बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
अन्तर्वार्ता प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अन्तर्वार्ता बिमामा अभिकर्ता मात्रै हैन, कर्मचारी र व्यवस्थापकलाई नै तालिमको आवश्यकता छ विवेक झा– बिमा विज्ञ 
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । विवेक झा नेपाली जीवन बिमा बजारको चिरपरिचित नाम हो । बिमा क्षेत्रमा निजी कम्पनीहरुको प्रवेश भए पनि भर्खरै बामे सर्दै गरेको अवस्थामा उनले करिब ९ वर्ष अगाडि नेपाल लाइफ इन्स्योरेन्सको व्यवस्थापकीय नेतृत्व लिएका थिए ।

नेपाल लाइफमा नै करिब २ वर्ष दोस्रो तहमा नेतृत्व गरेका उनले २ कार्यकाल अथवा ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरे । चार्टर्ड एकाउन्टेन विवेक झाले बिमामा आफ्नो सेवा सुरु गर्नु अगाडि करिब २ वर्ष बैंकमा र त्यसअघि करिब एक दशक बैंक तथा बिमाको अडिटरको रुपमा समेत काम गरेका थिए । अडिटरको रुपमा काम गर्दा पनि करिब ३–४ वर्ष  विभिन्न कम्पनीको लेखापरीक्षकको रुपमा नै काम गरे ।

उनले नेपाल लाइफ इन्स्योरेन्सको नेतृत्व लिएसँगै बिमामा ‘ट्रेन्ड’ नै परिवर्तन गर्दै बिमाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याए । करिब ९ महिना अगाडि गएको असार मसान्तमा आफ्नो ८ वर्षे कार्यकाल पूरा गर्दै नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा भएका झा बिमाबाट टाढा जान नसक्ने बताउँछन् । कृषि तथा स्वास्थ्य बिमाको क्षेत्रमा पनि केही गरौँ भन्ने योजना आफूले बनाइरहेको र नयाँ आर्थिक वर्ष सुरु हुनु अगाडि कुनै न कुनै रुपमा बिमासँग जोडिने योजना रहेको उनले बताए ।

Agani Group

झासँग बाह्रखरीले बिमाको वर्तमान वस्तुस्थिति, बिमाप्रति आम नागरिकमा देखिएको विश्वासनीयताको कमी तथा बिमा क्षेत्रमा सम्भावना र उनको आगामी योजनालगायत विषयवस्तुमा कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

sarbottam cement

जीवन बिमा किन गर्ने ?

जीवन बिमाको क्षेत्रमा करिब १० वर्ष काम गरेँ । १० वर्षको मिहिनेत र सबैको साथ, सहयोगले बिमालाई अगाडि बढाउन सफल भयौँ । त्यसपछि पछिल्लो ९ महिनादेखि म बिमाभन्दा बाहिर छु । जति बेला म बिमा क्षेत्रबाट बाहिरिने अर्थात् मैले काम गरेको कम्पनीमा कार्यकालको अन्त्यतिर थिएँ, त्यति बेलै कोभिडको कारण विश्वभरि नै बिमा क्षेत्रले अकल्पनीय क्षति भोग्नुपर्यो ।

त्यसैले हाम्रो जीवनमा देखिने/नदेखिने विभिन्न जोखिम आउनसक्छ । जोखिमहरु न्यूनीकरण गर्ने केही माध्यमहरु होलान् । कहिँलेकाहीँ होपलेस भएर केही माध्यम नहुन पनि सक्छ । हामीले पनि त्यो फिल गरेका थियौँ । कोभिड पिकमा रहेको बेला म आफ्नो कार्यकाल पूरा गरेर बिमा क्षेत्रबाट बाहिरिएँ ।

जब–जब जोखिमको आगमन हुन्छ, त्यति बेला हामी हाम्रो जीवन वा परिवारप्रति बढी सजग हुन्छौँ । पुनः हाम्रो दैनिकी सामान्य रुपमा चल्न लाग्छ अनि हामीलाई यो सामान्य प्रक्रिया हो, यसरी नै चलिरहन्छ, अब जोखिम छैनजस्तो लाग्छ ।

बिमाको अवधारणा मुख्य रुपमा आर्थिक जोखिममा न्यूनीकरण गर्ने आधारको रुपमा विकास भएको हो । हाम्रो जीवनमा यति ठूलो क्षति हुनसक्छ, त्यो क्षतिले कुनै परिवार, बिजनेसम्यान अथवा व्यापारलाई कहिल्यै उठ्न नसक्ने गरी हानि पुर्याउन सक्छ । जसमा पुँजी, जीवन अथवा अन्य व्यापारिक हानि पनि हुनसक्छ ।

कुनै व्यक्तिको जन्म हुन्छ । त्यसपछि उसले आफ्नो परिवार चलाइरहेको हुन्छ । उसले आफ्नो जीवनमा मिहिनेत गरेर जीविकोपार्जनको लागि पैसा कमाउँछ । त्यही पैसाबाट उसको परिवार चलेको हुन्छ । परिवारमा पैसा कमाउने एउटा वा दुईवटा व्यक्ति हुनसक्छ । कमाउने व्यक्ति हुँदासम्म उसले पैसा कमाएर परिवार पाल्ने हो । तर, त्यो व्यक्ति नै छैन भने उसको परिवारमा आउने आम्दानीको स्रोत नै बन्द हुन्छ ।

मानौँ, मैलै कुनै हाइड्रोपावरमा लगानी गरेँ । उक्त हाइड्रोपावरमा बाढीबाट हुने क्षति रोक्ने कुनै उपाय प्रयोग गर्दा पनि त्यसले रोक्न नसक्ने गरी बाढी आएर त्यसलाई बगाएर लग्यो । त्यसले मेरो ठूलो लगानी जोखिममा पर्छ । जसको पछि आफ्नो पुँजी मात्रै नभएर बैंकको कर्जा समेत लगानी भएको हुन्छ । यस प्रकारका भइपरी आउने जोखिमलाई हस्तान्तरण गर्ने माध्यम बिमा हो । बिमा गर्यो भने भविष्यमा हुने आर्थिक जोखिमबाट बच्न सकिन्छ ।

