
बीबीसी । आजका आधुनिक महिलाहरूले आत्म निभर्रताका लागि गर्ने काम बलिउड अभिनेत्री परवीन बबीले ७०औं दशकमा नै चलचित्रको पर्दामा गरिरहेकी थिइन् ।
चलचित्र ‘दिवार’ को त्यो एउटा दृश्य जहाँ अभिनेता अमिताभ बच्चन एउटा बियर बारमा हुन्छन् । उनलाई एक्लै देखेर परवीन चिनजान नभएका अमिताभको छेउमा गएर कुराकानी गर्न सुरु गर्छिन् । छोटो स्कर्ट लगाएकी आत्मविश्वासी देखिने परवीनको एउटा हातमा चुरोट र अर्कोमा रक्सीको गिलास हुन्छ ।
यो एउटा उदाहरणीय दृश्य मात्रै हो । उनको पुरा करियर यस्तै दृश्यहरूले भरिएको छ ।
परवीनले आफ्नो पुरै करियरमा एक आत्मनिर्भर महिलाको भूमिका निभाएकी छिन् । उनलाई विवाहअघि नै आफ्ना पुरुष साथीसँग शारीरिक सम्बन्ध राख्न कुनै आपत्ति हुँदैन ।
छोटो भूमिकामा पनि जादु
चलचित्र ‘दिवार’ मा खेलेको छोटो भूमिकामा पनि परवीन अभिनयमा आफ्नो भाग्य बनाउन सफल बनिन् । अभिनेता (हिरो) लाई केन्द्रमा राखेर बनेका चलचित्रमा परवीनको भूमिका छोटो नै हुन्थ्यो । तर महत्वपूर्ण कुरा उनको सुन्दरता र हाउभाउको जादुले भूमिका जति नै छोटो भएपनि परवीनको चर्चा भने निकै चुलिन्थ्यो ।
सन् १९७३ मा आएको चलचित्र ‘चरित्र’ले फ्लपको ट्याग पाएपनि परवीनको अभिनयले जादुमय चर्चा बटुल्यो ।
टाइमको कभर पेजमा
अमिताभ बच्चनसँगको सन् १९७४ मा आएको चलचित्र ‘मजबूर’ बाट परवीनले अभिनय करियरमा पहिलो सफलता पाएकी थिइन् ।
त्यसपश्चात एंग्री योंग म्यान (अमिताभ) सँग परवीनको सफल चलचित्रमा दिवार, अमर अकबर एंथनी, शान र कालिया पर्दछन् ।
सन् १९७६ मा परवीनको सफलताको उचाइ यतिमाथि पुगिसकेको थियो कि सोही वर्ष उनी प्रतिष्ठित म्याग्जिन टाइमको कभर पेजमा अटाउन सफल भइन् ।
यस म्याग्जिनको कभरमा स्थान पाउने परवीन पहिलो बलिउड कलाकार हुन् ।
चलचित्रको पर्दामा सफल बबी निजी जिन्दगीमा असफल
चलचित्रको पर्दामा परवीन जति सफल थिइन त्यसको ठिक विपरीत निजी जिन्दगीमा भने उनले त्यति सफलता पाउन सकिनन् । पहिलोपटक उनको प्रेम सम्बन्ध कलाकार ड्यानीसँग जोडिएको थियो ।
तर उनीहरूबीचको प्रेमसम्बन्ध चार वर्षभन्दा धेरै टिक्ने सकेन । परवीन र ड्यानी सन् १९७६ मा चलचित्र ‘बुलेट’ मा सँगै देखिएका थिए ।
त्यसपछि उनको नाम कबीर बेदीसँग जोडियो । कबीरसँग पनि उनको प्रेमसम्बन्ध धेरै टिक्न सकेन । प्रेमसम्बन्ध सुरु भएको तीन वर्षमे उनीहरूको ‘ब्रेकअप’ भयो ।
कबीरसँगको प्रेम सम्बन्धका लागि परवीनले आफ्नो चम्किरहेको करियर पनि छोडेकी थिइन् । परवीन बलिउडमा चम्किरहेकै समयमा कबीरलाई इटालियन टिभी सिरियलमा मुख्य भूमिकाका लागि अफर आएको थियो । आफ्नो करियर लत्याएर परवीन कबीरसँगै युरोप सिफ्ट भएकी थिइन् ।
तर केही वर्षमै उनीहरूबीच खटपट सुरु भएपछि परवीन बलिउडमा नै फर्किइन् । त्यो समयमा पनि बलिउडले उनलाई सजिलै स्वागत गर्यो ।
बलिउडमा कमब्याकपछि परवीनले प्रितीस नन्दीको सुझावमा ‘द इलुस्ट्रेटेड विकली अफ डन्डिया’ मा एउटा संस्मरण लेखिन् ।
जसमा उनले बलिउडले उनलाई स्वागत गर्नु कुनै भाग्यको कुरा नभएर आफ्नो मिहेनत भएको उल्लेख गरेकी छिन् ।
कबीर बेदीसँग उनको प्रेमसम्बन्ध असफल भएपनि उनको अभिनय करियरलाई भने दोस्रो मौका मिलेको थियो । उनी बेदीसँगको ब्रेकअपलाई आफ्नो जीवनको ‘टर्निङ प्वइन्ट’ मान्छिन् ।
दोस्रो प्रेम सम्बन्ध असफल भएसँगै बबीको नाम महेश भट्टसँग जोडिन थाल्यो । उनीहरूको सम्बन्ध सन् १९७७ को अन्त्यतिर सुरु भएको थियो ।
त्यो समयमा अभिनेत्री परवीन एक स्टार अभिनेत्री थिइन् भने महेश एक फ्ल्प फिल्ममेकर । महेश आफ्नी श्रीमती र छोरी पुजालाई छोडेर परवीनसँगै बस्न थालेका थिए ।
महेशले आफ्नो र परवीनको प्रेमसम्बन्धमा चलचित्र ‘अर्थ’ बनाएका थिए । यही चलचित्रबाट महेशको फ्ल्प फिल्ममेकरबाट एक सफल र चर्चित फिल्ममेकरको यात्रा सुरु भएको थियो ।
यता परवीन भने मानसिक रोगको शिकार हुन थालेकी थिइन् । यद्यपि परवीनले कहिल्यै पनि आफू मानसिक रोगको शिकार भएको कुरालाई स्वीकार गरिनन् ।
महेशसँगको प्रेमसम्बन्धकै दौरानमा उनी आध्यात्मिक गुरु यूजी कृष्णमूर्तिको सम्पर्कमा आइन् । गुरु यूजीको सल्लाहमा उनले सन् १९८३ मा बलिउड छोडिन् । त्यसपछि उनी केही समय बैंगलोर बसेर अमेरिका गइन् ।
यो परवीनको करियरको त्यो समय थियो जहाँ उनी अभिनेता बच्चनको छायाँबाट बाहिर आएर आफ्नै परिचय बनाउन प्रयासरत थिइन ।
अमेरिकामा पनि उनको मानसिक रोगको कुनै उपचार हुन सकेन ।
अमिताभ सँग ‘डर’ लाग्थ्यो
मानसिक रोगको शिकार भएकी परवीनले अमिताभ लगायत थुप्रै चर्चित व्यक्तिहरूबाट आफ्नो ज्यानलाई खतरा भएको बताएकी थिइन् । उनी सन् १९८९ मा अमेरिका छोडेर पुनः भारत नै फर्किइन् । उनी सन् २००५ सम्म मुम्बईमै बसिन् तर बलिउडको चमकधमक भन्दा निकै टाढा ।
परवीनले अमिताभसँग आफ्नो ज्यानलाई खतरा छ भन्नुको कारण बच्चन र उनका पूर्व प्रेमी डेनीको मित्रता थियो भन्ने अनुमान गरिएको थियो ।
यद्यपि अभिनेता बच्चनले भने परवीनलाई लिएर सार्वजनिक रूपमा केही वयान दिएका छैनन् । तर परवीनको निधन (२००५) पछि मिडियासँगको कुराकानीमा परवीन आफ्नो सर्तमा बाँच्ने एक सफल कलाकार भएको बताएका थिए । (प्रदीप कुमार/बीबीसी हिन्दी)