site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
यौटा आकांक्षाको अन्त्य 
SkywellSkywell

परशु प्रधान 


सपनामा उसले तिनै झन्डाहरू देख्यो । ती विभिन्न रङ र आकारका झन्डाहरू थिए । ती थुप्रै झन्डाहरूका बीच ऊ स्वयम् पनि यौटा झन्डा भएको थियो । उसलाई आफ्नो झन्डामा केही ताराहरू बलेको अनुभव भएको थियो । तर, सपना सिद्धिएको थियो र उठ्ता ऊ यौटा डेराको सुकुलमाथि थियो । बाहिरबाट आएको घामको किरणले उसलाई ब्युँझाउने कोसिस गरे । तर पनि ऊ पूर्ण रूपले ब्युँझन सकेको थिएन । केही हुनु र नुहुनुका अर्थपूर्ण र अर्थहीन स्वरहरूको बीचमा ऊ अल्मलिएको थियो ।

हिजोको दिन यस्तो उत्साहहीन र निरर्थक दिन थियो, जसमा ऊ अर्थात् रमेशकाजी ब्युँझन चाहँदैनथ्यो । तर, ऊ ब्युँझ्यो र ब्युँझनुको पहिलो इच्छा चियामा जागृत भयो । तर, चिया खाने रेस्टुरेन्ट अलिकति टाढा थियो । एक कप चियाका लागि त्यहाँसम्म जान उसको मनले मानेन ।

Dabur Nepal
NIC Asia

हिजोको दिन थियो, चिया नै चियाले उसको सारा पेट भरिएको थियो । जुन अफिसमा जाउ चिया, जुन साथीकहाँ जाउ चिया । चियासित मानवीय सम्बन्ध यति गाँसिदो रहेछ र यो सहरी सभ्यताको फेसन नै बनेको रहेछ । यसैले मुखमा अमिलो पानी आउञ्जेल उसले कसैको चियालाई पनि नाई भन्न सकेन । ऊ चिया खाएर दिनभरिजसो नै सडकमा हिँडिरह्यो ।

रमेशकाजीको हिँडाइको कुनै उद्देश्य थिएन । सहरका सडकहरूको लम्बाइ नाप्न सायद ऊ गाउँबाट आएको थियो र हिजो जति निराश ऊ कहिल्यै पनि भएको थिएन । ५/५ वर्ष जेलमा बस्दा पनि रमेशकाजी यति निराश र हतास भएको थिएन । पुलिसको लाठी र बुटको प्रहारले शरीरभरि नीलडाम भएर पनि ऊ आत्तिएको थिएन । शिवजीले विष पचाएझैँ सारा मुक्का, घुस्सा र लाठीलाई उसले पचाएको थियो । जेलमा बस्दा बूढी आमाको अनुहारले उसलाई सधैँ सोधिरहन्थ्यो– तँलाई सहिद होलास् भनेर हामीले जन्माएको होइन रमेश । यस बुढेसकालमा छोराले पढ्ला र ठूलो मान्छे होला भन्ने सोचेर हामीले काठमाडौं पठाएका थियौँ । तैँले भने हामी सबैलाई धोका दिइस् ।

अझ उसलाई राजकाज अपराधमा ५/५ वर्षको जेलको सजाय दिएपछि त्यही शोकले पिताको मृत्यु भएको र मृत्युपछि पनि पुलिसले लास राम्ररी जलाउनसमेत नदिएको दुःखदायी समाचार सुनेर पनि ऊ हिजोको जस्तो निराशचाहिँ भएको थिएन । त्यस समय रमेशको जीवनमा यौटा आकांक्षा थियो, यौटा उत्साह र केही गरौँ भन्ने दह्रो विश्वास थियो ।

साथीहरू ठूल्ठूला अधिकृतहरू भइसकेका थिए । साथीहरू ठूल्ठूला महलका मालिक भइसकेका थिए । साथीभाइका छोराछोरीहरू दार्जिलिङ र नैनितालका राम्रा र स्तरीय स्कुलहरूमा पढ्न लागिसकेका थिए । तर, रमेशचाहिँ सधैँ बेडिङ कसेर यो जेल र ऊ जेल चहारिरहेको थियो । यौटा ‘एम्बिसन्’को खोजीमा भौँतारिरहेको थियो ।

त्यो एम्बिसन्को, त्यो महान् आकांक्षाको सायद अन्त्य भएको थियो । सपनाका पहाडहरू प्रायः भत्केका थिए । रमेशकाजीले चाहेको व्यवस्था आइसकेको थियो । उसले रोपेको सपनाका बिरुवाहरू फुलिसकेका थिए । तर पनि उसको मन भने ऐना झैँ हिजो चकनाचुर हुने गरी फुटेको थियो ।

