(मैथिली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील व्यक्तित्व रामभरोस कापडी भ्रमर पत्रकारितासँग पनि जोडिएका व्यक्ति हुन् । मैथिली साहित्यमा विभिन्न पुस्तकहरूको प्रकाशन गरिसकेका भ्रमर कुनै समय नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद सदस्य थिए । साझा प्रकाशनको अध्यक्षसमेत रहिसकेका साहित्यकार रामभरोस कापडीसँग जनकपुरस्थित जानकी मन्दिर परिसरमा भेट हुँदा जनकपुरमा भइरहेको साहित्य महोत्सवको अन्तिम दिनमा साहित्यका विभिन्न विषयमा उनीसँग कुराकानी भए । प्रस्तुत छ साहित्यकार भ्रमरसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको अंश ।)
जनकपुर साहित्य महोत्सवले यस क्षेत्रको समग्र साहित्यलाई कतिको योगदान दिन सकेको देख्नुहुन्छ ?
यो महोत्सवको उद्देश्य महत्त्वपूर्ण थियो । यो आफैंमा राम्रो काम हो । साथीभाइले जुन कार्यक्रम गर्नुभयो, त्यसको प्रशंसा गर्नु नै पर्छ । तर जुन रूपमा साहित्यका कुरा हुनुपर्थ्यो, त्यो भएको देखिएन ।
गत वर्ष नेपाली साहित्य महोत्सवका नाममा सम्पन्न भएको थियो भने यसपटक जनकपुर साहित्य महोत्सवका रूपमा सम्पन्न भएको छ । नेपाली साहित्य महोत्सवका बखत स्थानीय भाषा, साहित्य, संस्कृतिहरूका लागि प्रशस्त अवसर थियो । तर यसपटक भने विषयहरू अन्यत्र क्षेत्रतर्फ मोडिएको मैले महसुस गरेँ । भाषा साहित्यतर्फ एउटा मात्रै सेसन राखिएको पाइयो । बाँकी अन्य विधा र विषयहरूमा बाँडियो । मलाई लाग्छ हामीले समग्र नेपालको साहित्य हेर्नुपर्ने हो । किनभने जुन ठाउँमा हामी महोत्सव गर्दै छौँ त्यो ठाउँमा समग्र नेपालका साहित्यलाई प्रतिनिधित्व गर्नेखालका विचारहरू आउनुपर्ने हो । नेपालभरि लेखिएका नेपाली साहित्य हुन् वा अन्य भाषामा लेखिएका साहित्य, त्यहाँ के लेखिँदै आइएको छ ? के प्रकाशन हुँदै आएको छ ? त्यसको अवस्था के छ ? महोत्सवमा यो अवस्था बुझ्ने परिस्थिति सिर्जना हुनुपथ्र्यो ।
अर्को कुरो के भने, यो क्षेत्र भनेको मैथिली र भोजपुरीको क्षेत्र हो । पूर्वतिर मैथिली बोलिन्छ भने पश्चिम तिर भोजपुरी बोलिन्छ । अर्थात् यस क्षेत्रको प्रमुख भाषा नै यही हो । त्यसैले यो भाषा साहित्यका क्षेत्रमा के कस्ता काम भइरहेका छन् ? के–के लेखिँदै छ ? साहित्यकारहरूले के लेखिरहेका छन् । तिनको लेखनको विशेषता के हो ? प्रकाशनको अवस्था के कस्तो रहेको छ ? कथा, कविता, उपन्यास, नियात्रा, निबन्ध लेखनको अवस्था के छ ? तिनका समस्या के के हुन् ? यी यावत् विषयबारे जानकारी दिन सकेको भए अझै राम्रो इनपुट आउँथ्यो ।
तर पनि साहित्यिक वृत्तका लागि उपलब्धिपूर्ण त भयो नै होला ?
जनकपुर क्षेत्रको विकासमा यस महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको निश्चित हो । यस क्षेत्रको सांस्कृतिक महत्त्वलगायत यावत् विषयमा केही न केही लेखिन्छ नै । सबै लेख्ने साथीहरू नै छन् । लेख्छन् नै । र त्यसले यो क्षेत्रको पर्यटकीय विकासका साथै साहित्यिक तथा सांस्कृतिक विकासमा सहयोग पुग्छ नै । त्यसमा कुनै शंका रहेन । यसलाई उपलब्धि नै मान्दछु । सामान्य त्रुटि वा केही तलमाथि हुनु त स्वाभाविक नै हो ।
केही कमी–कमजोरी त भैहाल्छ नि !
यहाँको महोत्सवमा समयको ख्याल गरेको मैले पाइनँ । समय महत्त्वपूर्ण हुन्छ, यस्ता कार्यक्रमहरूमा । यदि समय व्यवस्थापनमा ध्यान दिन सकेको भए अझै भिड बढ्ने थियो दर्शक स्रोताको । मैले यस विषयमा दिलभूषणजीलाई भनेको पनि थिएँ ।
हामी सुरुवातमै छौँ । सिक्दै छौँ !
मैले नराम्रो भनेको होइन । तर समयका विषयमा भने हामीले ख्याल राख्नु नै पर्र्छ । पोहोरको महोत्सवमा यस किसिमको समस्या देखिएको थिएन । तथापि, यसपटकको महोत्सव राम्रो र लाभकारी भएको मैले महसुस गरेँ । केही प्यानल डिस्कसन राम्रो थियो । एकदमै जानकारीमूलक । तर स्थानीयस्तरको भाषा साहित्यका विषयलाई लिएर बुझ्नुपर्ने प्यानल डिस्कसन भएन । यहाँको भाषा, साहित्य, संस्कृतिका विषयमा बृहत् छललफल हुनेगरी एक–दुई प्यानल डिस्कसन राखिदिएको भए धेरै राम्रो हुने थियो ।
मैथिली मिठास शीर्षकमा हिजो कार्यक्रम भएको थियो । कार्यक्रममा राम्रो छलफल भयो । राम्रो विश्लेषण भएको मैले अनुभव गरे । त्यसले यहाँका साहित्यकार र लेखकहरूलाई ऊर्जा नै मिल्छ । यहाँका लेखकहरूलाई अगाडि बढ्न मद्दत गर्छ ।
एउटा कुरो भनौँ, यहाँका साहित्यकार साथीहरूले मलाई भने, कापडीजी, हामीलाई खबर भएन । कसरी कार्यक्रममा जाऊँ । मैले उहाँहरूलाई भनेँ पनि यस्ता महोत्सवमा निम्त्याउने भनेको प्यानलिस्टलाई मात्र हो । बाँकी भनेको स्वतस्फूर्त रूपमा सहभागी हुने हो । महोत्सवमा बाँडिने ज्ञान ग्रहण गर्ने हो । यस्ता महोत्सवमा हुने प्यानल डिस्कसन मेरो साहित्यिक खुराक हो र यो खुराकबाट मैले केही पाउन सक्छु भन्ने सोचका साथ सहभागीहरू आउन सक्नुपर्छ भन्ने मलाई लाग्छ ।
घाटा त साहित्य⁄कलातर्फ अनुराग राख्नेलाई नै भयो !
पक्कै पनि । तर यस्ता कार्यक्रमहरूबाट आयोजकले पनि प्रतिफल लिनुपर्छ । प्रतिफल त सबैले पाउनुपर्यो नि ! यहाँको साहित्यिक धरतीमा के–के उब्जिरहेको छ, उपन्यास⁄कथा⁄निबन्धहरू कस्ता आइरहेका छन्, साहित्यका विभिन्न आयामहरूको विषयमा चर्चा हुनसक्थ्यो नि । फिल्मका विषयमा अघि चर्चा भइरहेको थियो । त्यहाँ कुरो के चलेको थियो भने उपन्यासमा फिल्म बन्ने परम्परा हरायो । तर उहाँहरूले यहाँको भूमिमा पनि उपन्यासहरू छ भनेर हेर्नुभएन । मेरै उपन्यास ‘घरमुहा’ जुन मधेसको पृष्ठभूमिमा लेखिएको छ । त्यो उपन्यासमा समन्वयको कुरा उल्लेख छ । तिमी भाग्न पाउँदैनौं । तिमी यहीँ बस्नुपर्छ भन्ने सन्देश त्यो उपन्यासले दिएको छ । यस्ता कथाहरू त फिल्म बनाउनेहरूले खोज्नुपर्यो नि ! र, त्यो खोज्नलाई यस्ता महोत्सवहरूमा बृहत् मन्थन हुनुपर्छ । कुरा उठनुपर्छ । चर्चा भइदिएको भए यहाँका कथा उपन्यासबारे पनि धेरैले थाहा पाउने थिए ।
मेरो भनाइ हो, यहाँबाट धेरै सामग्री पाइने थियो । यहाँका साहित्यका मर्मज्ञले पनि धेरै कुराहरू महोत्सवबाट प्राप्त गर्ने थिए । दुवैतर्फ लाभ नै लाभ हुन्थ्यो ।
मैथिली भाषा साहित्यका के कति कुरा बाहिर आए ?
मलाई लाग्छ, कार्यक्रम बनाउँदा आयोजकले यहाँका विषयहरूमा छलफल गरेको भए यहाँको माटोका धरै सुगन्धहरू महोत्सवमा देखिने थियो । त्यसो भएको भए यहाँको साहित्य, संस्कृति र भाषाबारे अझ धेरै कुरा बाहिर आउने थियो । र, एउटा निष्कर्ष पनि निस्किने थियो ।
अघिल्लो वर्षको महोत्सवमा भुपेन्द्रजीले मैथिली भाषा साहित्य कमजोर भएको कुरा उठाउँदै आफूहरू जनकपुर आउनुपरेको बताउनुभएको थियो । मैले त्यसैबेला प्रतिवाद गरेँ, तपाईं गलत भन्दै हुनुहुन्छ । मैथिली भाषा कमजोर छैन । अप्ठ्यारो यति मात्र हो कि हामी आपसमा अन्तर्क्रिया गर्न पाइरहेका छैनाैँ । हामी अनुवादमा कमजोर छौँ ।
म प्रज्ञामा हुँदा नै मैथिली साहित्यको इतिहास अनुवाद भएर प्रकाशित छ । त्यो एकचोटि पढेर यहाँको कार्यक्रममा आइदिएको भए त्यस किसिमको कुरो उठ्ने अवस्था रहन्थेन ।
हामी जहाँ जुन ठाउँमा गएर साहित्यिक महोत्सव गर्छौं, त्यहाँको परिवेश बुझ्नुपर्छ । त्यही परिवेशलाई हामीले साहित्यमा उमार्नुपर्ने हो । त्यही परिवेशको सुगन्धलाई हामीले कसरी बाहिर ल्याउने र त्यसलाई कसरी प्रसारित गर्ने भन्ने विषयमा हामीले सोच्नुपर्छ । हामी सारा देश घुमिरहेका छौँ । हामीसँग सारा साहित्यकार छन्, स्रष्टा छन्, प्रकाशक छन्, साहित्यप्रेमी छन् । यहाँको महोत्सवले यहाँकै साहित्यिक सुगन्धलाई सबैतिर प्रसारित गर्ने थियो ।
यस किसिमको कमजोरी किन त ? किन मैथिलीका पुस्तक हामीजस्ता पाठकले पढ्ने वातावरण बनिरहेको छैन ? नेपाली पुस्तक मिथिला वा भोजपुरीभाषीहरूले पढ्ने वातावरण बनिरहेको छैन ?
