site stats
बाह्रखरी :: Baahrakhari
देश
अब दाङमै अक्सिजन उत्पादन हुने
फाइल तस्बिर

दाङ । विद्युतको फिडरलाइन जडान भएसँगै घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित बन्द अवस्थाको अक्सिजन प्लान्टबाट फेरि उत्पादन सुरु गर्ने तयारी गरिएको छ । 

बुधबारदेखि नै उद्योगमा फिडरलाइन जोड्ने काम सुरु भइसकेको सञ्चालक भरत पौडेलले जानकारी दिए । फिडरलाइन जोड्न काम पुरा भएर बिहीबार रातिदेखि नै अक्सिजन उत्पादन सुरु हुने र दैनिक उद्योगबाट एकसय २०-३० सिलिन्डर ग्यास उत्पादन गर्न सकिने पौडेलले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले पहिले निजी खर्चमा १५० केभीएको ट्रान्सफर्मर जडान गरेर उत्पादन गर्दै आएका थियौं,” पौडेलले भने “तर, यसपाली फिडरलाइनका लागि सरकारले नै आफैँ छुट्टै आफ्नै ट्रान्सफर्मर र अन्य उपकरण ल्याएर जोडिदिएको छ ।”

२०७३ सालमा स्थापना भएको दाङ अक्सिजन उद्योग प्रालिले दुई वर्षसम्म उत्पादन गरेको थियो । तर पछि विद्युत आपूृर्तिमा भएको समस्या भएपछि तीन वर्ष यता उत्पादन बन्द भएको थियो ।

करिब करिब चार करोडको लगानीमा स्थापना गरिएको उद्योग बन्द भएपछि अक्सिजनका लागि अन्य जिल्लामा निर्भर हुनुपरेको थियो । 

तर, अहिलेको कोरोना महामारीमा अस्पतालहरूमा अक्सिजनको अभाव हुन थालेपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको सक्रियतामा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन लागिएको हो । पौडेलकाअनुसार महामारील सकिएपछि फेरि हाल जडान गरिएका सबै सामग्री निकालेर लैजाने सहमति भएको छ ।

दाङमै अक्सिजन उत्पादन हुन थालेपछि अब जिल्लाका अस्पतालहरूमा अक्सिजनको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २२:२५
प्रतिक्रिया दिनुहोस्