site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘सरकारलाई नै कोरोना लाग्यो, हातमात्रै होइन दुईवटै खुट्टा उठायो’ 

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य सरकारलाई नै कोरोना लागेको व्यङ्ग्य गर्छन् । सरकारले अब कोरोना संक्रमितका लागि बेड उपलब्ध गराउन गाह्रो छ भनेको प्रसंगप्रति व्यङ्ग्य गर्दै हरिवंश सरकार नै कोरोना संक्रमित भएको बताउँछन् । 

सरकारले चारदिन अगाडि स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भन्दै सूचना जारी गरेको थियो ।  

“जनतालाई भन्दा धेरै कोरोना सरकारलाई लागेको छ । ह्यान्ड्सअप नै गरेपछि त के लाग्यो र ? हुन त ह्यान्ड्सअप मात्रै पनि होइन लेगअप नै गरिसक्यो,” उनी भन्छन्, “हातमात्रै उठाएर त लड्दैन । दुइटै खुट्टा उठाएपछि त जो पनि लड्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकार आफ्नो दायित्वबाट पछि हट्न नहुनेमा उनको जोड छ । सरकारले घरमा भएका अक्सिजन सिलिन्डर सरकार तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउन गरेको आग्रहलाई लक्षित गर्दै उनी भन्छन्, “आफूलाई चाहिएको बेला अक्सिजन उपलब्ध हुने सुनिश्चित भए कसैले पनि सिलिन्डर घरमा राख्दैन । आफूलाई चाहिएको अवस्थामा सरकारले उपलब्ध गराउँछ भन्नेमा धेरैलाई शंका छ ।”

अक्सिजन जुनसुकै बेला चाहिने बिरामी तथा कोरोना संक्रमित भएका घरमा अक्सिजन सिलिन्डर छ भने के गर्ने भन्दै उनी भन्छन्, “यस्तो अवस्थामा राज्यले तिमीलाई चाहिएको अवस्थामा अक्सिजन उपलब्ध हुन्छ भन्ने सुनिश्चित गर्न सक्नुपर्छ, अन्यथा हुनेहरुलाई पनि दिने कि नदिने भन्ने द्विविधा हुन्छ ।” 

कोरोना संक्रमण लागेर निको भइसकेकाहरुका घरमा भने सिलिण्डर रहेको अवस्थामा भने राज्यलाई दिएर सहयोग गर्नुपर्ने उनी बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनदिन यता घरमा भएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराउन निरन्तर सूचना जारी गर्दै आएको छ । 

अर्को जुनी खै कुन्नी 

हरिवंशले चेतनामुलक गीत पनि गए । आइतबार उनले यो गीत गाएका हुन् । महामारीमा आम नागरिकलाई सचेत गराउन के गर्ने भन्ने हुटहुटी थियो । ठीक त्यहीबेला सरोज वलीले फोन गरेर ‘अर्को जुनी खै कुन्नी’ गीत गाउन प्रस्ताव गरे । हरिवंशलाई प्रस्ताव मनपर्यो । “सरोज भाइले पहिला नै गाइसक्नु भएको हुनाले शब्द, लयको समस्या भएन,” हरिवंश भन्छन्, “एकैदिनमा रेकर्ड, भिजुअल, मिक्सिङ गरेर तीन घण्टामा तयार गरेर सार्वजनिक गरेका हौं ।”

कोरोना नलागुन्जेल मात्रै सामान्य लाग्ने तर लागेपछि धेरै दुःख दिने उनी आफ्नै अनुभव सुनाउँछन् । “त्यसैले कसरी यसबाट बच्ने भनेर सचेत हुनुपर्छ । लागिहाल्यो भने डराउनु चाहिँ हुँदैन । आत्मबल नै सबैभन्दा ठूलो औषधि हो ।”  
   
 
 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २१:३२
प्रतिक्रिया दिनुहोस्