site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा स्तन क्यान्सर उपचार, कति चुनौति कति सफलता ?

काठमाडौं । स्तन क्यान्सर स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनिहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट हुने संक्रमण हो । यसरी भएको परिवर्तनपछि बन्ने गिर्खा, गाँठागुँठी र घाउको रुप नै स्तन क्यान्सर हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन ६ जना स्तन क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । त्यस्तै  प्रत्येक दिन ३ जना महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गरेको तथ्यांक छ । स्तन वा काखीमा स–साना गिर्खा देखिनु, स्तनबाट असामान्य रुपले दूध, पानी अथवा रगत आउनु, छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु स्तन क्यान्सरका लक्षण हुन् ।
 
स्तन क्यान्सरको पहिचान कसरी गर्ने ?
सम्बन्धित परीक्षण अथवा बायोप्सी परीक्षणविना शरीरमा देखिएका कुनै पनि समस्या क्यान्सर हो भनेर यकिन गर्न सकिँदैन । स्तन क्यान्सर २० वर्षमाथिका कुनै पनि महिलालाई हुनसक्ने भएकाले उमेर अुनसारको परीक्षणमा ध्यान दिन विशेषज्ञहरु सुझाव दिन्छन् । २० वर्ष कटेका महिलाले घरमै सेल्फ एक्जामिनेसन विधी अपनाउनु सजग रहने एउटा माध्यम हो । महिनावारी भएको पाँचदेखि सात दिनपछि आफ्नो स्तन र काखीमुनि आफैंले छामेर अनावश्यका गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ । गर्भवती तथा महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एकै दिन आफ्नो स्तन जाँच गर्नुपर्ने हुन्छ । तर, बच्चा जन्माइसकेका महिलाले वर्षमा एकपटक विशेषज्ञको सल्लाहमा परीक्षण गराउनुपर्ने हुन्छ । 

४० भन्दा कम उमेर भएका तर परिवारमा कसैलाई क्यान्सर भएको घटना भए त्यस्ता महिलाले विशेषज्ञको सल्लाहमा भिडियो एक्स–रे गराउनुपर्छ । ४० देखि ४५ वर्ष उमेर समूहका महिला जसको घरमा कसैलाई स्तन क्यान्सर छ भने उनीहरुले विशेषज्ञसँगको सल्लाहमा मात्रै मेमोग्राममार्फत् परीक्षण गर्नुपर्ने मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही बताउँछन् । 

Dabur Nepal

घरमा कसैलाई क्यान्सर नभए पनि ४५ देखि ६५ उमेरका महिलाले प्रत्येक वर्ष एकपटक मेमोग्राम गराउन डा. शाहीको सुझाव छ । त्यस्तै स्तन र डिम्बाशयको क्यान्सर एक अर्कासँग जोडिएका हुनाले स्तन क्यान्सर भएको भए पाठेघरको मुखको क्यान्सरसमेत हुनसक्ने र डिम्बाशयको क्यान्सर भएको भए स्तन क्यान्सर पनि देखिन सक्ने हुन्छ । यसको पहिचानका लागि ब्राका परीक्षण गराउन सुझाउँछन् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पिया । नेपालमा ब्राका परीक्षण सेवा शुल्क २० देखि ३० हजार पर्न आउँछ ।    

स्तन क्यान्सर भएमा स्तन फाल्नैपर्छ ?
अन्य क्यान्सरजस्तै स्तन क्यान्सरका पनि विभिन्न चरणहरु हुन्छन् । यसको उपचारमा शल्यक्रिया र विभिन्न थेरापीहरु प्रयोग हुन्छन् । सुरुको अवस्थामा पत्ता लागेको क्यान्सरमा स्तन जोगाएर उपचार गर्न सकिन्छ जसलाई ब्रेस्ट कन्जर्भिङ सर्जरी भनिन्छ । यो सर्जरीमा स्तनमा भएको मुख्य गिर्खा र त्यसको वरिपरीको एक सेन्टिमिटरसम्मको भाग फ्याँकिन्छ । र काखीसँग जोड्ने लिंक नोटहरु समेत शल्यक्रिया गरेर फालिन्छ । तर, यदि गिर्खा स्तनको केन्द्र भागमा छ अथवा धेरै फैलिइसकेको छ भने स्तन फालेर नै शल्यक्रिया गर्नुपर्ने ब्रेस्ट सर्जन डा. शन्तवीर महर्जनको भनाइ छ । तर, सुरुको चरणमा गरिएको स्तन क्यान्सरको शल्याक्रियामा शल्यक्रियापसछि पनि स्तनको आकार उस्तै रहने डा. महर्जनको दाबी छ ।

