
बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनको साइनोभ्याक कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ । डब्लूएचओबाट स्वीकृति हुने यो दोस्रो चिनियाँ खोप हो । यसअघि साइनोफ्राम खोपले पनि डब्लूएचओबाट स्वीकृति पाएको थियो ।
डब्लूएचओले भनेको छ, “आपत्कालीन प्रयोगका लागि स्वीकृति हुनुको अर्थ यो खोपले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा, प्रभावकारीता र उत्पादनको गुणस्तर सम्बन्धी मापदण्ड पुर्याएको छ ।”
यसले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम पुनः जारी राख्ने ढोका खुलाएको छ । जसले कम आय स्तर भएका मुलुकमा खोपको पहुँच बराबरी सुनिश्चित गर्ने लक्ष्यमा काम गरिरहेको छ । तर, पछिल्लो समय खोपको आपूर्तिमा अभाव हुँदा कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न सकेको थिएन ।
चीनको यो खोप थुप्रै मुलुकमा प्रयोगमा ल्याइसकिएको थियो । यो खोप १८ वर्षभन्दा माथिकालाई चार हप्ताको अन्तरमा दुईवटा डोज लगाउन भनिएको छ ।
यस सम्बन्धी गरिएको रिसर्चमा साइनोभ्याक खोपले लक्षणयुक्त रोग लाग्नबाट जोगाउन सक्ने र गम्भीर बिरामी परि अस्पताल भर्ना हुनुपर्ने स्थितिबाट पनि १०० प्रतिशतले सुरक्षा दिलाउन सकेको पाइएको हो ।
डब्लूएचओको यो निर्णयले खोपको आपूर्ति अभावको समस्या समाधान गराउने अपेक्षा गरिएको छ । संगठनकी सह–निर्देशक जेनेरल मेरिएन्जेला सिमाओ भन्छिन्, “विश्वलाई अहिलेको खोप अनियमिततासँग लड्न थरीथरी कोभिड खोपको आवश्यकता छ । त्यसैले हामी खोप निर्माताहरुलाई कोभ्याक्स सेवासँग आबद्ध रहन अनुरोध गर्दछौँ । र खोप निर्माण सम्बन्धी डाटा र उत्पादनहरु आदानप्रदान गरि महामारीलाई छिटोभन्दा छिटो अन्त्य गर्नमा योगदान पुर्याउन आग्रह गर्छौँ ।”
चिनियाँ खोप चिली, मेक्सिको, ब्राजिल, इन्डोनेशिया, थाइल्यान्ड र टर्कीमा पनि प्रयोगमा ल्याइसकिएको छ । चीनले देशभित्र र बाहिर गरेर साइनोभ्याकको हालसम्म ६० करोड डोज वितरण गरिसकेको छ । यसबाहेक अतिरिक्त ४३ करोड डोज पनि उत्पादन भइसकेको बताइएको छ ।
अन्य खोपको तुलनामा साइनोभ्याकको एउटा प्रमुख फाइदा भनेको यसलाई साधारण फ्रिजरमा २ देखि ८ डिग्री सेल्सियसको तापमानमा स्टोर गर्न सकिन्छ । त्यसैले पनि साइनोभ्याक विशेषगरी विकासोन्मुख देशका लागि अधिक उपयोगी हुनेछ, जहाँ कम तापमानमा ठूलो मात्रामा खोप राख्ने साधनको अभाव हुन्छ ।