site stats
बाह्रखरी :: Baahrakhari
विशेष
को–को बन्दै छन् मन्त्री ? पूर्वमाओवादीबाट नयाँ अनुहारको हुँदै छ ‘इन्ट्री’
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २१ गते जनता समाजवादी पार्टी (जसपा)लाई समावेश गरेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरे । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष उपप्रधानसहित आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा सामेल भयो । नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बने ।

एमालेबाट चार मन्त्रीहरू पूर्ववत् रहे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ दोहोरिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका १३ मन्त्रीहरु क्याबिनेबाट बहिर्गमित हुनेमा परे ।

त्यस्तै, मन्त्रिपरिषद्मा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भए, रघुवीर महासेठ उपप्रधानामन्त्री तथा परराष्ट्र र शेरबहादुर तामाङले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए । हाल मन्त्रिमण्डलमा नेकपा (एमाले)को तर्फबाट ६ मन्त्री छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि गरी सात मन्त्रालय आफैँसँग राखेका छन् ।

नयाँ अनुहारले प्रवेश पाउँदै
पुनर्गठित मन्त्रिपरिषद्मा पूर्वमाओवादीतर्फका नेताहरु समावेश छैनन् । रिक्त मन्त्रालय पूर्ति गर्दा नेकपा विवादमा आफूलाई साथ दिएका र पार्टी खारेज हुँदा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुलाई पनि समेट्ने ओलीको तयारी छ ।

तर, यसअघिकै पूर्वमाओवादी अनुहार मन्त्रिपरिषद्मा दोहोरिने सम्भावना कम छ । केही नयाँ अनुहारले प्रवेश पाउने स्रोतले जानकारी दियो । सर्वोच्च अदालतले पद खारेज गर्नुअघिको मन्त्रिपरिषद्मा नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु शाह, मणि थापा र दावा लामा तामाङ गरी सातजना मन्त्री थिए ।

“पूर्वमाओवादीबाट यसअघि मन्त्री बनेका सबै दोहोरिने सम्भावना कम छ । उहाँहरुबाट केही मन्त्री बन्ने र केही नयाँ अनुहारले पनि प्रवेश पाउने सम्भावना छ,” स्रोतले भन्यो ।

उनीहरुको तफर्बाट मन्त्री बन्ने केही नेताहरुको नाम टुंगो लागिसकेको छ । स्रोतका अनुसार राष्ट्रियसभामा पराजित भएका चन्द्रबहादुर खड्काको नाम पनि मन्त्री बन्ने ‘लिस्ट’मा परेको छ । उनी एमाले प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो । लुम्बिनी प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा उनी पराजित भएका थिए ।

त्यस्तै, ज्वाला शाह पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । उनी बारा ३  (क)बाट निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रबाट जितेकी उनी फागुन २३ पछि एमालेमै रहँदा पद रिक्त हुन पुगेको थियो ।

खनाल–नेपाल समूहको पर्खाइ
एमालेको विवाद मिलाउनका लागि एमाले अध्यक्ष ओली र वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुबीच संवाद भइरहेको छ । हिजो मात्रै पनि दोस्रो तहका नेताहरुले करिब चार घण्टा लामो छलफल गरेका थिए ।

विवाद मिलेमा खनाल–नेपाल समूहलाई पनि सरकारमा सामेल गराउने तयारी छ । खनाल–नेपाल समूहका नेताहरुलाई मन्त्री बनाउन मन्त्रिपरिषद् विस्तारमा पर्खिएको स्रोतको भनाइ छ ।

तर, पार्टी एकताका लागि ओलीको ६ बुँदे प्रस्तावसहितको आह्वान खनाल–नेपाल समूहले अस्वीकार गरेको छ । उसले पनि ६ बुँदे प्रस्तावको जवाफ ६ बुँदामा नै फर्काएको छ । यी गतिविधिले पार्टी एकता सम्भव नभएको नेताहरु बताउँछन् ।

मन्त्रिपरिषद् कहिले विस्तार गर्ने भन्ने टुंगो लागिसकेको छैन । आन्तरिक छलफलले भने तीव्रता पाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्