काठमाडौं । “केपी शर्मा ओलीको दिमाग परिवर्तन गर्न सक्ने कोही मोटिभेटर छ कि, कोही धामी झाँक्री छन् कि, कोही मनोवैज्ञानिक छन् कि, कोही हिम्मतवाला मानिस छन् कि ? हाम्रो वामदेव गौतम अहिले पनि कोसिस गर्दै हुनुहुन्छ । मैले भनेँ– बालुवाटारको बालुवा पेलेर तेल निस्किनेवाला छैन । यो मेरो निष्कर्ष हो । र, हाम्रो निष्कर्ष हो ।
तर, पनि कतिपय कमरेडलाई लागेको होला, अझै पनि तेल निस्कन्छ कि, अझै पेलेको पेल्यै गर्नुहोस् ननिक्लिउञ्जेलसम्म त्यहीँ रुँगेर बस्नुस्, भन्नु केही पनि छैन । अस्ति मैले वामदेव कमरेडलाई पनि भनेँ– फेरि कमरेड कोसिस गर्नुस् । उहाँले पनि भन्नुभयो– म त थाकिसकेँ । केपी ओलीलाई सुधार्न सकिँदैन । त्यसो हुँदा मलाई विश्वास छ, वामदेव कमरेड र हामी सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने छौँ । केपी ओलीका विरुद्धमा एकताबद्ध भएर जान्छौँ ।”
आइतबार काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रममा एमाले नेता वामदेव गौतमप्रति माधवकुमार नेपालले गरेको भरोसा हो यो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकृकीत मार्क्सवादी, लेनिनवादी) अर्थात् एमाले विभाजनको सन्निकट छ । फागुन २३ को फैसलापछि प्रधानमन्त्री ओली ‘एक्लै’ अघि बढ्न खोजेपछि असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपालको समूह अलग्गै पार्टी निर्माणको अभियानमा लागेको छ ।
पार्टीभित्र तीव्र ध्रुवीकरण बढेका बेला र अन्तरसङ्घर्ष चुलिएका बेला निर्णायक भूमिका खेलेका वामदेव फुटको उत्कर्षमा भने चुपचाप छन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटनको बाटो रोजेर मुलुकलाई निर्वाचनतर्फ हुत्याउन खोजेपछि नेकपा दुई ध्रुवमा विभक्त भयो । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेता सडक संघर्षतिर केन्द्रित भए । पार्टी फुटतर्फ अग्रसर भयो । ‘दुई लाइन (पार्टी अन्तर) संघर्षका बेला कुनै समय ओलीविरोधी कित्तामा उभिएका वामदेव त्यतिबेला मझधारमा उभिए । एकीकृत पार्टी आन्दोलनलाई क्षतविक्षत तुल्याउनु हुँदैन भनेर धुम्बाराही र पेरिसडाँडा कतैतिर कित्ताकाट भएनन् । बरु, एकता अभियान घोषणा गर्न धोबीघाट पुगे ।
नेकपा दल आधिकारिकता विवादको दलदलमा फसिरहँदा अदालतले पुरानै घटकमा फर्काइदियो । एमाले र माओवादी केन्द्र एकताअघिकै अवस्थामा पुगे ।
फागुन २८ गते पार्टी अध्यक्षसमेत रहेका ओलीले खनाल–नेपाल समूहलाई जानकारी नै नदिई केन्द्रीय कमिटीको बैठक राखेर विधान संशोधन, माओवादी केन्द्रबाट रहेकाहरूलाई केन्द्रीय कमिटीमा थप र महाधिवेशनको तिथि तयसमेत गरेपछि एमाले पनि फुटको डिलमा छ । खनाल–नेपाल समूह अलग पार्टी निर्माणको ध्येयका साथ समानान्तर गतिविधिमा अघि बढेपछि ‘चमत्कार’ बाहेकको अवस्थामा एमाले एकताबद्ध रहने देखिँदैन ।
यस्तो बेलामा गौतम प्रतिक्रियाविहीन छन् । माघ १४ गते घोषणा गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’ पनि निस्प्रभावी बनेको छ ।
६ दिनअघि, चैत १७ गते नेता नेपाल र वामदेव गौतमबीच नागपोखरी समीपको एक कार्यालयमा कुराकानी भएको थियो ।
भेटपछि उत्साहित बन्न पुगेका नेता नेपालले भोलिपल्टै पोखरामा आयोजित कास्की जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वामदेव पनि सँगै रहेको बताए ।
काठमाडौंको जिल्ला भेलामा पनि नेता नेपालको आसय त्यही थियो ।
तर, पार्टी केन्द्रीय सदस्य तथा वामदेवनिकट नेता हरि पराजुली भने वामदेव अझै पनि पार्टी एकताको पक्षमा रहेको बताउँछन् ।
दुवै पक्षमध्ये एकातिर ढल्कनेबित्तिकै अभियानको सान्दर्भिकता सकिने उनको भनाइ छ ।
‘पर्ख र हेर’को अवस्थामा वामदेव
गत वर्ष, २४ वैशाखमा तत्कालीन नेकपा उपाध्यक्ष गौतमले सचिवालय बैठकमा दुखेसो पोखेका थिए । त्यस बैठकमा ‘नेताहरू गुटले मात्रै बलियो हुँदा रहेछन्’ भन्दै आफ्नै खस्कँदै गएको समूहप्रति चिन्ता व्यक्त गरेका थिए ।
त्यही बैठकमा उनले ‘आफू पनि गुट बनाउन लाग्ने’ बताएका थिए । कतिपयले अहिले वामदेवको मौजुदा अभियानलाई एमालेको नवौँ महाधिवेशनपछि खस्कँदै गएको गुटलाई उकास्ने चिन्तनसँग जोडेका छन् ।
केन्द्रीय सदस्य पराजुली पनि अमूर्त हिसाबमा यसैको संकेत गर्छन् । बाह्रखरीसँग कुरा गर्दै उनले गौतम अहिले कतै पनि नखुल्ने बरु एकता अभियानलाई देशव्यापी विस्तार गर्ने बताउँछन् । गौतमको अभियान आइतबारसम्म ३१ जिल्लामा विस्तार भइसकेको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर दुईदुईवटा जिल्लामा अभियान विस्तारित भएको छ । बाँकी प्रदेशमा उत्साहबर्द्धकरूपमा अभियान अघि बढेको पराजुली थप्छन् ।
“वामदेव गौतम अझै पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । अदालतले नेकपा (एमाले) ब्युँताइदिएपछि जेठ २ कै अवस्थामा फर्कनुपर्छ भन्ने उहाँको मान्यता हो,” पराजुली आफ्नो तर्कमा उभिँदै भन्छन्, “फागुन २८ गते अध्यक्ष ओलीले अर्को पक्षलाई खबर नै नगरी बैठक राखेर निर्णय गरेपछि एमाले संकटमा छ । यस्तो अवस्थामा समूह, मोर्चाहरूको एकताको उपादेयता छ । हामी यसैको पक्षमा छौँ ।”
यसको अर्थ गौतम एकता अभियानसँगै शक्ति विस्तारको अभियानमा पनि देखिन्छन् । यसले गौतमको ‘बार्गेनिङ पावर’ बढाउने उनीहरूको बुझाइ पनि छ ।
‘७ गतेको केन्द्रीय कमिटीमा जानुपर्थ्यो’
फागुन २८ गतेको निर्णय पार्टी एकताविरोधी छ भन्नेमा गौतम प्रष्ट छन् । तर, त्यसलाई सच्याउनुपर्छ र एकताको आरम्भ त्यही विन्दुबाट हुन्छ भन्नेमा चाहिँ गौतम दृढतापूर्वक उभिन सकेका छैनन् ।
