
नयाँदिल्ली । कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ ।
भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । “भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने ।
उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झन्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोबारसहित प्रदान गरिएको हो ।
माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए । भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्वीपलगायत क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ ।
भारतमा कोरोना भाइरसको विरुद्धमा कोभिसिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरुमध्येमा पर्छ । -रासस/एएनआई