site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुन अवस्थामा बन्नसक्छ कांग्रेसको नेतृत्वमा सरकार ? 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि सुरु भएको सत्ता गठबन्धनको बहसमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि ‘ब्रेक’ लागेको छ । शनिबारसम्म सत्ता गठबन्धनका लागि बहस गरिरहेको नेकपाको बहुमत पक्ष आइतबारको फैसलापछि क्षतविच्छेद भएको छ । अनि, करिब दलविहीन अवस्थामा पुग्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली तीन वर्षअघिको निर्वाचनबाट आएको सग्लो एमालेको अध्यक्षसँगै संसद्को प्रमुख दलको नेता भएका छन् ।

नेकपाको बहुमत पक्षले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिशंकु संसद्को दोस्रो ठूलो पार्टीका नेता सीमित भएका छन् । तर, उनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र तत्काल प्रधानमन्त्री बनाउने अवस्थामा अर्को शक्ति देखिएको छैन ।

“हामीलाई जनताले मतमार्फत दिएको म्यान्डेट प्रतिपक्षको हो,” यही फागुन २० गते पदाधिकारी र पूर्वपदाधिकारी बैठकको निर्णय जानकारी गराउँदै प्रवक्ता विश्वप्रका शर्माले भनेका थिए, “तर, प्रधानमन्त्री पदले यति बेला कांग्रेसको ढोका ढकढकाइरहेको छ । हामीले ढोका खोलेका छैनौँ, झ्यालबाट हेरिरहेका छौँ ।”

Agni Group

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर सुरु भएको नेकपाको विवाद सर्वोच्चले यही फागुन ११ गते पुनःस्थापित गरिदिँदासम्म चरमोत्कर्षमा पुगेको थियो । नेकपाको प्रचण्ड–नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री स्वीकार नगर्ने अनि ओली पक्षले प्रचण्ड वा माधव नेपाललाई पनि स्वीकार गर्ने अवस्था थिएन । त्यसैले त्यति बेला कांग्रेसलाई दुवैतर्फबाट सरकारको नेतृत्व गर्न र सत्तासाझेदारी गर्न प्रस्ताव आई नै रहेका थिए । त्यसैले कांग्रेस सत्ताको नेतृत्व गर्ने कुरामा करिब सुनिश्चित बनेर बसेको थियो ।

“हामी इन्ज्योरी टाइममा गछौैँ । तर, परिपक्व निर्णयमार्फत गोल गर्छौँ,” प्रवक्ता शर्माले कांग्रेसलाई आएको प्रस्ताव र अन्य राजनीतिक दलसँगको छलफलबाट पाएको सुनिश्चितताको अभिव्यक्ति सार्वजनिक गरेका थिए । तर, फागुन २४ गते आएको सर्वोच्चको अर्को फैसलाले राजनीतिक अंकगणितको स्वरुपमै बदलाव ल्याइदिएको छ । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्चले तीन वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको एकता नै भंग हुने गरी फैसला गरेको छ । जसको प्रभाव सत्ता गठबन्धनमा परेको छ ।

Global Ime bank

अब कांग्रेस विगतको सुनिश्चित सत्ताबाट अनिश्चिततातर्फको राजनीतिक यात्रामा पुगेको छ । अब ऊ सत्ताका विषयमा भन्दा ‘अर्ली इलेक्सन’को पक्षमा देखिएको छ । त्यसैले यही संसद्मा सामान्य अवस्थामा सत्ता नआउने बुझाइमा कांग्रेस पुगेको छ ।

कांग्रेस नेता प्रदीप पौडेलको बुझाइमा ओलीले धेरै ठूलो जोखिम र कष्ट उठाएर आफूलाई सुरक्षित गरेका छन् । त्यसैले उनी अरुलाई जे दिएर भए पनि सत्ता जोगाउन चाहन्छन् । त्यसैले कांग्रेसको भागमा यसपटकलाई सत्ताको नेतृत्व कठिन र करिब असम्भवजस्तै बनेको छ । त्यसैले कांग्रेसले सत्ताको बाटोमा हिँड्ने काम गर्नु हुँदैन र सभापति शेरबहादुर देउवाले पनि त्यो बाटो छोडिसकेका छन् ।

