
काठमाडौं । लयमा फर्किन नपाउँदै पुनः सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिन सुरु भएपछि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरेपछि सिनेमा हल पनि बन्द हुने अवस्थामा पुगेका हुन् । भलै सरकारले नामै तोकेर सिनेमा हल बन्द गर्ने निर्णय भने गरिसकेको छैन । तर, २५ जनाभन्दा धेरै भेला हुन नपाइने भनेपछि यसभित्र सिनेमा घर पनि पर्छन् ।
करिब १० महिना बन्द भएर पुसको अन्तिम साता ५० प्रतिशत ‘अकुपेन्सी’मा खुलेका सिनेमा हल पुनः बन्द हुने अवस्थामा पुगेका हुन् । सतप्रतिशत ‘अकुपेन्सी’मा हल खोल्नु पर्ने माग चलचित्रकर्मीहरुले गरिरहेका बेला कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने आशंका गर्दै सरकारले उनीहरुको माग सुनुवाइ गरेको थिएन ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले जनस्वास्थ्यसम्बन्धी ‘प्रोटोकल’ पूर्ण रूपमा पालना गराउने निर्णय गरेको छ । यो निर्णय पालना गराउँदा सिनेमा हल स्वतः बन्द हुन्छन् । यद्यपि बैठकले सिनेमा हल बन्द गराउने, बिद्यालय बन्द गर्ने दोस्रो विकल्प भएको निर्णय गरेको छ ।
सिनेमा हल सञ्चालनमा आएपछि रिलिज भएका केही चलचित्रले पनि राम्रो व्यापार गरेका थिएनन् । नयाँ चलचित्र लगाउँदा दर्शक हलसम्म आउँछन् अथवा आउँदैनन् भन्ने निश्चित नहुँदा ठूलो लगानीमा निर्माण भएका चलचित्र रिलिज नै भएका थिएनन् । सानो बजेटमा बनेका केही चलचित्र मात्रै रिलिज भएका थिए ।
सरकारले लगानी सुरक्षित गर्ने आकर्षक कार्ययोजना तथा सहयोग नल्याएको भन्दै निर्माताहरु करोडौं रुपैयाँ जोखिम मोल्न नसकिनेभन्दै हल रिलिजमा गएका थिएनन् ।
ठूलो बलिउड चलचित्र रिलिज भएपछि त्यसमा दर्शकको उल्लेख्य उपस्थिती देखिए पछिमात्रै चलचित्र रिलिज गर्ने पक्षमा निर्माताहरु रहेका थिए ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार करिब तीन दर्जनभन्दा धेरै चलचित्र निर्माण सम्पन्न गरेर रिलिजका लागि सहज अवस्था कुरेर बसेका छन् ।
मल्टिप्लेक्स र सिंगल थिएटर गरेर नेपाल १९५ सिनेमा हल छन् । यसमध्ये १८ वटा सिनेमा हल बन्द भइसकेको चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् । १९५ सिनेमा हलमा १२ अर्ब रुपैयाँभन्दा धेरै लगानी छ ।