site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा हिपाटाइटिस सी को उपचार
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
प्राध्यापक डा. सुधांशु केसी
 
सन १९९६ तिरको कुरा हो, वीर अस्पतालको इमर्जेन्सीमा एक जना बिरामी आएका छन् हेरिदिन पर्‍यो भनेर कल आयो । दौडिएर हेर्न पुग्दा ३० वर्षका युवक रहेछन् र ल्याउनुको कारण उनको झ्यालबाट हाम्फाल्ने कोसीस  रहेछ । उनलाई त्यसो गर्न नदिएपछि एकदम छट्पटाएकाले अस्पताल ल्याइएको रहेछ । देख्नेबित्तिकै चिनी हाले – उनी हाम्रा पुरानो बिरामी रहेछन् । उनको हिपाटाइटिस सीको उपचार भर्खरैमात्र सुरु गरिएको थियो । जे भएको थियो त्यो उनको मानसीक रोग थिएन । त्यसको कारण त त्यसबेला हिपाटाइटिस सीको उपचारका लागि उपलब्ध एउटामात्र औषधि इन्टर्फेरोन थियो । बिरामीलाई केही दिन भर्ना गरेर सामान्य अवस्थामा फर्केपछि डिस्चार्ज गरेर पठाइयो । महँगो उपचार, धेरै साइड इफेक्ट भएका कारण त्यति बेला हिपाटाइटिस सीको उपचार गर्ने भन्दा नगर्ने धेरै हुन्थे ।
 
सन् १९९८ मा राइबाभेरिन भन्ने औषधि पत्ता लागेपछि हिपाटाइटिस सी को उपचारमा अर्को फड्को मारेको हो । दुई औषधिको प्रयोगपछि ५० प्रतिशतसम्म सफल उपचार भएको देखियो । तर, साइडइफेक्ट भने घटेको पाइएन । नेपालमा यी दुई औषधि प्रयोग गरेर उपचार भयो भएन त्यसको तथ्यांक उपलब्ध हुनसकेको छैन । सन् २००१ पछि पेगाइलेटेड इन्टर्फेरोनको आविष्कर सँगै हिपाटाइटिस सीको उपचारमा नयाँ आयाम थपियो । साताको ३ इन्जेक्सनबाट १ इन्जेक्सनको मात्रा र साइडइफेक्ट पनि निकै कम भएको कारणले गर्दा उपचार गर्ने पनि धेरै हुनुको साथै सफल उपचारको संख्या पनि थपिन थाल्यो ।     
 
सन् २००१ देखि सन् २००४ भित्र नेपालमा हिपाटाइटिस सीको उपचार कति भए त्यसको तथ्यांक पनि भेट्टाउन सकिएन । सन् २००४ देखि मैले हिपाटाइटिस सीको उपचार विधिवत् सुरु गरेको हुँ । पहिलो बिरामी मेरै भतिजाबाट सुरु गरेपछि आजसम्म निरन्तर रहिआएको छ । पेगासिस (पेगाइलेटेड इन्टर्फेरोन) र रिबाभेरिनको प्रयोग गरेर करिब सात सय जनाको उपचार गर्दा छ सय ३० जनाभन्दा बढीको सफल उपचार गर्न सकियो । उपचार सफल नहुनेहरूमा लिभर सिरोसिस भइसकेका बिरामी, उपचार क्रममा पनि रक्सी, चुरोट सेवन गर्ने र जेनोटाइप १ का बिरामी थिए । उपचार उपलब्ध हुँदाहुँदै पनि धेरै जना उपचार गर्न नआउने कारण भने यसको साइड इफेक्ट नै थियो । तर जति हो त्यसभन्दा बढी सुनिने र नेटमा हेरेर तर्सिनेको संख्या धेरै भएकोले उपचारमा कमी आएको हुनुपर्छ ।
 
हिपाटाइटिस सीको उपचार गर्दैमा निको नहुने र उपचारपछि पनि फर्किन सक्ने भएकोले यसको उपचार गर्ने कि नगर्ने भन्ने दुबिधा धेरैमा पाइन्छ । तर, अचेल प्रयोग हुने औषधिका साइड इफेक्ट एकदमै कम, प्रयोग गर्न सजिलो, निको हुने सम्भावना धेरै भएकाले हिपाटाइटिस सीको उपचार गर्न आउनेको संख्यामा वृद्धि हुँदैआएको छ ।  बाह्र वर्षको अन्तरालमा करिब ९ सय जनाको उपचार गरेको अनुभव मसँग छ । मेरो अनुभव र अन्य साथीको उपचार तथा शोध हेर्ने हो भने नेपालमा हिपाटाइटिस सी को ६ जेनोटाइपमध्य ६० प्रतिशत जति जेनोटाइप ३ र ४० प्रतिशत जेनोटाइप १ पाइएको छ । अनेक उतार चढावपछि अहिले आएर हिपाटाइटिस सीको उपचार एकदमै सजिलो भएको छ र उपचारपछि निको हुनेको संख्या धेरै छ । जुनबेला इन्टर्फेरोन प्रयोग गरेर उपचार गरिन्थ्यो त्यसबेला जेनोटाइप १ का बिरामी उपचार गर्न गाह्रो थियो । किनभने यसको उपचार ४८ साता गर्नुपर्थ्यो र उपचार गरेर निको हुने सम्भावना ६०-८० प्रतिशतमात्र थियो र उपचार गरेपछि फर्केर आउने पनि सम्भावना हुन्थ्यो । अब आएर खानेमात्र औषधि (डिएए = डाइरेक्ट एक्टिङ एन्टिभाइरल) प्रयोगपछि जेनोटाइप १ सजिलोसँग निको गर्न सकिने भएको छ । विदेशमा जेनोटाइप ३ निको हुन गाह्रो भनिए पनि हाम्रो देशमा यो जेनोटाइपको पनि उत्तिकै सफल उपचार भइरहेको छ ।
सन् य१९९० देखि नियमित जाँच हुनथालेको यो भाइरसको उपचार २५ वर्षमा निकै फड्को मारिसकेको छ । अहिले उपलब्ध भएका औषधिको प्रयोग ठीकसँग गर्न सक्ने हो भने यसलाई अर्को १५-२० वर्षमा निर्मूल गर्नसकिने अवस्था छ । अझै पनि यसको उपचार खर्च महँगो हुनाले विश्वबाट यसलाई उन्मूलन गर्न समय भने लाग्ला नै ।  नेपालमा हिपाटाइटिस सी संक्रमित व्यक्ति यति नै छन् भन्ने तथ्यांक नभए पनि हाललाई करिब १ लाख १५ हजार संक्रमित व्यक्ति छन् भन्ने अनुमान गरिन्छ । लागु पदार्थ दुर्व्यसन प्रमुख कारण भएको यस रोग सर्ने अरू कारणमा नजाँचेका रगत चढाउनु, ठीकसँग प्रशोधन नगरेका यन्त्र चलाऊनु र शारीरिक संपर्कलगायत पर्छन् ।
 
