बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संघर्ष सन्तोष दाइको गाडीको डिकीमा बसेर धापासी पुगेँ 
Godraj nepal
Godraj nepal
नरेश फुयाँल
बाह्रखरी - नरेश फुयाँल शनिबार, चैत २१, २०७७
Laxmi Bank
Laxmi Bank

गाउँमा न कलाकारिता गर्नुपर्छ भन्ने चेत थियो, मध्यम वर्गीय परिवार न रमाइलो गरेर हिँड्ने समय नै हुन्थ्यो । कृषि कर्ममै व्यस्त हुन्थे, जितबहादुर नेपाल पनि । बुवा–आमालाई घर–खेतको काम सघाउँथे । उनको प्राथमिकता पढाइ थियो अथवा काम ? खुट्ट्याउन उनलाई कठिन थियो ।

 सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, काठमाडौंबाट मात्रै ७५ किलोमिटर टाढा छ, जितबहादुरको घर । तर, बत्तिमुनिको अँध्यारो भने झैँ । न सिनेमा हलको पहुँच न टेलिभिजनको । पहिलोपटक उनले राजेश हमालको चलचित्र ‘युगदेखि युगसम्म’को पोस्टर देखेका हुन्, गाउँमा । ४० को दशकको मध्यतिर । त्यो समयसम्म फिल्म हुन्छन्, कलाकार हुन्छन् भन्ने पनि उनलाई पत्तो थिएन ।

गाउँमा मनोरञ्जन भनेको कसैको घरमा सप्ताह लगायो भने भजन, बालन र देउसी–भैलो मात्रै थियो । देउसी–भैलो खेल्न सानो छँदा गाउँका दाइहरुसँग हिँड्थे । पछि जितबहादुर आफैँले नेतृत्त्व लिए । आफैँ भट्ट्याउँथे । आफैँ पैसाको बाँडफाँड गर्थे ।

Agani Group

त्यो बेलासम्म म हँसाउछु भन्ने उनलाई थाहा थिएन । अरुलाई हँसाउनु पर्छ भन्ने पनि थिएन । तर, जितबहादुर बोल्दा उनका साथीहरु हाँस्थे । “वनभात खान गइन्थ्यो । त्यहाँ रमाइलो हुन्थ्यो । हँसाउनुपर्छ भन्ने नै त थिएन । तर, साथीहरु म बोल्दा हाँस्दा रहेछन्,” उनी भन्छन्, “गाउँका साथीहरु अहिले तँ त त्यही बेलादेखि नै हँसाउँथिस् नि भन्छन् । मैले त्यही बेला हँसाउँदोरहेछु भन्ने अहिले थाहा पाउँदै छु । कुलाको पानी खेर गएजस्तै खेर गएछ, त्यो बेला मेरो कला ।”

०४७ सालमा एसएलसी दिए । ०४८ मा रिलज्ट आयो । दाइ कमल र योगनाथसँगै बसेर काठमाडौंमा होटेल चलाउँदै पढ्ने योजना बनाएर जितबहादुरले काभ्रे छोडे ।

sarbottam cement

क्याम्पस पढ्ने भनेर त उनी आए । तर, ६ जना दाजुभाइ सबै काठमाडौंमा । दिदीको विवाह भयो । घरमा बुवा–आमा एक्लै भएपछि बस्न गाउँ जानुपर्ने भयो । गए ।

आठ वर्षदेखि हराएका काकाको छोरा घर फर्किए । आग्रा बस्दा रहेछन् । उनले भने– जाऊँ हिन्दुस्तान । मुख पनि फेरिने, देश पनि हेरिने, खल्ती पनि भरिने । लोभिए उनी । जितबहादुर पछि लागे काकाको छोरासँगै ।

उनले सोचेजस्तो रहेनछ, हिस्दुस्तान । काठमाडौं र हिन्दुतानमा उनले खासै भिन्नता छुट्ट्याउन सकेनन् ।

गाउँमा एसएलसी पास गरेको केटो । कद होचो भए पनि सान अग्लो थियो । तर, हिन्दुस्तानमा सानले काम गरेन । कदको मूल्यांकन गरे सबैले । होचो कदले धोका दियो । सँगै गएका साथीहरुले काम पाए । तर, होचो भएकै कारण उनले काम पाएनन् ।

