site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फुटपाथ व्यापार : काठमाडौं महानगरले उठाउँछ, ललितपुरले व्यवस्थापन गर्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । फुटपाथ व्यवसाय, त्यो पनि काठमाडौंमा । महानगरपालिकाका नगरप्रहरीहरु कतिबेला आएर लखेट्ने हुन्, कताबाट आएर सामान जफत गर्ने हुन् ती व्यापारीलाई पत्तै हुँदैन । दिनभर फुटपाथमा व्यवसाय गरी दैनिकी धान्ने फुटपाथ व्यवसायीहरु भने काठमाडौं महानगरका नगरप्रहरीबाट सुविधाको साटो सास्ती खेप्न बाध्य छन् । अर्थात् नगरप्रहरी र व्यवसायीबीच दिनभर लुकामारी चलिरहन्छ ।

यसको ठीकविपरीत अर्थात् ललितपुर महानगरका नगरप्रहरीहरु भने ती फुटपाथ व्यवसायीलाई सहज व्यवस्थापनको चटारोमै हुन्छ । ललितपुर महानगरका नगरप्रहरीहरुले फुटपाथ व्यवसायीलाई धम्क्याउने, व्यवासाय गर्न नदिने तथा व्यापारका लागि राखिएका सामग्री जफत गर्नुको साटो उचित व्यवस्थापनमै जुटेका हुन्छन् ।

गत पुस २९ गते काठमाडौं महानगरको नगरप्रहरीले सुकेधारामा तरकारी बेच्दै गरेका ठेलागाडा उठाइदियो । जुन सामाजिक सन्जालमा निकै ‘भाइरल’ पनि बन्यो । उक्त भिडियोमा तरकारी बेचेरै दैनिकी चलाउने मञ्जु कुँवर क्षेत्रीको ठेलागाडा नगरप्रहरीले जबरजस्ती उठाएर महानगरको ट्रकमा हालियो । दैनिकी चलाउन रहर नभइ बाध्यतामा गरिएको ठेला व्यापार नगरप्रहरीले देखी सहेन । मञ्जुको ठेला घचेट्नुपर्ने बाध्यता नगरप्रहरीले बुझ्दै बुझेन । तर मञ्जु भने आँसु झार्न बाध्य रहिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मञ्जुको तरकारी बोकेको ठेला नगरप्रहरीले दुर्व्यवहारपूर्ण तवरबाट ट्रकमा हालेर जफत गरेको भिडियो भाइरल बनेसँगै केही मनकारीले उनको सहयोगमा रकम जुटाए । पछि उनलाई सहयोग जुटेको झन्डै पाँच लाख रुपैयाँ बढी रकम हस्तान्तरण गरियो । ठेलामा तरकारी राखेर घरघर पुर्‍याउनु मञ्‍जुको रहर थिएन । काठमाडौंको एक क्याफेमा जागिर रहेका उनका छोराको कोभिड-१९ का कारण सरकारले घोषणा गरेको लकडाउनका कारण जागिर गुम्यो । छोराको जागिर गुमेसँगै मञ्जुलाई ठेलामा तरकारी बोकेर घर-घर, चोक-चोक अनि गल्ली-गल्ली धाउनुपर्ने बाध्यता आइलागेको हो । तर, काठमाडौं महानगरका नगरप्रहरीले उनको बाध्यता कसैगरी बुझेन अझ बुझ्नै चाहेन ।

क्याफेमा काम गर्ने छोराका जागिर खुस्किएसँगै मञ्जुलाई दैनिकी चलाउन ठेलामा तरकारी बोकेर बेच्नुपर्ने ‘आइडिया’ फुरेको थियो । त्यसैले त उनले नौ हजार रुपैयाँ ऋण लिएर ठेला किनेकी थिइन् । त्यहीँबाटै उनको दैनिकी चलिरहेको थियो ।

Global Ime bank

मञ्जुमाथि नगरप्रहरीले गरेको दुर्व्यवहार पहिलो भने होइन । काठमाडौं महानगरभित्रका कैयौं फुटपाथ व्यवसायीलाई नगरप्रहरीले दिनहुँ दु:ख दिने गरेको उनीहरु बताउँछन् । फुटपाथ व्यापारीलाई नगरप्रहरीले दुर्व्यवहार गर्ने, सामान फालिदिने, जफत गरिदिने घटना झन्डै सामान्य नै भइसकेको व्यवसायीहरुको भनाइ छ । अझ व्यवसायीका जफत गरिएका सामग्रीहरु पनि महानगरले फिर्ता दिँदैन । महानगरको यस्तो रवैकाका कारण गरिखाने भाँडो नै गुम्छ भने ती सामग्रीहरुलाई महानगरले कबाडीमा बेच्ने गरेको छ ।