औषधि व्यवस्था विभागले मार्च २०१५ देखि नयाँ औषधि सोफोसोबुभिर चलाउन अनुमति दिएपछि नेपालमा हिपाटाइटिस सीको उपचारमा नयाँ आयाम थपियो । तत्पश्चात् आधाभन्दा बढी बिरामीमा इन्टर्फेरोन इन्जेक्सन लगाउन पर्ने बाध्यता सकियो । उपचार सजिलो र साइड इफेक्टरहित हुन थाल्यो । एक वर्षमा करिब १०० जना जेनोटाइप ३ का बिरामीको उपचार गर्दा ९० भन्दा बढी बिरामी निको भएको पाइएको छ । निको नहुनेमा अधिकांश लिभर सिरोसिसका बिरामी पर्छन् । खुसीको कुरा के थियो भने यो औषधि भारतमा बने पनि त्यहाँभन्दा पहिला नेपालमा उपलब्ध हुन थालेको थियो । नेपालमा उपलब्ध भएको नेटमार्फत् थाहा भएर एकै महिनामा भारतबाट ५०० को हाराहारीमा उपचार गर्न बिरामी आएका थिए । भारतमात्र हैन चीन र अन्य युरोपेली मुलुकबाट पनि बिरामी आउन थाले र यो क्रम जारी छ । पैंसठ्ठी वर्षको उमेरमा यस
रोगको सफल उपचार हुँदा एक जना अमेरिकी महिलामा देखेको मुस्कान बिर्सिन गाह्रो हुनेछ ।  
 
हिपाटाइटिस सीको उपचारमा अर्को फड्को मारेको मिति हो सेप्टेम्बर २०१५ । यस महिनादेखि नेपालमा सोफोस्बुभिर र लेडिपास्भिर एउटैमा भएको औषधि भित्रियो । यो औषधि आएसँगै नेपालमा इन्टर्फेरोन प्रयोग बन्द भयो र जेनोटाइप १ का बिरामीले १२ सातामात्रै औषधि खाएर निको हुने अवस्था आयो । सन् २००४ सालमा २० लाख खर्च गरेर उपचार गर्नुपर्ने रोगको २०१५ मा १ लाख १० हजारमा उपचार हुने भयो । ९ महिनाको अन्तरालमा ४५ जनाको उपचार गर्दा ४३ जना निको भइसकेका छन् । विकसित मुलुकलाई पछ्याउदै जनवरी २०१६ देखि नेपालमा अर्को औषधि डाक्लाटास्भिर भित्र्याउन सफल भइयो । यसको आगमनपछि ६ महिना उपचार गर्नुपर्ने जेनोटाइप ३ लाई ३ महिनामै उपचार गर्न मिल्ने भयो । समयको साथै पैसाको पनि बचत हुनेभयो । यसको प्रयोगपछि उपचार गरिएका बिरामी शतप्रतिशत निको भएका छन् । बिरामीको संख्या बढ्दै गएपछि अररू निर्क्योल निकल्न सकिन्छ ।
 
यही गतिमा उपचार गर्न सकिने हो भने निकट भविष्यमै नेपालबाट हिपाटाइटिस सी निर्मूल हुनसक्छ । नेपाल सरकारले ध्यान दिने हो भने सन् २०३० भित्र नेपालबाट यो रोग निर्मूल गरेर विश्वमै उदाहरण पेस गर्न सकिन्छ । तर महँगो उपचारमा ध्यान दिनुभन्दा पनि यो रोग सर्न नदिने उपाय गर्दा बढी सस्तो र भरपर्दो हुन्छ । लागु पदार्थ दुव्यसन प्रमुख कारण भएकोले त्यसको नियन्त्रणतिर सरकारको ध्यान जानुपर्ने देखिन्छ । भर्खरै नेपालमा हिपाटाइटिस सी को उपचार गाइडलाइन निकालिएको छ । तर यो गाइडलाइनमा धेरै त्रुटि देखिएको हुनाले यसले हिपाटाइटिस सी को उपचारमा नयाँ कुनै प्रभाव पार्ने आशा गर्न सकिन्न । विज्ञहरूको उचित सल्लाह र सुझावविना बनाइएजस्तो लाग्ने यो गाइडलाइन उपयुक्त प्रक्रिया पूरा गरेर पुनर्लेखन गर्नुपर्ने देखिन्छ ।
 
डा. केसी कलेजो रोग विशेषज्ञ हुन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC