site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियाको नरभक्षी बाघ चिडियाखाना ल्याइयो  
फाइल तस्बिर ।

बाठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ ।

निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार गैँडा गणना गरी फर्कने क्रममा हात्तीलाई घाँस काट्दै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारुको सोही बाघले आक्रमण गर्दा ज्यान गएको थियो । निकुञ्जका कर्मचारीलाई मारेपछि उक्त बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको थियो । १० वर्षको उक्त भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ललितपुर ल्याइएको हो ।

बर्दियाबाट ल्याइएको बाघलाई चिडियाखानामा राख्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै वनमन्त्री प्रेमबहादुर आलेले जंगगली जनावरको आक्रमणबाट हुने घटनाहरु दोहोरिन नदिनका लागि राष्ट्रिय निकुञ्जहरुमा पर्खाल लगाउने अथवा विद्युतीय तारबार गर्नुपर्ने बताए । त्यसका लागि आफूले अर्थमन्त्रीसँग बजेट विनियोजन गर्ने विषयमा कुराकानी गरेको उनले स्पष्ट पारे । बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै बस्ती भएकाले त्यहाँ करिब १० किलोमिटर आरसीसी पर्खाल लगाउन आवश्यक देखिएको उनले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र वरपर केही महिनायता सिलसिलाबद्ध रुपमा बाघले मानिसमाथि आक्रमण गरिरहेको छ । यसै आर्थिक वर्षमा मात्रै १० जना मानिसको बाघको आक्रमणबाट मृत्यु भएको छ । बर्दिया निकुञ्जले अहिलेसम्म चारवटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:३१
प्रतिक्रिया दिनुहोस्