षण टोलीमा तीनजना छौँ । हामी प्रत्येक दिन योजना बनाउँछौँ र त्यसलाई कार्यान्वयन गरिरहेका छौँ । छोटो समयको तयारी भए पनि अब टिम एउटा सेपमा आइसकेको छ । कसरी खेल्ने भनेर सबैले बुझिसकेका छन् । टिममा कम्युनिकेसन राम्रो हुँदै आएको छ,” तयारीबारे मुख्य प्रशिक्षक गुरुङले भने, “आशा गरौँ, हामी राम्रो नतिजा निकाल्नेछौँ ।”

सिजनअघिको पहिलो मैत्रीपूर्ण खेलमा संंकटा सातदोबाटो युथ क्लबसँग २–० पराजित भएको थियो । दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–० ले हारेको संकटाले तेस्रो खेलमा मनाङसँग २–२ को बराबरी खेल्यो । संकटाले पहिलो खेल हिमालयन शेर्पाविरुद्ध खेल्नेछ । दोस्रो खेल फ्रेन्ड्स क्लबविरुद्ध खेल्नेछ । दुवै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछ । यद्यपि, लिगको मिति परिवर्तन भएका कारण त्यसमा केही परिवर्तन हुन पनि सक्छ ।

“टिम दिनदिनै राम्रो हुँदै आएको छ । अहिले टोलीमा २३ खेलाडी छन् । सबैले खेलाडीलाई जुनसुकु पोजिसनमा पनि खेल्ने गरी तयार पारेका छौँ । अनुभवी र नयाँ खेलाडीको मिश्रण छ । हामी सकारात्मक छौँ,” लिगमा मुख्य प्रतिद्वन्द्वी कसलाई देख्नुभएको छ भन्ने प्रश्नमा प्रशिक्षक गुरुङले भने, “सबै टोली बलिया छन् । सबैमा राम्रा प्रशिक्षक छन् । सबैले राम्रो तयारी गरेका छन् । त्यसैले पनि हामीलाई प्रत्येक खेल महत्त्वपूर्ण हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro