site stats
बाह्रखरी :: Baahrakhari
विशेष
म्यानमारमा २००७ पछिकै ठूलो प्रदर्शन, दशौँ हजार नागरिक सडकमा उत्रिए

बीबीसी । म्यानमारमा हालै लागू गरिएको सैन्य शासनको विरुद्धमा नेतृ आङसान सुकीलाई रिहा गर्न माग गर्दै दशौँ हजार नागरिक सडकमा उत्रिएका छन् । जसलाई २००७ पछिकै सबैभन्दा ठूलो आन्दोलन बताइएको छ । ‘हामीलाई सैन्य निरंकुश शासन चाहिँदैन, लोकतन्त्र देऊ’ भन्ने नारासहित एक दर्जनभन्दा धेरै सहरमा आइतबार ठुल्ठुला र्याली आयोजना गरिएको थियो । 

प्रदर्शन पछि दिनभरका लागि अवरुद्ध गरिएको इन्टरनेट सेवा अहिले भने पुनः सञ्चालनमा आएको बताइएको छ । सेना पक्षले बढ्दो विरोध सम्बन्धी अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत नोभेम्बरको चुनावमा धाँधली भएको प्रमाण बिनाको दाबी गर्दै गत सोमबार सेनाले मुलुकलाई आफ्नो नियन्त्रणमा लिएर देशभरका सबै संसाद एवम् प्रमुख नेताहरुलाई पक्राउ गरेको थियो । यसमा ‘नेस्नल लिग फर डेमोक्रेसी पार्टी’ की नेतृत्वकर्मी आनसाङ सुकी, राष्ट्रपति विन मिन्टसहित सबैलाई अहिले तिनको घरमै नजरबन्द गरि राखिएको छ । 

यही तानाशाही कदमको विरोधमा मुख्य सहर यानगोनस्थित नागरिकले सुकीको पार्टीलाई चिनाउने रातो रङका सर्ट लगाएर अनि रातो बेलुन उडाएर प्रदर्शन गरेका छन् । सवारी साधनहरुले हर्न बजाएर समर्थन जनाएका थिए । निरंकुश शासनविरुद्धको चिन्ह स्वरुप सबै आन्दोलनकारीहरुले तीन औँलाले सलाम गरेका हुन् । 

]सेनाले इन्टरनेट सेवा अवरोध गराए पनि आन्दोलनकारीहरुलाई सडकमा उत्रिनबाट रोक्न सकेनन्, जसमध्ये एउटा ब्यानरमा नोभेम्बरको चुनाव उल्लेख गरि लेखिएको थियो, ‘हाम्रो मतको सम्मान गर’ । आन्दोलनमा कुनै किसिमको हिंसाबारे अहिलेसम्म रिपोर्ट गरिएको छैन । एक प्रदर्शनकारीले बीबीसीसँग भने, “पहिलो कुरा त हामी फेरि सेनाको शासनमा फर्कन चाहदैनौँ । हामी डराई–डराई बाँच्न चाहदैनौँ । दोस्रो कुरा हाम्री आमा आनसाङ सुकीलाई उनीहरुले मुक्त गर्नैपर्छ । र अन्त्यमा हामी प्रशासनका पदमा सेनालाई राख्ने प्रणाली यो देशबाट हटाउन चाहन्छौँ ।” 

त्यस्तै अर्का आन्दोलनकारीले सुकी नै उनीहरु सबैको एक मात्र आशा र सच्चा लिडर भएकाले उनलाई केही भएमा पूरै देशको भविष्य अनिश्चित हुने बताएका छन् । “यो आन्दोलन अन्तिम होइन । हामी यो निरंकुश शासन अन्त्य नभएसम्म दिनदिनै यसरी नै प्रदर्शन गरिरहनेछौँ,” त्यहीँ उपस्थित व्यक्तिले भनेका छन् । 

उता, म्यावादी सहरमा भने पुलिसले भीडलाई हटाउन रबरको गोली प्रहार गरेको स्थानीय मिडियाले रिपोर्ट गरेका छन् ।  तर, यसमा कोही घाइते भएकाबारे भने कुनै खबर छैन । यानगोनको आन्दोलनमा यसपटक विद्यार्थीमात्र नभएर सबै पृष्ठभूमीका मानिस उपस्थित थिए जो खुलस्त रुपमा आक्रोशित थिए भने भित्रभित्रै डराइरहेका पनि थिए । किनकी सेना पक्ष कुनैपनि बेला हिंसात्मक हुन सक्छ भन्ने उनीहरुलाई थाहा छ । तर पनि अन्य केही विकल्प नभएकाले उनीहरु सेना विरुद्धका नारा लगाउँदै १९८८ मा सैन्य शासन विरुद्ध क्रान्तिका गीत गाउँदै सम्भव भएसम्मको शान्तिपूर्ण आन्दोलन गरेका हुन् । 

दक्षिणपूर्वी एसियामा पर्ने म्यानमारमा ५ करोड ४० लाख नागरिक बसोबास गर्दछन् ।  जसको सिमाना बांग्लादेश, चीन, भारत, थाइल्यान्ड अनि लाओससँग जोडिएको छ । १९६२ देखि २०११ सम्म त्यहाँ सेनाले दमनपूर्ण शासन लागू गरे पछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको थियो भने विभिन्न प्रतिबन्धहरु पनि लगाइएको थियो । यसबीच वर्षौँसम्म लोकतन्त्रका लागि लड्दै आएकी अभियन्ता आनसाङ सुकीले पहिलोपटक जनतालाई लोकतन्त्रको आभास गराएकी थिइन् । यसमा सेनाको हस्तक्षेप जारी रहे पनि उनी पछि हटिनन् । र, २०१५ मा स्वतन्त्र निर्वाचनमार्फत सुकीद्वारा नेतृत्व सरकार सत्तामा आउन सफल भएको थियो । त्यही सरकारसँग असन्तुष्टी जनाउँदै आएको सेनाले अचानक आधारहीन आरोप लगाउँदै देशलाई पुनः नियन्त्रणमा लिएको हो । 
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  १३:२८
प्रतिक्रिया दिनुहोस्