site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कारोना संक्रमण दर बढ्दै जाँदा एन्टिजेन परीक्षणमा सरकारको जोड, कति विश्वसनीय ?
सांकेतिक तस्बिर ।

काठमाडौं । पछिल्लो समया नेपालमा कोभिड–१९ को संक्रमण दर पुनः बढ्न थालेपछि सरकारले एन्टिजेन परीक्षण विधिलाई प्राथमिकता दिएको छ । खासगरी हटस्पटहरू पहिचान गरी एन्टिजेन परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । विशेषगरी भारतबाट भित्रिने र उपत्यका छिर्ने नाकाहरूमा एन्टिजेन विधिबाट कोभिड–१९ पहिचानका लागि यो विधि अपनाउन थालिएको छ ।  

के हो एन्टिजेन परीक्षण विधि ?
एन्टिजेन विभिन्न सरुवा रोगको नतिजा परीक्षणमा प्रयोग हुने र्‍यापिड डाइग्नोसिस टेस्ट आरटीडी विधि हो । किटद्धारा परीक्षण गरिने यो विधिमा नतिजा आधा घण्टामा नै आउने भएकाले मास परीक्षणका लागि विश्वका अधिक्तम मुलुकमा प्रयोग भएको पाइएको छ ।

एन्टिजेन विधि किटद्धारा (अन द स्पोट ) गरिने परीक्षण हो । यो परीक्षणका लागि नमूनाको रूपमा व्यक्तिको स्वाब लिइन्छ । कोभिड–१९ को परीक्षणमा कुन विधि कति विश्वसनीय भन्ने कुराको निर्धारण किटको टेस्ट सेन्सिभिटीले निर्धारण गर्छ । टेस्ट सेन्सिभिटी भनेको नमूनामा भएको रोग वा संक्रमण पुष्टी गर्नसक्ने किटको क्षमता हो । एन्टिजेन किटमा टेस्ट सेन्सिभिटी औसतमा ५० देखि ८० प्रतिशत हुन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार एन्टिजेन परीक्षण कोभिड संक्रमण धेरै संख्यामा फैलिएको बेला उपयुक्त परीक्षण विधि हो । तर यसले भाइरल लोड धेरै भएपछि अर्थात् संक्रमण छिप्पिइसकेको अवस्थामा नतिजा नेगेटिभ देखाउन पनि सक्छ । बढीमा एक हप्तासम्मको संक्रमणलाई पोजेटिभ देखाउँछ भने त्यसपछिको नतिजा नेगेटिभ देखाउन पनि सक्छ । त्यसैले कतिपय अवस्थामा एन्टिजेन विधिबाट आएको नेगेटिभ आएको नतिजा पीसीआर गर्दा पोजेटिभ पनि देखिनसक्छ । 

विश्वमा कोभिड–१९ संक्रमण फैलिन सुरु हुँदाको अवस्थामा बेल्जियममा चीन, हङकङमा भारत लगायतका मुलुकमा प्रयोग भएको थियो ।

नेपालमा एन्टिजेन परीक्षणको अभ्यास
नेपालमा यसअघि मंसिर अन्तिममा एन्टिजेन परीक्षण विधि प्रयोग गरिएको थियो । काठमाडोंका हटस्पटहरूमा करिब एक साता यो परीक्षण विधि अपनाइएको थियो । देशैभर एन्टिजेन विधिबाट कोभिड परीक्षण गर्ने उद्देश्यसहित सातै प्रदेशमा तालिम र प्रशिक्षण कार्यक्रम अघि बढाइएको थियो । 

सुरुमा स्वास्थ्य मन्त्रालयले गत पुसभरीमा तीन लाख जनाको एन्टिजेन विधिबाट परीक्षण गर्ने लक्ष राखेको थियो । तर संक्रमण दर ओरालो लाग्दै गएको अवस्थामा एन्टिजेन विधि नेपालका लागि प्रभावकारी ठहरिएन । ६ हजार ३१९ जनाको परीक्षण गरेपछि पुस नबित्दै एन्टिजेन परीक्षण अभियान स्थगित गरिएको थियो । 

कहाँबाट कति एन्टिजेन किट ल्याइयो ?
स्वास्थ्य सेवा विभागकाअनुसार नेपाललाई विश्व स्वास्थ्य संगठनले एक लाख किट, यूनडीपीले ५० हजार र यूनिसेफले ५० हजार किट उपलव्ध गराएको थियो । पुसको दोस्रो साता एसियाली विकास बैंक र अन्य दातृ निकायको सहयोगमा प्राप्त भएको इमरर्जेन्सी रेस्पोन्स प्रोजेक्ट अन्तर्गत तीन थान किटका लागि विभागले बोलपत्र आह्वान गरेको थियो । अनुदान पाएको विज्ञापनमा उल्लेख गर्दै ३० दिनको म्याद राखेर ६५ लाख रुपैयाँ धरौटी रकम माग गरिएको थियो । तर अनुदानको एन्टिजेन किट नै प्रयोगविहीन भएपछि थप एन्टिजेन किट खरिद प्रक्रियाबाट पछि हट्दै गत पुस २४ गते दोस्रो सूचना जारी गरेर विभागले बोलपत्र रद्ध गर्‍यो । 

अहिले संक्रमण दर बढ्दै गएपछि थप तीन एन्टिजेन किट खरिदका लागि युनिसेफमार्फत् पहल थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । “अहिले विभागसँग भएको किट माग भएअनुसार अस्पताल र हटस्पटहरूमा पठाउने गरेकाछौं, देशैभरी यो विधि प्रयोग गर्ने उद्देश्यले फेरि तीन लाख थान किट ल्याउन पहल गरिँदैछ,” डा. पौडेलले भने । 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १७:४५
प्रतिक्रिया दिनुहोस्