यो वातावरणको विकास हुन सकेको छैन । यो अभियानमा म अहिले लागिरहेको छु । भएको भाषालाई आधार मानेर मात्रै पनि भाषाको विकास गर्न सकिँदैन । त्यसलाई अत्यधिक बोल्ने भाषाभाषीका बीचमा पनि लैजान सक्नुपर्छ । यहाँका कृति वा उताका कृतिहरूलाई अनुवाद गराएर धेरै पाठकका बीचमा लान सकिने हो । अनुवादका लागि राम्राराम्रा कथा संग्रहहरू पिकअप गर्न सकिन्छ । उपन्यासहरू पनि छन् । त्यसको अनुवाद गराउन सकिन्छ । जस्तो, मेरो उपन्यास ‘घरमुहा’ भोजपुरी र हिन्दी भाषामा अनुवाद भइसकेको छ । तर नेपालीमा हुन सकेको छैन । त्यसलाई नेपालीमा अनुवाद गरिदिनुस् भनेर मैले प्रज्ञामा भनेको पनि छु । यदि त्यो र त्यस्ता उपन्यास वा अन्य कृति नेपालीमा अनुवाद भइदिने हो भने त्यसले ठूलो पाठकसमूह पाउँछ ।
एकेडेमी पनि कमजोरी हो त ?
पक्कै हो । एकेडेमीलाई मैले घचघच्याइरहेको छु । तर उहाँहरूले गरिरहनुभएको छैन । यो नेपाली भाषामा आएदेखि धेरैले पढ्न पाउनुहुन्थ्यो भन्ने मलाई लाग्छ । हो, यस्ता साहित्यिक महोत्सवहरूले पनि यस्ता विषयमा छलफल र समीक्षा गरेर, एउटा निष्कर्ष निकालेर बाटो देखाइदिन सक्थ्यो । यसले मैथिलीका राम्रा–राम्रा किताब नेपाली भाषालगायत अन्य भाषामा र नेपाली तथा अन्य भाषाका राम्रा राम्रा किताब मैथिली भाषामा आउने थियो, अनुवाद हुँदै ।
तपाईं आफैं पनि त प्रज्ञा प्रतिष्ठानमा हुनुहुन्थ्यो ?
मैले मेरो बुताले भ्याएसम्मको काम गरेको छु । म साझा प्रकाशनको अध्यक्ष हुँदा पनि केही काम गरेको थिएँ । मैले साझामा हुँदा पनि मैथिली भाषाको पुस्तकबारे कुरो उठाएको थिएँ साथीभाइसँग । हामीले मैथिली बालकथाको प्रकाशन नै गरेका थियौँ ।
पछि म प्रज्ञामा गएँ । त्यहाँ मैथिली विभाग त थिएन । प्रज्ञामा रहँदा मैले संस्कृतिका क्षेत्रमा केही काम गरेँ । संस्कृति विभागमा रहँदा नै मैले यस क्षेत्रको लोकसंस्कृतिमा केही काम गर्ने प्रयास गरेँ । सलहेस र दिनाभद्रीका विषयहरूमा गोष्ठी नै गराएँ । आँगन मैथिली पत्रिका पनि प्रकाशित गरिएको थियो ।
मधेसकै भावभूमिका कथा लेख्ने केही साहित्यकार मधेसमै अपरिचित छन् । जस्तो मनु ब्राजाकी, इश्माली । यस्तो किन भइरहेको छ ?
मूलतः मैथिली भाषामा प्रकाशकको अभाव छ । छाप्ने मानिस छैनन् । मैथिलीको साहित्यमा धेरै कठिनाइ छ । यस्तो अवस्थामा धेरै लेखक हराउने सम्भावना रहेको देखिन्छ । हेरौँ, केही न केही त होला ।
अहिले त प्रदेश सरकार छ ?
हामी भाषा साहित्य प्रतिष्ठानका लागि प्रदेश सरकारलाई घचघच्याइरहेका छौँ । केही होला भन्ने आशा छ । तर एउटा कुरो के हो भने राजकीय प्रज्ञा प्रतिष्ठानको गठन नभइ दिएको भए आज प्रज्ञा प्रतिष्ठान नै हुने थिएन ! राजनीतिकर्मीहरूले भाषा साहित्यलाई त्यति महत्त्व दिँदैनन् । दिए पनि अन्तिम अवस्थामा मात्रै ।
यदि प्रदेशबाट त्यो सम्भव भयो भने मैथिली, भोजपुरी, अवधिको समस्या समाधान भएर जान्छ । यसैले नेपाली साहित्यलाई समृद्ध तुल्याउँछ ।