“घरको सहमतिबिना गएको थिएँ, तत्काल फर्किएर आउन पनि खुच्चिङ भन्ने डर । पसलमा काम गरेँ । आग्राको शिला टाकिज सिनेमा हलमा पनि काम गरेँ । अन्तिममा नर्सिङहोममा रिसेप्सनमा काम पाएँ,” जितबहादुर भन्छन्, “म घरको कान्छो छोरो । काकाको छोरो एक्लै घर आउँदा मेरो कान्छो छोरोलाई कहाँ लगिस्, ल्याइदे भनेपछि म फर्किएँ ।” 

० ० ०

हिन्दुस्तानबाट फर्किएपछि उनी आफन्तको विवाहमा जन्तीका रुपमा थापाथली आए । निर्मल पौडेलसँग भेट भयो । मिल्ने साथी निर्मल आईए दोस्रो वर्ष पढ्दै रहेछन् । उनले भने– प्राइभेट पनि दिन मिल्छ । जितबहादुरले भने, “मलाई पनि पढ्ने मन छ । काम खोज्दे, काम गर्दै पढ्छु ।” निर्मलले आफ्नै साहुको साथीलाई भनेर चुच्चेपाटीमा रहेको सहकारी पसलमा काम लगाइदिए । सँगै आएका जन्ती घर फर्किए, जितबहादुर फर्किएनन् ।

पसल पुगे उनी ।     

‘‘काम गर्छौ त ?’’

‘‘गर्छु ।’’

‘‘के गर्छौ ?’’ 

‘‘पसलको काम जे पनि गर्छु ।’’

‘‘कहाँ बस्छौ ?’’

‘‘बस्ने ठाउँ त छैन ।’’ 

‘‘हामीसँग बस्छौ त ?’’

‘‘बस्छु ।’’

‘‘हामीसँग बसेपछि त खाना पनि बनाउनुपर्छ ।’’

‘‘खाना त म मिठो बनाउँछु नि ।’’

‘‘ल त्यसो भए हामीसँगै बस ।’’

क्याम्पस पढ्न पशुपति क्याम्पस पुगे । कोटा सकिइसकेछ । साथीहरुले नै भने, ‘‘गएर पढ्दै गरौँ । जमलमा गएर प्राइभेट फर्म भरेर परीक्षा दिन पाइन्छ । पढ्नलाई पशुपति कलेजमै गएर पढौँ ।’’ त्यसै गरे, उनले ।

पसलको साहु रामेश्वर शर्माकी श्रीमती सरस्वती शर्मा नेपाल टेलिभिजनमा काम गर्दिरहिछन् । उनी एक दिन पसलमा आइन् । उनले भनिन्, ‘‘आज टेलिभिजनमा सन्तोष पन्त आउनुभको थियो...।’’

टेलिभिजनमा काम गर्ने ? वाह ! जितबहादुर छक्क परे । मनमा लाग्यो, ठूलो मान्छे पो हुनुहुँदोरहेछ ।

सामान जोखिदिए । घरजाने बेलामा उनले भने, ‘‘दिदी म लगिदिन्छु ।’’ लोभ थियो, म पनि टेलिभिजनमा काम गर्ने चाह थियो । तर, पहिलोपटक भेटेको मुखै फोरेर भन्न सकेनन् ।

एक हप्तापछि उनी पुनः आइन् ।

रोशनप्रताप राणाले चलाउँथे, नेपाल टेलिभिजनको ‘संगीत संगम’ कार्यक्रम । त्यसमा गीत, कविता, डान्स नयाँ व्यक्तिले देखाउँथे । जितबहादुरले सरस्वतीलाई भने, “दिदी त्यो संगीत संगम कार्यक्रममा म कविता भन्नुपर्यो ।”

उनले भनिन्, “रहर छ ? रोशन मेरो साथी हो भन्दिहाल्छु नि ।”

तर, त्यसपछि लामो समय भेट नै भएन । जितबहादुरलाई छटपटी भयो ।

एक दिन फेरि सरस्वती पसल आइन् । उनी आफैँले भनिन्, ‘‘रोशनसँग भेट नै भएन । तिमीलाई रहर नै लागेको रहेछ, मैले सन्तोष पन्तलाई हिजोआजका कुरामा भन्दिएको छु, सोमबार टेलिभिजनको गेटमा गएर सरस्वती दिदीले पठाएको भनेर भेट्नू ।’’

त्यो रातभर उनलाई निद्रा परेन । सन्तोष पन्तको त्यो समयको क्रेज सम्झिए । लोकप्रिय ‘हिजोआजका कुरा’ सम्झिए । त्यसमा खेल्न पाए त ! अनेक कुरा मनमा खेले ।

सोमबार बिहान अरु दिनभन्दा अलि चाँडो उठे । खाना पकाए । र, १० बजे सिंहदरबारतिर लागे ।

एकपटक सिंहदरबार जाँदा उनले नेपाल टेलिभिजन देखेका थिए । गेटमा गएर बसे ।

निर्मल प्याकुरेल, टेन्डी शेर्पा, विजय गिरी आए । त्यसपछि आए, सन्तोष पन्त ८० नम्बरको रातो मोटरसाइकलमा । गेटमा सबैले नमस्कार गरे । उनी भित्र गए । जितबहादुरले भने, ‘‘म उहाँलाई नै भेट्न आएको हो ?’’

गेटमा बस्नेले भने, ‘‘कहाँ अहिले भेट्नुहुन्छ, अहिले एक छिनमा बाहिर आउनुहुन्छ अनि भेट्नू ।’’

लामो समय पर्खिएपछि उनी बाहिर आए । गेटमा बस्नेले भन्दिए, ‘‘सन्तोष दाइ, तपाईंलाई भेट्न एकजना भाइ आउनुभएको छ । सरस्वती मेडमले पठाउनु भएको रे !’’

‘‘ए, अँ । आऊ–आऊ भाइ ।’’

‘‘नमस्ते अंकल ।’’

‘‘अंकल नभन् भाइ, दाइ भन् ।’’

‘‘मलाई सरस्वती दिदीले पठाउनुभएको हो ।’’

‘‘ए हो । तर, तिमी त सानो पो भयौ त । एउटा रोल दिउँला भनेको तर तिमी त साह्रै सानो भयौ त ।’’

विजय गिरी त्यति बेलै आइपुगे र भने, ‘‘के भयो सन्तोष ?’’

‘‘सरस्वतीजीले एउटा भाइलाई खेलाइदिनु भनेर यो भाइलाई पठाइदिनुभ’को र’छ । यो हुँदै भएन नि । ट्राभल एजेन्सीको टिकट मिलाइदिनुपर्ने रोल छ । मान्छे छ यत्रो, हेर्दै सानो । मिल्दै मिलेन नि ।’

जितबहादुरलाई लाग्यो– ल खत्तम ! खेल्न नपाइने भयो ।

तर पनि उनले भने, “दाइ म देख्दा मात्रै सानो, सबै काम गर्न सक्छु । एसएलसी पास गरेको छु । गाउँमा मास्टरको जागिर छोडेर आ’को । गाउँमा भारी बोक्नुपर्ने भिटामिन नपुगेर नबढेको मात्रै हुँ ।’’

‘‘गफ गरेर हुँदैन । यहाँ देखिनुपर्छ ।’’

रातो–निलो हुँदै उनले फेरि बिन्ती बिसाए, ‘‘दाइ अरु केहीमा भए पनि हुन्छ ।’’

विजयले भने, ‘‘ए सन्तोष, सरस्वतीजीले पठाएको मान्छे तिमी माडवारी भएर आउँदा भिडमा माग्नेको रोलमा एउटा डाइलग दिए भइगयो त ।’’

‘‘ल, हुन्छ ।’’

छायांकन हुन्थ्यो धापासीमा ।

कसरी जाने ? अर्को समस्या । 

‘‘कसरी जाने त ? डिकीमा बस्छस् ?’’