चैत ७ गते र १३ गतेको दुवै संसदीय दलको बैठकमा सहभागी भएका गौतम ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भने गएका छैनन् । तत्काल कतैतिर नढल्कने नीतिका कारण केन्द्रीय कमिटीमा सहभागी हुन खुट्टा बाँधिएको गौतम पक्षको भनाइ छ ।
तर, गौतम खनाल–नेपाल पक्ष चैत ७ गतेको बैठकमा उपस्थित हुनुपर्ने मान्यता राख्छ ।
“अन्तरपार्टी संघर्ष भित्रै बसेर गर्ने संघर्ष हो । उहाँहरू एमाले पुनर्गठनको अभियान चलाउने मनसायमा हुनुहुन्छ भने चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुपर्थ्यो । आफ्ना असहमति माइन्युटमा दर्ज गराउनुपर्थ्यो । त्यसले राजनीतिक अर्थ दिन्थ्यो,” पराजुली पुनः आफ्नो तर्कमा उभिन्छन् ।
विधानको धारा ४४ अल्पमत बहुमतको मातहत हुने व्यवस्था भएकाले ओली निर्णय लाद्न उद्यत भएको पराजुलीको बुझाइ छ ।
यही कारणले पनि गौतम पक्षको मान्यता खनाल–नेपाल समूह बैठकमै उपस्थित भएर आफ्ना असहमति राख्नुपर्ने रहेको उनी भन्छन् ।
“बहुमतको निर्णय नै पार्टी निर्णय हुन्छ भनेर हिजो व्यवस्था गरेको हो । नवौँ महाधिवेशनको विधान मस्यौदा गर्दा, पारित गर्दा उहाँहरू पनि हुनुहुन्थ्यो,” उनी भन्छन् ।
समानान्तर गतिविधिप्रति विमति छैन
नेता नेपालले गौतम पक्ष आफूसँगै आएपछि बहुमतमा पुग्ने जिकिर गरे पनि उनीहरू तत्काल खुल्ने पक्षमा देखिँदैनन् । उनीहरू ‘स्ट्रेन्थ’ विस्तारकै क्रममा छन् ।
नवौँ महाधिवेशनपछि र पार्टीभित्रका अनेकौँ पटकका अन्तरविरोधमा कहिले यता, कहिले उता ढल्कँदा सानो समूहमा सीमित हुन पुगेको गौतम समूह अहिले शक्ति आर्जनकै अभियानमा पनि छ ।
“केपी ओली आक्रामक बन्दै जाने र अर्को पक्ष (खनाल–नेपाल समूह) रक्षात्मक बनिरहेको अवस्थामा अहिले हामी बोल्नुको अर्थ देखिएको छैन,” गौतम मौन देखिनुको रहस्यबारे प्रकाश पार्दै पराजुली भन्छन्, “एकताबद्ध एमालेका निम्ति अभियानको जरुरी छ । सान्दर्भिकता पनि छ ।”
गौतम खनाल–नेपाल समूहको समानान्तर गतिविधिप्रति असहमत नरहेको पराजुलीको भनाइ छ । “ओली पक्षले एकलौटी कमिटी घोषणा गर्दै हिँडेपछि छुटेका मानिसहरू समेटेर माधव नेपालहरूले कमिटी घोषणा गर्नु अस्वाभाविक होइन ।
हामीहरूले पनि अभियानका क्रममा कमिटी बनाएका छौँ । हामीले अर्को पार्टी त बनाउँदैनौँ । तर, खनाल–नेपाल समूहले अर्को पार्टी बनाउनु भयो भने अभियानको बैठक राखेर निष्कर्षमा पुग्छौँ,” पराजुली बताउँछन् ।
खनाल–नेपाल समूहको राष्ट्रिय अभियानले देशव्यापीरूपमा पार्टी फुटको राजनीतिक, सांगठनिक आधार तयार गर्ने र असन्तुष्टहरूलाई एकठाउँमा उभिने वातावरण बनाउने भएकाले ओली गल्नसक्ने र फागुन २८ को निर्णयबाट पछि हट्न सक्ने गौतम पक्षको बुझाइ पनि छ ।