काठमाडौं । नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारीमा छ । नेपाली राष्ट्रिय कांग्रेस हुँदै बनेको नेपाली कांग्रेसको सुरुको विधानअनुसार प्रत्येक वर्ष महाधिवेशन गर्नुपर्ने हुन्थ्यो । तर, लगभग तीन वर्षपछि मात्र कांग्रेसको पाचाैँ महाधिवेशन हुन सकेको थियो ।
योे नेपाली कांग्रेसको नेपालमै भएको भने पहिलो महाधिवेशन थियो । विसं २००९ साल जेठ नौ गते जनकपुरमा अधिवेशन हुँदा नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री पनि वहाल थिए । सभापतिमा आफैँ दोहोरिने मातृकाको उत्कट चाहना थियो । तर, मातृका प्रधानमन्त्री र पार्टी सभापति दुवै हुँदा संगठन ओरालो लागेको भन्दै सभापतिमा बीपीलाई अघि बढाउने समझदारी कांग्रेसका त्यसबेलाका प्रभावशाली नेताहरूबीच भइसकेको थियो । स्वयं सभापति मातृकालाई पनि राखेर गरिएको समझदारीमा बीपी सभापति हुने र मातृका प्रधानमन्त्री रहने भन्ने थियो । तर, मातृकालाई सभापतिबाट हटाउन चाहनुको एउटा कारण भने भारतको मातृकाप्रतिको झुकाव पनि थियो ।
बीपीको संगत गर्ने मौका पाएका कांग्रेस नेता तथा ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ पुस्तकका लेखक पुरुषोत्तम बस्नेतका अनुसार मातृकालाई प्रधानमन्त्री बनाउँदा भारतलाई अनुकूल हुन्छ भन्ने तत्कालीन भारतीय प्रधानमन्त्रीको सन्देश नै मातृकाको विकल्प खोज्ने कारक बनेको थियो ।
“२००७ सालको दिल्ली सम्झौतापछि बनेको सरकारमा राणाका तर्फबाट प्रधानमन्त्री मोहनशमशेर र क्रान्तिकारी पक्षबाट बीपी कोइरालाले नेतृत्व गरेका थिए । एउटा पक्षले राजीनामा दिएमा सरकार ढल्ने पनि सम्झौतामै उल्लेख थियो,” बस्नेत भन्छन् — “चिनियाँकाजी काण्डपछि बीपीले राजीनामा दिनुभयो । यद्यपि, घटनामा बीपीको हात थिएन । प्रदर्शनकारीले पुलिसको हतियार खोस्न जाँदा गोली चलेका थियो ।”
उनका अनुसार त्यो राजीनामापछि बीपी कोइरालाकै नेतृत्वमा सरकार बन्ने तयारी भए पनि भारतीय प्रधानमन्त्रीको पत्रले एकाएक पस्थितिमा बदलिएको थियो ।
“बीपीलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा नेपाली कांग्रेसको कार्यसमितिको बहुमत थियो, सुवर्णशमशेर, गणेशमानजी, किसुनजीसहितका नेता बीपीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा थिए । तर, भारत र राजाका कारण उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन,” बस्नेत भन्छन्, “इन्डियालाई मातृकाबाबु प्रधानमन्त्री भए काम गर्न सहज हुन्छ भन्ने नेहरूका पत्र त्रिभुवनलाई प्राप्त भएपछि राजा मातृकाकै पक्षमा देखिए । प्रधानमन्त्री मातृका नियुक्त भए ।”
त्यसपछि मातृकाप्रति कांग्रेसको विश्वास घटेको थियो र विकल्पको खोजिएको थियो ।
जनकपुर महाधिवेशनमा आयोजक कमिटीका अध्यक्ष थिए नेपाली कांग्रेस महोत्तरीका तत्कालीन सभापति महेन्द्रनारायाण निधि ।
नौ गते बिहान सभापति मातृकाप्रसाद कोइरालाबाट महाधिवेशन उद्घाटन भयो । समारोहलाई सभापति मातृकाप्रसाद कोइराला, कांग्रेसका संस्थापक सभापति बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र महेन्द्रनारायाण निधिले सम्बोधन गरे ।