जीवन बिमाको कुरा गर्दा हाम्रो देशमा बचतको बाटो पनि हो । मान्छेको जीवनको भ्यालु आफैँले ‘डिटरमाइन्ड’ गर्ने हो । आफ्नो कमाइले कति प्रिमियम तिर्न सक्छु, त्यसको आधारले ‘डिटरमाइन्ड’ गर्ने हो । यदि, १० वर्षपछिको लागि कुनै योजना छ तर त्यति बेला लगानी गर्न १० लाख चाहियो भने पैसा नहुन पनि सक्छ । यदि, १० वर्षपछिको लगानीको लागि ‘सिस्टमेटिक’ इन्भेस्टमेन्ट प्लान बनाउने हो भने त्यसको माध्यम ‘सेभिङ इन्स्योरेन्स’ हो । जसले फोर्स सेभिङको वातावरण बनाउँछ ।

नेपालमा नभए पनि विदेशमा ‘इन्भेस्टमेन्ट’को लागि पनि बिमा गर्ने चलन बढेको छ । क्यापिटल मार्केटसँग टाइअप गरेर पनि बिमाका योजनाहरु आउँछन् । विश्वका विभिन्न देशमा सरकारले बचतको बानी बसाल्न र जोखिम हस्तान्तरण गर्न व्यक्तिगत करमा पनि छुट गरेको हुन्छ । जुन हाम्रो देशमा पनि छ ।

बिमा भनेको बचत पनि र सुरक्षा पनि हो भन्नुभयो, हामी प्राकृतिक रुपमा जोखिममा छौँ । तर पनि नागरिकमा बिमाप्रतिको विश्वास बढ्न सकेको छैन । किन होला ?
यो वास्तविकता हो । मलाई पनि अहिले केही वर्षपहिलेको भूकम्पको समयको याद आइरहेको छ । साँच्चै भनौँ भने, अहिले कोभिड आयो अथवा २०७२ मा भूकम्प आउँदा मानिसहरु अलि बढी सजग भएको भान हुन्छ । त्यस्तो बेलामा सबैले बिमा गर्नुपर्ने रहेछ भन्ने सोच्छन् । भूकम्पका कारण क्षति भएको भूगोलमा क्षतिको दाबीको तथ्यांक हर्ने हो भने १ देखि १.५ प्रतिशत नागरिकको बिमा भएको देखिएको थियो ।

हाम्रोमा २० वटा जीवन बिमा कम्पनी छन् । तर, ओभरल बिमाको पहुँचको कुरा गर्ने हो भने २०–२२ प्रतिशतको छ । त्यसमा पनि केही वैदेशिक रोजगार, लघुवित्तले कर्जा दिँदा गर्ने बिमा अनिवार्य छ । यो अनिवार्य बिमा हटाउन हो भने त्यो प्रतिशत अझै कम हुन्छ ।

एकातिर बिमा गर्नेको संख्या कम हुने र अर्कोतिर जति गर्नुपर्ने हो, उसको आम्दानी स्रोतअनुसार त्यतिको नगरेर कसैको करकापमा बिमा गरेजस्तो सानो रकमको मात्रै बिमा भएको छ । करकापमा नै भए पनि त्यति बिमा भएको छ भनेर अभिकर्तालाई धन्यवाद दिन्छु । अभिकर्ताको कारणले करकापमा नै भए पनि मान्छेले बिमा गर्न सुरुचाँहि गरेका छन् ।

बिमामा अहिले पनि अवार्नेसको कमी देखिएको छ । बिमा भन्नासाथ खर्च भन्ने फिल हुने । अरुको लागि हो यो आफ्नो लागि हैन भन्नेजस्तो गरेको देखिन्छ । अर्को, बिमा कम्पनीप्रति मान्छेको विश्वासमा कमी पनि देखिन्छ । बिमा गर्दा जति सहज रुपमा घरदैलोमा गएर गराउने बानी भएको छ, दाबी भुक्तानी गर्ने बेलामा भने ग्याप देख्छु । जो व्यक्ति बिमामा जोडिन्छ, उ त्यसको परिवार हो । परिवारको सदस्य भएपछि बिमितले जसरी बिमा गराउन घरमा आएका थिए, मलाई गाह्रो भएको बेलामा त्यसरी घरमा आएर दाबी प्राप्त गर्ने वातावरणको अपेक्षा गरेको हुन्छ । यसमा केही कमजोरी सुनिन्छ ।

हामीले यसको लागि घरदैलो कार्यक्रम पनि सुरु गरेका थियौँ । बिमा समितिको अध्यक्षसमेत लिएर हामी बिमितको घरमा पुगेका थियौँ । सुदूरपश्चिमको एउटा विकट गाउँ, जहाँ हामी भारत हुँदै ३ दिन लगाएर पुगेका थियौँ । त्यो गाउँको अधिकांश बिमा भारत जान्थ्यो । हामीले राम्रो रकमको एउटा दाबी त्यो गाउँमा गएर भुक्तानी गरेका थियौँ । त्यो दाबी भुक्तानी गर्दा त्यहाँको समाजसँग कार्यक्रम राखेर के समस्या छ भनेर सोध्दा बिमाप्रति विश्वासको कमी, दाबी भुक्तानीमा महिनौँ लाग्ने, बाहिरका कम्पनी आएर नेपालका कम्पनीलाई विश्वास गर्न सकिँदैन भन्नेखालका झुटो प्रचार गर्ने गरेका रहेछन् । नकारात्मक कुरा चाँडो फैलिन्छ । यी सबै नेगेटिभ प्रचार चिर्न बिमा समिति लागिपरेको छ ।

भूकम्पको बेलामा पनि हामीले बिमा समितिमा नै रिपोर्ट गर्नुपर्थ्यो । त्यति बेला बिमा समिति यति सजग थियो कि हरेक दाबीको भुक्तानी के भएको छ भनेर हरेक रेकर्ड राखेको हुन्थ्यो । एकदम छिटो दाबी भुक्तानी गरेका थियौँ । तथापि, अहिले पनि नागरिकहरु स्वस्फूर्त रुपमा बिमा गर्न जाँदैनन् भने कहीँ न कहीँ विश्वासको कमी हो भन्ने लागेको छ ।

मैले बिमा सुरु गर्दै गर्दा बिमा कम्पनीहरुले १०–१५ वर्षको पोलिसी बिक्री गर्ने र बिमितले १५ वर्षको लागि बिमा गर्यो, १५ वर्षपछि कम्पनी नै बन्द हुने अथवा भाग्ने पो हो कि भन्ने थियो । त्यो बेलामा यही कारणले गर्दा बिमामा मनि ब्याक पोलिसीको अवधारणा आएको थियो । निश्चित समयमा मनि ब्याक हुँदै गयो भने बचत गर्दै गर्यो र परेको बेलामा मनि ब्याक गर्यो र आफ्नो गर्जो टार्यो अनि पुनः बचत गर्यो । यो प्रोडक्टले बिमा गर्नुपर्छ र बिमामा लगानी गरिसकेपछि पैसा फिर्ता पाउँछौँ भन्ने भावना विकास गरेको थियो ।

बिमामा विश्वास नदेखिनुको मुख्य कारण भनेको अवार्नेसको कमी हो । अहिले भन्दा ५–७ वर्षपहिले बिमा कम्पनीले न त सञ्चारमाध्यममा विज्ञापन गर्ने न सञ्चारमाध्यममा बिमाको समाचारले नै ठाउँ पाउँथे । बिमाको एक्सपोजर नै थिएन । बजारमा केही कुरा आउँछ भने ग्राहकले यो प्रयोग गर्यो भने मलाई यो फाइदा हुन्छ भन्ने थाहा हुनुपर्यो नि ।

बिमाको प्रकार फरक हुनसक्छ । बिमाको प्रकार फरक गरेर फरक उमेर समूहका मानिसलाई बिमा गराउन सक्छौँ । नेपालको कुरा गर्दा ५० प्रतिशत जनंख्या २५ वर्षमुनिका छन् । उनीहरुको पेइङ क्षमता भएको ठाउँमा आउँदै छन् ।

हामीले आजैदेखि अवार्नेसलाई अझै बलियो बनाउनुपर्छ । एउटा सर्भिस राम्रो दिनुपर्यो । इथिकल सेवा दिनुपर्यो । बिमामा गरेको प्रमिस (कागजमा भएको कुरा) समयमा पूरा गर्नुपर्यो । कतै बिमा अनिवार्य गर्नुपर्छ भन्ने पनि कुरा सुतिन्छ । तर, म त्यसको अगेन्समा छु । बिमा फोर्सफुल गर्ने हैन, स्वस्फूर्त गर्ने वातावरण बनाउनुपर्यो ।

भूकम्पको बेला याद गरौँ । बिमा हुनेले तुरुन्तै पैसा पाए । अनुदान लिनेले वर्षौँसम्म लाग्यो । त्यस्तो समयमा हामीले गरिबीको रेखामुनि, माक्रोलेभलका कुरा गर्छौँ, ती व्यक्तिलाई सहुलियत दिनेभन्दा बिमामा प्रिमियम तिर्दा राम्रो हुन्छ । एकपटक बिमितको प्रिमियम तिरिदिने हो भने अर्कोपटक उसको बानी बन्नसक्छ ।

त्यसो भए, बिमामा (शिक्षा) अवार्नेसको नभएर विश्वासमा कमी भएको हो ? 
शिक्षा भन्नासाथ मेरो फरक विचार छ । म प्रयोगात्मक शिक्षाको मान्छे । प्रयोगात्माक बिमा शिक्षा बढाउन हरेक बिमा कम्पनीले व्यावहारिक रुपले आफ्नो कुरा देखाउने । जुन काम हामीले गछौँ, त्यो व्यावहारिक रुपमा देखाउनुपर्छ । तर, त्यसमा कमी–कमजोरी हुन हुदैन । गलत मनासाय भएको ४–५ जना व्यक्तिका कारण पनि बिमा क्षेत्र नै बदनाम पनि हुनसक्छ । अहिले केही त्यस्ता घटना पनि देखिएको छ । प्रयोगात्मक ज्ञानको लागि सञ्चारमाध्यमका साथै ठाउँ–ठाउँमा गएर जानकारीमूलक कार्यक्रम अथवा अभिकर्ताको लागि उचित तालिम दिन सकिन्छ ।

अब पनि हामीले अभिकर्ताहरुको गुणस्तर हैन, संख्यामा जाने हो भने १०औँ लाख अभिकर्ता भए पनि बिमामा विश्वसनीयतता बढाउन सक्दैनौँ । १० लाख अभिकर्तामध्ये कति अभिकर्ताले बिमाको बारेमा राम्रोसँग बुझाउन सक्छन् । अभिकर्ताले म यो कम्पनीको अभिकर्ता, बिमा गर्नुस् भन्न जाने कि यो कारणले बिमा गर्नुस् भन्न जाने ? यो कुरा सोच्न जरुरी छ ।

अभिकर्ता मात्रै नभएर बिमाकर्मी र बिमितलाई पनि शिक्षित बनाउन आवश्यक छ । यसलाई व्यवस्थित गरेर जाने हो भने बिमामा आगामी दिनमा धेरै राम्रो अवसर देखेको छु ।

अभिकर्तामा नै शिक्षाको खाँचो छ भन्नुभयो, जीवन बिमाको बेस भनेको अभिकर्ता नै हो । कतै अभिकर्ता अशिक्षित हुँदाको प्रभाव हाम्रो बिमा बजारमा परेको त हैन ? 
म यो पनि शतप्रतिशत मान्दिनँ । किनभने, अभिकर्तालाई शिक्षा कसले प्रदान गर्ने ? अभिकर्तालाई शिक्षा प्रदान गर्ने त कम्पनीको कर्मचारी अथवा हामीहरु नै हो । यहाँ त प्रशिक्षकलाई नै प्रशिक्षण गर्न जरुरी भयो । बिमा क्षेत्रका सबैलाई एक्सपोजर चाहिने अवस्था छ । व्यापार गर्न बसेपछि व्यापार जति फस्टायो, सबैलाई फाइदा हुने हो । बिमा यस्तो व्यापार हो, जसलाई व्यापारको हिसाबले मात्रै हेर्न भएन । यो देशकै आवश्यकता हो । देशका नागरिकको बिमा हुनु भनेको देशको बिमा हुनु हो । त्यो वास्तविकता हो ।

अहिलेको अवस्थामा बिमामा कर्मचारीकै ट्रेनिङ अनिवार्य छ । हाम्रो लागि कर्मचारीभन्दा पनि महत्वपूर्ण अभिकर्ता हुन् । अहिलेसम्म जति बिमा आएको छ, अभिकर्ताकै कारणले हो । हाम्रो ब्रान्ड नै ठूलो छ । ब्रान्डले बिमा आएको भन्ने कुरा पनि सुनिन्छ । तर, म त्यो मान्दिनँ । मैले गाउँ–गाउँ, घर–घर गएर हेर्दा बिमितले कम्पनीभन्दा पनि ऊलाई बिमा गराउने छिमेकी मास्टर अथवा दाइलाई चिनेको हुन्छ । दाइले अथवा सरले बिमा गर्दा भविष्यमा राम्रो हुन्छ भनेर बिमा गरेको हो भन्छ उसले ।