तर, स्तन नफाली शल्यक्रिया गरिएका क्यान्सर सर्भाइभरलाई पनि रेडिएसन थेरापी भने दिनुपर्ने हुन्छ । स्तनको शल्यक्रिया गरेका लगभग १०० प्रतिशतलाई रेडिएसन थेरापी गर्नु पर्ने रेडियोलोजिष्ट डा. उज्ज्वल चालिसे बताउँछन् । अपरेसन गरिसकेपछि पनि क्यान्सरका कोसिकाहरु बाँकी रहन सक्छन् र त्यसलाई थप निस्क्रिय गराउन रेडिएनसन आवश्यक हुन्छ, यदी कसैको लिम्फोमा पोजेटिभ थियो भने स्तन फाले पनि ४/५ सेन्टिमिटरको ट्युमर थियो भने उनीहरुलाई रेडियोथेरापी आवश्यक हुने डा. चालिसे बताउँछन् । 

पुरुषमा स्तन क्यान्सर 
पश्चिमा मुलुकहरुमा पुरुषमा स्तन क्यान्सर सामान्य बनिसकेको छ । नेपालमा भने महिलाको तुलनामा पुरुषमा यो समस्या कम नै देखिएको छ । अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजिका अनुसार प्रतिवर्ष २ हजार ६५० जना पुरुषमा स्तन क्यान्सर देखिने गरेको र तीमध्ये ५३० जनाको मृत्यु हुने गरेको छ । पुरुषमा हुने स्तन क्यान्सरका लक्षण महिलासँग धेरैजासो मिल्दाजुल्दा हुन्छन् । चार वर्षअघि स्तन क्यान्सर देखिएका ज्ञान लामा सुरुवाती दिनहरुमा आफ्नो स्तनको माथिल्लो भागबाट थोरैथोरै पानी आउने, एकएक  थोपा गरी रगत देखिने गरेको अनुभव सुनाउँछन् । केही समय औषधि खाएर समस्या कम भएका लामालाई यही समस्या पटकपटक दोहोरिएपसछि बायोप्सी गरेपछि स्तन क्यान्सर पहिचान भयो । लगातारको उपचारपछि अहिले उनी सामान्य जीवनमा फर्किएका छन् । थोरै पुरुषमा स्तन क्यान्सर देखिने भए पनि सम्भावना रहने भएकाले वर्षमा एक पटक आफ्नो शरीर परीक्षण गराउन लामाको सुझाव छ ।
 
क्यान्सरको उपचारमा परिवारको भूमिका 
कुनै समय घातक रोगको रुपमा चिनिएको क्यान्सरको उपचार अहिले नेपालमा पनि विभिन्न हिसाबले सहज भइसकेको छ । सजगता र समयमै पहिचान नै क्यान्सरको पहिलो उपचार भएको विशेषज्ञहरु बताउँछन् । क्यानसर रोग पराजित गरेकाहरु सही उपचार प्रक्रियामा पुगिसकेपछि पनि परिवारको हौसलाले उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् । सही उपचार र परिवारको साथ, सपोर्ट पाए उसले रोगलाई जित्नसक्छ, स्तन क्यान्सर विजेता बिनु केसी भन्छिन् । “क्यान्सर सर्भाइभरका लागि परिवारको सपोर्टले पनि शक्ति दिन्छ र औषधिको जस्तै काम गर्छ । स्तन क्यान्सरलाई मृत्युसँग तुलना गर्ने मानसिकता परिवर्तन गर्नुपर्छ । नकारात्मक होइन, सकारात्मक टिप्पणीले उर्जा दिन्छ । बिचरा भन्ने होइन, हौसला दिऔँ स्तन क्यान्सरलाई जित्न सकन्छि,” केसी भन्छिन् । 

स्तन क्यान्सरको उपचारमा सर्भाइभर परामर्श दाता र विशेषज्ञबीचको समन्वय 
एघार वर्षअघि स्तन क्यान्सर सर्भाइभर बनेकी प्रमिता खनालले आफ्नो उपचारका लागि धेरैतिर भौंतारिनु पर्यो । धेरैवटा अस्पतालबाट उपचार सेवा लिएपछि अहिले क्यान्सर विजेता मात्रै बनेकी छैनन्, हजारौं सर्भाइभरकी परामर्शदाता पनि बनेकी छिन् । खनाल क्यान्सरका नयाँ सर्भाइभरलाई परामर्श दिन र विशेषज्ञसँगको पहुँच पुर्याउन क्यान्सर विजेताहरुको पहलमा खोलिएको नेपाल क्यान्सर सोसाइटी नामक संस्था नेतृत्त्व गरिरहेकी छिन् । नेपालको हकमा कतिपय नयाँ सर्भाइभरहरुमा चेतना भएर पनि परिवारको साथ कम हुने, सामाजिक डरका कारण उपचारमा आउन नसक्ने भएकाले आफूहरुले परामर्शदाताको रुपमा विशेषज्ञसम्मको पुहँचलाई सहज बनाउन काम गरिरहेको उनी बताउँछिन् । 

“कतिपय परिवारका सदस्यसँग र विशेषज्ञसँगसमेत भन्न नसकेका कुराहरु हामीसँग भन्नुहुन्छ, नयाँ सर्भाइभरहरु,” खनाल भन्छिन् । समुदाय र विद्यालय स्तरमा जनचेतनाको तहमा काम गरिरहँदा पाठ्यक्रममा नै क्यान्सर सचेतनाबारे सामग्री राखिए क्यान्सर न्यूनीकरणमा सहयोग पुग्ने उनको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro