
जोवन फूल–ओरिल्लो
इष्र्याका गह्रौं भारीहरू
आँखिडाहीले पोलेका मनहरू
सप्पैसप्पै
फालेर आएपछि
छेकेर बसेपछि
यो सिद्धिको डाँडा
मेन्छ्यायेममा
यतिबेला
हामी रमिएका छौं
फुङ्वाचाङ्मा गर्दै छौं
–ओरिल्लो
सावायेत्हाङ गाउँबाट
नहराई सातो नबिराई बाटो
आइपुगेका छौं
बोकेर जोवन फूलको कलश
सिद्धिको डाँडा
मेन्छ्यायेममा
फुङलेत्ती र फुङ्तिअन्नामा
रुँगेर बसिरहेका छन्
जोवन फूलका कलशहरूलाई
ओइलाउन नदिन
–ओरिल्लो
ए अब
माथि सिद्धिको डाँडा
मेन्छ्यायेममा
तानको धागो नचुडाई अझै तन्काएर फिजाउनु छ
शिरमाथि राखेर दियो कलश
मानव कल्याणको
समृद्धिका लागि
र, जोवन फूलको दियो कलशलाई
अरूको कुटील नजरबाट बचाउँदै
सुनाएर गीत
सेक्मुरी र अरूअरू फूलहरू जगाउनु छ
–ओरिल्लो
आठैदिशासम्म
फिजिएकोे फूलबारीमा
प्रतापले झल्झली चम्किएका
भद्र पुरुष र सुशील स्त्रीको प्रतिरूप
कोजाई फूल नियालेर खोज्नु छ
तुम फेदाङ्माको फूल
तितेपाती
तुम साम्बाको फूल
घुङ्रिङ र मुक्तो
तुम येवाको फूल
सुनाखरी फूल
सिद्धिको डाँडा मेन्छ्यायेममा
अरूअरू फूलसँग छुट्याउनु छ
–ओरिल्लो
जोवनफूल बाहेक
छुट्याएर अरू फूल
घाम डुब्ने दिशातिर फ्याँक्नु छ
प्रेतात्माको बुकीफूल
मृत शरीरमा चढाउने इधुकाङ फुङ
सोघा सुगुपले मनपराउने फूल
पशुत्वको बाबरी फूल
चेलीहरूले मनपराउने फूल
माइतीहरूले मनपराउने फूल
तन्नेरीले सजाउने फूल
तरुनीले सजाउने फूल
अलग अलग छुट्याउनु छ
–ओरिल्लो
जोवनको फूलबारीबाट
उछिट्टिएका फूलका बिरुवाहरू
खोज्दै सम्हाल्नु छ
शिरमा सजिने सुगन्धित मारोतीहरू
पहरामा लहरै फुल्ने लुङ्थाक्केहरू
बनै ढाक्ने चाँप र लालीगुराँसहरू
आफ्नो नामको फूलमा
आफैं झर्झरी फुलेको हेर्नुछ
सिद्धिको डाँडा
मेन्छ्यायेममा
माङ्गेना गरेर
अरू–अरूहरूका लागि पनि
प्रेम र विजयको जोवनफूल फुलाउनु छ
सोधुङ्गेन लेप्मुहाङलाई
यो खबर ढिलो नगरी
पुर्याउनु छ
–ओरिल्लो
...
(यो कविता वैरागी काइँलाद्वारा संकलित फुङ्वा चाःङ्मा (फूल फुलाएर शिर उठाउने) मुन्धुममा आधारित छ ।)
मेन्छ्यायेम : तेह्रथुम र ताप्लेजुङको बीचमा रहेको ऐतिहासिक स्थल । मुन्धुमअनुसार यो डाँडालाई सिद्धिस्थल मानिन्छ । जहाँ तरुनी–तन्नेरी भेला भएर हाँसखेल, मायाप्रीति गर्ने र एकापसमा शिर उठाउने गर्छन् ।
फुङ्वा चाङ्मा : वैंशालु युवायुवतीको शिर उठाउन गरिने मुन्धुमी अनुष्ठान, फूल फुलाउने विधि ।
सावायेत्हाङ : याक्थुङ लिम्बूको पुर्खाको गाउँ
फुङलेत्ती र फुङ्तिअन्नामा : फूलका रानीहरू, फूलको हेरचार गर्नेहरू
सेक्मुरी : मुन्धुममा यो सेल्लरी (सेक्मुरी) फूललाई मान्छेको प्रतीक मानिन्छ
कोजाई : लेकमा फुल्ने एकप्रकारको हाडे लसुनजस्तै फूल । यो फूललाई भद्र र सुशील स्त्रीको प्रतीक मानिन्छ
तुम फेदाङ्मा : वरिष्ठ शास्त्रज्ञाता
तुम साम्बा : वरिष्ठ विधिविधान ज्ञाता
घुङ्रिङ र मुक्तो : साम्बा येवाहरूले प्रयोग गर्ने वनस्पति
तुम येवा : विधिविधान र कर्मकाण्डका ज्ञाता
ओरिल्लो : हो है हो
इधुकाङ फुङ : मृतात्मालाई चढाउनेको फूल
लुङ्थाक्के : ढुङ पहरामा फुल्ने फूल
माङ्गेना : शिर उठाउने कार्य
सोधुङ्गेन लेप्मुहाङ : मुन्धुममा वर्णित प्रतापी राजा
० ० ०
फुङलामाए नियारा
आउ छेउमा
अम्लारी फुङका पातहरू ओच्छ्याएको छु
तिम्रा सुकोमल कुमारी तन बदन
बिझाउने छैनन् जंगली पत्करहरूले
अम्लारी फूलको बिस्तरा बनाएको छु
सेता कक्फेक्वा र राता थोक्फेक्वा फूलले
सजाएको छु आदिम बिस्तरा
आउ छेउमा
अब आदिम सम्भोग गरौं
हेर, मैले आज
मैना चरी र गोलसिमल चराको
प्वाँखले सिउरिएको रंगीन असाङ
शिरमा सजाएर आएको छु
तमोरको शिरदेखि पिपुधापसम्म
तिमै्र लागि पटकपटक धाएको छु
तेत्लारा लाहादङ्ना र सोधुङ लेप्मुहाङकी
पुलपुलिएकी एक्ली सुन्दरी छोरी
ए नियारा लिङपङहाङमा
तिमी मेरो फुङलामाए हौ
याग्राङ्सिङमा झर्केथालको तालमा
मसँगै फनफनी घुम्ने
आदिम शिभाकेया येमा हौ
आऊ, लगाउन देऊ काउकुती
अतृप्त वैंशले उठेका अवयवहरूमा
सुन, मैले आज
सागरको गहिराइमा मोतीसँगै बस्ने
कौडीको माला लगाएर आएको छु
कम्बरमा सिनयुकबाट ल्याएको
घण्टीहरूको हेमबारी लगाएको छु
ओयामदेखि नाल्बुसम्म
तिम्रै लागि कैयौंपटक धाएको छु
नौ आदिम येवा र फेदाङ्माका एक्ली चेली
आठ सावायेत्हाङका पुल्पुलेकी चेली
ए नियारा लिङपङहाङमा
आउ एकपटक खेल खेलौं सम्भोगको
गर, स्पर्श
मैले आज
तिमीलाई तृप्त बनाउन
चोरेर गैंडाको शक्ति
लगाएर पाइन् तिरको टुप्पामा
अचुक निसानाबाज भएर आएको छु
तिमी मेरो फुङलामाए हौ
त्यसैले त
पटकपटक तेल्लोकदेखि सुरुङखिमसम्म धाएको छु
गुरुहरूका पनि गुरु सामेधुङ्मा येप्मेधुङ्मा
विषाक्त मनहरूलाई पराजित बनाउने
आदिम गुरु नियारा लिङपङहाङमा
घरै छाउन पुग्ने
तिम्रा बारीका काल्ना भित्तामा
फैलिएका केशराशि झैं बाबियो
देखाएर दौंतरीलाई खुत्रुक्कै बनाउने
ए नियारा
आऊ समाहित गर तिमी भित्र–भित्रसम्म
नुहाइ देऊ तिम्रा यौवनका
इम्विरी रसहरूले
तिमीलाई भेट्न फावाखोलादेखि नुगोसम्म धाएको छु
चुम, पक्लुङ हान्ने मेरा बलिष्ठ वदनमा
आज मैले
तिमीलाई भेट्न
मुरिङ्ला थेरिङ्ला डाँडाबाट
भांग्रेसिस्नुले बनेको
मेख्लामा सजिएर आएको छु
दुम्सीका काँडाले भरिएका
अम्लारी पेत्तारी दुईतिर छड्के भिरेर आएको छु
सर्पका हाडसँगै रिट्ठा र प्वाँलोले बनेका मालाले
बेरिएर आएको छु
फुङलामाए नियारा
तिमीलाई भेट्न
तापेथोकदेखि याम्फुदिनसम्म कैयौं यात्रा गरेको छु
ए सुन्दरी नियारा लिङपङहाङ्मा
चिन्डोमा जाँड सुक्दा
काउलो, घुङ्ग्रिङ र अम्लिसो ओइलिँदा
बजारेर कुर्कुच्चा
पानी निकाल्ने तिमी
लु छिटो आऊ अनि बेर
तिम्रा शाक्तिशाली तर कोमल हातहरूले
र, एकसाथ सहश्र सम्भोग गरौं
तिमीबाट शक्ति प्राप्त गर्न
झरी वर्षा नभनी मुकुमलुङदेखि ओलाङचुङगोलासम्म धाएको छु
आज मैले तिमीलाई
खुसी बनाउन
भित्रांस फालेको
डल्लै सुंगुरको कोसेली ल्याएको छु ।
...
(यो कविता सिभाक यामी मुन्धुममा आधारित छ । आफूलाई शक्ति प्रदान गर्न आदिम प्रथम गुरु आदिम सामेधुङ्मा येप्मेधुङ्मा बनेकी नियारा लिङपङहाङ्मालाई येबा (विधिविधान र कर्मकाण्ड शास्त्री) ले पुकारेको मिथक कथा हो । नियारा लिङपङहाङ्मा तेत्लारा लाहादङ्ना र छुच्छुरु सहाम्फेवाकी १९ सन्तान मध्येकी एक्ली छोरी हुन् ।
केही शब्दावली
फुङ्लामाए : मायालु
कक्फेक्वा : चाँप
थोक्फेक्ला : गुराँस
असाङ : शिरको ताज
तेत्लारा लाहादङ्ना र सोधुङ लेप्मुहाङ : सावायेत्हाङका आदिपुर्खा
याग्राङ्सिङ : मुन्धुमी थान
शिभाकेया येमा : पहिलो शक्तिशाली गुरु
सिनयुक : तिब्बत–भोट
सामेधुङ्मा येप्मेधुङ्मा : गुरुहरूका पनि गुरु महागुरु
इम्विरी : तमोर नदी
पक्लुङ : छेलो हान्ने खेल
मुरिङ्ला थेरिङ्ला : याक्थुङ सावाायेत्हाङ स्थल । यो ताप्लेजुङमा पर्छ
अम्लारी पेत्तारी : सुनाखरीको रेसाले बनेको सानो झोला
मुकुमलुङ : हालको पाथिभरा डाँडा
० ० ०
धरान १५, मिलन चोक