अहिले एउटा बिमाले १०० वटा शाखा लिएर बसेको छ र उसले २० जना अभिकर्तालाई तालिम दिएको छ भने पनि आजको दिनमा धेरैजनालाई तालिम भइरहेको छ । तर, त्यो तालिम लाइसेन्सको लागि भएको छ वा बुझाएर बजारमा पठाएका छौँ ? धेरैजसो कम्पनीमा १०० जनालाई  तालिम दिएको छ भने २० जनाले काम गर्छ । काम गर्न नसक्ने ८० जनाले बिमा भनेको काम नलाग्ने चिज रहेछ भनेर हल्ला फैलाउँछ । ४ दिनको तालिममा बिमाको प्रारम्भिक कुरा मात्रै उसले सिकेको हुन्छ । त्यसपछि ६ महिना अथवा १ वर्षमा थप प्रशिक्षण दिएर बिमाको विज्ञ बनाऔँ । अनि, बिमामा जागरण आउँछ ।

हामीले प्रिमियम लिँदा मात्रै हैन, दाबी भुक्तानी गर्दा अथवा मनि ब्याकको भुक्तानी गर्दा पनि अभिकर्तालाई त्यसरी नै परिचालन गरौँ । यसले बिमामा सकारात्मक भावना ल्याउँछ । बिमामा पहिला कम्पनी, कर्मचारी, अभिकर्ता र सबै नागरिकलाई नै शिक्षाको आवश्यकता छ ।

बिमा बजारमा पोलिसी ल्याप्स र सरेन्डर दर उच्च देखिन्छ, यसको कारण के देख्नुहुन्छ ?
सुरु–सुरुमा बिमामा पोलिसी टुक्र्याउने बानी थियो । कम्पनीहरुले अभिकर्तालाई दिने कमिसन पोलिसी संख्याको आधारमा हुने भएकोले पोलिसी टुक्र्याइन्थ्यो । १ लाखको पोलिसी कसैले लिन्छ भने त्यसलाई १०–१० हजारको १० वटा पोलिसी बनाउने गरिन्थ्यो । बिमितलाई ९ वटा पोलिसी याद भयो भने एउटा याद नहुने अनि प्रिमियम तिर्न छुट्ने र ल्यास हुने । अर्को, गाउँ–गाउँमा बिमा गरेको छ । १–२ वटा प्रिमियम लिन अभिकर्ता पुग्ने, त्यसपछि प्रिमियम लिन मान्छे नै नपुग्ने । उसलाई पैसा कहाँ गएर तिर्ने थाहा छैन, बैंक पनि गाउँ–गाउँमा पुगेको थिएन । कसरी तिर्ने थाहा नभएर प्रिमियम तिर्नै छुट्ने ।

तेस्रो, फोर्सफुल बिमा त गर्यो तर यति सानो बिमा गर्यो कि १ लाख प्रिमियम तिर्न सक्नेको ७ हजार तिर्ने गरी बिमा गर्यो । त्यो रकमको लागि को प्रिमियम तिरिरहने भनेर १–२ वटा तिरेपछि वास्तै नगर्ने अनि ल्याप्स हुने ।

हामीले केही केस भने व्यक्तिलाई बिमाको प्रिमियम तिरिदिनू भनेर पठाएको थियो, त्यो व्यक्तिले कम्पनीसम्म बिमाको प्रिमियम नपुर्याएको र बीचमा नै उसले चलाएको समेत भट्यौँ । बिमितको नजरमा प्रिमियम तिर्यो । तर, कम्पनीमा प्रिमियम नपुगेपछि पोलिसी ल्याप्स गर्यो । यी विविध कारणले ल्याप्स हुन्थ्यो ।

सरेन्डरका कारणहरु हेर्ने हो भने, गर्ने बिमामा टार्गेट पूरा गर्नेजस्ता विविध कारणले क्षमताभन्दा बढीका बिमा गराउने । तर, दुई वर्षपछि प्रिमियम तिर्न पैसा हुँदैन । त्यस्तै कहिलेकाहीँ बिमा गराउँदा २ वर्ष प्रिमियम तिनुपर्छ, त्यसपछि तिर्न पर्दैन भन्नेसम्म गरेको हुन्छ । त्यसपछि बिमितलाई के गर्ने भन्ने पनि थाहा हुँदैन र लोन पाउँछ भन्ने पनि थाहा छैन । अनि, बिमितले कम्पनीमा आएर मैले तिरको पैसा चाहियो भनेर फिर्ता माग्छ । अनि, पोलिसी सरेन्डर हुने अवस्था आउँछ । पोलिसी सरेन्डर गर्दा एउटा अवधिसम्म बिमितलाई घाटा नै हुन्छ ।

कतिलाई प्रिमियम तिर्न नसकेपछि के हुन्छ भन्ने थाहा नभएर ल्याप्स स्टेजमा बस्ने र कतिले आएर कम्पनीमा कुरा गरेपछि कम्पनीले पैसा तिर्नू अथवा सरेन्डर भनेर गरेको देखिन्छ । कहिलेकाँही आम्दानीको स्रोत सिजनल हुन्छ । तर, उसले सोही आम्दानी निरन्तर नगर्न सक्छ । आम्दानी भएको बेलामा ठूलो प्रिमियमको पोलिसी लियो र आम्दानी  नहुँदा तिर्न नसक्ने हुन्छ । अनि, सरेन्डर गर्नुपर्ने अवस्था आउँछ ।

यसरी एकैपटक ठूलो आम्दानी हुनेको लागि नै एकल प्रिमियमको अवधारण आएको हो । म नेपाल लाइफमा हुँदा हामीले वैदेशिक रोजगारीलाई लक्षित गदै एकल प्रिमियमको बिमा योजना ल्याएका थियौं । तर, आजको दिनमा एकल प्रिमियमको नेचर देख्दा अनौठो लाग्छ । यसले कस्तो मोड लिँदै छ जस्तो लाग्छ ।

बिमा भनेको प्रमिसमा हुन्छ । तर, रङ प्रमिसमा बिमा गराइन्छ अनि उक्त कुराको भान बिमितलाई हुन्छ, उसले सरेन्डर गर्छ । बिमामा अवार्नेसको कमी छ, बिमा गराउनेले यति वर्षमा डबल हन्छ, दुई वर्षपछि प्रिमियम तिर्नु पर्दैनलगायत ठूला सपना देखाउने, जुन सुन्दै यस्तो हुन्छ र यस्तो अवस्थामा कम्पनी कसरी चल्छ भन्नेखालका प्रमिस गराउँछन् । यस्तो प्रकारको बिमा बिक्री गर्दा ल्याप्स र सरेन्डर बढेको जस्तो लाग्छ । अल्पकालमा कम्पनीले केही नाफा कमाए पनि ल्याप्स र सरेन्डर कम्पनीको लागि पनि राम्रो संकेत हैन । सेभिङ नेचरको जीवन बिमालाई भन्ने नै दीर्घकालीन बिजनेस हो । २०–३०औँ वर्षको रिलेसन हुन्छ, बिमित र कम्पनीको ।

सरेन्डर र ल्याप्सलाई मिनिमाइज गर्ने माध्यम भनेको अवार्नेस नै हो । बिमाको प्रिमियम तिरिसकेको छ भनेर बिमितले पाउने रिसिप्टको बारेमा पनि जानकारी राख्नुपर्छ । अन्य कुरामा चिटिङ हुन्छ भनेर रिसिप्टमा पनि चिटिङ हुनसक्छ । हामीले बिमितको लागि आफ्नो बिमाको अवस्था के छ भनेर हेर्न एप्स बनाउनुपर्यो र त्यसको लागि अब ढिला भयो । बिमितले अब एप्स लगिन गरेर बिमाको अवस्था हेर्न पाउनुपर्छ । त्यसको लागि अब ढिलो भइसक्यो ।

बिमामा कम्पनीले टार्गेट म्याच गर्न क्षमताभन्दा ठूलो पोलिसी बिक्री गर्दा पनि पोलिसी ल्याप्स र सरेन्डर दर बढ्यो भन्ने सुनिन्छ, के लाग्छ यहाँलाई ?
बिमा गर्दा के कुरा बुझ्न जरुरी छ भने, एउटा मात्रै प्रिमियम तिरेर अनि तिरेन भने त्यो सबै प्रिमियम नै सकिन्छ, कम्पनीले लिन्छ । पहिले सानो–सानो बिमा ५० हजारदेखि १ लाखको बिमा हुन्थ्यो । भर्खर सुरु भएको थियो । मान्छे धेरै इन्ट्रस्टेड पनि हुँदैन थिए । त्यो बेला उक्त प्रिमियम गए पनि वास्ता हुँदैन थियो । अहिले १ करोडको एउटा पोलिसी लियो भने उसले प्रिमियम नै ८–१० लाख तिर्नुपर्छ । उसले अर्को वर्ष प्रिमियम तिर्न सकेन भने उसको त्यो प्रिमियम नै कम्पनीले लिन्छ । व्यवस्थापन खर्च, कमिसन र इन्सेन्टिभ कटाएर कम्पनीलाई २–४ लाख बच्छ होला । तर, बिमितको पैसा त गयो नि ।

तपाइँले भनेजस्तो टार्गेट मिट गर्ने र हाम्रो देशका बिमा बजार कसरी हुन्छ धेरै प्रिमियम देखाउने भयो । खर्च बढी भयो, व्यवस्थापन कम भयो भने प्रिमियम धेरै भए पनि नाफा कम हुन्छ । त्यसपछि बिमितको आकर्षण पनि कम हुन्छ । बिमा कम्पनी स्वस्थ भएमा नै बिमितलाई पनि रिटर्न दिन सक्छौँ ।

अहिले पनि हामीले पोलिसी डिजाइनको लागि भारतको भर पर्नुपर्छ । हामीले हाम्रो विभिन्न तथ्यांक त पठाउँछौँ होला तर यहाँको वस्तुस्थितिको बारेमा जानकारीबिना डिजाइन भएको बिमा पोलिसी माटो सुहाउँदो नभएर पनि  समस्या भएको हो ?
तपाईंको प्रश्नले मलाई २० वर्ष पुरानो कुरा याद आयो, जतिबेला म अडिटर थिएँ । त्यो बेला हामीले प्रोडक्ट प्राइसिङ गर्दाको मोडालिटी टेबलसमेत भारतको प्रयोग गरेका थियौँ । हामीसँग आफ्नो डेटा थिएन । हामी आजसम्म पनि दीर्घकालीन लगानी गर्न पाउने र उसले प्रोडक्स प्राइसिङ गर्न पाउने अवसर छैन ।

बिमा कम्पनीले १५–२० वर्षसम्मको पोलिसी बिक्री गर्नेर १५ वर्षपछिको ब्याज कहाँ जान्छ भन्ने थाहा नहुने, लगानीको लागि बैंकको मुद्दती निक्षेपमा फोकस गर्ने र त्यो मुद्दतीको ब्याजदर ५, ७, १० र कहिले १२ प्रतिशत हुने अवस्था छ । यो सब हुँदा टेक्निकल सपोर्ट भारतबाट लिने अवस्था तियो । त्यति बेला भारतबाट ब्रोकर कम्पनीमा मान्छे आएर प्रोडक्स डिजाइन गर्ने, सबै कम्पनीमा एउटै प्रोडक्ट दिने र त्यो सबै प्रोडक्स भारतबाट कपी गर्ने र साधारण प्रोडक्ट ल्याउने । हाम्रो बानी त्यसरी विकास भयो र त्यसको लिगेसी अहिलेसम्म आयो ।

एउटै एजेन्टले ५–७ वटा कम्पनीको लागि काम गर्ने र कुनै राम्रो प्रोडक्ट आयो भने फलानो कम्पनीको त्यस्तो राम्रो प्रोडक्ट छ, त्यति धेरै बिकिरहेको छ, हामीलाई पनि त्यस्तै प्रोडक्ट यति पैसा घटाएर ल्याऊ भन्ने अनि त्यही प्रोडक्ट ल्याएर सबैले समान प्रोडक्ट बिक्री गर्ने अवस्था भयो । आफैँ इनोभेसन गरेर नयाँ प्रोडक्ट ल्याउने भन्ने छैन । हाम्रोमा बिमा गर्नेले नाम परिवर्तन गर्दा समेत समस्या भोगेको उदाहारण छन् ।

भनेपछि हामीले बिमालाई समयानुकूल बनाउन सकेनौँ ?
बनाउन सकेनौँ भन्दा पनि बनाउनुपर्छ भन्ने हो । अहिले धेरै परिवर्तन भएको छ । अहिले नाम परिवर्तन गर्दा बिमितले दुःख पाउँदैन । ट्रम चेन्ज गर्न सक्ने, नयाँ किसिमका प्रोडक्ट ल्याउन सक्ने, स्वास्थ्य बिमामा हामी जान सकेका छैनौँ । अहिलेको आवश्यकता स्वास्थ्य बिमाको छ । हामी पुनर्बिमाको कुर गर्छौँ । तर, मेडिकल लाइनमा कति पैसा बाहिर गएको छ, लेखाजोखा हुन सकेको छैन । लघुबिमामा अनिवार्यको कुरा राख्यौँ । तर, मान्छे जरिवाना तिर्न तयार हुन्छ, बिमा गर्न चाँहदैन । भविष्यमा मान्छेको अर्निङ क्यापासिटी बढाउन अहिलेबाट नै प्लान गर्नुपर्छ । त्यसको लागि बिमा पनि एउटा माध्यम हो ।

बिमामा राम्रो पेनसन प्लान नहुनुको कराण इन्भेस्टमेन्ट अपरचुनिटी नहुनु हो जस्तो लाग्छ । अहिले पनि बिमाको लागि १५ वर्षे अथवा २० वर्षे बन्ड आयो भने पक्कै पनि पेन्सन आउँछ । तर, त्यो बन्ड बैंकसँग प्रतिस्पर्धा गरेर हैन बिमाको लागि मात्रै चाहिन्छ । नयाँ अवधारणा विकास गर्न अथवा नयाँ प्लान पाउन त्योसँग रिलेटेड बिमा कम्पनीले पाउने अवसर छ, त्यो पनि हेर्न जरुरी छ ।

पछिल्लो समय एकसाथ १० वटा नयाँ बिमा कम्पनीको बजार प्रवेशले बिमाको पहुँच त विस्तार भएजस्तो देखिन्छ । साथै, बिमामा अस्वस्थ प्रतिस्पर्धाले गर्दा बिमाको विश्वासनीयता झनै घट्ने हो कि जस्तो देखिन्छ नि ?
यसमा म नितान्त मेरो व्यक्तिगत विचार भन्छु । खुला अर्थतन्त्रमा रोक अथवा प्रतिबन्ध हुनु हुँदैन । किन हुँदैन भने, भारतजस्तो ठूलो देशमा आज बिमा कम्पनीको निश्चित पुँजी, मापदण्ड र अप्रेसनमा गएपछि सर्भिस दिने बलियो प्रावधान छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनपूर्व पुर्याउनुपर्ने निश्चित कन्डिसन रहेको छ । र, लाइसेन्स ओपन छ । तर पनि लाइसेन्स लिन कोही गएको छैन । लाइसेन्स लिँदैमा आजको भोलि मैले कमाइहाल्छु भन्ने हैन । बिमा गर्नुपर्छ र बिमाको दीर्घकालीन सेवा दिएपछि बल्ल मैले यसबाट कमाइ गर्ने हो ।

हाम्रोमा पछिल्लो समय बिमा क्षेत्रको लागि राम्रो थियो । पुँजीबजारमा बिमा कम्पनीको सेयर १००–२०० मा पनि किने मान्छे पाइँदैन थियो । तर, मैले काम गरेको कम्पनीको मूल्य नै ५,६०० सम्म पुग्यो । बिमा कम्पनीको रिटर्न पनि राम्रो थियो । त्यो रिटर्न सेयरहोल्डरको लागि मात्रै हैन, बिमितको लागि पनि राम्रो थियो ।

कुनै चिज बन्द भयो, कसरी लिऊँ र लिइसकेपछि कसरी चाँडै कमाऊँ भन्ने हुँदोरहेछ । जो व्यक्ति बिमामा लागेको छ, सबैलाई प्रेसर छ । ओभरनाइट रिटर्न मलाई लाग्दैन, कसैले पनि दिनसक्छ । संस्थाको स्वास्थ्यभन्दा पनि भोलिको दिनमा कसरी धेरै प्रिमियम संकलन गरेर जाने भन्नेमा हामी केन्द्रित छौँ । धेरैजसो सीईओ साथीहरु कसरी धेरै प्रिमियम संकलन गरेर जान्ने भन्नेमा केन्द्रित छौँ । यो प्रेसरमा सँगै जाऔँ भन्दा, तँभन्दा म के कम अथवा म कसरी अगाडि लाग्ने भन्ने वातावरण भयो ।

यसको निश्चित मापदण्डमा परिवर्तन हुन जरुरी छ । कम्पनीमा क्वालिटी बिजनेस कसरी गर्न सकिन्छ, त्यो ट्रेन्ड ल्याउन जरुरी छ । अहिले संस्थागत सुशासनको लागि सकारात्मक सन्देश बजारमा देखिइरहेको छ । जुन धेरै राम्रो छ ।

हामी हरेक फेजमा हरेक काम गर्दै गयौँ । सुरुमा बिमाको बीउ रोप्यौँ, त्यसपछि पेस पक्रियौँ होला । कुनै बेला निश्चित नीति बन्यो । त्यो गर्दै संख्या बढ्दै जाँदा खेलको नियम, कुनै खेल खेल खेल्दा त्यसमा डिसिप्लेन चाहिन्छ । यो पनि व्यवसाय हो । यहाँ मान्छेको पैसा अथवा जिन्दगीभरिको मिहिनेत लागेको छ, भोलि एउटा दुर्घटनाले समग्र देश, व्यक्ति र समाज सबैलाई समस्या पर्न सक्छ ।

त्यो नियम मान्न र बनाउनेको लागि जुन वातावरण चाहिएको थियो, त्यो वातावरण देखिँदै छ । यसले यो व्यवसायलाई सुरक्षित बनाउँछ ।

‘यनि हाउ बिजेनस ल्याऊँ’ भन्ने बाटोमा लाग्यो भने त्यसले एउटा पक्षलाई हैन, सबैलाई प्रभाव पर्छ । अहिलेको मुभ ठिक छ । सबै कम्पनीले राम्रो गदै छन् ।

बिमाको दायरा विस्तार गर्न र बिमाको विश्वसनीयता बढाउन नियामक र बिमा कम्पनीको कस्तो भूमिकाको आवश्यकता देख्नुहुन्छ ? 
कसको भूमिका के हुने भन्ने कुरा अलरेडी फाइन्ड भएको छ । हामीसँग ऐन त छ नि । बिमा समितिले नियमन गरिरहकै छ । बिमा कम्पनीले गर्न सक्ने काम यी हुन् भनेर तोकिएको छ र त्यहीअनुसार भइरहेको छ ।

अब रह्यो देखिएर वा नदेखिने गरी गर्न सक्ने कुराहरु । कम्प्लाइन्स, अथवा डिसिप्लेन्का इस्यु होलान् । बिमा गर्ने इथिक्स कतिको मानेर गरेका छौँ, ती कुराको मनिटर गर्न पनि जरुरी छ ।

कुनै पनि कर्मचारी कम्पनीमा आउँदा हसिलो मुहारले काम गर्ने वातावरण, उसले दबाबरहित वातावरणमा काम गर्न सक्नुपर्छ । उत्प्ररेणा सबैभन्दा ठूलो आवश्यकता हो । रङ बाटमा लाग्ने भनेको प्रेसरले हो । यहाँ कर्मचारीलाई मात्रै प्रेसर छैन, सीईओ, शाखा प्रबन्धकलाई पनि प्रेसर छ । एउटा व्यक्ति मात्रै हैन, सिस्टममा डिफल्ट हुँदै गएको छ । माटो सुहाउँदो मात्रै हैन, समय सुहाउँदो पोलिसीको पनि आवश्यकता देखिएको छ । कम्पनीभित्र पोलिसी लेभलमा बसेको व्यक्तिले त्यो सिस्टम र वातावरण बनाउनुपर्छ । कर्मचारीले सहज रुपमा काम गर्ने वातावरण होस् । जसले ओभरल सिस्टममा सुधार ल्याउँछ । नियामक निकाय समितिबाट त्यसको मनिटरिङ हुनुपर्छ र अहिले समितिले त्यो गरिरहेको छ । आगामी दिनमा अब यो विकृति समाधान हुन्छ हो ।

बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले संसद्मा रहेको छ । उक्त विधेयकले सम्बोधन गरे हुन्थ्यो भन्ने लागेको केही कुरा छैन ?
बिमा विधेयकको होमवर्क धेरै भयो । त्यसको समय यति भइसक्यो कि पुनः एकपटक छलफल गर्ने बेला भइसक्यो । तर, बिमा ऐन एकपटक आओस् । किनभने, त्यो हाम्रो गाइडलाइन हो । हाम्रोमा बिमा ऐन २०१९ र त्यसपछि फरक सर्कुलर छन् । ती सकुर्लर सबै परिस्थितिमा सबैलाई बराबर भएको छैन ।

एउटा मुख्य गाइडलाइन आवश्यक छ । ४९ सालमा बनाउँदा एउटा परिकल्पना गरिएको थियो । २०७७ सम्म आउँदा यति धेरै परिवर्तन भयो कि त्यो समय सुहाउँदो नहुन सक्छ । कतिपय कुरा समय सुहाउँदो बनाउन छलफल भएर परिवर्तन पनि हुँदै छ ।

अन्य देशमा बिमाको तेस्रो पक्ष सेवा प्रदायक हुन्छन् । जति बिमित बढ्दै जान्छ, त्यति सर्भिस बढ्दै जान्छ । सेवा दिनको लागि अर्गनाइज सेक्टर, बिमितको तर्फबाट कुरा गर्ने ऐजन्ट खै ? यी सबै ऐनमा आउने हो । यी सबैले बिमा व्यवसाय फस्टाउन मद्दत गर्छ । यसलाई एकपटक ल्याउन आवश्यक छ । ल्याएपछि संशोधन गर्ने, थप गर्ने ठाउँ रहन्छ ।

बिमा कम्पनीको लागि लगानी अवसर पनि दिनुपर्छ । पूर्वाधारणमा लगानी गर्ने भनेको छ, त्यसको लागि उपयुक्त पहिचान गर्न आवश्यक छ । बिमाको लगानी विश्वव्यापी रुपमा सुरक्षित लगानी गरौँ ।

सरकारले २५–३० वर्षको लागि विकास ऋणपत्र जारी गरोस्, त्यसमा बिमा कम्पनी खुसीसाथ लगानी गर्न तयार छन् । यस्ता कुरा ऐनले सम्बोधन गरोस् । बिमा कम्पनीलाई लगानी अवसर आवश्यक छ ।

बिमा विधेकमा नियमन शुल्क अहिलेको १ प्रशितबाट घटाएर ०.५ प्रतिशत बनाउने तर ग्रामीण बिमा प्रवद्र्धन भनेर थप एक प्रतिशत शुल्क लिने भनेको छ, यसले बिमा कम्पनी, पोलिसी होल्डर र सेयर होल्डरलाई कस्तो प्रभाव पर्ला ?
बिमा प्रवर्द्धन गर्नु राम्रो कुरा हो । पहिले पनि १ प्रतिशत नियमन शुल्कको उद्देश्य बिमा प्रवद्र्धन नै थियो । जुन हामीले १ प्रतिशत शुल्क तिरेका छौँ, त्यो बिमा कम्पनीले तिरेको हैन, बिमितले तिरेको हो । हामीले प्रोडक्ट प्राइसिङ गर्दा कहाँ के चार्ज तिरेको हुन्छ, त्यो समेत जोडेर तिरेको हुन्छ ।  त्यो पैसा बिमितले तिरेर कम्पनीमा आयो र कम्पनीबाट गयो । बिमाको अवार्नेसको लागि यो क्षेत्रमा हामी लगानी गर्छौँ भनेर गयो भने त्यसको नतिजा राम्रो आउँछ ।

बिमामा बिमितको प्रोटेक्सन फन्ड महत्वपूर्ण छ । जस्तै, लगानीकर्ताको प्रोटेक्सन फन्ड छ, बैंकमा निक्षेप राख्नेको प्रोटेक्सन फन्ड छ । तर, बिमा गर्ने बिमितको प्रोटेक्सन फन्ड अहिले पनि छैन । अहिले नै त्यसलाई विचार गरेर समावेश गर्न सक्यौँ भने त्यो स्वागतयोग्य कदम हुन्छ ।

गाउँ–गाउँमा अवार्नेस फैलाउन लघुुबिमाको पनि महत्व छ । यसलाई सकारात्मक रुपमा लैजान सकिन्छ । अवार्नेस बढाउन, प्रचार–प्रसार गर्न खर्च हुन्छ । तर, त्यसो गर्दा बिमितलाई मात्रै कति भार पार्ने, त्यसमा भने ध्यान दिन आवश्कय छ जस्तो लाग्छ ।