‘‘बस्छु, हजुर ।’’

१७९९ नम्बरको रातो भ्यानको डिकीमा बसे जितबहादुर । विजयले भ्यान चलाए । अगाडि सन्तोष पन्त बसे । पछाडि क्यामेरामेन विजय उदय पाल्पाली, साउन्डम्यान राधाकृष्ण पराजुली र निर्मल प्याकुरेल बसे ।

“म डिकीमा थिएँ । तर, मलाई अमेरिकाको राष्ट्रपतिको बोइङमा बसेजस्तै लागिरहेको थियो । कसैले देखिदिए पनि हुन्थ्यो । सपना हो कि विपना मलाई छुट्ट्याउन पनि गाह्रो भइरहेको थियो,” जितबहादुर सम्झिन्छन्, “हिजो साँझ मिथिला शर्माको फोन आ’को थियो..., रुपा रानाले एक छिन बसौैँ भनिन्... सन्तोष पन्त भन्नुहुन्छ । बेलुका भुवन केसीसँग फोनमा कुरा भ’को थियो...। मलाई लाग्यो के हो यो संसार ।”

सुटिङ सुरु भयो । जितबहादुरलाई केही थाहा छैन । हेरेर बसे । हिजोआजका कुरामा देखेका कलाकारलाई नमस्कार गरे । १७०२ नम्बरको मोटरसाइकल चढेर दिनेश डिसी आइपुगे । ‘कस्तो लाग्यो’ भन्ने टेलिफिम्ममा देखेका थिए, उनले दिनेशलाई ।

भ्यान चलाउँदै दिउँसो ३ बजे सन्तोष पन्त माडवारीको वेशमा आए । क्लबका केटाहरुले चन्दा उठाएर दुःख दिएको स्टोरी थियो । ‘बाढीपीडितलाई सहयोग गरौँ’ भन भने, जितबहादुरले पनि त्यही भने । नितेशराज पन्तले डाइलग बाँड्थे । तर, जितबहादुरलाई दिएनन् ।

साँझ परिसकेको थियो । पानी पर्न लागिसकेको थियो । विजयले भने, ‘‘कस्ता मान्छे ल्याउँछौँ सन्तोष तिमी ? डाइलग बोल्नै सक्तैनन् । भोलि पनि नसकिने भयो ।’’

‘सेठजी तपाईं यत्रो गाडी चढेर हिँड्ने, चन्दाचाहिँ दिनुपर्दैन ?’ यति डाइलग भन्नुपर्ने थियो । 

विजयले जितबहादुरलाई देखाउँदै भने, ‘‘यसले भन्छ, यसलाई दिँदा हुन्छ ।’’

 सन्तोषले सोधे, ‘‘भन्छस् ?’’

‘के खोज्छ्स कानो आँखो’ उनले भने, ‘‘भन्छु ।’’

त्यसै भन्दिए । 

गज्जब भयो भने अरुले । जितबहादुरको सपना पूरा भयो ।

शुक्रबार प्रसारण हुन्थ्यो । सरस्वतीले भनिन्, ‘‘मैले तिम्रो नाम पनि टिपाइदिएको छु ।’’

बहुप्रतिक्षित शुक्रबार आयो । कार्यक्रम हेर्न घरधनीकोमा गए । ‘हिजोआजको कुरा’ पनि आयो । जितबहादुर पनि टेलिभिजनमा आए । उनको नाम पनि आयो, जितबहादुर नेपाल ।

त्यो दिनको उमंग नै बेग्लै । भोलिपल्टदेखि त माहोल नै बेग्लै भयो । पसलमा आउनेहरु पनि भन्न थाले, यो भाइ त हामीले टेलिभिजनमा देखेको होइन र ?

