site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अब फेसबुक र इस्टाग्राम प्रयोगकर्ताले ‘लाइक’को सङ्ख्या लुकाउन पाउने

वासिङटन । फेसबुक र इस्टाग्रामले सबै प्रयोगकर्ताहरुका लागि नयाँ विकल्प ल्याउने भएको छ । जसमा उनीहरुले आफ्ना पोस्टमा आउने ‘लाइक’ को सङ्ख्या लुकाउन पाउनेछन् । सामाजिक संजाल प्लेटफर्ममा पछिल्लो समय लाइकलाई मानिसहरुको प्रभावकारिता र लोकप्रियताको संकेतकका रुपमा लिइँदै आएको थियो । 

यस सम्बन्धी कम्पनीले २०१९ मै विविध परीक्षणहरु गराएको थियो । फेसबुक र इन्स्टाग्रामलाई कम तनावयुक्त बनाउनका लागि कम्पनीले यस्तो उपाय अपनाउन लागेको हो । यस्तोमा बुधबारदेखि नै अब सबै प्रयोगकर्ताहरुले आफ्नो पोस्टमा आउने लाइकको सङ्ख्या अरुलाई देखाउने या नदेखाउने भनेर छनोट गर्न पाउने कम्पनीले बताएको छ । यसका साथै हामीले अरुको पोस्टमा आएको लाइक हेर्ने या नहेर्ने भनेर पनि निर्णय लिन सक्नेछौँ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रयोगकर्ता र समाजका लागि फेसबुकको प्लेटफर्म मानसिक रुपमा हानिकारक हुन सक्नेबारे लामो समयदेखि विवाद चल्दै आएको छ । तर, बुधबारदेखि प्रयोगमा आउने भनिएको यो नयाँ फिचरलाई अनिवार्यभन्दा पनि वैकल्पिक राखिएको छ । त्यसैले कति प्रयोगकर्ताले यसलाई रुचाउनेछन् भन्ने स्पष्ट भइसकेको छैन । 

फेसबुकले भनेको छ, “लाइकको सङ्ख्या नदेखिनु कति मानिसका लागि लाभदायक साबित भएको छ भने कति चाहिँ यसबाट निराश भएको पनि पाइएको छ । विशेषगरी लाइकको सङ्ख्याले हालको ट्रेन्ड या के पपुलर छ भन्ने देखाउने हुनाले नै मानिसलाई यो फिचर अपनाउन अनिवार्य नगरि विकल्प मात्र दिइएको हो ।”

यसमा मानिसले यदि आफ्नो पोस्टमा आउने लाइक सार्वजानिक गरे भने त्यसमा ककसले लाइक गरेका छन् भनेर सूची देखाउनेछ तर सङ्ख्याबारे खुलासा गर्नेछैन । पोस्ट गर्ने प्रयोगकर्ताले चाहिँ आफूले प्राप्त गरेको लाइकको सङ्ख्या हेर्न पाउनेछन् । 

कम्पनीका अनुसार यो फिचरले मानिसलाई तस्बिर या भिडियोहरु शेयर गर्नतर्फ केन्द्रित गराउनेछ र कति लाइक आउँछ भन्नेबाट ध्यान हटाउन मद्दत गर्ने अपेक्षा रहेको छ । 

सीएनएन 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०८:०८
प्रतिक्रिया दिनुहोस्