site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दीपक–दीपासँग भेट भइरहन्छ तर विवादबारे कुरै हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्य कलाकार जितु नेपाल र दीपाश्री निरौला तथा दीपकराज गिरीबीच ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तनलाई लिएर बढेको विवाद समाधानतर्फ अगाडि बढ्न सकेको छैन । यस वर्षको होलीलाई लक्षित गर्दै सार्वजनिक गरिएको होली गीतमा ‘छक्का पञ्जा’ युनिटका अधिकांश कलाकार देखिए । तर, जितु उक्त गीतको भिडियोमा अटाएनन् । यसले उनीहरुबीचको विवाद समाधान नभएको स्पष्ट पार्छ  । स्वयं जितु पनि चिसिएको सम्बन्धमा सुधार नआएको स्वीकार गर्छन् ।

“होलीको गीत छायांकन हुँदै छ भन्ने मलाई थाहा थियो । त्यसको केही दिनअगाडि दीपा दिदीसँग भेट पनि भएको थियो । तर, उहाँले मलाई बोलाउनु भएन । बोलाउनु हुन्न भन्ने मलाई थाहा पनि थियो,” जितु भन्छन्, “कमेडी क्लबको अध्यक्षको हेरफेरले असर गरेजस्तो लाग्छ । मलाइ यो स्वाभाविक लागेको छ । कारण मैले धोका दिएँ भन्ने उहाँहरुको बुझाइ छ । उहाँहरुलाई मैले धोका दिएको बुझाइ भएपछि उहाँहरुबाट मैले त्यो अपेक्षा गर्नु पनि हुँदैन ।”

हेरफेर आवश्यक थिएन भन्ने दीपक–दीपाको बुझाइ थियो । प्रायोजकले दोस्रो सिजनमा अध्यक्ष फेरौँ भनेर जितुलाई भन्यो । उनले धेरै केही नसोची हुन्छ भन्दिए । त्यही नै दशकौँ लामो सम्बन्ध चिसिनुको मुख्य कारण बन्यो । “उहाँहरुलाई शतप्रतिशत जितुकै चाहना र योजना अनुसार निकाल्यो भन्ने छ । तर, म प्रायोजकका कारण बाँधिएको थिएँ,” जितु भन्छन्, “तर, मैले प्रायोजकसँग अडान नलिएको चाहिँ हो । सायद, म अलि स्वार्थी भएँ । त्यसैले आयोजकले भनेपछि मैले अडान लिइनँ । तर, मेरो मात्रै कार्यक्रम थिएन कि एडभरटाइजिङ एजेन्सीको पनि थियो । कि एडभरटाइजिङ एजेन्सीले मलाई घान हाल्ने र मैले कि एडभरटाइजिङ एजेन्सीलाई घान हाल्ने काम भइरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

आफूले हतारमा निर्णय लिँदा अहिलेको अवस्था आएको उनको भनाइ छ । जितुले अन्तिम समयमा आएर कमेडी क्लबको अध्यक्ष परिवर्तन गरिएको भन्दै ‘यतिञ्जेल सहकार्य गरिदिनुभएकोमा धन्यवाद’ भनेका थिए । ‘छायांकन हुन लागेको छ, तयारी गर्दै गर्नू’ भनेपछि उनले अन्तिममा आएर दीपाश्रीलाई अध्यक्ष परिवर्तन गरिएको भनेका थिए । यसले यति ठूलो रुप लेला भन्ने जितुले सोचेकै थिएनन् । “मैले सामान्य सोचेको कुरा उहाँहरुलाई अनपेक्षित भइदियो । पछि मैले मिलाउँछुभन्दा पनि त्यो सम्भव भएन,” जितु भन्छन् ।

दीपकराजको चित्त दुःखाइ पनि यसमै हो । “अघिल्लो दिन भोलि दिउँसो छायांकन छ भनेर बोलाइयो । तर, अचानक राति तपाईं आउनु परेन, हजुरको ठाउँमा अरुलाई नै राखियो भनेर फोन आयो । यसमा रातारात परिर्वतन गर्नुपर्ने केही कारण थिएन । यसमा हाम्रो थोरै असन्तुष्टि हो,” दीपक भन्छन्, “दीपाजी नै सधैँ त्यहाँ हुनैपर्छ भन्ने छैन । तर, एकछिनमा आऊ, एक छिनै नआऊ भन्नु चाहिँ राम्रो होइन । यसमा बसेर सल्लाह गरेर नै योपटक तपाईं नबस्नु होला भनेर भन्न सकिन्थ्यो ।” उनी जितुको यो निर्णयलाई ‘नराम्रो निर्णय’ भन्छन् । 

Global Ime bank

किन एजेन्सीसँग अडान लिएनन् जितुले दीपाश्रीलाई राख्न ?
राजेश हमालबारेबोल्दा दीपाश्रीले दर्शकको चर्को आलोचना खेप्नु परेपछि ‘मुन्द्रेको कमेडी क्लब’मा पुनः उनलाई राख्दा शोले नै गाली खाने भयले उनको ठाउँमा करिष्मालाई भित्र्याइएको थियो । दीपाश्रीले ‘महनायक’का विषयमा आफ्नो अभिव्यक्ति दिँदा उनलाई दर्शकले गाली गरेका थिए । त्यसमा उनले पटक–पटक माफी पनि मागेकी थिइन् ।

धेरै सोच–विचार नगरी हतारमा निर्णय गर्ने उनको पुरानै बानी हो । पहिलो कारण ‘महानायक’बारेको विवादका कारण हुनसक्ने सम्भावित गाली । तर, यो मात्रै होइन,अर्को कारण पनि छ । र, त्यो हो, चलचित्र ‘छ माया छपक्कै’मा सुरुमा जितु नेपाल कलाकारका रुपमा थिएनन् । “कथामा मेरो रोल आएन भन्ने थियो । टिम मेम्बरका रुपमा मात्रै म बस्ने भन्ने थियो । तर, लेख्दा लेख्दै अचानक मेरो पनि रोल निस्किएपछि मैले गरेको हो,” उनी सम्झिन्छन्, “त्यसपछि म आफैँ केही गरौँ भन्ने सोचमा पुगेको थिएँ ।”

भेट हुन्छ तर कामका विषयमा कुरै हुँदैन ?
होलीको गीत रिलिज भएपछि काम विशेषले जितु दीपकको घरमै पुगेका थिए । केही घण्टा बसे । दीपकसँग गफगाफ भयो । तर, कामका विषयमा कुरा भएन । धार्मिक भ्रमणमा जितु, दीपक र दीपाले आफ्ना बुवा–आमालाई लिएर सँगै गएका थिए । तर, कामको विषयमा कुनै कुरा भएन । 

“भेट हुन्छ । तर, कामको कुरा हुँदैन । घरको कुरा भयो । अरु–अरु कुरा भयो । गीत निकालेको कुरा भयो । गीत आजकाल युट्युबमा हेर्नै छोडेछन् भन्नुभयो । मैले उहाँलाई हो,आजकाल युट्युबको भ्युज घटेको छ भनेँ,” उनी भन्छन्, “मैले पनि मलाई किन नबोलाको भनिनँ । उहाँले पनि मैले यसकारण नबोलाको भन्नुभएन । यो विषय मलाई पनि निकाल्न मन लाग्दैन । सायद, उहाँलाई पनि लाग्दैन होला । कुरै हुँदैन ।”

फोन पनि हुन्छ । गफगाफ पनि हुन्छ । भेटघाट पनि हुन्छ । केही समयअगाडिसँगै धार्मिक टुर पनि गरे । तर, कमेडी क्लब, आउँदो चलचित्र र सहकार्यबारेमा गफ हुँदैन ।

घोषणा नभइसके पनि ‘छक्का पञ्जा–४’ निर्माण हुँदै छ । दीपकराज गिरी लकडाउनअगाडि स्क्रिप्ट लेखिरहेका थिए । दीपक, दीपा, केदार घिमिरे र जितु बसेर त्यसलाई फाइनल टच दिने कुरा भइरहेको थियो । तर, लकडाउन सुरु भयो । उनीहरुको योजना अनिश्चितकालका लागि पछि धकेलियो ।

बन्ने ‘छक्का पञ्जा–४’मा दीपक–दीपाले बोलाउलान् भन्ने जितुलाई अपेक्षा छैन । “दीपा दिदीले जितुले विनासल्लाह एकलौटी निर्णय गर्दा हामीले पनि त्यस्तै निर्णय गर्न सक्छौँ भन्नुभएको छ,” जितु भन्छन्, “उहाँहरुले बोलाउनुपर्छ भन्ने छैन । तर, आजसम्म जे–जे भयो भयो । एउटा रोल छ, आऊ सँगै काम गर भन्नुभयो भने पनि ठिकै छ, म आउँछु काम गर्छु ।”
तर, ‘६ एकान छ’देखि ‘६ माया छपक्कै’सम्म आउँदाको टिम भने जितुले ‘मिस’ गर्नेछन् । उनले चलचित्रको काम नहुँदै त्यो महसुस गर्न थालिसकेको बताउँछन् ।

“हामी फिल्ममा मात्रै होइन, हरेक समय सँगै हुन्थ्यौँ । खाँदा, बस्दा, घुम्दा सँगै हुन्थ्यौँ । यतिसम्म कि फेसबुकमा केही लेख्दा पनि हामी सल्लाह गर्थ्यौँ । दीपक, दीपा, केदार र म रहेको यो ग्रुप मिस भइरहेको छ,” जितु नोस्टाल्जिक हुन्छन्, “तर, जे नहुनु थियो, त्यो भइसक्यो । दीपा दिदी र म यो घटनापछि पनि धेरैपटक भेटेका छौँ । सँगै रिबन काटेका छौँ । सँगै विज्ञापन पनि खेलेका छौँ । अरु सबै कुरा हुन्छ । तर, यही विषयमा केही कुरै हुँदैन ।”

स्क्रिप्ट नै फाइनल नभइसकेकाले अहिले नै सँगै काम गरिन्छ अथवा गरिँदैन यसै भन्न नसकिने दीपकराज बताउँछन् । “स्क्रिप्ट फाइनल भइसकेको छैन । चलचित्रमा मात्रै हामीले सँगै काम गरेको हो । अन्त हामी काम गर्न स्वतन्त्र छौँ । जितुले पनि टेलिभिजन तथा अन्य धेरै ठाउँमा सहकार्य गरेर काम गरिरहेकै छन् । दीपाजीसँग पनि काम गरिरहनुभएकै छ,” दीपक भन्छन्, “जितुलाई स्क्रिप्टमा रोल आयो भने दिने कि भन्ने कोणमा पनि हाम्रो कुरा भएको छ । हाम्रो सहकार्य चलचित्रमा मात्रै हो । त्यसैले अरु कुरामा त्यस्तो खासै केही छैन । चित्त दु:खाइ पनि त्यस्तो धेरै केही होइन ।”

अरु ब्यानरका चलचित्रमा नखेल्ने भद्र सहमति 
‘छक्का पञ्जा’ युनिटमा आबद्ध कलाकार चलचित्रसँग सम्बन्धित कुनै पनि काम गर्दा कुनमा गर्ने र कुनमा नगर्ने भन्ने विषयमा आपसमा छलफल गरेर मात्रै निर्णय गर्ने अनौपचारिक भद्र सहमति छ ।

दीपक–दीपाको समूहले आफ्नो चलचित्रमा काम गर्न थालेपछि उनीहरु दुईजनाले ‘शत्रुगते’मा काम गरेका थिए । अरुका ब्यानरमा काम नगर्ने भद्र सहमतिकै कारण जितु आफूले थुप्रै चलचित्रका अफरहरु अस्वीकार गरेको बताउँछन् ।

दीपकसँग जितुको पहिलो भेट दिनेश डिसीको ‘टाक्क टुक्क’मा भएको थियो । त्यसपछि उनीहरुले ‘संगालो’ र ‘काउकुती’मा पनि सँगै काम गरेका थिए ।

पछि दीपकले ‘तीतो सत्य’ सुरु गरे । जितुले ‘मुन्द्रे’ निर्माण गरे । विज्ञापनको साँघुरो बजार तर हास्य टेलिश्रृंखलाको बाढी आएपछि उनीहरु दुवै टेलिसिरियल बन्द गर्ने अवस्थामा पुगेका थिए । 

कार्यक्रममा रुकुम पुगेका बेला दीपकराज गिरी पनि सँगै थिए । दीपकले भने, ‘गुरु अब तीतो सत्य पनि बन्द हुन्छ । अब टेलिभिजनमा काम गरेर हुँदैन । फिल्म बनाउनुपर्छ ।’

त्यसपछि उनीहरुले संयुक्त रुपमा काम गरे, ‘६ एकान ६’मा । ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ तथा यसका सिरिज र ‘६ माया छपक्कै’मा उनीहरुलेसँगै काम गरे । दीपाले ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्षको भूमिका निर्वाह गरिन् । अन्ततः त्यही ‘मुन्द्रेको कमेडी क्लब’ नै सम्बन्धमा दरार आउने कारक बन्यो । 

जितुमात्रै होइन,बुद्धि र निर्मल दाइ पनि हुनुहुन्न 
छक्का पञ्जा मिडिया युट्युब च्यानल खोल्दै दीपाश्रीले ‘धनिया के होली’ बोलको गीत गाइन् । शब्द रचना पनि दीपा स्वयंको रहेको गीतको भिडियोमा दीपासँगै दीपकराज गिरी, केदार घिमिरे, शिवहरि पौडेललगायत चलचित्र ‘छक्का पञ्जा’ टिमका अधिकांश कलाकार छन् । ‘छक्का पञ्जा’ युनिटका अधिकांश कलाकार समेटिँदा जितुलाईकिन समावेश गरिएन?भन्ने जिज्ञासामा दीपाश्री भन्छिन्, “जितु मात्रै होइन, छक्का पञ्जामा हामीसँगै काम गरिरहेका बुद्धि, निर्मल दाइलगायत पनि हुनुहुन्न ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement