काठमाडौं । नेपालमा रगतको साइनोबाट नजोडिएकाहरू ‘मितेरी’ साइनोेले जोडिन्छन् । मितेरी साइनो लगाउने यहाँको पुुरानो प्रचलन हो । यही ‘मितेरी’ साइनोको कथा बोकेको मण्डला नाटकघरको ‘मितज्यू’ नाटक दर्शकले अब आजबाट युट्युबमा हेर्न पाउने भएका छन् । अहिले नाटक युट्युबमा प्रिमियर भइरहेको छ ।
सोमनाथ खनाल खनालद्वारा लिखित र दयाहाङ राइले निर्देशन गरेको नाटकले दर्शकलाई पञ्चायत कालमा फर्काउँछ । नाटकको परिवेश पञ्चायतकालीन नेपालको पूर्वी भेगको छ । दुई वृद्ध मितज्यूहरूको स्मृतिमार्फत नाटकको कथा बग्छ ।
हुन त यो नाटक ७ वर्षअघि मण्डला थिएटरमै मञ्चन भैसकेको थियो । तर, अहिले मुख्य पात्र यथावत राखेर साथमा केही नयाँ पात्रहरू थपेर थोरै पुर्नलेखन र परिकल्पनामा नाटक अनलाइन प्लेटफर्ममा प्रस्तुत गरिएको हो ।
मण्डला टिम यो नाटक लिएर मोबाइल थिएटरको कन्सेप्टका साथ देशका विभिन्न ठाँउमा गएर देखाउने योजनामा थियो । तर, कोरोनाले योजना पूरा हुन नपाएपछि युट्युबमार्फत ल्याएको हो ।
त्यसैले नाटक रिहर्सलदेखि नै यो युट्युब रिलिजलाई ध्यान दिएर छायांकन गरिएको हो ।
दुई वृद्ध मितज्यूहरुको नजरबाट सांस्कृतिक सम्पदाको महत्त्व र समुदायहरूबीच सद्भावको भावना नाटकले प्रस्तुत गर्न खोजेको मण्डलाले जानकारी दिएको छ । नाटकले पूर्वी नेपालमा रहेका विभिन्न जाति र भाषिका समुदायलाई प्रस्तुत गरेको छ ।
नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा, विकास जोशी, अंकित खड्का, उमेश तामाङ, अनुप न्यौपानेलगायतको अभिनय छ ।