सप्तरीका रामेश्वरप्रसाद सिंहको संयोजकत्वमा निर्वाचन समिति बन्यो । बीपीलाई सभापति बनाउने सहमति भए पनि अन्ततः मातृकाले दाबी छोडेनन् । मातृका र बीपी दुवैको उमेदवारी परेपछि केदारमान व्यथितले उमेदवारी दर्ता गराए । त्यसपछि गणेशमान सिंह र गोपालप्रसाद भट्टराईले पनि उमेदवारी दिए ।
लेखक बस्नेतका अनुसार मातृका र बीपीबीच मात्र प्रतिस्पर्धा हुँदा मातृकाले थोरै मत पाउने र बीपी प्रचण्ड बहुमतले निर्वाचित हुने सुनिश्चित थियो । तर, त्यसमा विभिन्न स्वार्थले चलखेल गर्न थाले । व्यथितको उमेदवारी मातृकाले दाबी फिर्ता लिए पनि बीपीलाई निर्विरोध हुन नदिनका लागि थियो । गाणेशमान र गोपालप्रसादले भने बीपीले दाजुलाई समर्थन गरे भने पनि दुईमध्ये एकजनाको उमेदवारी कायम राखेर मातृकालाई हराउनका लागि थियो ।
उमेदवारी फिर्ता लिन तोकिएको समयसम्म पनि सहमति हुनसकेन । मातृकाले उमेदवारी कायम राखे पनि हार निश्चित भएको ठहर गरी समय गुज्रिएपछि उमेदवारी फिर्ता लिए । त्यसपछि गणेशमान र गोपालप्रसादले पनि बीपीलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिए । तर, केदारमान व्यथितले फिर्ता नलिएकाले मतदान भयो ।
निर्वाचन बीपी र केदारमानबीच भएको थियो तर उमेदवारी फिर्ता लिने म्याद सएिकाले मतपत्रमा नाम भने पाँचै जनाको कायम रह्यो ।
मातृकासहितको एउटा टोली उनको उमेदवारी फिर्ता भएपछि मतदानमा भाग नलिने निर्णयमा पुग्यो । बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्मा बहिष्कार गरेर अधिवेशनबाट बाहिरिए । त्यसअघि नै बन्दसत्र सुरु हुनासाथ महाधिवेशन भाँड्ने प्रयासमा हात हालाहाल भएपछि भद्रकाली मिश्रलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरियो । उनीहरूसँगै केही प्रतिनिधि महाधिवेशन छाडेर हिँडेका थिए ।
पाँचसय प्रतिनिधि र एकसय पर्यवेक्षक रहेको महाधिवेशनमा बाँकी प्रतिनिधिमध्ये पनि मातृका कोइरालासहित ४० जनाले कसैलाई मतदान गरेनन् । बाँकी प्रतितिनिबिाट मतदान भयो । उमेदवार सूचीमा नाम भएकाले मातृकालाई सभापति बनाउन चाहनेहरूले उनलाई नै मतदान गरे । त्यसैले मातृकालाई ६८ मत प्राप्त भयो । गोपालप्रसाद भट्टराईलाई ३ मत पर्यो भने बीपीलाई निर्विरोध हुन नदिनकै लागि उमेदवार भएका केदारमानले जम्मा २ मत पाए । त्यसअधिवेशनमा गणेशमान सिंहले आफैँलाई मत हालेनन् । फलस्वरूप उनलाई मत परेन ।
“पाचौं महाधिवेशनमा गणेशमानजी लड्नुभएकै होइन, उहाँ लडेको वीरगञ्जमा भएको छैटौं महाधिवेशनमात्र हो,” बस्नेत भन्छन् “पाँचौं महाधिवेशनमा उहाँको उमेदवारी प्राविधिक रुपमा कायम रहेकोमात्र हो । उहाँले सबैलाई बीपीलाई नै भोट हाल्न भनेकाले शून्य मत परेको हो ।”
बस्नेतले आफ्नो पुस्तक ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’मा पनि गणेशमानले पाचाैँ महाधिवेशनमा प्राप्त गरेको मतको उल्लेख गरेका छैनन् ।
धेरैलाई गणेशमान छैटाैँ महाधिवेशनमा मात्र सभापति लडेका थिए भन्ने जानकारी छ । तर, पाचौं महाधिवेशनमा सिंहलाई शून्य मत परेको अर्थात् आफैंले आफैंलाई मतदान नगरेको जानकारी भने बिरलैलाई छ ।
तस्बिर ः विकिपिडियाबाट