महानगरको यस्तो कार्यको चौतर्फी आलोचना हुँदै आएको पाइन्छ । तर महानगरका प्रतिनिधि भने कानुनी नियमको पालना गरेको भन्दै गौरव ठान्छन् । महानगरपालिकाका प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिकाको काम सहर व्यवस्थापन गर्नु रहेको बताउँछन् । उनी भन्छन्, ‘‘दैनिक यस्ता २०औं फुटपाथ व्यापरी कारबाहीमा पर्छन् ।”

काठमाडौं महानगरले गत वर्ष कबाडीबाटै ५२ लाख रुपैयाँ कमायो
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा महानगरभित्र ठेलागाडा धनीसँग झन्झट हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘‘जरिवाना तिरे पनि गाडा फिर्ता हुँदैन । सडकमा फुटपाथ व्यापारीसँग गाडा, साइकल, सामान तानातान हुन्छ । गाली पनि खाइन्छ । उठाएर ल्याएका सामानमध्ये फलफूल तरकारी कबाडीलाई दिने कुरा भएन । तीबाहेक अरू सामान कबाडीलाई दिने हो ।”

मेयर विद्यासुन्दर शाक्यले २०७४ सालमा फुटपाथ र सडबाट जफत भएका सामान फिर्ता नदिने निर्णय गरेका थिए । उनले महानगरको कार्यपालिका बैठकबाट यस्तो निर्णय गराएका थिए । फुटपाथ व्यापार उठाइएन भने फुटपाथ अतिक्रमण बढ्ने भएकाले यस्तो गरेको नगर प्रहरीको दाबी छ ।

सापकोटाका अनुसार फुटपाथ व्यापारलाई अवैध मानिन्छ । "यसरी गरिएका फुटपाथ उठाउनु हाम्रो कर्तव्य पनि हो । कसको घरमा के दु:ख छ, थाहा हुँदैन । सामान जफत गरी उठाउँदा अलिअलि बल प्रयोग हुन्छ । जफत गरेको साइकल, ठेलागाडा कुच्याएर कबाडीमा बेच्ने गर्छौं," उनले भने, "सार्वजनिक स्थलमा फुटपाथ अतिक्रमण गरेको सूचना आए छापा मार्ने गरेका छौं ।"

अव्यवस्थित पार्किङलाई हेर्दैन महानगर
"महानगरपालिकाले सार्वजनिक ठाउँमा गरिएका अव्यवस्थित पार्किङ हेर्दैन । नगर प्रहरीसँग गाडी उठाउने जनशक्क्ति र तालिम छैन । अव्यवस्थित मोटरसाइकल उठाएर गाडीमा हालेर लैजान्छौं र एक हजार रुपैयाँ जरिवाना लिएर फिर्ता गर्छौं," नगर-प्रहरी प्रमुख सापकोटा भन्छन् ।

नगर प्रहरीसँग लुकामारी खेल्दै बौद्ध चोकको फुटपाथमा कपडा व्यापार गर्ने संगीता सञ्जेल महानगरले व्यवस्था नगरी उठाउने मात्रै काम गरिरहेको बताइन् । उनले भनिन्, ‘‘धनीले कार पार्किङ गरिरहेका हुन्छन् । यी कारलाई कसैले पनि केही भन्दैन । हामी बिहान-बेलुका एक-दुई घण्टा मात्रै व्यापार गर्ने मानिसको सामान मात्रै उठाएर लैजान्छ । सडकमा बसेर यसरी फुटपाथको व्यापार गर्न मन थिएन । सक्ने भए त हामी ठूला मलमा व्यापार गर्थ्यौं ।"

उनले आफूहरु बाध्य भएर सडकमा व्यापार गर्न आएको बताइन् । "गरिबका सामान बेचेर लाखौं रुपैयाँ कमाएको महानगरले गरिबका समस्या बुझ्‍न सकेन," उनले भनिन्, "मेरो पसलका कपडा दुईचोटी नगरप्रहरीले खोसिदियो ।”

रत्नपार्कको फुटपाथमा फलफूल व्यापार गर्ने मनोजकुमार यादव पनि महानगरबाट आफूले सास्ती पाएको बताउँछन् । उनी भन्छन्, ‘‘महानगरले दिनभरी घुम्दै डुल्दै व्यापार गर्नेलाई दु:ख दिने गरेको छ । व्यवसायीको व्यापार व्यवस्थापन गर्नेतिर सोचेकै छैन ।”

काठमाडौंको बौद्ध, जोरपाटी, रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्युरोडलगायत क्षेत्रमा फुटपाथ व्यापार राम्रैसँग चल्ने गरेको छ । ठेला गाडा र साइकलमा व्यापार गर्नेहरु सहरका सबैजसो टोल-टोलमा पुग्छन् र व्यापार गर्छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारलाई व्यवस्थापन गर्नुको साटो सामान जफत गर्दै लखेट्दै सास्ती दिने काम गर्दै आएको व्यापारीहरुको भनाइ छ ।

व्यवसायमैत्री बन्यो ललितपुर महानगरपालिकाको फुटपाथ व्यवस्था
चार महिनायता ललितपुर महानगरपालिकाले भने फुटपाथ नियन्त्रणमा नयाँ अभ्यास थालेको छ । यसअघि काठमाडौं महानगरको जस्तै धरपकडको नीति लिएको ललितपुर महानगरले फुटपाथ व्यवसायीलाई विकल्प दिन थालेको छ ।

ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथू महानगरले फुटपाथ व्यवस्था गरेको बताए । उनले भने, ‘‘अरूलाई असर नपर्ने गरी व्यापार गर्न पाउँछन् । फुटपाथ व्यापारी सडकमा कसरी आए भन्ने कुरा मनन् गर्न जरुरी छ । अरूलाई असर नपर्ने गरी व्यापार गर्न भन्दै सचेतना अभियान चलाएको पनि तीन महिना भयो ।" उनले नगर प्रहरी भनेको जनतालाई सहज गर्न आएको जनताको सारथि रहेको पनि बताए । "जनतालाई अप्ठ्यारो पार्ने काम नगर प्रहरीको होइन । फुटपाथ व्यापारीका लागि ट्याक्सी पार्किङ क्षेत्र घटाएका छौं । सोही ट्याक्सी पार्किङ क्षेत्रमा अरू कसैलाई असर नपर्ने गरी व्यापार गर्न भनेका छौं ।"

चार महिनाअघि ललितपुरका नगर प्रहरी फुटपाथ व्यापारीमाथि नियन्त्रणको प्रयास गर्दा भागाभाग चल्थ्यो । नगरप्रहरीलाई अर्कै नजरले हेरिन्थ्यो । अहिले नजर फेरिएको छ । "हामी फुटपाथ व्यापारीका साथी बनेका छौं । फुटपाथ व्यापारीका लागि समय छुट्याएका छौं । लगनखेललगायतका क्षेत्रमा बेलुकी ५ देखि ७ बजेसम्म फुटपाथ व्यापार गर्न दिन्छौं । बिहान ८ बजेसम्म आवागमनमा असर नपर्ने गरी व्यापार गर्न दिन्छौं," हाछेथूले भने ।

ललितपुर जावलाखेलस्थित सडकपेटीमा फलफूलको व्यापार गर्दै आएकी कर्मशिला कामी महानगरको योजनाबाट आफूलाई पनि ज्ञान मिलेको बताउँछिन् । ‘‘फुटपाथमा व्यापार गर्न छुट्याएको समयमा मात्रै व्यापार गर्ने बानी परिसकेको छ । यसैले खानालाउन पुगिरहेको छ । पैदलयात्रीलाई पनि असर नपर्ने व्यापारीलाई पनि असर नपर्ने गरी व्यापार गर्दै आएका छौं," उनले भनिन्, "पहिला नगर प्रहरीले उठाउँथ्यो । अहिले जनचेतनामूलक कार्यक्रमसहित फुटपाथ  व्यापार व्यवस्थित गरिएको छ । हामी सन्तुष्ट छौं ।”

यस्तै ललितपुर महानगरका नगरप्रहरी प्रमुख हाछेथू जरिवाना गराएर मात्रै नियम पालना नहुने बताउँछन् । "बिहान-बेलुका खाना गाह्रो परेकालाई समय र स्थान तोकेर गरिखान दिनुपर्छ," हाछेथुले भने, ‘‘नगर प्रहरी भन्नासाथ सामान उठाउने र धपाउने भन्ने फुटपाथ व्यापारीमा छाप परेको छ । तर नगरप्रहरीले त यसको व्यवस्थापन गर्ने हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC