
काठमाडौं । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूहरुले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–नेपाल समूहले कम्युनिस्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन् ।
शनिबार बुटवलमा आयोजित सभामा उनले ‘जनयुद्ध’को थलोको रूपमा रहेको रोल्पा र रुकुममा विजयको झन्डा फहराएर प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरे ।
उनले भने, ‘‘रोल्पा, रुकुमलाई जनयुद्धको थलोका रूपमा कमरेड प्रचण्डले जे चाह्यो, त्यही हुने थलोको रूपमा चित्रण गर्ने गरिन्छ । तर, आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झन्डा फहराउँदै छ भन्ने कुराको उद्घोष गर्न चाहन्छु । र, त्यसका माध्यमबाट प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने कुरा हामी रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडि बढेको कुरा म तपाईंहरुका बीचमा राख्न चाहन्छु ।’’
उनले प्रचण्ड–नेपाल समूह चुनावबाट भागेको आरोपसमेत लगाए । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजे पनि भुइँमा पछारिएको उनको भनाइ थियो । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजे पनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको उनले जिकिर गरे । प्रचण्डलाई जनयुद्धका कमान्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओली नेतृत्वको पार्टीमा आएको उनले बताए ।
‘‘जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीलाई आरोपित गर्दै हुनुहुन्छ । प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ । कमरेड प्रचण्ड, जनयुद्धको समयमा उहाँको एउटा चर्चित भनाइ थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । पटक–पटक उहाँले क–कसका ढाडमा टेक्नुभयो, कस–कसका टाउकोमा हिर्काउनुभयो, त्यो इतिहासका कुरा भए । तर, पार्टी एकतापछाडि उहाँ माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो । आज सडकमा पछारिनुभएको छ । बिलौनाका गीतहरु गाउँदै हुनुहुन्छ र एमालेभित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ,’’ उनले भने, ‘‘अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमान्डरहरुले साथ छोड्दै हुनुहुन्छ । आज हामी फागुन १ गतेका दिन बुटवलमा भेला भएर जनमुक्ति सेनाका कमान्डरहरुले घोषणा गर्नुभयो, प्रचण्ड कमरेड दुईपटक तपाइँ प्रधानमन्त्री हुनुभयो, जसले तपाइँलाई प्रचण्ड बनाए, तपाइँले उनीहरुलाई बिर्सिनुभयो, कमरेड केपी ओलीले हामीलाई सम्झनुभो । अब केपी ओलीको नेतृत्वमा हामी राष्ट्र बनाउने अभियानमा जुट्न चाहन्छौँ । कमरेड केपी ओलीको नेतृत्वमा हामी राष्ट्रिय स्वाधीनताको नेतृत्व गर्न चाहन्छौँ । कालापानी, लिम्पियाधुरा, लिपुलेक हामी नेपालको भूभागमा समेट्ने केपी ओलीको नेतृत्वमा साथमा जान चाहन्छौँ भन्ने कुराको उद्घोष गर्नुभएको छ ।’’
मुख्यमन्त्री पोखरेलले कानुन र संविधानले ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भएकोले यही पार्टी आधिकारिक रहेको दाबी गरे । उनले संविधान कार्यान्वयनका सन्र्दभमा लुम्बिनीबाट सक्षम स्थानीय सरकार छ भनी सन्देश दिएको पनि बताए । कानुन निर्माण तथा अन्य संरचनाको निर्माणको दृष्टिले पनि लुम्बिनी सरकार अगाडि रहेको उनको भनाइ छ । उनले कपिलवस्तु, लुम्बिनी र परासीलाई मुलुकको पर्यटकीय राजधानी बनाउने परिकल्पना गरिएको पनि बताए ।
तस्बिरः प्रदीपराज वन्त/रासस ।