अघि पनि बिमा कम्पनीको सेयर मूल्यको कुरा आयो । बिमा कम्पनीले त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशित गर्छन् । तर, जीवन बिमा कम्पनीको त्रैमासिक विवरणले कम्पनीको वास्तविक अवस्था चित्रण गदैन । यस्तो बेला जीवन बिमा कम्पनीमा लगानीकर्ताले कसरी लगानी गर्ने ?
सेयर बजारको मेरो नलेजले के भन्छ भने सेयर भनेको डिमान्ड र सप्लाइ हो । र, यो सेन्टिमेन्टमा चल्छ । लाभांशको आधारमा हेर्दा हाम्रो देशमा मात्रै हैन, विदेशमा पनि मूल्य आम्दानी अनुपात १ हजार गुणाभन्दा बढी पनि छ । भविष्यको अपेक्षाको आधारमा पनि सेयर मूल्य तल–माथि हुन्छ ।

जीवन बिमामा एक्चुअरीको ठूलो रोल हुन्छ । बिमा कम्पनीले जति प्रिमियम ल्याउँछ, त्यो सबै आम्दानी त हैन । आएको प्रिमियममा खर्च कटाएर भविष्यमा गर्ने रिपेमेन्टको लागि आजैको दिनमा दायित्व प्रोभिजन गर्नुपर्छ । त्यो दायित्व प्रोभिजन गर्ने काम एक्चुअरीले गर्छ । एक्चुअरी भ्यालुएसनको काम हाम्रोमा वार्षिक रुपमा हुन्छ ।

हाम्रोमा ५–६ वर्षपहिलेसम्म त एक्चुअरी ३ वर्षमा हुन्थ्यो । त्यति बेला त वार्षिक विवरण आएर पनि सही सूचना नहुने अवस्था थियो । मैले नेपालमा काम सुरु गर्दा १० वर्षको भइसकेको थियो । कम्पनी १० वर्षको हुँदा पनि सेयर मूल्य ६–७ सय थियो । लगानीकर्तालाई पनि बिमा कम्पनी भनेको लाभांश बाँड्दैनन् भन्ने फिलिङ थियो । किनभने, प्रतिफल आउने समय लाग्ने प्रकृतिको व्यवसाय हो नि । तर, त्यसपछि जब लाभांश घोषणा हुँदै गयो, मूल्य पनि बढ्दै गयो । लाभांश आउन लागेपछि लगानीकर्तालाई के लाग्यो भने लाभांश नबाँडुन्जेल कम रहेछ, बाँड्न लागेपछि धेरै पो बाँड्दो रहेछ भनेर विश्वासको लेभल बढ्दै गयो ।

धेरैजसो जीवन बिमा कम्पनीले राम्रो व्यवसाय गर्दै गए र राम्रै लाभांश बाँड्दै गएको अवस्था छ । वार्षिक वित्तीय विवरण त ठिक भयो तर यहाँ त्रैमासिक विवरण प्रकाशित गर्नुपर्ने छ ।

त्रैमासिक विवरणममा एक्चुअरी भ्यालुएसन भएको हुँदैन, त्यहाँ इन्भेस्टमेन्ट आम्दानीको मात्रै मुनाफा आएको हुन्छ । जुन कम्पनीको व्यवसाय बढ्दै जान्छ, त्यसको मेजर आम्दानी जीवन बिमा कोषमा जान्छ । इन्भेस्टमेन्ट आम्दानी सेयर क्यापिटल र जीवन बिमा कोषको रेसियोमा निकालिन्छ । जब जीवन बिमा कोषको साइज बढ्दै जान्छ, रेसियो परिवर्तन हुुँदै जान्छ ।

नयाँ कम्पनी आउँदा व्यवसाय धेरै गरेको थिएन । तर, उसको नाफा राम्रो देखिएको थियो । जीवन बिमा कोष धेरै भएको कम्पनीमा मूल्य आम्दानी एक्चुअरी भ्यालुएसनबाट आउँछ, जुन ब्यालेन्स सिटमा लेखाजोखा हुँदैन । अहिले एक वर्ष लगाएर हुँदै आएको एक्चुअरी भ्यालुएसनलाई एउटा औजारको विकास गरेर त्रैमासिक रुपमा नै वास्तविक विवरण प्रकाशित गर्न आवश्यक देखिन्छ ।

बैंकहरुले पनि लोन लस प्रोभिजन गरेर त्रैमासिक रुपमा नै मुनाफाको विवरण प्रकाशित गर्छन् । बिमामा पनि एक्चुअरी प्रोभिजन अथवा अन्य कुनै व्यवस्था गरेर गर्न सकिन्छ ।

अन्त्यमा, विवेक झा बिमा क्षेत्रको चिरपरिचित नाम, अब यहाँबाट नेपाली बिमा क्षेत्रले थप योगदानको अपेक्षा गर्न सक्छ कि सक्दैन ?
चार्टर्ड एकाउन्टेन्सी सकेपछि मैले जब काम गर्न सुरु गरेँ, करिब ८ वर्ष अडिट गरेर बिताएँ । त्यपछि २ वर्ष बैंकमा र १० वर्ष बिमा क्षेत्रलाई दिएँ । अडिट गर्दा पनि ३–४ वर्ष बिमा क्षेत्रको लागि नै दिएको थिएँ । त्यसैले बिमा मेरो रगतमा नै घुलिसकेको छ । सायद, म बिमाभन्दा टाढा हुन्नँ । फरक दृष्टिकोणबाट यसमा आबद्ध हुन्छु होला ।

बिमा क्षेत्रमा ६ महिनाको कुलिङ पिरियड थियो । कोभिडले पनि प्रभाव पारेको अवस्था थियो । १० वर्ष निरन्तर काम गरेपछि केही समय आराम गर्न र केही नयाँ कुरा पढ्न र सिक्न जरुरी छ भन्ने हिसाबले म अहिले लागिरेहको छु । अहिले नै म यही रुपमा हुन्छु भन्ने हिसाबले भन्ने बेला भएको छैन । यसको साथै म अन्य केही काम पनि गर्दै छु । केही इन्भेस्टमेन्ट र कृषिमा, स्वास्थ्य बिमाको क्षेत्रमा पनि लागेको छु । जुन क्षेत्रमा लागे पनि कुनै न कुनै रुपमा बिमासँग टाइअप हुन्छ । यो आर्थिक वर्षको अन्त्यसम्म कुनै न कुनै सोच अथवा कुनै रुपमा सेवा गरौँ भन्ने सोच बनाउँदै छु । क्षेत्र कुन हुन्छ र कसरी हुन्छ भन्ने कुरा निर्णय गरिसकेको छैन ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्