रहरै–रहरमा पहिलोपटक त टेलिभिजनमा देखिए । अब के गर्ने ? समस्या खडा भयो ।

सरस्वतीले ‘‘सन्तोष दाइलाई आफैँ फोन गर्नू र उहाँले भनेको समयमा जानू सानोतिनो रोल दिनुहुन्छ,’’ भनिन् । तारन्तार फोन गर्न थाले उनी सन्तोषलाई । तीनवटा भागमा खेल्ने मौका पनि पाए ।

सन्तोष पन्तको सालो प्रमोद शर्मा स्क्रिप्ट लेख्थे । गल्कोपाखामा छायांकन थियो । उनले जितुलाई भने, ‘‘तिमी टाक्कटुक्कतिर लाग । बाठो पनि छौ । यहाँ खासै रोल हुँदैन । त्यहाँ जोक हुन्छ । जोकमा धेरै कलाकार चाहिन्छ । दिनेश दाइतिर लाग ।’’

दिनेश डिसीलाई फलो गर्न थाले । दिनेशले उनलाई अवसर दिए । त्यहीँ भेटेका हुन् उनले दीपकराज गिरी, दमन रुपाखेती, नारद खतिवडा, श्रीप्रसाद थापा, नारायण त्रिपाठीलाई ।

कलाकारिताका लागि धाउँदै ठिक्क, काम गर्ने समय नै भएन । पसलको जागिर छोडे । घरमा पैसा कमाएर ल्याइदिए हुन्थ्यो भन्ने आशा गर्छन् । यहाँ भात खाने पैसा छैन ।
 
गर्ने के ? 

निर्मल र जितबहादुर मिलेर ५/५ हजार रुपैयाँ जम्मा गरेर १० हजारमा भीमसेनगोलामा तरकारी पसल खोले ।

एक दिन बिहान कालीमाटीबाट साइकलमा दुई साइडमा ५०/५० केजी र अगाडि दुईतिर साढे सात÷साढे सात केजी तरकारी लोड गरेर ल्याउँदै थिए । थापाथलीमा एउटा स्कुटरले उनको साइकललाई झन्डै हानेर अगाडिबाट बत्तियो । स्कुटरको मान्छे ‘‘ओई..., ’’ भनेर कराउँदै फर्किएर हेरे । दिनेश डिसी पो रहेछन् ! साइकल छोडेर उनले दिनेशलाई भने, ‘‘भात खानका लागि बिहान–बेलुका तरकारी पसल गर्छु ।’’
 
दिनेशल भने, ‘‘खतरै मिहिनेत गर्दोरहेछौ ।’’

‘‘आज सुटिङमा आऊ, एउटा जोक्समा खेल्न दिन्छु ।’’

एक दिन उनी दिनेशको घरमै पुगे । आफ्नो समस्या राख्दै भने, ‘‘मलाई काम दिनुस् न दाइ । मलाई त्यो भुम समाउन दिए पनि हुन्छ ।’’

‘‘भुम होइन हो, बुम हो बुम, त्यसले आवाज रेकर्ड गर्छ ।’’

‘‘हो त्यही समाउन दिए पनि हुन्छ ।’’

त्यो समाउन पाए सबै कुरा थाहा हुन्छ, काम पाइन्छ भन्ने उनको लोभ थियो ।

‘‘अर्कोले समाइराखेको छ, कसरी तिमीलाई दिने त । ल सुटिङमा आऊ । अरुलाई त म दिन्नँ, तिमीलाई हप्ताको तीन सय दिन्छु । जे काम पर्छ, त्यही गर्नू । खाजा ल्याउने, खुवाउने काम गर्नू ।’’

त्यसपछि दिनेशसँग काम सुरु भयो उनको । दिनेशकै घरमा सुत्थे । सोफा थियो । त्यही नै जितबहादुरको बिस्तरा थियो ।

त्यही बेला ‘विमान चालक’ नामक टेलिफिल्म सुरु भयो । त्यसमा पाइलटको घरमा काम गर्ने उनको रोल थियो । सबैले छोड्दै गए । त्यसमा दिगो रुपमा काम गर्ने जितबहादुर थिए । त्यही टेलिफिल्ममा सुरुमा उनको नाम सहयोगीको रुपमा छ । पछि त्यसमै उनको नाम सहायक निर्देशकको रुपमा छ ।

रमेश महर्जन ग्राफिक्समा बस्थे । उनले एकदिन भने, ‘‘कति लामो तिम्रो नाम जितबहादुर नेपाल । जितु नेपाल लेख । छोटो पनि सजिलो पनि ।’’

उनलाई पनि राम्रै लाग्यो, हुन्छ भने । त्यही टेलिफिल्ममा उनको नाम जितु नेपाल भनेर आउन थाल्यो । जितबहादुरबाट उनी जितु नेपाल भए ।

‘संगालो’ सुरु भयो । त्यसमा जितु र दीपकराज गिरी नै थिए । टेलिभिजनले ‘काउकुती’ टेलिफिल्म सुरु गर्न दीपकलाई भन्यो । दीपकले जितु भयो भने सजिलो हुन्छ भने । दीपकको काम लेख्ने । छायांकन र सम्पादनको काम जितुले हेर्थे ।

विनोद मानन्धरसँग जितुको चिनजान थियो । जितु तामाङ प्रोडुसरको क्यारिकेचर गर्थे । विनोदलाई मन परेछ । भने, ‘‘यो राम्रो छ, टेलिभिजनका लागि खिचौँ भएन भने क्यासेट निकालौँला ।’’

डबल रोल थियो त्यसमा जितुको । पत्रकार र सुनको दाँत हालेको निर्माताको ।

टेलिभिजनमा विनोद ‘क्ल्याप बोर्ड’ नामक कार्यक्रम चलाउँथे । टेलिभिजनको महाप्रबन्धक तपनाथ शुक्ल थिए । उनले विनोदलाई भनेछन्, “गीताञ्जली चलाउने कोही भएन । मान्छे ल्याउनुस् न, कोही छैन ?”

‘‘जितु भन्ने भाइले राम्रो कमेडी गर्छ, उसले गर्न सक्छ ।’’

तपनाथ शुक्लले भने, ‘‘उसले गरेको क्यासेट दिनुस् त ।’’

‘तातोपिरो’ लेखेर विनोदले क्यासेट दिए ।

टेक्निसियनको कम्प्युटरमा क्यासेट लिएर उनी हेर्न थाले । “त्यो क्यासेट प्ले भएपछि उहाँ यसरी हाँस्नुभएछ, उहाँ हाँसेको हेर्न निराजनले अरुलाई बोलाउनुभएछ । उहाँ स्टप गरेर फेरि प्ले गर भन्दै हास्ँनुभएछ,” जितु भन्छन्, “यो त दिनेश डिसीसँग हिँड्ने लड्का होइन । पत्रकार त यो छ । निर्माता बन्नेचाहिँ को छ, यसलाई बोलाएर कार्यक्रम बनाउन लगाउनुपर्यो । जीएम साब यही त हो, डबल रोल गरेको हो । बहुत ट्यालेन्छ छ ।”

विनोदले जितुलाई फोन गरेर जीएम साबले फोन गर्नुभ’को छ, जानु भने ।

तपनाथले जितुको तारिफ गरे । ‘‘तिमीले मलाई बहुत हँसायौ । तिमी आफैँले गरेको ?’’

‘‘हो, जीएमसाब ।’’

‘‘ल, गीताञ्जली कार्यक्रम यस्तै कमेडी गरेर गर्नू,’’ तपनाथले भने । ७ हजारमा सम्झौता गरे जितुले ।

त्यही कार्यक्रममा आएका हुन्, केदार घिमिरे र सीताराम कट्टेल । तर, उनीहरु सँगै आएका होइनन् ।

“मैले भृकुटीमण्डपमा स्टेज कार्यक्रम पाएको थिएँ । त्यो कार्यक्रम मैले उहाँहरुलाई दिएँ । त्यही कार्यक्रममा हो, उहाँहरु जोडी बनेर पहिलो पफर्मेन्स गरेको,” जितु नोस्टाल्जिक हुन्छन् ।

‘जिरे खुसार्नी’मा पनि जितुसँगै केही समय सीताराम र केदारले काम गरे । पछि उनीहरु आफैँ ‘मेरी बास्सै’ बनाउँछौँ भनेर निस्किए ।

