काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुँदा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)लाई भारतीय रुपैयाँ दुई हजार करोडभन्दा बढीको नोक्सान हुने भएको छ ।
बीसीसीआईका अनुसार आईपीएल स्थगित हुँदा दुई हजार करोडदेखि दुई हजार ५०० करोडसम्म नोक्सान हुने प्रेस ट्रस्ट अफ इन्डियालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतियोगितामा आठौँ चरणका खेलहरु चल्दै गर्दा कोलकाता नाइट राइडर्सका दुई खेलाडी, सनराइजर्स हैदराबादका एक खेलाडी र चेन्नई सुपर किंग्सका तीन अधिकारीहरुमा कोरोना देखिएपछि मंगलबार बोर्डले आईपीएल स्थगित गर्ने निर्णय गरेको छ ।
“मध्य समयमा प्रतियोगिता स्थगित गर्नुपर्दा हामीले २,००० करोडदेखि २,५०० करोड गुमाउनुपर्नेछ । मलाई लाग्छ, करिब २,२०० करोड नोक्सान हुन्छ भन्नु सही अनुमान हुनेछ,” बीसीसीआईका एक अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । प्रतियोगिताअन्तर्गतका ६० खेलमध्ये २९ खेल मात्र सम्पन्न भएको छ ।
बोर्डको लागि सबैभन्दा ठूलो नोक्सान प्रतियोगिताको प्रसारण अधिकार पाएको स्टार स्पोर्ट्सबाट हुनेछ । उसले १६ हजार ३४७ करोडमा प्रतियोगिताका खेलहरु प्रसारण गर्ने गरी पाँच वर्षका लागि सम्झौता गरेको छ । तर, ३१ वटा खेल स्थगित भएपछि स्टार स्पोर्ट्सबाट वार्षिक पाउने तीन हजार २६९.४ भारुमध्ये बीसीसीआईले एक हजार ६९० करोड गुमाउनुपर्नेछ ।
प्रतियोगिता बीचमै स्थगित भएपछि अन्य प्रायोजकहरुबाट प्राप्त गर्ने रकममा समेत भारी कटौती हुनेछ । मंगलबार बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले आईपीएल रद्द नभएर स्थगित मात्र भएको बताएका थिए । यद्यपि, कारोनाको दोस्रो लहरका कारण पूरा देश नै आक्रान्त बनेकाले आईपीएल रद्दसमेत हुन सक्ने उनको भनाइ छ ।