“यति धेरै जोखिम र कष्टबाट जोगिएपछि ओलीले जुनसुकै हालतमा आफ्नो सत्ता जोगाउन लाग्नेछन्, त्यसैले अरुले सत्तातर्फ नहेर्दा पनि हुने अवस्था छ,” पौडेलले भने, “अब संसद्मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ, त्यसका अध्यक्ष केपी ओली हुन् र उनले जसपालाई ल्याएर आफ्नो सत्तालाई निरन्तरता दिनेछन् ।”

दुईवटा अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार 
कांग्रेसलाई सत्ताको नेतृत्व गर्ने प्रस्ताव आइरहँदा संस्थापन पक्ष नेतृत्व लिने गृहकार्यमा थियो भने संस्थापनइतरले म्यान्डेटविपरीत कांग्रेस सरकारमा जानु नहुने तर्क गरिरहेको थियो । सत्ता राजनीतिको बहमा गलिसकेपछि पनि संस्थापनइतरले वर्तमान प्रधानमन्त्री ओलीसँग सत्ता गठबन्धन गर्न नहुने तर्क गरेको थियो भने संस्थापनले आफ्नो नेतृत्व हुने अवस्थामा जो कसैसँग पनि गठबन्धन हुनसक्ने बताएको थियो र ओलीसँगको गठबन्धन सहज र नेकपालाई कमजोर बनाउन उपयोगी हुनसक्छ भन्ने बुझाइमा संस्थापन थियो । तर, अहिले अवस्थामा ३६० डिग्रीको बदलाव आएको छ ।

कांग्रेसको संस्थापन नै ओलीसँग अर्थात सर्वोच्चको फैसलापछिको नेकपा एमालेसँग सहकार्य हुन नसक्ने निष्कर्षमा पुगेको छ । कांग्रेस संस्थापनतर्फका नेता एनपी साउदका अनुसार सामान्य अवस्थामा अब कांग्रेस र एमालेको गठबन्धनमा सरकार बन्ने अवस्था छैन ।

“नेपाली कांग्रेस र नेकपा एमाले स्थायी प्रतिस्पर्धी हुन् । यी दुई शक्तिकै बीचमा सामान्य अवस्थामा गठबन्धन हुँदैन,” साउदले भने, “त्यसैले सरकार नै चलाउनका लागि एमालेसँग मिलेर कांग्रेसले सरकार बनाउँदैन ।” उनले केही निश्चित परिस्थितिमा भने एमालेसँग सहकार्य हुनसक्ने बताए ।

‘अर्ली इलेक्सन’का लागि हुनसक्छ एमालेसँग गठबन्धन 
नेकपा एमालेसहितको सरकार ‘अर्ली इलेक्सन’का लागि भने हुनसक्ने साउदको भनाइ छ । “अर्ली इलेक्सनमा जाने सहमति भयो भने निर्वाचनकै लागि सर्वदलीय सरकार बन्नसक्छ,” साउदले भने, “त्यस्तो अवस्थामा एमालेकै नेतृत्वमा सर्वदलीय सरकार वा कांग्रेसको नेतृत्वमा सर्वदलीय सरकार बन्नसक्छ ।” उनले निर्वाचन प्रयोजका लागि बन्ने सर्वदलीय सरकार कांग्रेस वा एमाले मात्र नभएर अरु दलको नेतृत्वमा पनि बन्नसक्ने बताए ।

‘एमालेबाहेकको गठबन्धन भए कांग्रेसले नेतृत्व गर्छ’ 
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले जनमतको सम्मान नगरेको प्रश्न स्वयं नेकपा एमालेभित्रैबाट उठेको थियो । एमालेका थुप्रै नेताहरु त नेकपा प्रचण्ड–नेपाल समूह बनाएर ओलीविरुद्ध अभियानमा निस्किएका थिए । अहिले सर्वोच्चको आदेशबाट नेकपा विघटित भएर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि ओलीविरुद्धको भावना जागृत छ । त्यही कारण एमालेबाहेकको गठबन्धनको सम्भावना देख्छन् कांग्रेस नेता साउद ।

“प्रधानमन्त्रीबाट भएको जनादेशको अपमानको विरुद्धमा एमालेबाहेकको गठबन्धन भयो भने स्वाभाविक रूपमा संसद्को दोस्रो पार्टीको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बन्नसक्छ,” साउदले भने, “एमालेबाहेककै गठबन्धन बन्ने अवस्था आयो भने कांग्रेसले पनि नेतृत्व स्वीकार गर्दै सरकार बनाउन पहल गर्न सक्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC