काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा बर्सेनि ठूलो परिमाणमा लगानी भइरहे पनि अपेक्षित विकास र विस्तार हुनसकेको छैन । सुरुआतदेखि नै लामो समय बलिउड फर्मुला पछ्याएको नेपाली सिनेमाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सकेन । परिणामः नेपाली चलचित्र नेपाली भूगोलभित्रै सीमित रह्यो ।
तर पनि नेपाली चलचित्रले लामो यात्रा तय गरिसकेको छ । पञ्चायतको सुरुबाट यात्रा तय गरेको नेपाली सिनेमा विभिन्न राजनीतिक कालखण्ड तय गर्दै ०७७ सम्म आइपुगेको छ । करिब ६ दशक लामो यात्रा तय गरे पनि खासै ठूलो उपलब्धि हासिल हुन नसकेको स्वयं चलचित्रकर्मीहरूले नै बताउँदै आएका छन् । त्यसैले अब चलचित्रकर्मीहरूले आत्मसमीक्षा गर्ने समय आइसकेको स्वयं चलचित्रकर्मीहरूले नै बताउन थालिसकेका छन् ।
चलचित्र क्षेत्रमा केही यस्ता विषय छन्, जो सदाबहार रूपमा चर्चा र बहसमा आइरहन्छन् । जसमा चलचित्र क्षेत्र रुमलिरहेको छ । यसको पछिल्लो उदाहरणका रूपमा पल शाह र समीक्षा अधिकारीको विषयलाई लिन सकिन्छ । अभिनेता पल र गायिका समीक्षाको विषयले अहिले चलचित्र क्षेत्रमा चर्चा पाएको छ । उनीहरूबीच प्रेमसम्बन्ध रहेको र पछि पलले समीक्षालाई बेवास्ता गरेको भन्ने खबरहरू आउन थालेपछि उक्त कुरामा सत्यता नरहेको पल र समीक्षा दुवैले दाबी गरेका छन् । बिनाआधार लगाइएको आरोपले आफूहरूको चरित्र हत्या भएको उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । सत्यतथ्य नबुझी आएका सामग्रीहरूले परिवारसहित आफ्नो इज्जत तथा प्रतिष्ठामा नै आँच आएको बताएका छन् ।
यो त भयो पछिल्लो एउटा उदाहरण । यस्ता व्यक्तिगत घटना र झगडामा रुमलिनु नेपाली चलचित्र क्षेत्रका लागि नयाँ होइन ।
भुवन केसीदेखि छविराज ओझा–शिल्पा पोखरेलसम्मको घर झगडा होस् अथवा सुष्मा कार्कीदेखि पूजा शर्मासम्मका लफडा, यसले चलचित्र क्षेत्रमा राम्रै स्थान पाउँछन् । तर, यो विषयले चलचित्र क्षेत्रलाई माथि उठाउन योगदान गरिरहेको छ कि चलचित्र क्षेत्रको मर्यादालाई नै झन धुमिल बनाइरहेको छ ? कलाकार तथा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का यसले कलाकारलाई हेर्ने आम नागरिकको दृष्टिकोण नकारात्मक हुने बताउँछन् ।
महानायक
महानायकको विषय पनि पछिल्लो समय राम्रै स्थान पाइरहेको विषय हो । राजेश हमाललाई केही सञ्चारमाध्यमले महानायक लेख्न र भन्न थालेपछि यस विषयले प्राथमिकता पाएको होे । राजेश हमाल नै महनायक हुन् र यसका लागि योग्य पात्र हुन् भन्ने पक्ष र कोही यसका लागि योग्य पात्र नै उनी होइनन् भन्नेबीचको मतान्तरले ठाउँ पाइरहेको छ । पक्ष र विपक्षमा लागेर सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उभिनेको संख्या ठूलो छ । कोही चलचित्रबाहिर कोही पनि नायक–महानायक हुँदैन भन्छन् भने कोही राजेश हमाल नै महानायक हुन् भन्ने छन् । यस्तो बहसले चलचित्र क्षेत्रलाई अधोगतितर्फ लैजाने निर्देशक तथा समीक्षक मनोज पण्डितको बुझाइ छ ।
पारिश्रमिक
कसको कति पारिश्रमिक भन्ने विषयले पनि नेपाली चलचित्र नगरीमा राम्रै स्थान पाइरहेको छ । कसको कस्तो अभिनय भन्दा पनि सञ्चारमाध्यमले कुन कलाकारको पारिश्रमिक कति भन्ने विषयलाई प्राथमिकता दिने गरेको पाइन्छ । मिडियामा भन्ने पारिश्रमिक र रियल पारिश्रमिक भने फरक हुने गरेको समाचारहरू पनि सार्वजनिक हुने गरेका छन् । निर्माताहरूले पूरै पारिश्रमिक नदिने गरेको असन्तुष्टि पनि कलाकारहरूले पोख्ने गरेका छन् ।
कलेक्सन रिपोर्ट
चलचित्रले गर्ने कलेक्सनको विषयले पनि राम्रै स्थान ओगट्ने गरेको छ । चलचित्रले करोडौँ कलेक्सन गर्यो भनेर प्रचार गर्ने गरिए पनि यथार्थ भने अर्कै हुने गरेको छ । करोड क्लबमा प्रवेश भनेर केक काटेका चलचित्रहरू नै यथार्थमा घाटामा हुने गरेको चलचित्रकर्मीहरू नै बताउँछन् । नयाँ निर्माताहरूलाई गुमराहमा राख्नका लागि झुटो प्रचारबाजी गर्ने गरिएको कलाकार तथा निर्माता निर्मल शर्माले लामो समयदेखि बताउँदै आएका छन् ।
बक्स अफिस
बक्स अफिस नेपाली चलचित्रको अर्को विषय हो । लामो समय बक्स अफिस लागु हुनुपर्ने भन्ने विषयले नेपाली चलचित्रमा प्राथमिकता पायो । अहिले बक्स अफिस लागु भए पनि यसले जसरी काम गर्नु पर्ने हो त्यसरी काम नभइरहेको चलचित्रकर्मीहरू बताउँछन् । दर्शकले टिकट काटेको आधी घण्टाभित्र निर्माताको इमेलमा त्यसको रेकर्ड आइसक्नुपर्छ । तर, नेपालको बक्स अफिस त्यति पारदर्शी नरहेको मेकरहरूको गुनासो छ ।
रिलिज डेट
रिलिज डेट पनि नेपाली चलचित्रको अर्को समस्या हो । एउटै डेटमा धेरै चलचित्र रिलिज हुने गरेका छन् । विशेषतः लामो सार्वजनिक बिदाको छेको पारेर दसैँ, तिहार, नयाँ वर्षमा धेरै निर्माताहरूले एउटै डेटमा चलचित्र रिलिज गर्ने गरेका छन् । दुस्मनी साँध्न, एकले अर्कोलाई ‘सिध्याउन’ एउटै डेटमा चलचित्र जुधाउने गरिएको स्वयं चलचित्रकर्मीहरू नै बताउँछन् । यसले चलचित्रको बक्स अफिस कलेक्सनमा ठूलो नकारात्मक प्रभाव पार्ने गरेको छ । नेपाली चलचित्र उद्योगमा कहिल्यै नसुल्झिएको समस्या हो यो ।
अभिनय
नेपाली चलचित्र क्षेत्रको अर्को विषय हो– अभिनय भएन । एकातिर नेपाली चलचित्रका कलाकारको अभिनय नै राम्रो भएन भन्ने टिप्पणी हुँदै आएको छ भने अर्को पक्ष थिएटरबाट आएका कलाकारले अभिनय बिगारे भन्ने टिप्पणी गरिरहेको छ । नवीन सुब्बा रंगमञ्च र चलचित्रको अभिनय फरक रहेको बताउँछन् । रंगमञ्चबाट आएका कलाकारहरूले चलचित्रमा अभिनय गर्दा ‘लाउड’ हुने गरेको उनको टिप्पणी छ ।
सिनेमा लेखक छैनन्
नेपाली चलचित्रमा लगातार उठ्दै आएको विषय हो– कथा लेख्ने सिनेमा लेखक भएनन् । भनेजस्तो सिनेमा लेखक नहुँदा राम्रो चलचित्र बनाउन नसकिएको केही मेकरहरूले बताउने गरेका छन् । लेखकले भनेजति पारिश्रमिक उपलब्ध गराउन आफूहरू तयार रहे पनि लेखक नै नरहेको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाले बताउने गरेका छन् । विषय थुप्रै रहेको तर त्यसलाई सिनेमाको कथामा उन्ने व्यक्ति नभएको उनको भनाइ छ । यसको ठिकविपरीत विचार राख्ने चलचित्रकर्मीहरू पनि छन् । पर्याप्त पारिश्रमिक उपलब्ध गराए सिनेमा लेखकको खाँचो नहुने विचार केही चलचित्रकर्मीको छ ।
अपर्याप्त बजेट
नेपाली चलचित्र निर्माणमा पर्याप्त बजेटको अभाव रहेको र यसको प्रभाव पर्दामा देखिने गरेको चलचित्रकर्मीले बताउँदै आएका छन् । ठूलो बजेट उपलब्ध भए राम्रो चलचित्र बनाउन सकिने चलचित्रकर्मीको तर्क छ । निर्देशक तुलसी घिमिरे, दीपेन्द्र के खनाललगायत निर्देशकहरू आवश्यक बजेट भए अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने चलचित्र बनाउन सकिने दाबी गर्छन् । बजेट अभावमा विषय छनोटदेखि नै सम्झौता सुरु हुने उनीहरू बताउँछन् ।
बजार अभाव
बजार अभावका कारण नेपाली चलचित्रमा ठूलो लगानी गर्न सकिने अवस्था नरेहको चलचित्रकर्मीहरूले नै बताउने गरेका छन् । डेढ करोडभन्दा माथि लगानी भएका चलचित्रमा ‘हाइ रिस्क’ हुने भन्दै निर्माताहरूले सकेसम्म बजेट डेढ करोडमा सीमित गर्ने गरेका छन् ।
समीक्षा
नेपाली चलचित्रमा समीक्षा पनि धेरै उठिरहने अर्को विषय हो । केही निर्माता तथा कलाकारहरू समीक्षकको नै समीक्षा गर्नुपर्ने अवस्था रहेको बताउँछन् । समीक्षकमा चलचित्र निर्देशकमा भन्दा धेरै चलचित्रको ज्ञान हुनुपर्नेमा उनीहरूको जोड छ । समीक्षकहरू नै ‘पूर्वाग्रही’ हुने गरेको र विज्ञापनको प्रलोभनमा कलम चलाउने गरेको उनीहरूको गुनासो छ ।
चलचित्र क्षेत्रलाई परिपक्व बनाउने सार्थक विषय र यो क्षेत्रलाई नकारात्मक असर पुर्याउने विषय दुवैले स्थान पाउँदै आएका छन् ।