एक मन उसलाई लागेको थियो– आफ्नै गाउँको मन्त्रीलाई पेस्तोलको गोली हानेर सधैँका लागि उडाइदिऊँ । त्यति नसके दुई–चार मुड्की हानुँ र देश छाडेर भागुँ । तर, ती केही गर्न उसले सकेको थिएन । बाटोमा हिँड्दा सारा गाडीका सिसाहरू ढुंगा हानेर फुटाइदिऊँजस्तो उसलाई लाग्यो । सारा ठूला महलहरूमा आगो लगाएर खरानी बनाइदिऊँ भन्ने लाग्यो । बाटाका विशालकाय पुलहरू एक मिनेटमा तोडिदिऊँजस्तो भन्ने लाग्यो । तर, गाडीहरू हिँडिरहेका थिए, भवनहरू खडा नै थिए, जिन्दाबाद र मुर्दावादका जुुलुसहरू आइरहेका थिए र सहरको कुनै भट्टीमा पसेर एक पेग लोकल रक्सी र छोयला खानेसम्म पैसा नभएर मनका सारा हरियालीहरूलाई आगो लगाएर उसले भन्नु परेको थियो– एक कप रातो चिया ।

त्यो एक कप रातो चिया पनि अहिले रमेशको भाग्यमा थिएन । अनि, यस सहरमा अरू कति धेरै दिन बस्नुपर्ने हो ? कुनै टुंगो थिएन । किन–किन गाउँ जाने उसलाई मन थिएन । गाउँ जानुको अर्थ तितेपातीका झ्याङहरूबीच हिँड्नुहुन्थ्यो, जो उसलाई मन पर्दैन । गाउँ पुग्नासाथ आमाको ‘केटी हेरिसकेको छु, यसपालि त जसरी पनि बिहे गर्नुपर्छ, म नातिको मुख हेरेर मात्र मर्छु’ भन्ने धेरै लामो र विरक्तलाग्दो गुनासो हुन्थ्यो, जो किन–किन उसलाई मन पर्दैन ।

अझ त्यसभन्दा पनि पर गाउँमा निर्वाचनताका दिएका सारा वचनहरूले अहिले तेजिलो हतियार भएर उसको मुटुलाई भित्रसम्म छुन्थे । ऊ र गाउँको मन्त्रीले दिएका सारा विश्वास र आश्वासनहरू बालुवाका घर भएका थिए । जसलाई गाउँका सारा जनताले भत्काइदिएका थिए । त्यस भग्नावशेषका सारा कणहरूले उसको खिल्ली उडाइरहेका थिए । त्यहाँका ढुंगा, रुख र पातले सोध्ने, स्पष्टीकरण लिने थिए– तिम्रो खोक्रा आश्वासनले हाम्रो ज्यान जाने भयो । हामी नबाँच्ने भयौँ ।

मन्त्रालयमा मन्त्रीसँग भेट गर्न नपाएपछि रमेश मन्त्री क्वाटरमा हान्निएर पुगेको थियो । अफिसमा मन्त्रीभन्दा माथि पीएहरू थिए, जसले उसको कामको चिटसमेत भित्र पुर्याएका थिएनन् । उसको मन्त्रीसँग भेट्ने के काम छ भनी सबैले हायल–कायल पारेका थिए । उसले भनेको थियो– मन्त्री मेरा आफ्नै गाउँले दाइ हुन् । हामीहरू यौटै झन्डामुनि बसेर काम गरेका ।

तर, ती केही सुन्न तयार थिएनन् । ठूला–ठूला उद्योगपति र साहुहरूसँग लेनदेन र कमिसनकै कुरा गर्दा तिनलाई फुर्सद थिएन । बीच–बीचमा नारी स्वरहरूसँग अनावश्यक कुरा गरेर फोन बिजी गर्नमा ती व्यस्त थिए । रमेशकाजीलाई समयको प्रवाह फर्केको छ भन्ने लागेको थियो ।

तर, अनुहार मात्र फर्केको थियो, स्थिति र प्रसंग हिजो–अस्तिको भन्दा केही फरक थिएन । अझ खराब थियो !