०५१ मा शम्भु प्रधानको चलचित्र ‘सुनचाँदी’मा पहिलोपटक अभिनय गरे जितुले ।

रेडियो नाटकको हिरो भइसकेका थिए, दमन रुपाखेती । जितु टेलिभजनमा अब्बल । जितु र दमनको जोडी बाँधियो । उनीहरु हरेक निर्माताको घरमा पुग्थे । यसरी चिनजान गरेर जितुले तीन दर्जन चलचित्रमा काम गरे ।

दमन र जितु स्टेज सेयर गर्थे । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म स्टेज पफर्म गरे ।

 ० ० ०

उनलाई अक्सर धेरैको गाडी नम्बर कण्ठ हुन्छ ।

शिवरात्रिमा डोरी टाँगेर पैसा माग्ने चलन थियो । उनका साथीहरुसँगै जितु पनि थिए, शिवरात्रिको रमाइलो गर्नेमा । उनीहरुले भने– भुवन केसी रातो गाडी चढेर आएका थिए, ५ रुपैयाँ दिएर गए । “त्यही बेला म होटेलभित्र पसेको बेला परेछ । मैले भुवन केसीलाई देख्नै पाइनँ । यही बाटो पेप्सीकोलातर्फ गए भनेपछि फर्किनुहोला र भेटौँला भनेर म त्यहीँ बसिरहेँ । हरेक रातो गाडी आउँदा हेरेँ । तर, देखिनँ । त्यो दिन उहाँसँग भेट्ने मेरो सपना अधुरै रह्यो ।”

तुलसी घिमिरेलाई भेट्ने ठूलो रहर थियो । रेडियो नाटक खेल्न जाँदा शुरवीर पण्डितलाई भेटाइदिनु न भने । तर, शुरवीरले तुलसीले हतपती भेटदैनन् भने । तर पनि मिल्यो भने प्रयास गरौँला भने ।

तर, समय जुरेको थिएन । एक दिन अरुण रेग्मीले फोन गरेर जितुलाई भने, ‘‘तुलसी घिमिरेले तपाईंलाई भेट्न खोजिरहनुभएको छ ।’’

‘‘हो र, कहाँ भेट्ने ?’’

‘‘बागबजार ।’’

भेट भयो ।

‘‘भाइ तिमीलाई एउटा राम्रो रोल छ ।’’

‘‘मैले त फिल्म होला भन्ने सोचेको तर टेलिफिल्म पो रहेछ, मुक्ति ।’’

नीर शाहले तुलसी घिमिरेलाई सिफारिस गरेका रहेछन् ।

‘मुक्ति’ खेलेपछि जितु राम्रो अभिनय गर्न सक्ने हो भन्ने प्रमाणित भए । 


भास्करराज राजकर्णिकारले मन्त्री आउने कार्यक्रममा स्टेज पफर्मेन्सको जिम्मा दिए । उनले भनेका थिए, ‘‘तिमीलाई कार्यक्रम दिने भन्दा, त्यसले गर्न सक्तैन भन्दाभन्दै मैले सक्छ भनेर दिएको छु, मेरो इज्जत राख है ।’’

नभन्दै त्यो कार्यक्रम अपेक्षा गरेभन्दा पनि राम्रो भयो । त्यसपछि उनलाई स्टेज कार्यक्रमको वर्षा भयो ।

‘तितो सत्य’ बन्द हुन लागेको थियो । एक दिन कार्यक्रममा रुकुम पुगेका बेला दीपकराज गिरी पनि सँगै थिए । दीपकले भने, ‘‘अब तीतो सत्य पनि बन्द हुन्छ । अब टेलिभिजनमा काम गरेर हुँदैन । फिल्म बनाउनुपर्छ ।’’

त्यसपछि उनीहरुले संयुक्त रुपमा काम गरे, ‘६ एकान ६’ मा । ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ तथा यसका सिरिज र ‘६ माया छपक्कै’मा उनीहरुले सँगै काम गरे ।

अहिले जितु ‘मुन्द्रेको कमेडी क्लब’ चलाइरहेका छन् । पहिलो सिजन चलिरहेका बेला लकडाउन भएपछि बन्द भएको उक्त कार्यक्रमको अहिले दोस्रो सिजन चलिरहेको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २१, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्