मन्त्रीज्यू धेरै मानिसहरूको लस्कर लिएर आइपुग्नुभयो । रमेशले विनयपूर्वक हात जोड्यो । मन्त्रीज्यूले चिनेजस्तो पनि गर्नुभयो, नचिनेजस्तो पनि गर्नुभयो ।

‘म हजुर त्रिवेणीबाट’ उसले स्वर निकालेको थियो । ‘म हजुरको गाउँबाट’ उसले फेरि स्वर निकालेको थियो । तर, त्यो स्वर कहीँकतै हराएको थियो र मन्त्री बस्ने घर एउटा सानु मेलामा परिणत भएको थियो । कसैलाई ठेक्का चाहिएको थियो, कसैलाई लाइसेन्स चाहिएको थियो । कोही जागिरका लागि त्यहाँ पुगेका थिए भने कोही विदेश जानका लागि । विशालकाय शरीरका मान्छेहरू भित्र जान्थे र बाहिर आउँथे । रमेशकाजी पर्खिरह्यो, रात नपरून्जेल पर्खिरह्यो । उसको पर्खाइमा एउटा विश्वास थियो, यौटा आस्था थियो ।

मन्त्रीको कोठामा पुग्दा रमेशकाजीको मुटु ढुक्क फुलेर आएको थियो । किनभने, उसको गाउँको दाइ अहिले देशको मन्त्री बन्न पुगेको थियो । योभन्दा खुसी र गौरवको विषय अरू के हुनसक्छ ! योभन्दा राम्रो दिन उसका लागि के हुनसक्छ ?

भित्र पस्दा मन्त्रीज्यू यौटा नक्सा हेरिरहनुभएको थियो । यौटा इन्जिनियर कर्मचारी मन्त्रीज्यूलाई हात जोडेर ब्रिफिङ गरिरहेको थियो, “मन्त्रीज्यू ! यो बाटो यसरी घुमेर सडकमा निस्कन्छ । अनि, यस घरको उत्तरबाट बाह्रै महिना हिमाल देख्न सकिन्छ । बिहानको टी टाइमदेखि डिनरसम्म यस बरन्डामा बसेर घामको आनन्द लिन सकिन्छ । यस घरमा भुइँमुनि पनि कोठाहरू राखिएका छन् । जहाँ खेलका सारा सामानहरू मौजुदा रहनेछन् ।”

मन्त्रीज्यू हेरिरहनुभएको थियो र बीच–बीचमा केही प्रश्नहरू पनि गरिरहनुभएको थियो, “यसको बैठक कोठा कस्तो हुन्छ नि ?”

“यसको बैठक कोठा युरोपियन स्टाइलको, डिनर कोठा चाइनिज स्टाइलको, बाथरुम फ्रेन्च स्टाइलको हुनेछ, मन्त्रीज्यू ! यसमा फेरि एक टनेल पनि हुनेछ, जसबाट सिधै डाउनटाउन पुग्न सकिनेछ ।”

“साहेबनीहरूका लागि शृंगार कोठाको व्यवस्था अलग्गै छ, मन्त्रीज्यू ! त्योचाहिँ मैले इटालियन डिजाइन गरेको छु । जसमा २४ सै घण्टा अत्तरको वासना आइरहनेछ मन्त्रीज्यू ।” इन्जिनियर कर्मचारीको बयान धेरै लामो थियो । रमेशकाजीलाई धैर्य लिनु आवश्यक थियो र ऊ बसिरह्यो पनि । त्यस घरको, बाटोको, बाथरुमको विवरण धेरै लामो र धेरै खर्चालु पनि थियो । रमेशकाजीले केही बुभ्mयो र केही बुझेन पनि । आखिरमा मन्त्रीज्यूले सोध्नुभयो, “तिमीलाई यो घरको डिजाइन कस्तो लाग्यो रमेश ! मैले बनेपाछेउमा यो घर बनाउन लागेको छु । त्यहाँ मैले एक सय रोपनी जग्गा लिएको छु ।”

रमेशलाई लागेको थियो– मन्त्रीज्यूले गाउँघरका कुराहरू सोध्नुहुनेछ । गाउँघरको भोक, शोक र अनिकालको कुराहरू सोध्नुहुनेछ । बाढीले डुबेको गाउँका बूढाबूढी र केटाकेटीहरूबारे सोध्नुहुनेछ । अनि, त्यो नक्सा उसको गाउँको कुनै अस्पताल अथवा कृषि केन्द्रको होला भन्ने उसले सोचेको थियो । तर, मन्त्रीज्यू आफ्नो नयाँ बन्ने घरको बारेमा सोधिरहनुभएको थियो । उसको आफ्नै गाउँको दाइजस्तो मन्त्री करोडौँ रुपैयाँको भव्य महल बनाउने कुरा सोचिरहनुभएको थियो । रमेशकाजीलाई भाउन्न छुट्लाजस्तो भयो । रमेशकाजी कुन बेला त्यहाँबाट निस्केर कसरी सडकमा आइसकेको थियो, ऊ स्वयम्लाई पनि थाहा भएन ।

(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu